कञ्चनपुरका सामुदायिक विद्यालयले पनि अङ्गे्रजी माध्यममा पठनपाठन गर्ने
दोधारा चाँदनी । विद्यालय भर्ना अभियान तीव्र भएका बेला कञ्चनपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने योजना ल्याएर विद्यार्थी आकर्षित गर्न थालेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयले अहिले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सञ्चालन गरेका छन् । अभिभावक तथा विद्यार्थीमा निजी विद्यालयमा आकर्षण रहेका बेला सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएका हुन् । कञ्चनपुरको पुरानो सामुदायिक विद्यालय वैजनाथ माध्यमिक विद्यालयले पनि यसै शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए । ‘हामीले नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका हौँ ।’ उनले यसवर्ष विद्यार्थीको सङ्ख्या थप्ने लक्ष्यसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको बताए । हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयमा पनि निजी विद्यालयले जस्तै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन सुरु गरेको भृकुटी माध्यमिक विद्यालयका शिक्षिका विमला भट्टको भनाइ छ । ‘सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोलासमेत उपलब्ध गराउँदैछौँ’, भट्टले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी तल्लो कक्षामा समेत अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौँ ।’ उनले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या बढ्न थालेको बताए । महेन्द्रनगर माध्यमिक विद्यालयले पनि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सुरु गरिने बताए । ‘आगामी शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाई गर्ने भएका छौँ’, जोशीले भने, ‘अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।’ उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकशिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताए । कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको पनि उनले जानकारी दिए । सामुदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा रहेका र गुणस्तर सुधारका विभिन्न योजना बनाइएको उनको भनाइ छ । कञ्चनपुरमा दुई सय ५९ वटा सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । रासस
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
काठमाडौं । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय त्रिविका बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते निर्वाचन गराउन सहमति गरेका छन् । ‘देशभरि निर्वाचन हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गर्ने, निर्वाचन विथोलिने खालका गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडि बढाउन प्रतिबद्ध छौँ’, संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा विवादित विषयमाथि सत्यतथ्य छानबिनका लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी निर्वाचन प्रक्रिया अगाडि बढाउनसमेत उनीहरुले माग गरेका छन् । उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ । यही चैत ५ गते १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । केही क्याम्पसमा भर्ना र विद्यार्थी सङ्गठनबीच विवादका कारण निर्वाचन हुन सकेको थिएन । रासस
मोरङबाट ११६ नक्कली परीक्षार्थी पक्राउ
मोरङ । मोरङमा माध्यमिक शिक्षा परीक्षा एसइई दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए । रासस