६ महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा
मलङ्गवा । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए । मङ्गलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो । नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल दुई सय ३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् । शिक्षकहरुको समस्या समाधान चाँडै गरिने नगर उपप्रमुख पुनम कर्णले बताए । प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उपप्रमुख कर्णको भनाइ छ । कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिए । करिब १५–२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णले बताए । रासस
विद्यार्थीले डिग्री हासिल गरेर विदेशिने प्रवृतिको अन्त्य कहिले हुन्छ ?
समय निरन्तर गतिशिल छ । समयसँगै सम्पूर्ण मानव समाज पनि आफ्नो गतिमा अगाडि बढिरहेको छ । तर,आजको विश्वसँग हाम्रो मुलुकको विकासको अवस्थालाई तुलना गरेर हेर्दा हामी निकै पछाडि परेका छौं । अर्थात् लामो समयदेखि विकासोन्मुख तेस्रो मुलुकको दर्जामा हामी सीमित हुन पुगेका छौं । यसको पछाडि धेरै कारणहरु छन्, जसमध्ये मुख्य कारण राजनीति हो र त्यसभित्रको अर्को मुख्य कारण शिक्षाको विकास हो । शिक्षाले मानव समाजको मस्तिष्क विकासको नेतृत्व गर्छ । समाजका समस्या र आवश्यकताहरुको पहिचान गर्न सक्षम बनाउने र त्यसलाई समाधान तथा परिपूर्तिको लागि सबल बनाउने काम गर्छ । हाम्रो मुलुकले शिक्षा क्षेत्रमा वर्षेनी ठूलो परिमाणमा पुँजीको लगानी गर्दै आएको छ । राजनीतिक मुद्दाहरुमा शिक्षा क्षेत्र सधैँजसो अग्रणी स्थानमा नै रहने गरेको देखिन्छ तर यसको वैज्ञानिक र दिगो विकासमा आवश्यक नीति तथा उपकरणहरुको प्रयोगमा कहिँ न कहिँ चुकेको कारणले गर्दा अपेक्षित उपलब्धि भने भएको छैनन्, जसकारणले हामीले वर्षेनी रुपमा मुलुकको विकासको लागि नभएर अन्य विकसित मुलुकको लागि कामदार उत्पादन गर्न पुगिरहेका छौं । शैक्षिक क्षेत्रमा भइरहेको त्रुटीलाई करेक्सन गर्न जरुरी छ, ढिलो भइसकेको छ, फेरिपनि पहल लिनुपर्दछ । माध्यमिक तहसम्मको गुणस्तर सुधार कक्षा १ मा भर्ना भएका विद्यार्थी एसईई परीक्षासम्म आइपुग्दा लाखौं संख्या हराउने गरेको तथ्यांक वर्षेनी सार्वजनिक हुने गरेको छ । ती लाखौं विद्यार्थी कहाँ हराए र के कारणले हराए भनेर राज्यले अहिलेसम्म जिम्मेवार रुपमा खोजेको छैन । आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार नेपालमा माध्यमिक तहसम्म अध्यापन विद्यालयको संख्या ३४ हजार ३ सय ६८ रहेको छ । जसमध्ये निजी विद्यालयको संख्या ६ हजार ७ सय ६० रहेको छ । त्यस्तै, सोही सर्वेक्षणले माध्यमिक तहसम्मको शिक्षामा २ लाख ८० हजार ७ सय ६५ जना शिक्षकहरुले अध्यापन गर्ने गरेको देखाएको छ । राज्यले शिक्षा क्षेत्रमा खर्च गर्ने पुँजीको सबैभन्दा ठूलो हिस्सा पनि माध्यमिक तहसम्मको शिक्षामा नै हुने गरेको छ । यसरी हेर्दा राज्यको माध्यमिक तहसम्मको शिक्षा क्षेत्रमा पुँजी र जनशक्तिको ठूलो हिस्सा खर्च भइरहेको छ । अहिले कक्षा १ देखि ८ सम्मको शिक्षालाई आधारभूत तह मानिएको छ । सैद्धान्तिक र व्यवहारिक रुपमा भन्दा आधारभूत तहमा विद्यार्थीको शैक्षिक आधार तयार गर्ने, उसको प्रतिभा पहिचान गर्ने र उसलाई माध्यमिक तहको लागि योग्य बनाउने हो । माध्यमिक तहमा विद्यार्थीले आफ्नो क्षमता पहिचान गरेर सो अनुसारको शिक्षाको शुरुवात गरी सो सम्बन्धी मजबुत आधार तयार हुने गरी अध्ययन गर्नुपर्दछ । कृषि, वन, विज्ञान, गणित, शिक्षा, कला, सामाजिक, भाषा, व्यवसाय, अर्थशास्त्र, आदि के विषयमा अध्ययन गर्ने हो सो विषयमा माध्यमिक तह उत्तीर्ण गरेको विद्यार्थीले औसत रुपमा ज्ञान हासिल गर्ने, त्यसको प्रयोगको क्षेत्र पहिचान गर्ने र त्यसमा भविष्य देख्ने अवस्था सिर्जना हुनुपर्दछ । जसले गर्दा विद्यार्थी अभ्यासपूर्ण सिकाईलाई अगाडि बढाउने दिशामा आँफै योजना निर्माण गर्ने हैसियत राख्ने अवस्थामा पुग्छ ।तर, हालको माध्यमिक तहको शैक्षिक अवस्थालाई हेर्दा वर्तमान पाठ्यक्रमकै आधारमा निजी शैक्षिक क्षेत्रले केही बढी अब्बल गर्ने कोशिस गरेका छन् भने ठूलो विद्यार्थी संख्या जोडिएको सार्वजनिक विद्यालयमा समस्या छ । जसमा पाठ्यक्रम र विषयवस्तुसँगै व्यवस्थापन, शिक्षक, अभिभावक र समाजको उचित भूमिका अपुग भएको देखिन्छ । अहिले आधारभूत तह सम्मको शिक्षामा नीति निर्माणदेखि सञ्चालनसम्मको धेरै जिम्मेवारीमा स्थानीय तह रहेको हुँदा शैक्षिक क्षेत्रको आधारभूत तहलाई उत्कृष्ट बनाउने अनुसन्धान, समन्वय, व्यवस्थापन र अनुगमनमा ध्यान दिनुपर्ने देखिन्छ । उच्च शिक्षाको अवस्था र सुधारका पक्षहरु नेपालमा उच्च शिक्षाको अवस्था विगतको तुलनामा सुधारोन्मुख हुँदै गएको छ । साथै बिकेन्द्रीकरणको प्रभाव उच्च शिक्षामा पनि परेको छ । जसकारणले उच्च शिक्षामा पहुँचको विस्तार पनि हुँदै गएको देखिन्छ । उच्च शिक्षा क्षेत्रलाई समयानुकुल कस्तो बनाउने, कति जनशक्ति उत्पादनको निमित्त विश्वविद्यालय र कलेजहरुको जिम्मेवारी बाँडफाँड गर्ने भन्ने विषयमा भने राज्य मौन छ । बिडम्बना यहाँ छ की राज्यको विकासको एउटा कंक्रिट मास्टरप्लान बुझाई नै शासकीय तहमा छैन, जसको प्रभाव विश्वविद्यालय र कलेजमा परेको छ । नेपालको भूगोल, वातावरण, उत्पादन सम्भाव्यता, आवश्यकता, अनुसन्धान, उद्योग, बजार, आदि लगायतको क्षेत्र के हो ? हामीलाई कतिवटा विश्वविद्यालय चाहिने हो ? कुन–कुन विषयमा कति जनशक्ति आवश्यक छ ? आदि जस्ता विषयहरुमा राज्यले जिम्मेबार भएर शैक्षिक नीति निर्धारण गरेको छैनन् । अहिलेसम्म आउँदा