एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा पठाएको हो । यसका लागि कामपाले दुई हप्ताअघि विज्ञापन माग गरेको थियो । उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट कामपाले १५ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । आवश्यकता सङ्ख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १५ जना मात्र रहेकाले मङ्गलबार सबै प्रक्रिया पूरा गरी आजदेखि काममा खटाइएको प्रमुख सुवेदीले जानकारी दिए । उनले भने, ‘यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो । सहजकर्ता मात्रै होइन शिक्षण सहयोगी पनि कामपाले नियुक्त गर्न लागेको छ ।’ शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् । अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँचरपाँच जना सहजकर्ता आवश्यक रहने कामपाले जनाएको छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ । त्यसैगरी शिक्षण सहयोगीका लागि गणित विषयका ६० र विज्ञान विषयका ६० जना आवश्यकता रहेको जनाइएको छ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक १५ हजार तोकिएको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्ष कामपाको सार्वजनिक विद्यालयबाट चार हजार विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको प्रभावकारिता हेरी आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने कामपाको तयारी रहेको पनि प्रमुख सुवेदीले जानकारी दिए ।

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको सङ्ग्रहालय प्रयोगविहीन

मकवानपुर । मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ । हेटौंडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ। मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको सो सङ्ग्राहलयको संरक्षणका लागि पटक–पटक माग भए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यहाँ अध्ययनरत् विद्यार्थी बताउँछन् । भारतको दुई करोड ६० लाख लागतमा निर्माण भएको सो सङ्ग्राहलय सुरुआतमा सञ्चालनमा आए पनि पछि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो। यहाँ रहेका महत्वपूर्ण सामग्री तथा संरचना संरक्षण अभावमा जीर्ण भइसकेका छन्। सङग्रहालयभित्र पुस्तकालय, वन विज्ञान, जडीबुटी, चराचुरुङ्गी, जनावर तथा वन्यजन्तुका अवशेष अध्ययन तथा अवलोकनका लागि राखिएका छन्। सङ्ग्रहालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ। त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयको बेवास्ताले न त सङ्ग्रहालय विद्यार्थीका लागि उपयोगी भएको छ न अवलोकनकर्तालाई नै आकिर्षत गर्न सकिएको छ। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र कृषि वन विज्ञान विश्वविद्यालयको बीचमा रहेको सो सङ्ग्रहालयको संरक्षणमा सरकारले र त्रिभुवन विश्वविद्यालयले चासो नदिएकाले लथालिंग भएको वन विज्ञान अध्ययन संस्थानका कर्मचारीको गुनासो छ। सङ्ग्रहालयका प्रमुख राजबाबु पहाडीले सरकारले प्राथमिकतामा नराखेकाले सङ्ग्रहालयले गति नलिएको बताए। ‘बजेटको अभाव भएको छ’, उनले भने। त्रिभुवन विश्वविद्यालयअन्तर्गत डिनको कार्यालयबाट सञ्चालित सङ्ग्रहालयको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि बेवस्ता गरिएको उनको भनाइ छ । यहाँ कर्मचारीको समेत अभाव छ। वनविज्ञान अध्ययन संस्थानले विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा, फर्निचर तथा भवन मर्मत गर्नुका साथै तारबार गरी सरसफाइमा जोड दिएको छ। हाताभित्र हाल शैक्षिक भवनको अगाडि सरस्वतीको मूर्ति स्थापित गरिएको सो संस्थानका प्रमुख शिवकुमार महाजनले जानकारी दिए।

