सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता आजबाट शुरु

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरमा सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता समुद्घाटन भएको छ । काठमाडौँ उपत्यकाका १७ विद्यालयहरु र काभ्रे जिल्लाबाट नेपाल पुलिस स्कुल, साँगा एक गरी जम्मा १८ वटा विद्यालयहरुले यस प्रतियोगितामा भाग लिएका छन्। लीग कम नकआउट आधारमा सञ्चालन गरिने उक्त प्रतियोगिता विद्यालयका प्रधानाचार्य युवराज पराजुली र विद्यालय समादेशक स.प्र.ना.उ. लक्ष्मी थपलियाबाट संयुक्त रुपमा उद्घाटन गरी खेलको शुभारम्भ गरिएको थियो । उक्त समारोहमा उपस्थित सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापकले सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । आज भएको उद्घाटन खेलमा आयोजक नेपाल एपिएफ स्कुलले हारति शिक्षा मन्दिर विद्यालयलाई ७-० गोल अन्तरले पराजित गरेको छ। जसमा नेपाल एपीएफ स्कुलका अविन वस्यालले – १, रोहित गोले – १, तेन्जिङ्ग शेर्पा – २, डम्बर वि.क. – १, विवेक पश्चिमा थारुले – १ गोल गरेका थिए भने – १ आत्मघाति गोल समेत भएको थियो। आजै सम्पन्न भएको दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले नाईटिङ्गल ईन्टरनेशनल स्कुललाई १२ – ० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । जसमा सैनिक आवासीय महाविद्यालयको तर्फबाट उज्जवल राई – ५, अफ्रेज अलि -३, दिपेश दुर्जन – १, कृष्ण थापा – १, अनुभव पुरी – १ र दक्ष लामाले – १ गोल गरेका थिए । त्यसैगरी भोली २६ गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेको आयोजकले जनाएको छ । १. ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ध डि.ए.भि. स्कुल २. ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विरुद्ध ब्लुम नेपाल स्कुल

विद्यालय शिक्षामा डिजिटलाइजेसन : कसरी पढ्ने मोबाइल ल्यापटपमा विद्यालयका कोर्ष ?

काठमाडौं । केही समय अगाडि कक्षा कोठा र किताबमा मात्रै सिमित भएको विद्यालय शिक्षाले बिस्तारै फड्को मार्न थालेको छ । शिक्षा मन्त्रालय र मातहतका निकायहरुले नै पछिल्लो समयमा विद्यालय स्तरका शैक्षिक सामग्रीलाई डिजिटलाइजेसन गर्ने काम भइरहेको छ । देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यपुस्तक लगायत गुणस्तरीय सिकाइ सामग्रीहरुको सहज पहुँच पुर्याउने उद्देश्यले मन्त्रालय र मातहतका निकायहरुले डिजिटल सामग्रीहरुको उत्पादन, प्रसारण र वितरणको काम गरिरहेको शिक्षा मन्त्रालयले जनाएको छ । सूचना तथा प्रविधिमा पहुँच भएका विद्यार्थीहरुको सहजताका लागि विभिन्न डिजिटल प्लेटफर्मको विकास भएका छन् । पाठ्यक्रम विकास केन्द्रले डिजिटल पुस्तकालयको विकास गरेको छ । जसमा विद्यालय तहमा पढाई हुने सम्पूर्ण पाठ्यपुस्तकको ई–कपी राखिएको छ । विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रको वेबसाइटको मुख्य पेजमा गएर डिजिटल लाइब्रेरी मार्फत विभिन्न ९ वटा लाइब्रेरीहरुमा जान सकिन्छ । साथै केन्द्रको मुख्य पृष्ठमा नै राखिएको टेक्स्ट बुक मार्फत