डेढ दर्जन विश्वविद्यालयको संख्या पुर्याउने काम भएको छ । प्रदेश स्तरमा पनि फरक विश्वविद्यालय खोल्ने अभ्यासको शुरुवात भएको छ । एउटा विश्वविद्यालयले प्रदान गरिरहेको शिक्षालाई नै खोलिएका नयाँ विश्वविद्यालयले पछ्याउने काम भएको छ । पुराना विश्वविद्यालयकै गुणस्तरमा समस्या छ । समयमा भर्ना, परीक्षा र नतिजा दिन सकिरहेका छैनन् । अनुसन्धान र समयानुकूल पाठ्यक्रमको विकासको पाटोमा निकै ठूलो समस्या छ । उच्च शिक्षामा राज्य र निजी क्षेत्रको ठूलो लगानी रहेको अवस्था छ, तर पछिल्लो समयमा राज्य भित्रको वातावरण र खुम्चिँदै गएको अवसरको कारणले विद्यार्थीहरु नेपाली उच्च शिक्षामा आकर्षित हुन छाडेको तथ्यांकले देखाएको छ । मेरो विचारमा नेपाली विश्वविद्यालयहरुको सुधार सम्भव छ । यिनीहरुको गुणस्तरमा अवश्य विकास गर्नुपर्छ ।विश्वविद्यालय अनुदान आयोग र राष्ट्रिय योजना आयोग मिलेर मुलुकको अवस्थाको बारेमा एउटा बैज्ञानिक सर्वेक्षण गरेर आवश्यकताको पहिचान गर्न सकिन्छ । जसको लागि केही नीतिगत र व्यावहारिक सकारात्मक पहलहरु अगाडि बढाउन जरुरी छ । विद्यमान अस्तित्वमा रहेका विषयगत विश्वविद्यालयलाई विषयगत जिम्मेवारी दिने र अन्यलाई सोही विषयमा अध्यापनको अनुमति नदिने अवस्था सिर्जना गर्नुपर्छ, र सम्बन्धित विश्वविद्यालयले अनुसन्धान र व्यवस्थापनको पाटोमा जर्बजस्त विकास गर्नुपर्छ । विश्वविद्यालयका विभागहरुलाई अनुसन्धान, पाठ्यक्रम र प्रणालीमा विकास गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ । अहिले कति विद्यार्थीले राज्यको अनुदानमा कुन शिक्षा लिए र कहाँ के गर्दैछन् भन्ने तथ्यांक हामीसँग छैनन् । प्राविधिक विषयहरु डाक्टर, इन्जिनियर, कृषि, लगायतका विषय पढेका विद्यार्थीहरुनै बेरोजगार बन्ने अवस्था सिर्जना भएको छ । राज्यसँग छात्रवृत्ति लिएर पढेका विद्यार्थीहरु नै विदेशीको सेवा गरेर व्यक्तिगत अर्थोपार्जनमा मात्रै लाग्नेको संख्या पनि निकै ठूलो रहेको देखिन्छ । यो विषयमा वश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयले नयाँ नीति अख्तियार गर्न जरुरी छ । छात्रवृत्तिमा पढेका विद्यार्थीहरुलाई नियन्त्रण र नियमनको दायरामा ल्याएर देशको विकास र सेवामा लाग्ने अवस्था सिर्जना हुनुपर्दछ । विकसित सूचना प्रविधिको प्रयोग अध्ययन, परीक्षा र नतिजा प्रणालीमा लागू गर्न सकिएको छैन । जसले गर्दा परीक्षाको नतिजाको प्रतिक्षा गर्दा नै विद्यार्थी आफ्नो लक्ष्यबाट बिमुख हुने अवस्थामा पुगेको देखिन्छ । पछिल्लो समयमा आफ्नै ठूलो लगानीमा विद्यार्थीहरु विदेश अध्ययन गर्न जाने क्रम बढेको छ । सम्भावित दक्ष जनशक्ति र पैसा दुबै बाहिरिने काम भएको छ । मुलुक विकासमा प्रयोग हुनुपर्ने दक्ष जनशक्ति र मुलुकको विविध क्षेत्रमा लगानीको सम्भावना