आजदेखि एसईई परीक्षा

फाइल फाेटाे काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । कोरोना महामारीका कारण २ वर्षदेखि आन्तरिक मूल्यांकनबाटै सम्पन्न गरिएको एसईई यस वर्ष भने भौतिक उपस्थितिमै सुरु भएको हो । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा बिहान ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिरहेको परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । बोर्डले यस वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी रहेको जनाएको छ । नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ जना , प्राविधिक तर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी छन् ।

ब्रिटिस प्रोफेशनल कलेजकी रिया बनिन् वर्ल्ड टपर

काठमाडौं । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी कलेजले दाबी गरेको छ । कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)मा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्। सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले संसारभरीका १३ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट अंक हाँसिल गरेकी थिइन्। यसपटक सन् २०२२ को मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा रिया कूल १०० मा ९१ अंक प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी कलेजले जनाएको छ । एसीसीए कार्यक्रममा विश्वका १७९ देशमा चार लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन्। विश्वभरका हजारौं विद्यार्थीहरुको लागि बनाइएको प्रश्नपत्रहरूममा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी कलेजले जनाए ।

अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै इम्पेरियल वर्ल्ड स्कुल

काठमाडौं । शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वर्ल्ड स्कूलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरेको छ । बुढानिलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुँदै आएको छ । विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने नागरिक उत्पादन गर्ने उद्देश्य लिएको इम्पेरियल वर्ल्ड स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराइरहेको विद्यालयकी सञ्चालक जुनिता शाही कार्कीले जानकारी दिइन् । इम्पेरियल वर्ल्ड स्कुलले विभिन्न अन्तराष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको बताएको छ । ‘स्कुलले नेपाल सरकारको पाठ्यक्रमलाई तालमेल गर्ने गरी अन्तर्राष्ट्रिय शिक्षण प्रणाली अवलम्बन गरेको छ । ‘इन्टरनेसनल प्राइमरी करिकुलम र इन्टरनेश्नल मिडल इयर्स करिकुलम गरी दुईवटा पाठ्यक्रम उपलब्ध गराउँछ ।’, विद्यलयकी सञ्चालक कार्कीले भनिन् . उनका अनुसार, इम्पेरिकल वर्ल्ड स्कुलले नै आईपीसीलाई पहिलोपटक नेपालमा भित्र्याएको हो । विद्यालयले ५ देखि १२ वर्षका बालबच्चाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आइपीसीसँग तथा ११ देखि १४ वर्ष सम्मका बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि आइएमवाइसीसँग समन्वय गरी अध्यापन गराइरहेको छ । स्कुलले शैक्षिक पाठ्यक्रम मात्र नभई भौतिक पूर्वाधारलाई समेत उत्तिकै महत्व दिएको संचालक कार्कीले बताइन् । साथै, स्कुलले सम्झिने र बुझ्ने, आइडिया तथा कन्सेप्ट सृजना गर्ने मात्र नभई विश्लेषण तथा मूल्यांकन गर्नसक्ने क्षमता विकासमा जोड दिने गरेको कार्कीको भनाइ छ । आधुनिक प्रविधिले सम्पन्न यस स्कुलमा कम्प्युटर ल्याब, साइन्स ल्याव, म्याथ ल्याबको राम्रो व्यवस्था छ । यस स्कुलमा १० हजारभन्दा धेरै पुस्तक रहेको पुस्तकालय, पोषणविदद्धारा प्रमाणिकरण गरिएका खाजा खानाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिस लगायतका खेल पूर्वाधारहरु तयार गरिएको भने नृत्य तथा संगीतलाई पनि विशेष महत्त्वका साथ सिकाइने गरिएको विद्यालयले जनाएको छ ।