भक्तपुर प्याब्सनकाे अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन भक्तपुरको १५औं जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उनी विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित भएका पूर्वअध्यक्ष चन्द्र अधिकारीले जानकारी दिए । यसैगरी सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठ र महाधिवेशन प्रतिनिधिमा सानुराजा कार्की निर्विरोध निर्वाचित भएका उनले जानकारी दिए ।

केयूको २७ औँ दीक्षान्त समारोहः दीक्षित हुनेमा ५१ प्रतिशत महिला

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोह आज सम्पन्न भएको छ । पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाएक थिए । कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा (श्रीमती) पङ्कज मित्तलले नेपाल र भारतबीच निकटको सम्बन्ध रहेको उल्लेख गर्दै संस्कार, संस्कृति र सभ्यताले छिमेकीमा प्रगाढता कायम रहिरहेको बताए । सुन्दर मुलुक नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहिआएको चर्चा गर्दै दीक्षित स्नातक विद्यार्थी नै भविष्यको निर्माता हो भने । उनले भने, ‘आफ्ना सन्तानप्रति अभिभावकको सबैभन्दा ठूलो उपहार शिक्षा हो, उनीहरुको शैक्षिक उन्नयन र आकाश छुने प्रगतिमा कुनै पनि अभिभावक बाधक बन्नुहुन्न ।’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दीगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताए । उनले भने, ‘विश्वविद्याय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा व्यक्तिको मार्गदर्शन थलो हो, दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ ।’ उनले विभिन्न विधामा स्नातक भएका विद्यार्थीलाई उपाधी प्रदान गर्न अनुमति दिएका थिए । विश्वविद्यालयका उपकुलपति डा भोला थापाले नेपालमा सक्रिय चिकित्सक जनशक्तिमध्ये करिब ४५ प्रतिशत काठमाडौ विश्वविद्यालयको उत्पादनले सेवा गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले विश्वविद्यालयलाई शिक्षण अस्पताल निर्माणका लागि धुलिखेलको चौकोटमा ५०० रोपनी जमिन उपलब्ध गराएको स्थानमा फोक्सो अनुसन्धान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार अस्पतालको प्राङ्गणमा ५० शय्यासहितको ‘मल्टीडिसिल्निरी’ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ‘मेन्टल हेल्थ रिसर्च सेन्टर’ निर्माणको काम अघि बढेको र करिब एक हजार शय्याको ‘सुपर–स्पेसियालिटी/सब–स्पेसियालिटी’ सुविधासहितको विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल स्थापनाको कार्ययोजना छ । कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका हुन् । स्कुल अफ आर्टस्का २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए । साथै, यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित विद्यार्थीमध्ये ४८ दशमलव ४५ प्रतिशत पुरुष र ५१ दशमलव ५५ प्रतिशत महिला छन् । यसैगरी बङ्गलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका १२३ जना विद्यार्थी दीक्षित भएका हुन् । यस वर्ष मास्टर इन पब्लिक पोलिसी एण्ड म्यानेजमेन्टमा ११, मास्टर इन एजर्नी एफिसेन्ट विल्डिङ डिजाइनमा तीन र मास्टर वाइ रिसर्च इन सिभिल इन्जिनियरिङमा दुई गरी १६ लाई विश्वविद्यालयले पहिलोपटक उपाधी प्रदान गरेको हो । विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबीएका १७ विद्यार्थीलाई उपाधी प्रदान गरेको थियो । विश्वविद्यालयबाट हालसम्म स्कुल अफ आर्टस्का तीन हजार २९, स्कुल अफ एजुकेशनका एक हजार ६२८, स्कुल अफ इन्जिनियरिङका तीन हजार ९५४, स्कुल अफ ल का ११६, स्कुल अफ म्यानेजमेन्टका छ हजार ८०६, स्कुल अफ मेडिकल साइन्सेज्का १७ हजार ६९३ र स्कुल अफ साइन्स्का तीन हजार ३९१ गरी कूल ३६ हजार ६२४ दक्ष विद्यार्थीलाई उपाधी प्रदान गरिसकेको जनाइएको छ । रासस

माध्यमिक तहमा १५४८ शिक्षकका लागि दरखास्त आह्वान

काठमाडाैं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ भने लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ । शिक्षकका लागि आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन जततउकस्ररयलष्लिभ।तकअ।नयख।लउ दरखास्त प्रणालीमार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । चिकित्सा शिक्षा आयोगले पनि चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । आज आयोगले एक सूचना जारी गर्दै आगामी पुस १४ देखि २० गतेभित्र योग्यता पुगेका उम्मेदवारलाई अनलाइन आवेदन भर्न आह्वान गर्दै सूचना जारी गरेको हो । आयोगले अनलाइन आवेदन पेस गर्नेबारे आयोगको वेबसाइटमा सूचना राखिएको जानकारी दिएको छ ।