त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।  विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए । ‘सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ’, उनले भने, ‘सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा हामी जुट्छौँ ।’ त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोकिएको छ ।  विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठन लगत्तै सरकारको सहयोगमा नै स्ववियु निर्वाचन गरिने बताए । ‘स्ववियु निर्वाचन निर्धारित मितिमा हुनुपर्दछ भन्नेमा त्रिवि र सबै विद्यार्थी सङ्गठन रहेका छन्’, उनले भने, ‘निर्वाचन गर्नका लागि विद्यार्थी सङ्गठनबीचसमेत हामीले छलफल जारी राखेका छौँ ।’ अठ्ठाईस् वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमित स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक विसं २०७३ मा आंशिक रुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक-पटक पहल गरे पनि हुनसकेको छैन ।  नेपाल विद्याथी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको तयारीमा आफूहरू रहेको बताए। ‘हामी फागुनमा नै स्ववियु निर्वाचन गर्न तयारीमा रहेका छौँ, हाम्रो सङ्गठन र पार्टीका नेता पनि सकारात्मक छन्’, उनले भने, ‘सबै सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचन गर्न त्रिविलाई आग्रह गर्छौँ ।’ उनले आफ्नो सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचनमा जाने निर्णय गर्ने बताए ।  अध्यक्ष शेर्पाले आफूहरू त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेरहद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार रहेको बताए। त्रिविले स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहद र सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् । स्ववियु निर्वाचन नहुँदा अहिले त्रिवि सभामा पनि विद्यार्थीको उपस्थिति रहेको छैन ।  अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले प्रमुख विद्यार्थी सङ्गठनका पदाधिकारीसँग स्ववियु निर्वाचन निर्धारित समयमा गर्नका लागि छलफल गरेको बताए। ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको आन्तरिक लोकतन्त्रको अभ्यास गर्न पाएका छैनन्’, उनले भने, ‘मेरो विद्यार्थी सङ्गठनका पदाधिकारीसँग छलफल भएको छ, निर्वाचन  गर्न सबै सङ्गठन तयार रहेका छन्, यो वर्षमा स्ववियु निर्वाचन गर्न सम्भव हुन्छ ।’ उनले अब हारजित हुने डरले भन्दा पनि स्ववियु निर्वाचन मुख्य कुरा भएकाले निर्धारित समयमा नै निर्वाचन गराउन सबै लाग्ने बताए । अध्यक्ष सिंहले आफ्नो सङ्गठनको तेस्रो केन्द्रीय समितिको बैठकबाट निर्णय गरी त्रिविलाई निर्धारित समयमा स्ववियु निर्वाचन गर्न भनेर ज्ञापन पत्र बुझाएको बताए ।  अनेरास्ववियु महासचिव समिक बडालले सबै निर्वाचन सकिएको अवस्थामा अब विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनमा लाग्ने बताए । उनले स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेण्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए । उनले चाँडै नै सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर निर्धारित समयमा नै स्ववियु निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्ने बताए ।  आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति तपेन्द्र शाहीले वैचारिक नेतृत्व उत्पादन गर्ने थलोका रुपमा स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए। उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकार उठाउने ठाउँ नभएको बताए।  निर्धारित मितिमा निर्वाचन हुन्छ : त्रिवि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए। ‘विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ’, उनले भने, ‘त्यसैले हामी निर्धारित मिति फागुन १४ गते निर्वाचन गर्न आतुर छौँ ।’ निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी  सङ्गठनसँग पनि निरन्तर छलफल गरिरहेको बताए। उनका अनुसार विसं २०१९ बाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो । विसं २०३६ बाट स्ववियु निर्वाचन व्यवस्थित रुपमा प्रत्येक दुई-दुई वर्षमा हुँदै आएको छ । रासस

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मंसिर २३) गते हुने भएको छ ।  दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्त भित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएको बताए । उनका अनुसार स्नातक तहतर्फ छ हजार छ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच ४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित हुँदैछन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुने छन् । स्नातकतर्फ रु तीन हजार सात सय, स्नातकोत्तर तह र एमफिलमा दुवैमा रु चार हजार दुई सय तथा विद्यावारीधिमा रु चार हजार सात सय शुल्क लाग्ने छ । समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ । समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभरसिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको जानकारी दिए । एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अङ्क ल्याउनेलाई पदक वितरण गरिने छ । त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीलाई यही मङ्सिर १५ देखि २२ गतेसम्म गाउन/स्कार्फ वितरण गरिरहेको छ । समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी लगाउनुपर्ने हुन्छ । त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको छ ।

