चिनियाँ दुतावासले पाेखराकाे ४ सरकारी विद्यालयमा नि:शुल्क इन्टरनेट जडान गरिदिने
काठमाडाैं । चिनियाँ दुतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितीमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको हो । नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चिनियाँ दूतावासको सहयोगमा जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क इन्टरनेट सेवा जडान गर्न लागिएको हो । उक्त चार विद्यालयमा निःशुल्क इन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलवार चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितीमा सम्झौता भएको छ । सम्झौता कार्यक्रममा बोल्दै चिनियाँ राजदूत यान्छीले इन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण कडी भएकाले त्यसबाट टाढा रहेका सरकारी विद्यालयलाई दुतावासले सहयोग गरेको बताइन् । उनले कोभिडका कारण विद्यालय बन्द भएको र सोहि कारण विद्यार्थी अध्ययनबाट वञ्चित भएकाले वञ्चित विद्यार्थीले पनि पढ्न पाउन् भनेर दुतावासले नेपाली विद्यार्थीलाई इन्टरनेटको पहुँच पुर्याउन सहयोग गर्ने निर्णय गरेअनुसार नै सहयोग गरिएको स्पष्ट पारिन् । उनले नेपाल र चीन एक असल छिमेकी र सुख–दुःखको साथी भएको बताउँदै यसलाई कायम राख्न विद्यार्थीहरुले नेपाल र चीन बीचको इतिहास पढ्नुपर्ने बताइन् । राजदूत यान्छीले भने, ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले शिक्षामा चुनौति खडा गरेको छ, शिक्षामा बाधा उत्पन्न गरेको छ, यसलाई चिर्नका लागि इन्टरनेटको विकल्प छैन,’ उनले भनिन, ‘त्यही भएर पोखरेली विद्यार्थीलाई सहज होस् भनेर हामीले सहयोग गरेका हौँ ।’ गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेको भन्दै यसका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताए । उनले यसका लागि चीनले नेपाललाई प्रविधिसहित दक्ष जनशक्तिमा सघाउने अपेक्षा गरेको बताए । शिक्षामन्त्री श्रेष्ठले भने, ‘हामी पनि चीनका विद्यार्थी झैं प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्न चाहन्छौं, विदेशबाट समेत पोखरा आएर अध्ययन गर्ने खालको शिक्षाको हब बनाउन चाहन्छौं, जसले गर्दा यहाँ उत्पादन भएका विदेशी विद्यार्थी आफ्नो देशमा गएर रोजगारी प्राप्त गरोस्,यहाँका विद्यार्थीले यहि रोजगारी पााउन्, स्वरोजगार बन्न सकुन् ।’ सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चारवटै विद्यालयका प्रधानाध्यापकले मंगलबार हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ । चारवटै विद्यालयमा इन्टरनेट जडानका लागि आवश्यक पर्ने अप्टिकल फाईवर केवल जडान, प्रत्येक कक्षामा आवश्यक पर्ने डिभाइस, विद्युत आपूर्ति नभएका बेला पनि इन्टरनेट चलाउनका लागि सोलार इन्भर्टर र एक वर्षका लागि आवश्यक पर्ने इन्टरनेट पोखरा इन्टरनेटबाट निःशुल्क उपलब्ध गराईनेछ । यो कामका लागि करिव २० लाख रुपैयाँ खर्च लाग्ने नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष पालिखेले जानकारी दिए ।
नेपाल भाषा अध्यापन गराउन महानगरले वार्षिक १५ लाख अनुदान दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक १५ लाख अनुदान दिने भएको छ । कामपाको आज बसेको ७० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीबाट सङ्कलन हुने शुल्कबाट बेहोरिने जानकारी दिए । बैठकले वडा नं ११ को कार्यालय सञ्चालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ । बैठकमा सम्पदामैत्री भवन निर्माणका लागि स्वीकृत मापदण्ड कार्यान्वयन, पानी नआउने धाराका महशुल छुटका लागि महानगरपालिकाले गरेको प्रयास, नेपाल विद्युत् प्राधिकरणलगायत सडक खन्ने निकायसँगको समन्वय र डेङ्गु नियन्त्रणका लागि भइरहेको कार्यका सम्बन्धमा सदस्यहरुले जिज्ञासा राखेको बताइएको छ ।
विर्तामोडस्थित सहारा नेपाल अति विपन्नलाई चिकित्सा शिक्षा पढाउने
बनियानी । झापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका छोराछोरीलाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको पूर्वसन्ध्यामा आज वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी प्रमुख महेन्द्र गिरीले अति विपन्न (सन्थाल, मुसहर, लेप्चा, किसान) सदस्यका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनका लागि सहयोग गरिने बताए । ‘क्षमता भएका तर आर्थिक अभावले डाक्टर बन्नबाट वञ्चित अति विपन्न परिवारका सदस्यलाई पढाउने योजना बनाएका छौँ’, उनले भने, ‘यस वर्षदेखि दुई जनाबाट सुरुआत गर्दैछौँ ।’ स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संस्थाले त्यस्ता परिवारका १० छोराछोरीलाई चिकित्सक बनाउने लक्ष्य लिएको छ । यस्तै, संस्थाले यसवर्ष दुई सय अति विपन्न परिवारलाई राशन कार्ड उपलब्ध गराउने भएको छ । राशन कार्ड पाएपछि उनीहरुले चामल, दाल, तेल, नून र चिनीमा ५० प्रतिशत अनुदान पाउने प्रमुख गिरीले बताए । संस्थाले १० कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा आर्थिक र प्राविधिक सहयोग गर्ने भएको छ । संस्थाबाट व्यावसायिक ऋण लिएर गाईभैँसीपालन गरिरहेका सदस्यलाई गाईभँैंसी सुत्केरी भए रु एक हजार भत्ता उपलब्ध गराउने भएको छ । संस्थाले आफ्नो कार्यक्षेत्रको ६ पालिकाबाट सो कार्यक्रमको सुरुआत गर्दैछ । कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ‘एग्रो बिजनेश युनिट’ स्थापना गरी किसान र बिक्रेतालाई फाइदा पुग्ने गरी काम गर्दै आएको प्रमुख गिरीले बताए । ‘हामी आफै व्यापार गर्दैनौँ’, उनले भने, ‘किसान र बिक्रेतालाई फाइदा पुग्ने गरी काम गर्छौं ।’ संस्थाले यसवर्ष पाँचथर र उदयपुरका विकट पालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई चार एम्बुलेन्स सहयोग गर्ने भएको छ । यसअघि सोही क्षेत्रका दुई पालिकाका प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक एम्बुलेन्स प्रदान गरिएको थियो । प्रदेश १ का ११ जिल्लाका ८० पालिकामा कार्यक्षेत्र रहेको संस्थामा २०७८ असार मसन्तसम्म एक लाख ५० हजार ३५४ जना शेयर सदस्य आवद्ध छन् भने एक अर्ब ४६ करोड ६५ लाख शेयर पूँजी रहेको छ । संस्थाले आव २०७७/७८ मा ४५ करोड १२ लाख खुद मुनाफा गरेको छ । रासस