शिक्षकलाई मासिक रुपमा नै तलब दिने तयारी गर्दैछौं – शिक्षामन्त्री खनाल
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले शिक्षकलाई मासिक रुपमा नै तलब दिने तयारी गरिरहेको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो बताएका हुन् । राज्यको अन्य क्षेत्रमा काम गर्ने कर्मचारीले मासिक रुपमा पारिश्रमिक प्राप्त गर्ने तर शिक्षकले चार महिना नपाउने अवस्थाको अन्त्य गर्ने विषयम छलफल गरिरहेको उनले बताएका छन् । विद्यालय शिक्षा सिकाइको उपलब्धि कमजोर भएको भन्दै उनले अबको शिक्षा योजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताएका थिए । ‘एसईईमा राम्रो नतिजा ल्याउने विद्यालयलाई राम्रो मानिने प्रवृत्तिले गर्दा तल्ला कक्षालाई वास्ता नगरी एसईईलाई मात्र जोड दिँदा तल्ला कक्षाका विद्यार्थीको अवस्था नाजुक छ’, मन्त्री खनालले भने । प्राविधिक शिक्षा, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढ्दै कमाउँदै कार्यक्रमलाई आगामी दिनमा सञ्चालन गर्नेबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग विश्लेषणात्मक प्रतिवेदन माग गरेको उनले बताएका छन् ।
शिक्षकहरुलाई मासिक रुपमा तलब दिने तयारीमा शिक्षा मन्त्रालय
काठमाडौं । शिक्षकहरुलाई मासिक रुपमा तलब दिने तयारीमा शिक्षा मन्त्रालय अगाडि बढेको छ । शिक्षामन्त्रीको जिम्मेवारीमा शिशिर खनाल आएसँगै उनले सो विषयलाई अगाडि बढाएका हुन् । शिक्षा मन्त्रालयमा भएको छलफलका कार्यक्रममा मन्त्री खनालले सो विषयलाई प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ । मन्त्री खनालले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई शिक्षकहरुले मासिक रुपमा तलब नपाउने समस्याको कारणको विषयमा १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । अहिलेसम्म शिक्षकहरुले आफ्नो तलब चौमासिक रुपमा बुझ्दै आएका छन् । शिक्षा मन्त्रीले तलब मासिक रुपमा उपलब्ध गराउनेगरी छलफल अगाडि बढाएपछि शिक्षकहरु उत्साहित भएका छन् ।
निजीमा भन्दा सामूदायिक विद्यालयमा विद्यार्थी बढी
इलाम । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिए । उनले भने, ‘विसं २०७८ को तुलनामा गर्दा सामुदायिक विद्यालयमा ११ दशमलव २५ प्रतिशत विद्यार्थी वृद्धि भएको देखिन्छ ।’ पालिकामा सामुदायिक विद्यालय, गुरुकूल र गुम्बासमेत गरी ६६ वटा, संस्थागत ३१ वटा र गुठीबाट सञ्चालित एउटा गरी जम्मा ९८ वटा विद्यालय सञ्चालनमा छन् । साथै सामुदायिक सिकाइ केन्द्र तीन वटा र स्नातक तहसम्म अध्यापन हुने एउटा क्याम्पस पनि सञ्चालनमा छन् । क्याम्पसमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत रहेको प्रवक्ता भुजेलको भनाइ छ । उनले अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी तीन सय ९८, माध्यमिक तथा आधारभूत तहका अनुदान कोटाको शिक्षक सङ्ख्या १४, बाल शिक्षक ६२ तथा विद्यालय सहयोगी र सहायक कर्मचारी ७८ गरी जम्मा पाँच ५२ जनाको दरबन्दी छ । नगरपालिका क्षेत्रभित्रका विद्यालय र समग्र शैक्षिक स्थिति सुधारका लागि पालिकाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७६ तथा नियमावली २०७६ लागू गरी समयसापेक्षरुपमा संशोधन गर्दै आएको नगरप्रमुख रणबहादुर राईले बताए । ‘सबै सामुदायिक विद्यालयको दरबन्दी मिलान सम्पन्न गरी विषयगत शिक्षक व्यवस्थापन गरेका छौँ’, प्रमुख राईले भने, ‘सबै आधारभूत तहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा शिक्षण सिकाइ भइरहेको छ । इन्टरनेटको पहुँच सबैतिर पुगेको छ ।’ नगरपालिकाले सामुदायिक विद्यालयको आर्थिक व्यवस्थापन गर्न कार्यविधि २०७७ पारित गरी कार्यान्वयन गरिरहेको छ । विद्यालय कार्यसम्पादन निर्देशिका, २०७८ बमोजिम करार सम्झौता हुने गरेको र समयसमयमा स्वमूल्याङ्कन हुने गरेको राईले बताए । विद्यार्थी गणित विषयमा कमजोर भएको पाइएपछि नगरपालिकाले ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ भन्ने नाराका साथ विद्यार्थीलाई गणित अभ्यास पुस्तिका वितरण गरेको छ भने आधारभूत विद्यालयमा विज्ञान तथा गणित प्रयोगशाला स्थापना र सञ्चालन भइरहेको छ । ‘बाह्र महिना बाह्र कार्यक्रम’ अन्तर्गत हरेक महिना अतिरिक्त क्रियाकलाप पनि हुने गरेको छ । पालिकाले सञ्चालन गर्दै आएको ‘छोरी बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताए । ‘कार्यक्रमअन्तर्गत नगरपालिकाले करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा अध्ययनरत एक सय ५४ जना छोरी बुहारीका लागि वार्षिक २५ लाख छात्रवृत्ति उपलब्ध गराइरहेको छ’, उनले भने, ‘यस वर्ष वितरण गरिएको २५ लाखबाट छोरी बुहारीलाई स्नातक तह उत्तीर्ण गराई उच्च शिक्षा प्र्राप्त गर्ने महिलाको दर बढाउने कार्य भइरहेको छ ।’ यहाँका २४ वटा सामुदायिक विद्यालयमा ई(हाजिरी जडान भएका छन् । अविभावक परिचयपत्र वितरण, बाल बचतका लागि बैंक खाता, सूचना प्रविधि प्रयोगशालाको स्थापना, मेयर शिक्षा सुधार कोष सञ्चालन कार्यविधिबाट प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरपालिकाले प्रयास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए । सूर्योदय प्रदेश नं १ को पर्यटकीय नगरी र तेस्रो बालमैत्री नगरपालिकासमेत हो । रासस