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

रामपुर । पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् । यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ । हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ । त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विसं २०७५ मा स्थापना भएको कालीगण्डकी फाउन्डेसन नेपालद्वारा विद्यामन्दिर सार्वजनिक पुस्तकालय स्थापना गरेपछि हिजोआज फुर्सदको समय निकालेर पुस्तक पढ्न जाने पाठकहरु बढ्दै गएका छन् । दिउँसो फुर्सदको समय पुस्तकालयमा आएर बेला–बेलामा पढ्ने गरेको समीक्षा पोखरेल बताउँछिन् । शहीद बहुमुखी क्याम्पस रामपुरमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनी आफ्नो औपचारिक शिक्षासँग सम्बन्धित मात्र नभई जीवनोपयोगी हुने ज्ञानवद्र्धक पाठ्यपुस्तक पुस्तकालयमा बसेर पढ्ने गर्छन् । ‘यहाँ हामीले खोजेका सबैजसो पुस्तकहरु उपलब्ध छन्, निःशुल्क पढ्ने व्यवस्था छ, समयसामयिक पुस्तकहरु पाइने हुँदा बजारमा पुस्तक खोज्न धाउनु परेन, विद्यार्थीलाई पाठ्यपुस्तकसँग सम्बन्धित पुस्तक उपलब्ध भएपछि धेरै सजिलो भएको छ’, उनले भने । समयानुकूल प्रकाशित पुस्तक उपलब्ध हुने भएपछि पुस्तक किन्ने साटो यहीँ आएर पढ्ने गर्दछन् । शहीद बहुमुखी क्याम्पस स्नातक तह दोस्रो वर्षमा अध्ययनरत केशरी ढेँगा यहाँ पुस्तकालय खुलेपछि नयाँ र ज्ञानवद्र्धक, अति लोपोन्मुख खालका पुस्तकहरु पढ्ने अवसर मिलेकामा खुसी छन् । ल्याब टेक्निसियनको अध्ययन पूरा गर्नुभएकी सपना थापा सबै क्षेत्रको पुस्तक एकै ठाउँमा पढ्न पाउँदा पाठकलाई अध्ययनमा रुचि बढ्दै गएको बताउँछन् । यस पुस्तकालयमा पहिलो पटक अवलोकन गर्न आएकी उनी सदरमुकाम बाहिर आफूले सोचेभन्दा धेरै राम्रो र व्यवस्थित पुस्तकालय पाएको अनुभव सुनाइन् । पुस्तकालयमा विभिन्न विषयका करिब छ हजार पुस्तक राखिएको छ । किसानदेखि उद्योगपतिसम्मका तथा चारवेद, अठार पुराणका पुस्तक यहाँ उपलब्ध छन् । संस्कृत्, अङ्ग्रेजी र हिन्दी भाषाको डिजिटल गीता ४७२ पृष्ठ पुस्तक पनि यहाँ उपलब्ध छ । कृषिजन्य, धार्मिक, दर्शनशास्त्र, इतिहास, विभिन्न राजनीति विवेचना र इतिहास, नेपाली साहित्य, कूटनीतिक सम्बन्धका साथै नर्सरी देखि १२ कक्षासम्मका सामुदायिक र संस्थागत विद्यालयमा पढाइ हुने पुस्तक, अङ्ग्रेजी र नेपाली शब्दकोश, बालबालिकालाई लक्षित बालकथा, स्वास्थ्यसम्बन्धी, घरेलु उद्यमी, सामान्य ज्ञान लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित पुस्तकहरु यस पुस्तकालयमा अध्ययन गर्न पाइन्छ । नेपाली राजनीतिको पञ्चायत स्मारिका समेतका प्रकाशनहरु पनि यहाँ संरक्षण गरी राखिएको छ । सो पुस्तकमा विसं २०१७ देखि २०४२ सम्मका सरकारी