पानीमाथि बसेर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने श्रेष्ठले राखे विश्व कीर्तिमान

काठमाडौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवा विकर्ण कुमार श्रेष्ठले विश्व किर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल भएका हुन् । सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन् । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरेका छन् । सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।  

तानसेन नगरपालिकाद्वारा शिक्षकलाई १ लाख प्रोत्साहन भत्ता दिन सुरु

पाल्पा । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताए । यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक छ हजार ५०० रहेको थियो । न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो । बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो । नगरपालिकाले ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक एक करोड १८ लाख बराबर खर्च भएको थियो । रासस

आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्ग पढ्न ८० हजार अमेरिकी डलरको छात्रवृति दिने

काठमाडौं । जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्गमा स्नाकोत्तर अध्ययन गर्न दुई जनालाई छात्रवृति दिने भएकाे छ । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएकाे हाे । माघ २८ गतेसम्म यसकाे लागि इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) फाउन्डेसनलाई पठाउनु पर्नेछ । फाउन्डेसनकाे अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ । यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र/ छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहने फाउन्डेसनले जनाएकाे छ । पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने फाउन्डेसनले जनाएकाे छ ।