र आवश्यकता भएको सो पुँजीलाई रोक्ने योजना अब राज्यले विश्व विद्यालयहरुसँग जोडेर अगाडि बढाउनु पर्छ । उच्च शिक्षामा प्राध्यापन पेशामा रहेकाहरु अपडेट नहुने, आफ्नो विषयमा अनुसन्धान नगर्ने र परम्परागत हुँदै जाने समस्याले पनि शैक्षिक गुणस्तरमा ह्रास आएको छ । अनुसन्धान क्षमता र सिर्जनशीलता नभएको जनशक्तिलाई हटाउन जनशक्ति व्यवस्थापनको नीति नै बदल्न जरुरी छ । त्यस्तै विद्यार्थी संगठनहरुले सुधारात्मक सिर्जनशील आन्दोलन गर्ने भन्दापनि राजनैतिक अभिष्ठका निमित्त आन्दोलन गर्ने विषयलाई परम्परा बनाएकाले सो विषयमा पनि विश्वविद्यालयहरुले नयाँ नीति अख्तियार गर्न जरुरी छ । अन्त्यमा, नेपाली अहिलेको अवस्थामा जे जति संख्यामा विश्वविद्यालय सञ्चालन गरिएको भएतापनि यसलाई राज्यको नीति निर्माण, विकास, रोजगार र समृद्धिसँग जोड्न नसकिएको यथार्थ हो । विद्यार्थीले डिग्री सम्पन्न गरिसकेपछि नयाँ भाषा वा सीप सिकेर रोजगारको लागि हिँड्नुपर्ने बाध्यताको तथ्यांक डरलाग्दो छ । त्यसैले विश्वविद्यालयहरुलाई बेरोजगारहरुलाई सर्टिफिकेट बाँड्ने नभएर नीति, सीप र रोजगारसँग जोड्ने गरी अगाडि बढाउन जरुरी छ । जसको लागि राज्य, निजी क्षेत्र र सार्वजनिक क्षेत्रले समयमा नै हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । (लेखक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्राचार्य हुन् ।)
स्कूल होस् त बुढानिलकण्ठ जस्तो
फाेटाे-प्रनव प्रधान, बुढानिलकण्ठ स्कूल काठमाडौं । बुढानिलकण्ठ स्कूलको गेटबाट प्रवेश गर्ने वित्तिकैको पर्यावरण तथा भौतिक संरचनाले विद्यालयहरुभन्दा फरक अनूभूति दिन्छ । स्वच्छ वातावरण, वातावरणमैत्री पूर्वाधार, स्कूलभित्रै नलेजपार्क, त्यसभित्र तरकारी खेती, गाईपालन, बेकरी उद्योग, सफा बाटो, प्रयाप्त खेल मैदानहरु । ५७४ रोपनी क्षेत्रफलको सिमाभित्र रहेको स्कूलमा ५ देखि १२ कक्षा सम्म पढ्ने ११५० जना विद्यार्थी छन् । उनीहरुलाई पढाउने १५० भन्दा धेरै शिक्षक र कर्मचारी पनि छन् । स्कूलमा नै आवासीय रुपमा बस्छन् । विद्यार्थी, शिक्षक, कर्मचारी सबै आवासीय छन् । यो भनेको कुनै पालिकाको सानो वडाकै जनसंख्या जति नै हो । तर, काठमाडौंको प्रदुषित सहरको छेउमा रहेको यो विद्यालयको भित्री परिवेशमा प्लाष्टिकको टुक्रा कतै फालिएको अवस्थामा देख्न पाईंदैन । सबैले आ–आफ्नो भूमिका निभाइरहन्छन् । कोही शिक्षक वा कर्मचारी पनि कतै टहलिइरहेको देखिँदैन । पढ्ने, बस्ने, खाने, सिक्ने र कार्यालयका थुप्रै आकर्षक भवनहरु स्कूल परिसरभित्र रहेका छन् । विभिन्न विषयका आकर्षक आधा दर्जन खेल मैदान, जंगल, फार्मिङ क्षेत्र, सबै क्षेत्रलाई जोड्ने सडकले स्कूललाई मनमोहक बनाएको छ । स्कूलले पढाउने सबै शिक्षकहरु र कतिपय कर्मचारीहरुलाई बस्नको लागि