शिक्षा मन्त्रालयले भन्यो : जेठ ५ गतेभित्र सबै विद्यार्थीको हातमा पुस्तक पुग्छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन् । करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने उनले बताए । वैशाखमा पुस्तक छाप्ने योजना रहेपनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यलाई प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाइएको उनको भनाई छ । उनले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताए । शिक्षा सचिव कोईरालाले समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुग्ने बताए । सरकारले समयमै पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसक्दा कक्षा १ देखि माध्यामिक तहसम्मका विद्यार्थीहरुले शैक्षिक सत्र शुरु हुँदासमेत पाठ्यपुस्तक पाउन सकेका छैनन् । विशेष गरी कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नयाँ लागू भएको छ । तर समयमा पाठ्यपुस्तक छाप्न नसक्नु र वितरण गर्न नसकेकोमा शिक्षक र विद्यार्थीहरु पाठ्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा छन् । विद्यालयहरुमा पाठ्यपुस्तक जेठको पहिलो हप्तासम्म पनि नपुग्नु शिक्षामाथि राज्यको हेलचेक्राँइ भएको अध्यापकहरुको बुझाइ छ ।

मतपत्र छाप्दा पाठ्यपुस्तक छपाईमा ढिलाइ, विद्यार्थीलाई पढाउन समस्या

काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भएपनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरुमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरु बताउँछन् । अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरुको बुझाइ छ । विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्राँइ गरेर लाखौँ बालबालिकाहरुको भविष्यमा अन्योल पैदा गरेको बताए । प्रधानाध्यापक कडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरु नछापिएकोले विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरुका पुस्तक मागेर नयाँ विद्यार्थीहरुलाई दिने योजना विद्यालयको योजना छ । तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरुलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने बताए । शहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरेपनि दूरदराजका क्षेत्रहरुमा यो उपाय सही साबित हुन सक्दैन । जसकारण पनि शिक्षविद्हरुले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरुले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन् । प्रधानाध्यापक कडेलले कक्षा ४, ७ र ९ को नयाँ किसिमको पाठ्यपुस्तकहरु लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्यापन गराउन समस्या भएको बताए । ‘नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष जेठ ५ गतेबाट पठनपाठन शुरु गर्ने, वैशाख महिनाभर परीक्षा, नतिजा प्रकाशन, भर्ना प्रक्रियाहरु गर्ने भनेको थियो । हामीले जेठ ५ गतेदेखि नियमित पठनपाठन गर्ने योजना बनाएका थियौँ । यसबेला पाठ्यपुस्तक छैन । जसकारण हामी सबै अन्योलमा छौँ । कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छैन । स्थानीय तहको जुन निर्वाचन भयो, त्यो निर्वाचनको लागि मतपत्र छपाइका कारणले हामीले पाठ्यपुस्तक छपाउन सकेनौँ, डेढ, दुई महिना ढिलो हुन्छ भनेर जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भनेको छ भनेर पुस्तक पसलेहरु भन्नुहुन्छ, उनले भने । प्रधानाध्यापक कडेलले सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाईमा हेलचेक्राँइ गरेको बताए ।  निर्वाचनलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीहरुको भविष्य र शिक्षाप्रतिको दायित्वबाट पन्छिएको आरोप उनले लगाए । कोरोनाका कारण गत दुई वर्ष पनि शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र अहिले अवस्था सामान्य बन्दै गएको बेलामा सरकारले समयमै विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पु¥याउन नसक्नु शैक्षिक क्षेत्रका लागि नै दुःखको कुरा भएको उनी बताउँछन् ।

प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउछ : मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपछी विकासमन्त्री महेन्द्र राय यादवले सुचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने बताएका छन् । बुधबार संघीय राजधानी काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२औं दिक्षातं समारोहमा बोल्दै यस्तो बताएका हुन् । मन्त्री यादवले दिक्षित विद्यार्थीहरूलाई नेपाल मै बसेर कृषि क्षेत्रमा परिवर्तन गरी निर्यातमुखी मुलुकमा परिणत गर्न आव्हान गरेका हुन् । उनले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको लागि लर्ड बुद्धको एपीयुसँगको सहकार्यले फलदायी हुने आशावादी रहेको बताए । मुलुक कै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि र व्यापार व्यवस्थापनमा पठन पाठन गर्दै आइरहेको कलेजका अध्यक्ष पंकज जालानले बताए । १५० जना विद्यार्थी दिक्षित भएको यस कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिएका थिए ।