टोखामा थपियो दुई सामुदायिक विद्यालय, शिक्षक दरबन्दी अभाव
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो । नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए । भर्खरै सुरु गरिएको दुबै विद्यालयमा यो शैक्षिक सत्रमा कक्षा १ को पढाइ सुरु गरिएको छ । चुनदेवी आधारभूत विद्यालयमा दुई शिक्षक र महादेव आधारभूत विद्यालयमा तीन शिक्षक राखेर कक्षा शिक्षण सुरु गरिएको शिक्षा शाखा प्रमुख गौतमले बताए । दुबै विद्यालयको शिक्षकको तलब भने अहिले नगरले व्यहोरेको छ । टोखा नगरको विसं २०७८ चैत २४ गतेको बैठकको निर्णयअनुसार दुई सामुदायिक विद्यालय थप गरिएको हो । दुई विद्यालय थप गरिएसँगै टोखामा सामुदायिक विद्यालयको सङ्ख्या १० पुगेको छ । टोखामा यसअघि आठ सामुदायिक विद्यालय सञ्चालनमा थिए । टोखा–१ मा दुई सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् भने वडा नं ५ र ९ मा भने हालसम्म पनि सामुदायिक विद्यालय सञ्चालनमा छैनन् । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले टोखाका सबै वडामा सामुदायिक विद्यालय निर्माण गर्ने निर्णयअनुसार यो शैक्षिक सत्रमा दुई विद्यालय थप गरिएको हो । टोखा नगरका प्रमुख कार्यकारी अधिकृत शङ्करराज पाठकले टोखाका सबै वडामा सामुदायिक विद्यालय निर्माण गर्ने नीति लिइएको बताए । ‘एक वडा, एक सामुदायिक विद्यालय निर्माण गर्ने नीति नगरले लिएको छ, सोही नीतिअनुसार अब चाँडै नै वडा नं ५ र ९ मा पनि सामुदायिक विद्यालय स्थापना गर्छौँ’, उनले भने । टोखाले ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति लिएको उहाँको भनाइ छ । पछिल्लो समय टोखाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामासमेत वृद्धि हुँदै गएको छ । विसं २०७४ मा टोखाका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या तीन हजार ५०० को हाराहारीमा रहेपनि अहिले उक्त सङ्ख्या बढेर छ हजार नाघेको छ । हरेक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई विशेष अनुदान र नगरले विभिन्न कार्यक्रम अगाडि सारेका कारण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको टोखा जनाइएको छ । यसैबीच विद्यार्थी बढ्दै गएपछि टोखामा शिक्षकको अभावसमेत हुन थालेको छ । विद्यार्थीका सङ्ख्या बढ्दै जानु र शिक्षक दरबन्दी कम हुँदा टोखामा शिक्षकको अभाव भएको नगरका शिक्षा शाखा प्रमुख गौतमले बताए । ‘शिक्षक दरबन्दी कमी हुँदा विद्यार्थीलाई पठनपाठनमासमेत समस्या हुँदै आएको छ, शिक्षक कम हुँदा एउटै कक्षामा ६० जनासम्म विद्यार्थी राखेर पढाउनु परेको छ,’ उनले भने । टोखामा शिक्षक दरबन्दी कमी भए पनि नगरले आफ्नै स्रोतमा नयाँ ३३ शिक्षक नियुक्त गरेर पठनपाठन गराउँदै आएको छ । नगरबाट थप भएका ३३ शिक्षक पनि अपुग भएको शिक्षा शाखा प्रमुख गौतमले बताए । टोखाले शिक्षक दरबन्दी थप गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । यस्तै, टोखाले विद्यार्थीको सिकाइलाई सहज बनाउन स्थानीय सिकाई केन्द्रमा निःशुल्क इन्टरनेट सेवासमेत प्रदान गरेको छ । टोखाले गतवर्ष कोरोनाको महामारीको चपेटामा परेका बालबालिकालाई सिकाइ सहजताका लागि जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय झोर, झोर महाङ्काल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा इन्टरनेट सेवा प्रदान गरेको हो । शैक्षिक क्यालेण्डरअनुसार पठनपाठन गराउँदै आएको टोखामा सामुदायिक विद्यालयका अलावा ८० संस्थागत विद्यालय र तीन वैकल्पिक विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गर्दै आएको टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क गराउने जनाएको छ । रासस
सरकारले निःशुल्क विद्युतीय चुलो वितरण गर्ने, विद्यार्थीसँग माग्यो आवेदन
काठमाडौं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो । सरकारले काठमाडौं बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवद्र्धन गर्न चुलो वितरण गर्न थालेको हो । केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म आवेदन दिन माग गरेको छ ।
प्रिमियर इन्टरनेशनल स्कुल बन्यो नेपालको पहिलो आईबी कन्टिन्युम स्कुल
ललितपुर । प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ । जेठ ८ गतेका दिन अइबिडिपी कार्यक्रमको लागि इन्टरनेशनल ब्याक्कालउरिट (आईबी) बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेशनल स्कुल अब पूर्ण रुपमा अइबी किन्टिनम्म स्कुलको रुपमा स्थापित भएको छ । विद्यालय र नेपालको समग्र शिक्षा प्रणालीका लागि यो ठूलो उपलब्धि भएको दाबी गर्दै प्रिमियर इन्टरनेशनल स्कुलका संस्थापक पवित्रा लिम्बुले प्रिमियर इन्टरनेशनल स्कुलले प्राप्त गरेको अइबी कन्टिनम्म स्कुलको उपलब्धीसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको बताइन् । आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम, डिप्लोमा कार्यक्रम र करियर सम्बन्धित कार्यक्रम गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ । वर्षभर उच्च स्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरू मध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरुलाई कन्टिन्युम विद्यालयका रुपमा चिनिन्छ । केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी पिवाइपी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो आइबी वर्ल्ड स्कुल हो । त्यसैगरी क्रमशः २०१४ र २०१७ मा स्विट्जरल्याण्डमा अवस्थित इन्टरनेशनल ब्याक्यालउरिट बाट मान्यता प्राप्त भए पश्चात् कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाइपी कार्यक्रमहरु प्रदान गर्ने पनि प्रिमियर नेपालको पहिलो र एक मात्र स्कुल हो । हाल यस स्कुलले आईबीका प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम र डिप्लोमा कार्यक्रमगरी तीन मुख्य कार्यक्रमहरू प्रदान गर्दै पूर्ण आईबी कन्टिन्युम स्कुलको रुपमा स्थापित भएको छ । त्यस्तै गरी, १५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त ११ औं र १२ औं कक्षाका विद्यार्थीहरूका लागि सबैभन्दा कठिन प्रि–यूनिभर्सिटी कार्यक्रमहरू मध्ये एक मानिने नयाँ अइबिडिपी कार्यक्रम पनि हाल प्रिमियर स्कुलले संचालनमा ल्याएको छ ।