गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गरेका हुन । यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नं ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिएका थिए । हजुरबाले लेख्नुभएको पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्दै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाऊन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको जनाएका थिए । कार्यक्रममा यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, वडाध्यक्ष श्रेष्ठलगायतले सानै उमेरदेखि बालबालिकामा नैतिक ज्ञानको विकास गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँच–पाँच प्रति पुस्तक दिएर पुस्तकालयमा राखिने छ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ । रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्य बताउँछन्। बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको उनको भनाई थियो । नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन् । नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ । नगरपालिकाले देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गरेको दाबी गरेको थियो ।
व्यवसायी ढकाल सम्मानित, विद्यालयको पूर्वाधार निर्माण गर्न ६ करोड सहयोग
बलेवा । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब रु ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग पु¥याएका छन् । ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि विद्यालयका पूर्वविद्यार्थीहरुको सक्रियतामा रकम सङ्कलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरी हाल सञ्चालनमा छ । विद्यालयको ६२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सांसद डा सूर्य पाठक, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं बानपा वडा नं १२ का अध्यक्ष गुरुदत्त पाठक, विद्यालयका प्रधानाध्यापक वुद्धि चापागाईंले विद्यालयको उन्नयनमा उल्लेखनीय योगदान गरेकामा वरिष्ठ उपाध्यक्ष ढकाललाई सो सम्मान प्रदान गरेका हुन् । सोही अवसरमा उक्त विद्यालयका संस्थापक ९५ वर्षीय मणिरत्न पौडेल र सञ्चालन समितिका पूर्वअध्यक्षहरु कोपिलामणि शर्मा, भविश्वर शर्मा, भोजराज शर्मा र भविदत्त पन्तलाई पनि सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा सांसद डा. पाठकले राज्यको लगानी अनुसारको शैक्षिक वातावरण सामुदायिक विद्यालयमा हुनुपर्नेमा जोड दिँदै आफू पनि सो विद्यालयको विद्यार्थी हुन पाएकामा सदैव गौरव महसुस गर्ने गरेको बताए । सो विद्यालयका दाता तथा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले उक्त विद्यालयाको उन्नयनका लागि आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तो सुकै सहयोग उपलब्ध गराउने बताउँदै समयानुकल प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिन विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई आग्रह गरे । वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पाठकले आफ्ना घरदैलोमा रहेको सामुदायिक विद्यालय सुधार गर्न सबैको साझा प्रतिबद्धता आवश्यक छ भन्दै विद्यालयको भौतिक संरचना बलियो भएकाले अब शैक्षिक गुणस्तर सुधारको अभियान सुरु गर्ने बताए । वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सो अवसरमा बलेवाको पञ्चेवाजा, भजन र नृत्य कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा ३५० विद्यार्थी रहेका छन् ।
राष्ट्रिय परीक्षा बाेर्डकाे निर्देशकमा महाश्रम शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको निर्देशकमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उक्त जानकारी दिएका हुन् ।