बीबीए पढ्ने विद्यार्थी पाइन छाडे, बैंक तथा वित्तीय संस्थालाई धक्का

काठमाडौं । पछिल्लो समय कलेजहरुमा ब्याच्लर अफ बिजनेस एड्मिनिष्ट्रेसन (बीबीए) पढ्ने विद्यार्थी पाइन छाडेका छन् । कोटा अनुसारको विद्यार्थी भर्ना हुन आउन छाडेपछि कलेजहरु समस्यामा पर्न थालेका छन् । स्नातक तह अन्तर्गतको बीबीए शैक्षिक कार्यक्रम सञ्चालनको लागि विश्वविद्यालयले उपलब्ध गराएको कोटामा विद्यार्थी पढ्न नआएपछि त्रिभुवन विश्वविद्यालयले पुनः भर्नाको विज्ञापन गरेको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका काठमाडौंका ११ वटा कलेजहरुले बीबीएमा विद्यार्थी भर्नाको लागि संयुक्त रुपमा विज्ञापन क्याम्पिङ गरेका छन् । तर पनि विद्यार्थी आएका छैनन् । काठमाडौं, कमलपोखरीमा सञ्चालनमा रहेको किस्ट कलेजमा बीबीएको लागि छात्रवृत्तिसहित ६६ जना विद्यार्थीको कोटा रहेको छ । तर, पुनः भर्नाको प्रकृया प्रारम्भ गर्दा पनि अहिलेसम्म ७० प्रतिशत विद्यार्थी भर्ना हुन आएका छैनन् । ‘शंकरदेव, नेपाल कमर्स क्याम्पस बाहेक सबैतिर विद्यार्थी संख्यामा यस पटक कमि देखिएको छ’, किस्ट कलेज बीबीए कार्यक्रमका संयोजक राजेश कार्कीले विकासन्युजसँग भने । काठमाडौं थापाथलीमा रहेको द इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजका कार्यकारी निर्देशक रोशन भट्टराईले सो कलेजको कार्यक्रममा पनि कोटा अनुसार विद्यार्थी अध्ययन गर्न नआएको बताए । ६० जनाको कोटामध्ये अहिले जम्मा ४० जना विद्यार्थीहरु मात्रै सो कार्यक्रममा पढेको उनले बताए । ‘पहिलेको अवस्थामा विद्यार्थी धेरै भएर पढ्न नपाउने अवस्था थियो, अहिले कोटा अनुसारको विद्यार्थी पाउन गाह्रो भएको छ, हुनत पछिल्लो समयमा धेरै कलेज खुलेका छन्’, भट्टराइले भने । बीबीए तहमा पढ्ने विद्यार्थीको समस्या त्रिभुवन विश्वविद्यालयका कलेजहरुमा मात्रै नभएर अन्य विश्वविद्यालयबाट सञ्चालित कलेजहरुमा समेत परेको देखिन्छ । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भएको काठमाडौं स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजसँग बीबीएको लागि १ सय ४४ जनाको कोटा रहेको छ । तर, अहिलेसम्म १ सय भन्दा कम विद्यार्थी मात्रै भर्ना भएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेल बताउँछन् । पढ्ने विद्यार्थीको ठूलो संख्या विदेश गएका कारण विद्यार्थी पाइन छाडेको उनले बताए । बेलायतको सन्डरल्यान्ड युनिभर्सिटीबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको आइएसएमटी कलेजको बीबएि कार्यक्रममा पनि विगतको तुलनामा ५० प्रतिशत विद्यार्थी कम भएको कलेजका विजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्तीले बताए । ‘अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका लगायतका मुलुकमा विद्यार्थी भिसा बढेका कारण नेपालमा पढ्ने विद्यार्थी संख्यामा प्रभाव परेको छ’, उनले भने, ‘अहिले पनि ७०/८० हजार विद्यार्थीहरु विदेश जाने पाइपलाइनमा छन् भन्ने सुनेको छु ।’ स्वदेशी विश्वविद्यालय र विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौंको टेक्सास इन्टरनेशनल कलेजका बिजनेस डेभलपमेन्ट अफिसर नारायण पोख्रेलले स्नातक तहका कार्यक्रममा विद्यार्थी संख्याको प्रभाव देखिन थालेको बताए । पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालय आफ्नै शैक्षिक क्यालेन्डर लागु गर्ने कुरामा कमजोर भएको उनले बताए । ‘कक्षा १२ को नतिजा नआउँदै बिबिएको भर्ना खुलाउने, शैक्षिक क्यालेन्डरलाई राम्रोसँग कार्यान्वयन नगर्ने जस्ता समस्याले त्रिभुवन विश्वविद्यालयको बीबीए तहमा समस्या देखिएको छ’, उनले भने । बीबीए पढेका अधिकांश विद्यार्थीहरु बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा काम गर्छन् । बीबीए प्रति विद्यार्थीहरुमा चाँसो कम देखिएपछि त्यसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय क्षेत्रमा पर्ने निश्चित प्रायः छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको जागिर आकर्षक पेशाका रुपमा लिइए पनि त्यसको विकल्पका रुपमा अन्य धेरै क्षेत्रहरु बन्दै गएपछि विद्यार्थीहरुको रोजाइ ति क्षेत्रहरु बनेको हुन् कि भन्ने धेरैको बुझाइ छ । यस्तै, विद्यार्थीहरुले प्लस टु सकेर विदेश पलायन हुने परिपाटीले पनि नेपाली कलेजहरुमा पढ्ने विद्यार्थीको संख्या न्यून हुँदै गएको हो ।