योजनाका विवरण समेटिएको छ । यी पाठ्यसामग्रीहरु दलविहीन पञ्चायती प्रजातन्त्र रजत जयन्ती महोत्सव केन्द्रीय समन्वय समितिद्वारा प्रकाशन गरिएको हो । धार्मिक पुस्तकतर्फ श्री शिव महापुराण, श्रीमद्देवी भागवत महापुराण, ब्रह्मपुराणम्, रामायण, श्री स्वस्थानी व्रतकथा, असली आठकाण्ड रामायण, श्रीराम चरित्रमानस, श्री विष्णु महापुराण लगायतका छन् । सबैले अध्ययन गर्न पाउने गरी पुस्तक पढ्ने व्यवस्थाको थालनीले ग्रामीण भेगमा पछिल्लो समय पुस्तकालयको प्रभाव बढेको कालीगण्डकी फाउन्डेसन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारी बताउँछन् । लोपोन्मुख अवस्थामा रहेका पुस्तकहरु सङ्कलन गरी राखिएकाले यसप्रति धेरैको आकर्षण बढ्दै गएको हुँदा ई–लाइब्रेरी स्थापना गर्ने संस्थाको योजना रहेको अध्यक्ष भण्डारीले बताए । दैनिक बिहान १० देखि साँझ ४ बजेसम्म एकजना कर्मचारी व्यवस्थापन गरी पुस्तकालय सञ्चालन गरिएको छ । पुस्तकालयमा बसेर अध्ययन गर्न नभ्याउने पाठकले नाम दर्ता गराएर एक हप्तासम्म घरमै लगेर पुस्तक पढ्ने व्यवस्था छ । त्यसकारण पनि विभिन्न सङ्घसंस्था, कार्यालय, पेसा, व्यवसायमा आबद्ध व्यक्तिले घरमा फुर्सदको समय निकालेर पुस्तक लगेर पढ्ने गरेको पाइएको छ । दुई वर्षको अवधिमा करिब तीन हजार बढीले पुस्तकालयको अवलोकन गरेको पाइएको छ । विद्यालय बिदाको समयमा एक दिनमा एक सयभन्दा बढी पुस्तकालयमा आउने गरेको कर्मचारी धनमाया खरु बताउँछिन् । विद्यार्थीले मात्र नभई अन्य क्षेत्रमा आबद्ध, विभिन्न उमेर समूहका व्यक्तिको पुस्तक अध्ययनमा रुचि बढ्दै गएको छ । बढ्दो सूचना सञ्चार प्रविधिको प्रयोगले पुस्तक पढ्ने, खोजी गर्ने बानी पाठकमा कम हुँदै गएकाले पुस्तक नियमित पढ्ने बानी बसाल्न पुस्तकालय सञ्चालनमा ल्याइएको कालीगण्डकी फाउन्डेसन नेपालका सल्लाहकार सन्दीप राना बताउँछन् । ‘पुस्तकालयमा कृषिकर्म गर्ने प्रविधि, उद्यमी कसरी बन्ने, राजनैतिक सामाजिक क्षेत्रमा नेतृत्व देखिका मानिसको जीवनमा दैनिक उपयोगी हुने खालका पुस्तकहरु पढ्ने व्यवस्था छ’, उनले भने, ‘स्नातकोत्तर तहसम्मका विद्यार्थीले सोधपत्र तयार पार्न सक्ने खालका पुस्तकहरु हामीले उपलब्ध गराएका छौँ ।’ यस पुस्तकालयलाई नेपालकै नमुना बनाउने सोचका साथ निकट भविष्यमा हरियाली बगैँचा, फूलबारी, खुल्ला चउरमा प्रकृतिको रमणीय वातावरणमा बसेर पढ्न मिल्ने खालको संरचना बनाउने योजना रहेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेएका रानाले अहिले भाडाको घरमा पुस्तकालय सञ्चालन गरे पनि यसलाई स्तरोन्नति गरी समयानुकूलको प्रविधिको उच्चतम प्रयोग गर्दै पाठकमा नयाँ आयाम ल्याउने सोचका साथ पुस्तक पढ्न स्थानीयस्तरका मात्र नभई बाहिरी जिल्लाबाट पाठक भित्रिने वातावरण तयार पार्ने बताएका छन् । ‘पाठकलाई मध्यनजर गर्दै चिया खाजाका लागि क्याफे खोल्ने, क्याफेमा बसेर पढ्न मिल्ने वातावरण बनाउने, पुस्तक पढ्न आउने वातावरण राम्रो बनाउन सकियो भने पाठकको आकर्षण बढ्नेछ’, रानाले भने । नेपालका ७७ वटै जिल्लामा खुल्ला अवधारणाका रुपमा सार्वजनिक पुस्तकालय स्थापना गर्ने प्रेरणा दिनका लागि सार्वजनिक पुस्तकालयको अवधारणा ल्याइएको उनको भनाइ छ । रासस