तनहुँकाे आदिकवि भानुभक्त क्याम्पसले ४०० गरिब विद्यार्थीलाई छात्रावृत्ति दिने

तनहुँ । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक २१ लाख छात्रावृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय विद्यार्थीलाई सो रकम बराबरको छात्रावृत्ति वितरण गरेको क्याम्पस प्रशासनले जनाएको छ । उक्त क्याम्पसमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा ९० प्रतिशत छात्राको बाहुल्यता रहेको छ भने ७२ प्रतिशत जनजाति, १८ प्रतिशत दलित र दश प्रतिशत अन्य छन् । त्यसैगरी उक्त क्याम्पसमा३५ लाखको अक्षयकोष स्थापना गरेको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्ष ब्रह्मादत्त तिमिल्सेनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस आर्थिक वर्ष क्याम्पसको कोषमा आम्दानी भएको रकममध्ये उक्त रकमको अक्षयकोष स्थापना गरेको हो । उक्त रकमबाट आएको ब्याजले क्याम्पसबाट निवृत्त भैजाने प्राध्यापक र कर्मचारीलाई उपदान प्रदान गरिने सो क्याम्पस प्रशासनले जनाएको छ । केही वर्षअघि घाटामा रहेको उक्त क्याम्पसले ऋणमुक्त भई नियमित रुपमा मासिक तलब भुक्तानी गर्दै आएको छ । हाल क्याम्पसले रु दुई करोड ५० लाख ‘बैंक ब्यालेन्स’ रहेको क्याम्पसले जनाएको छ । उक्त कोषमा बर्सेनि रकम थप्दै वृद्वि गर्दै लैजाने योजना रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक क्याम्पसहरुमध्ये अक्षयकोष स्थापना गर्ने उक्त क्याम्पस नै पहिलो भएको बताइएको छ । पूर्णकालीन २९ र आंशिक ३७ गरी ६६ जना प्राध्यापक र १५ जना कर्मचारी कार्यरत छन् । आयव्ययमा पारदर्शिता बनाउन आगामी साउन १ गतेदेखि क्याम्पस परिसरमा बैंकको शाखा राख्ने तयारी भइरहेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए । बैंकको शाखा स्थापनाका लागि व्यासको रु ३० लाख आर्थिक सहयोगमा भवन निर्माण गरिसकिएको छ । विद्यार्थीबाट लिइने शुल्क पनि आउँदा दिनमा बैकिङ प्रणालीबाट लिने योजना बनाइएकोे क्याम्पस प्रशासनले जनाएको छ । रासस

जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गलकोट । बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनमा लैजाने भएको छ । सो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्यालयलाई गुणस्तरीय बनाउने र विद्यार्थीको सङ्ख्यामा वृद्धि गराउनका लागि सरकारी सेवामा रहेको शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठाउनुपर्ने नीति ल्याएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर विकले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई जोड दिइएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकता दिएको छ । पालिकामा व्यावसायिक पशुपालनलाई वृद्धि गरी दुग्ध सङ्कलन केन्द्र स्थापना गर्ने, दुग्धजन्य पदार्थको उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण गर्ने, पशुमा कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गर्ने, नर्सरी निर्माण गरी आवश्यक बीउ तथा बिरुवा उत्पादन गरिने, बाँझोे जग्गालाई खेतीयोग्य जग्गामा परिणत गर्ने, कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने, फलफूल दशक बिरुवा रोपण कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । त्यस्तै उद्योग वाणिज्यतर्फ नेपाली कागज अल्लो, धागो तथा निगालोबाट निर्मित वस्तुहरु उत्पादनका लागि सीप विकास तालिम र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिने ताराखोलाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सङ्घ तथा प्रदेश सरकार सँगको समन्वयमा निजी तथा सार्वजनिक स्थल तथा सामुदायिक क्षेत्रमा रहेका ढुङ्गा उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन गर्न सहजीकरण गर्ने नीति गाउँपालिकाले लिएको छ । पर्यटनतर्फ ग्रामीण पर्यटकीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एक वडा एक पर्यटकीय गन्तव्य विकास गर्ने, करिमेलालाई नमूना पर्यटकीय गाउँका रुपमा विकास गर्ने, स्थानीय मेला पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग आबद्ध गर्ने लगायतका कार्यक्रम समेटिएका छन् । पूर्वाधार विकासतर्फ रणनैतिक महत्वका सडकलाई स्तरोन्नति गर्ने, पुल कल्भर्ट निर्माण गर्ने र नयाँ ट्र्याक आवश्यकता पहिचान गरेर मात्र खोल्ने, आगामी आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्र गर्ने, वन तथा सहरी विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने र वडा भवन निर्माण थालनी गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नमूना विद्यालय र जनप्रेमी मावि भवन निर्माण, सुकुम्वासी समस्या समाधान, नक्सापास गरी घर निर्माण, उज्यालो गाउँपालिका घोषणा, विद्युत् उत्पादनमा सबैको सहभागिता, व्यावसायिक कृषिका लागि नयाँ प्रविधियुक्त सिँचाइ जडान लगायतका कार्यक्रम उल्लेख गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । शिक्षातर्फ एक शिक्षण संस्था एक उत्पादन, पालिकास्तरीय पुस्तकालय, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, बालविकासको स्थानान्तरण, सामुदायिक विद्यालयका किशोरीलाई निःशुल्क स्यानेटरी प्याड, बिद्यार्थीलाई दिवा खाजा दिइने, शैक्षिक योजना र कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने, बहुप्राविधिक शिक्षालय निर्माण गर्ने र जनप्रतिनिधि तथा सरकारी सेवामा कार्यरत कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा भर्ना गरी अध्ययन गराउने नीति कार्यान्वयन गराइने अध्यक्ष विकले बताए । त्यस्तै निःशुल्क औषधि सहितको घरदैलो स्वास्थ बीमा, विपन्नको बीमा पालिकाले गर्ने र आरोग्य केन्द्र निर्माण गरिने जस्ता कार्यक्रमहरु समावेश गरिएको छ । युवा खेलकुदतर्फ खेलकुद क्षेत्रको विकास गर्न सुविधा सम्पन्न कभर्ड हल निर्माण गर्ने गाउँपालिकाको नीति रहेको छ । जातीय भेदभाव अन्त्य गर्ने, बालविवाह न्यूनीकरण गर्ने अभियान सञ्चालन गर्ने र मासिक रुपमा जीवन भत्ता दिने गाउँपालिकाले जनाएको छ । मानव अधिकारयुक्त गाउँपालिका घोषणा गर्ने, समान कामको समान ज्याला दिने, शहीदमार्ग, पदमूर्ति र सङ्ग्रहालय व्यवस्थित गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । रासस

कक्षा ४ देखि १२ को पाठ्यक्रममा महिनावारी शिक्षासम्बन्धी सामग्री

काठमाडौं । नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ । राष्ट्रिय महिनावारी सञ्जालसँगको सहकार्य र जिआइजेडको सहयोगमा ग्लोबल एक्सन नेपाल (ज्ञान)ले प्रकाशन गरेको सो सामग्री आज राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलगायतको उपस्थितिमा सार्वजनिक भएको छ । आयोगका सदस्य सिंहले कार्यमूलक र तथ्यपरक अनुसन्धानमा आधारित भई परम्परागत एकोहोरोपनालाई अन्त्य गर्ने गरी भएका यस्ता प्रयास आवश्यक भएको बताउँदै ती सामग्री समाजमा परिवर्तनको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रमा अर्यालले पाठ्यक्रम पद्धतिमा उक्त सामग्री नयाँ इँटा सावित हुने जनाए । सञ्जालका अध्यक्ष गुणराज श्रेष्ठले महिनावारी शिक्षाको बुझाइले किशोरीहरु स्वास्थ्य र शिक्षाका लागि सहजता ल्याउने बताए । प्रकाशित सामग्रीलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा मुलुकका सबै विद्यालयमा परीक्षण गराउने लक्ष्य लिइएको ज्ञानका निर्देशक बाबुकाजी श्रेष्ठले बताए । सो संस्थाले उक्त सामग्रीको शिक्षण सहयोगी सन्दर्भ सामग्री (शिक्षक निर्देशिका) पनि प्रकाशन गरेको छ । रासस