सुन्दर क्वाटरहरु दिएको छ । चाहँदा वा आवश्यकता पर्दा आफ्ना बाबुआमा, श्रीमान÷श्रीमती र छोराछोरी पनि ल्याउन पाइन्छ । बस्ने सुविधा मात्रै होइन, स्कूलले शिक्षकहरुलाई तलब पनि अन्य सरकारी स्कूलको तुलनामा झण्डै दोब्बर दिएको छ । त्यसैले उनीहरु आफ्नै घरजस्तै स्कूललाई माया गरेर बस्छन् । स्कूलको उत्तरी भागमा रहेको झण्डै डेढ सय रोपनी क्षेत्रफललाई स्कूलले नलेज पार्क नाम दिएको छ । जहाँ तरकारी, फलफुल र अन्य कृषिजन्य खेति गरिएको छ । त्यस्तै, जलविद्युत उत्पादनको नमूना र फर्निचर उद्योग पनि नलेज पार्कमा रहेका छन् । विद्यार्थीले पढाईसँगै व्यवहारिक शिक्षाको अभ्यास गर्नको लागि स्कूलले नलेज पार्कको विकास गरेको प्रधानाध्यापक होमनाथ आयार्य बताउँछन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) काँशीराम शर्माले नलेज पार्क स्कूलको मुख्य विशेषता मध्ये एक भएको बताउँछन् । नलेज पार्कमा आधा दर्जन प्लाष्टिकका टनेलमा लटरम्म गोलभेँडा फलेका छन् । केही नयाँ टनेल निर्माण गरेर सिताके च्याउको खेती शुरु गरिएको छ । जहाँ स्कूलका केही कर्मचारीहरुले काम गरिरहेका छन् । एउटै गोलभेँडाको बोटले २० किलोसम्म उत्पादन दिएको स्कूलका सीईओ शर्मा बताउँछन् । विद्यार्थीले अभ्यास गर्छन्, त्यसलाई राम्रो बनाउन अरुले काम गर्नुपर्ने उनी बताउँछन् । स्कुलकै फार्ममा फलेको टमाटरको केचब पकाउँदै स्कुलका कर्मचारी फलेको सबै गोलभेँडा स्कूलको मेसमा मात्रै खपत हुँदैन । त्यसैले बाँकी रहेकोलाई केचब बनाएर खाजामा प्रयोग गर्ने गरिन्छ भने केही बेच्ने गरिएको सीईओ शर्मा बताउँछन् । स्कूलले आफूलाई चाहिने फर्निचर बनाउने तथा मर्मत गर्ने उद्योग आँफै सञ्चालन गरेको छ । जहाँ केही कर्मचारीहरुले काम गरिरहेका छन् । नलेज पार्कमा भुटानबाट ल्याएको अलैँची कलकल मौलाएका छन् । कागती, कफी र एभोकार्डोका बिरुवा पनि हुर्किदै छन् । रोपिएका एक–एक बिरुवाहरुको हुर्काउने जिम्मेबारी विद्यार्थीले लिएका छन् । माटो र रुख नछुने विद्यार्थीलाई आफ्नो देशको माया विकास नहुने स्कूलका प्रधानाध्यापक आचार्यको बुझाई छ । ‘हामीले विद्यार्थीलाई माटोमा काम गराउँछौं, यहाँ पढेका विद्यार्थी जुन देशमा छन्, उनीहरुले स्कूल जहिले सम्झिन्छन्’, प्राधानाध्यापक भन्छन्, ‘यति धेरै माया गर्छन की यति धेरै माया वास्तवमा कुनै स्कूलको ग्रयाजुयटले आफ्नो पूर्व विद्यालयलाई गर्दैन ।’ ७/८ वर्ष विद्यार्थीले स्कूलसँग जोडिएको माटोमा समय व्यतित गर्दा उनीहरुलाई स्कूलको औधी माया लाग्ने गरेको आचार्य बताउँछन् । स्कुलमा सरसफाइको काम गर्दै विद्यार्थी माटोमा काम गर्दै हुर्केका विद्यार्थीमा देशप्रतिको भावना र माया पनि बढी हुने प्रधानाध्यापक आचार्यको भनाइ छ । ‘अहिले सहरबजारमा विद्यार्थीहरु एउटा कोठामा बस्छन्, स्कूल जान्छन र फर्केपछि पनि एउटै कोठामा बस्छन्’, उनी भन्छन्, ‘उनीहरुले माटो देख्दैनन्, रुख देख्दैनन्, वातावरण देख्दैनन्, वातावरणसँग घुलमिल गर्दैनन् ।’ त्यसरी हुर्केका विद्यार्थीहरुमा देशप्रति कम माया–प्रेम हुने उनको भनाइ छ । नलेज पार्क सँगै व्यवहारिक अभ्यासको लागि स्कूलले लर्निङ रिसोर्सेस सेन्टर, अंग्रेजी ल्याब, संगीत तथा कला केन्द्र लगायतका विषयहरु पनि सञ्चालन गरेको छ । जहाँ विद्यार्थीहरुले विभिन्न विषयमा अनुसन्धान, अभ्यास र सिर्जना गर्ने गर्छन । स्कूलको लर्निङ रिसोर्सेस सेन्टरमा विद्यार्थी छात्र तथा छात्राहरुलाई खेल अभ्यासको लागि भलिबल, बास्केटबल र फुटबलका छुट्छुट्टै खेल मैदानहरु बनाइएका छन् । सबै विद्यार्थीहरु आ–आफ्नो रुची अनुसार कुनै न कुनै खेलको अभ्यासमा सहभागी हुने गर्छन् । यसै वर्षमा स्कूलले सहरी विकास मन्त्रालयको सहयोगमा फुटसल मैदान निर्माण गर्ने तयारी गरेको छ । यसै वर्षबाट स्कूलले नलेज पार्क क्षेत्रभित्रै गाई फार्म सञ्चालन गर्ने तयारी गरेको छ । त्यसको लागि आवश्यक पूर्वाधार निर्माण गर्न टेण्डर पनि आह्वान भइसकेको छ । अहिले स्कूलमा दैनिक रुपमा चिया र दुध पिउन ३ सय लिटर दुध खरिद गर्ने गरिन्छ । अब गाई पालेर सो दुधको आपूर्ति गर्ने स्कूलको योजना रहेको सीईओ शर्मा बताउँछन् । ‘गाई पाल्दा विद्यार्थीले गाई पालन र दुध उत्पादनको सबै प्रक्रियामा प्रत्यक्ष जोडिन पाउँछन्, जसले विद्यार्थीहरुको सिकाई र व्यवहारमा पनि निखारता ल्याउँछ’, शर्मा भन्छन् । सत्कर्मको अभ्यास बालबालिकाहरु झण्डै १० वर्षको उमेरदेखि नै यस स्कूलको होस्टेल जीवनमा प्रवेश गरेका हुन्छन् । अन्य विद्यालयहरुले जस्तै यो स्कूलले सँधै सार्वजनिक विदा दिँदैन । ५ कक्षामा पढ्न आएका साना–साना बालबालिकाहरुले विद्यालयको नियमअनुसार नयाँ जीवनको शुरुवात गर्दा केही वर्ष निकै गाह्रो हुने गरेको सीईओ शर्मा बताउँछन् । विद्यार्थीहरु बस्ने आवास गृहलाई स्कूलले हाउसको नाम दिएको छ । सबै हाउसमा विद्यार्थीहरुको चौविसै घण्टा रेखदेख गर्न आयाहरुको व्यवस्था गरिएको छ । जसले आमाहरुले जस्तै विद्यार्थीहरुलाई ख्याल गर्छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट हाउस अफ हेड र सहायक हेड पनि प्रत्येक होस्टलमा रहेका हुन्छन् । स्कूलको होस्टेल भवन विद्यार्थीहरुले स्कूल समयमा लगाउने ड्रेस र अरु समयमा लगाउने कपडा स्कूलले नै तोकिदिएको हुन्छ । वर्गका हिसाबले धनी, मध्यम वा गरिब परिवारका व्यक्तिहरु स्कूलमा आउने भएपनि फेसनमा एकरुपता हुन्छ । कुनै धनी परिवारको विद्यार्थीले महंगो कपडा लगाउन खोजेर पाउँदैन, फेसनमा कायम गरिएको एकरुपताले । आफुले लगाउने भित्री कपडा बाहेक अन्य कपडा लन्ड्रीमा धुने व्यवस्था मिलाइएको छ । साना–साना बालबालिकाले