पनि कक्षा १ देखि कक्षा १२ सम्मका विभिन्न पुस्तकहरुको पिडिएफ प्रति डाउनलोड गरेर पढ्न सकिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि ई–लाइब्रेरीको व्यवस्था गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटको मुख्य पृष्ठमा राखिएको ई–लाइब्रेरीमा गएर विद्यार्थीहरुले विभिन्न पुस्तक तथा सन्दर्भ पुस्तक अध्ययन गर्न सक्छन् । त्यस्तै, सोही केन्द्रको वेबपेजको मुख्य पृष्ठमा राखिएको अनलाइन पोर्टलमा गएर विद्यार्थीहरुले कक्षा १ देखि १२ सम्मको पुस्तक अध्ययन गर्न सक्छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको ई–लाइब्रेरी र लर्निङ पोर्टलमा पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमार्फत पनि जान सकिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको अनलाइन पोर्टल शिक्षा तथा मानव स्रोत विकास केन्द्रकै वेबसाइटको अनलाइन कक्षामार्फत युट्युब च्यानलमा गएर पनि विद्यार्थीहरुले १ देखि कक्षा १० सम्मका अध्ययन को भिडियो सामग्री हेर्न सक्छन् । यी भिडियोहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार देखि शुक्रबारसम्म एनटिभी प्लसमा बिहान ६ देखि ८ः३० सम्म र साँझ ४ः३० देखि ७ बजेसम्म हेर्न सकिन्छ । देशभरीका विद्यार्थीहरुलाई लक्षित गरेर नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट मंगलबार साँझ ७ बजे शिक्षाको चौतारी कार्यक्रम प्रसारण हुने गरेको छ भने मंगलबार र शनिबार विभिन्न सूचनामुलक, सचेतनामुलक र लघुनाटकहरु प्रसारण गर्ने गरेको छ । जुन सामग्रीहरु विद्यालय तहका विद्यार्थीहरुको लागि सन्दर्भ सामग्री बन्न सक्छन् । शिक्षा मन्त्रालयले आइसिटी ल्याब प्रयोग गरिरहेका विद्यालयहरुले ई–लाइब्रेरीलाई प्रयोगमा ल्याउन पनि अनुरोध गरेको छ । शिक्षा मन्त्रालयले हालै एक सूचना जारी गरेर मन्त्रालय र मातहतका निकायहरुको पहलमा विकास गरिएका डिजिटल अध्ययन सामग्रीको विषयमा आम विद्यार्थी र अभिभावकहरुमा जानकारी दिन अनुरोध गरेको छ । [pdf id=386987]

पाठ्यक्रम निर्माणमा दक्ष जनशक्तिको अभाव, उच्च शिक्षा हासिल गरेका विद्यार्थी विदेश पलायन हुँदा समस्या

काठमााडौं । नयाँ पाठ्यक्रम निर्माण तथा परिमार्जनमा दक्ष जनशक्तिको अभाव देखिन थालेको छ । पाठयक्रम विकास केन्द्रले पछिल्लो समय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्न जनशक्तिको समेत अभाव खेप्नु परेको गुनासो गरेको हो । सीमित जनशक्तिको बीचबाट नै वर्षेनी काम गर्दै आउनु परेको केन्द्रको भनाइ छ । पाठयक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले पछिल्लो समय पढे लेखेका जनशक्ति विदेश पलयान हुँदा पाठ्यक्रम निर्माणमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव हरेको बताए । ‘पाठ्यक्रम विकास र मूल्यांकनको पाटोमा ‘स्टल एक्सपर्ट’को अभाव छ’, उनले भने, ‘कन्टेटलाई बुझेको विकसित परिस्थितिलाई व्यवहारमा ढालेर उदाहरणसहित व्यवहारिक विधिबाट शिक्षण गर्ने, पाठ्यपुस्तक लेख्ने र पाठ्यक्रम निर्माण गर्ने मान्छेहरुको संख्या अत्यन्तै सीमित छ। यसका बाबजुत पनि हामी काम गरिरहेका छौं ।’ त्यस कारण पनि नेपालको सामाजिक विविधतालाई पनि पाठ्यक्रम निर्माणमा समेट्न नसकिएको अर्याल बताउँछन् । पाठयक्रम विकास केन्द्रले प्रत्येक ५ वर्षमा पाठ्यक्रम र पाठ्यपुस्तकमा सामान्य परिमार्जन र १० वर्षमा पूर्ण परिमार्जनको अभ्यास गर्दै आएको छ । ५ दशकदेखि केन्द्रले सो क्षेत्रमा काम गर्दै आएको छ । विगतको तुलनामा नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकमा विद्यार्थीहरुको रुची बढ्दै वा घट्दै गएको भन्ने विषयलाई भने उसले कुनै मूल्यांकन गरेको छैन । त्यसको लागि पाठ्यक्रम विकास केन्द्रसँग कुनै नीति वा संयन्त्र छैन । केन्द्रले विद्यालय स्तरको पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जनका लागि वर्षेनी १० करोड भन्दा धेरै खर्च गर्ने गर्छ । तरपनि नेपालको विद्यालय शिक्षा प्रभावकारी बन्न सकेको छैन भन्ने कोणबाट उठेका केही प्रश्नहरु पाठ्यक्रम विकास केन्द्रतर्फ पनि सोझिएका छन् । खस्कँदो विद्यालय शिक्षामा पाठ्यक्रम पाठ्यपुस्तकका कमजोरी मुख्य नभएको केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालको भनाइ छ । विद्यार्थीहरुका रुची र क्षमतालाई पाठ्यक्रम निर्माण गर्ने क्रममा कम ध्यान दिएको विषय महानिर्देशक अर्याल स्वीकार गर्छन । ‘केही विद्यार्थीले पाठ्यपुस्तकमा रुची देखाएको पनि देखिन्छ, पाठ्यपुस्तकमा रुची छैन किन भन्न सकिन्न भने पाठयपुस्तक समयमा पुगेन भने हामीले समाचारहरुमा हाहाकार भएको पढिरहेका हुन्छौं’, उनले भने, ‘त्यसैले पाठ्यपुस्तकप्रति सबैको लगाव छ, विश्वास छ भन्ने म्यासेज पनि हो ।’ विश्वका विकसित मुलुकहरुले क्षमतावान जनशक्ति उत्पादनका लागि विद्यार्थीको रुचीसँग पाठ्यपुस्तक र सिकाई विधिलाई तालमेल मिलाउने प्रयत्न बढी भन्दा बढी गरिरहेका हुन्छन् । तर, केन्द्रसँग विद्यार्थीको रुचीको विषयमा अध्ययन गर्ने स्रोत, साधन र जनशक्ति नभएको महानिर्देशक अर्याल बताउँछन् । भोलिको दिनमा विद्यार्थीको रुचीको विषयलाई पनि अध्ययन गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने सन्दर्भमा अन्य प्रविधिको क्षेत्रमा जस्तो विदेशी जनशक्ति खरिद गर्ने अभ्यास संसारभरी नै गरिँदैन । महानिर्देशक अर्यालले केन्द्रले पनि नेपाली जनशक्तिलाई नै प्रयोग गर्ने र थप विकास गर्दै लैजाने अभ्यास गरेको बताउँछन् । ३ दशक यताको नेपाली विद्यालय शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई हेर्दा धेरै विकास भएको आफूले पनि अनुभव गरेको अर्याल सुनाउँछन् । पाठ्यक्रम विकासको कोणबाट हेर्दा दक्षिण एशिया क्षेत्रमा नेपाल समान स्थानमा रहेको महानिर्देशक अर्यालको बुझाइ छ । तर, अमेरिकन र युरोपियन क्षेत्रले विकास गरेको पाठ्यक्रममा भने नेपाल पछाडि रहेको उनी बताउँछन् । ‘साउथ एशियनमा ग्रेड १,२,३ बाट इन्टिग्रेटेड एप्रोचलाइजरमा हामीले पहिलो अभ्यास गर्दैछौं, यसको अरुले डुब्लिकेसन गर्न खोजिरहेको देखिन्छ’, उनले भने, ‘तर, युरोपियन र अमेरिकन देशहरुलाई हेर्यो भने फेरि हामी केही पछाडि छौं, किनकी त्यहाँको सन्दर्भ र हाम्रो सन्दर्भ मिल्दैन ।’ विकसित मुलुकहरुले सीमित विद्यार्थीलाई धेरै शिक्षकहरुको मार्फत व्यवहारिक माध्यमबाट अध्यापन गर्ने विधि भएकोमा नेपालमा धेरै संख्याका विद्यार्थीहरुलाई सैद्धान्तिक रुपमा अध्यापन गर्नुपर्ने अवस्था रहेको महानिर्देशक अर्याल बताउँछन् । विकसित मुलुकहरुले अध्यापनमा प्रविधिको भरपुर प्रयोग गर्ने गरेकोमा नेपाल भर्खरै शुरुवातको अवस्थामा रहेको समेत उनको भनाइ छ । खस्कँदै गइरहेको विद्यालय शिक्षामा पाठ्यक्रम र पाठ्यपुस्तकलाई मात्रै दोष दिन नहुने अर्यालको भनाइ छ । ‘पाठ्यक्रममा सुधार गर्नुपर्ने ठाउँ त होला तर, हाम्रो पाठयक्रममा आवश्यक विषयवस्तुको कमि छैन, जुन अन्य देशको तुलनामा कमि छैन’, उनले भने । मुख्य विषय पाठ्यक्रमलाई लागू गर्ने पाटो भएको उनको भनाइ छ । ‘कक्षाकोठाभित्र त्यसको डेलिभरी कसरी हुन्छ, पेडागोजिकल र कन्टेन्टको हिसाबले कसरी लागू भयो भन्ने पनि महत्वपूर्ण हुन्छ’, उनले भने, ‘नियमित कक्षा भयो कि भएन, शिक्षकले कत्तिको डिभोटी बनेर पढायो की पढाएन, शिक्षकको क्षमता सोही अनुसार विकास भयो की भएन, अहिलेको आधुनिक प्रविधिअनुसार प्रयोग भयो की भएन सो अनुसार कार्यान्वयनको पाटो पनि महत्वपूर्ण हुन्छ ।’ ‘किन विद्यार्थीहरु पढेपछि भिसा लाग्ने मात्रै वातावरण बन्यो भन्ने सन्दर्भलाई हेर्दा हामीले जति राम्रो पाठ्यक्रम लागू गरेपनि पढेपछि विद्यार्थीहरुलाई देशभित्र नै रोजगारी सिर्जना गर्ने किसिमको वातावरण बन्दैन भने पाठ्यक्रम मात्रै राम्रो बनेर के गर्न सकिन्छ र ?’, महानिर्देशक अर्यालले भने । नेपाली विद्यार्थीहरुले विदेशी मुलुकका विश्वविद्यालयमा गएर उत्कृष्टता पदर्शन गर्न सक्ने, रोजगारी प्राप्त गर्न सक्ने तर नेपालमा त्यो नभएकोमा पाठ्यक्रमलाई दोष लगाउन नमिल्ने उनको भनाइ छ । ‘यहाँ पढेको विद्यार्थीले अस्ट्रेलिया, क्यानडा, अमेरिका गएर रोजगारी पाउन सक्ने तर नेपालमा पाउन नसक्ने भनेपछि हामीले रोजगारीको क्षेत्र विस्तार गर्न सकेका छैनौ भन्ने हो’, अर्यालले भने । अस्थायी शिक्षकहरुलाई औसतमा स्थायी गर्ने र शिक्षकहरुको क्षमता विकासलाई ध्यान नदिँदा पनि नेपालको शैक्षिक गुणस्तर अपेक्षित रुपमा विकास हुन नसकेको महानिर्देशक अर्यालको बुझाई छ । पाठ्यक्रमलाई थप परिमार्जित र विस्तारित गर्दै लैजाने भनेको नियमित काम भएको अर्यालको भनाइ छ । ‘समयको मागअनुसार, समाजको आवश्यकताअनुसार, अन्य मुलुकमा विकास भएका विषयवस्तु अनुसार, प्रविधिअनुसार र राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशअनुसार पनि पाठ्यक्रममा परिमार्जन हुन्छ, यो भनेको जतिबेलापनि सम्भावना रहन्छ’, महानिर्देशक अर्यालले भने । पाठ्यक्रमको कारणले मात्रै उत्कृष्ट जनशक्ति उत्पादन नभएको तर्कमा आफू सहमत नभएको उनको भनाइ छ । नयाँ संविधान र नयाँ व्यवस्थासँगै पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरको पाठयक्रम र पाठ्यपुस्तक एक चरण परिमार्जन गर्ने काम सम्पन्न गरेको छ । सोसँगै कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले नयाँ पाठ्यक्रममा आधारित नयाँ पाठ्यपुस्तक पढ्न पाएका छन् ।