पनि आफुले लगाउने कपडा धुने, मेकअप गर्ने, नुहाउने जस्ता आफ्ना निजी कामहरु आँफैले गर्नुपर्ने हुन्छ । आफ्ना अभिभावकहरुबाट टाढा रहेर शुरुवात हुने गुरुकुल जीवनमा विद्यार्थीलाई संस्कृति, समाज र परिवारका मूल्यमान्यतासँग जोडिरहन स्कूलले निकै ख्याल राख्ने गरेको प्रधानाध्यापक आचार्यले बताए । बिहान खाजादेखि साँझको खाना सबैले सँगै एउटै मेसमा खान्छन् । शिक्षक, कर्मचारी र विद्यार्थी कसैले पनि बाहिरको जंकफुड स्कूल भित्र लगेर खान पाईंदैन । क्यान्टिनमा हप्ताभरीको खाना खाजाको सेड्युल बनाइएको छ । खाना खाजा खाने ठूलो हल छ, जहाँ ६५० जनाले एकैपटक बसेर खान मिल्छ । स्कूलका सीईओ काँशीराम शर्मा भन्छन्, ‘पहिले विद्यार्थीले २ लट गरेर खान्छन्, अनि हामी खान्छौं ।’ स्कुलको किचन, जहाँ एकैपटकमा ६ सय भन्दा धेरै विद्यार्थीले खाना खान मिल्छ । पछिल्लो समयका युवाहरुले आफ्नो संस्कृतिलाई भुल्दै गएको आफूलाई पनि महशुस भएको प्रधानाध्यापक आचार्यले अनुभव सुनाए । त्यसैले स्कूलले पछिल्ला समयमा विद्यार्थीको घर/परिवारमा हुने सांस्कृतिक कार्यक्रममा नछुटुन भनेर स्कूलले आवश्यकताअनुसार महिनैपिच्छे पनि विद्यार्थीलाई घर जाने विदा दिने गरेको छ । ‘पहिला हामी हजुरबुवा हजुरआमासँग बस्थ्यौं, संयुक्त परिवारमा बस्थ्यौं, त्यसरी संयुक्त परिवारमा बस्दा बुवाआमाले नसिकाएको कुरा हजुरबुवा हजुरआमाले सिकाउनुहुन्थ्यो, काकाकाकीले सिकाउनुहुन्थ्यो’, उनले भने–‘मलाई भजन गाउने कुरा मेरो काकाले सिकाउनुभएको हो ।’ संयुक्त परिवारमा बसेर सिक्ने कुराको ग्याब हुँदै गएको अझ सहरीया बसाइले थप ग्याब हुँदै गएको, मान्छेहरु थप स्वार्थी बन्दै गएकोले आफूहरुले अध्यापन र बसाइको क्रममा सो विषयमा विशेष ख्याल गर्ने गरेको आचार्यले बताए । राम्रो पारिवारिक वातावरण बनाउन स्कूलले विद्यार्थीको थरमा पनि विशेष ख्याल गरेको छ । विद्यालयमा कुनै पनि विद्यार्थीको थर सार्वजनिक गरिँदैन । त्यसैले कुन विद्यार्थी कुन जात वा थरको हो भन्ने कुरा अर्को विद्यार्थीले थाहा पाउँदैन । ‘विद्यार्थी भर्ना हुँदा र पास आउट भएर जाँदा मात्रै उसको थरको प्रयोग हुन्छ अन्य समयको लागि उसलाई नामको पछाडि कोडबाट पहिचान गर्ने व्यवस्था गरिएको हुन्छ’, सीईओ आचार्यले भने । आधुनिक गुरुकुल मोडेल विद्यार्थीहरुमा प्राकृतिक प्रकृयाद्वारा नै सिकाईको विकास गर्न स्कूलले खाना र प्रविधिमा विशेष ख्याल गर्ने गरेको छ । स्कूलभित्र चाउचाउ, विस्कुट, मिठाई लगायतका कुनै पनि जंक फुड लैजान निषेध गरिएको छ । बिहानको खाजा, साँझको खाना सहित सबै प्रकारका परिकार स्कूल भित्र नै तयार गरिन्छ । खाजाकै लागि स्कूलभित्रै उद्योगको स्तरमा बेकरी सञ्चालन गरिएको छ । स्कूलमा पढ्ने कुनैपनि विद्यार्थीले मोबाइल बोक्न पाउँदैनन् । सूचना प्रविधि सम्बन्धी विद्यालयले कक्षा ५ देखि नै विशेष कम्प्युटर कक्षाको व्यवस्था गरेको छ । ‘अहिले आइटी अन्तर्गत हामीले कक्षा ५ देखि नै कोडिङ, प्रोग्रामिङ सिकाउँछौ, त्यसको लागि हामीले बाहिरबाट विज्ञहरुको सहायता लिने गरेका छौं’, प्रधानाध्यापक आचार्यले भने । त्यस्तै विद्यार्थीहरुले स्कूलले विकास गरेको पाठ्यक्रमअनुसार लर्निङ रिसोर्सेस सेन्टरमा आफ्ना इच्छामुलक सिर्जना तथा अनुसन्धान गर्ने अवसर प्राप्त गर्छन् । जहाँ विद्यार्थीहरुले विभिन्न डिजाईन र आविस्कारका कामहरु गरिरहेका हुन्छन् । कक्षाकोठामा लिएको विषयगत ज्ञानलाई व्यवहारिक रुपमा ढाल्न सो सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको सिइओ शर्माको भनाइ छ । विद्यालयका प्रमुख कार्यकारी अधिकृत काँशीराम शर्मा । स्कूलले कक्षा ५ देखि १० सम्म नेपाल सरकारले तोकेको पाठ्यक्रम नै पढाउँछ । कक्षा ११ र १२ मा भने विद्यार्थीलाई दुईवटा विकल्प रोज्ने अवसर छ । नेपाली पाठ्यक्रम अनुसारको विज्ञान संकाय वा क्याम्ब्रिज विश्वविद्यालयको ए लेभल विद्यार्थीले रोजेर पढ्न सक्छन् । राज्यले तोकेको पाठ्यक्रममा मात्रै सीमित भएर पुग्दैन भनेर विद्यालयले आफ्नै थप पाठ्यक्रम पनि विकास गरेको छ । विद्यालयका प्रधानाध्यापक आचार्यले सक्षम जनशक्ति उत्पादनको लागि सरकारले तय गरेको पाठ्यक्रम पूर्ण नभएको बताउँछन् । त्यसैकारण विद्यार्थीलाई समयअनुसारको शिक्षा प्रदान गर्ने अवसर सिर्जना गर्नको लागि स्कूलले आफ्नो पनि पाठ्यक्रम विकास गरेको उनले बताए । साथै उनले स्कूलले नयाँ विशेषता सहितको शैक्षिक अभ्यास गरेको समेत दाबी गर्छन् । ‘बुढानिलकण्ठ भनेको आधुनिक गुरुकुल हो, यो अरु स्कूलहरु भन्दा भिन्न छ, अन्य विद्यालयहरुमा एउटा निश्चित समयमा विद्यार्थीहरुले सिक्छन्, बुढानिलकण्ठमा चौविसै घण्टा सिक्छन्’, उनले भने, ‘किनकी विद्यार्थीहरु यहीँ बस्छन् ।’ उनले आफूहरुले विद्यार्थीहरुलाई सरकारले तोकेको पाठ्यक्रम र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको विषयवस्तु पढाउने काम गरिरहेको तर त्यो भन्दा धेरै विद्यार्थीलाई कक्षाकोठा भन्दा बाहिर सिक्ने अवसर सिर्जना गरेको बताउँछन् । ‘कक्षाकोठा भन्दा बाहिरको सिकाई एकदमै राम्रो छ, जस्तो विद्यार्थीले बिहान उठेर योगा गर्छन्, ध्यान गर्छन्, खेलकुदका तालिममा जान्छन्, मेकर स्पेसमा जान्छन, साइन्सका प्रोजेक्टहरु गर्छन्, अनि कक्षा सकिएपछि फेरि खेलकुदका क्रियाकलापमा उनीहरु संलग्न हुन्छन्’, प्रधानाध्यापक आचार्यले भने । कक्षाकोठाको अध्ययन, अभ्यास र बाहिरी ज्ञानको माध्यमबाट विद्यार्थीको समग्र विकासमा स्कूलले योजनावद्ध भूमिका निर्वाह गरिरहेको उनी बताउँछन् । कक्षाकोठामा पढाउँदै शिक्षक ‘बुढानिलकण्ठ स्कूलले प्रविधिमैत्री र व्यवहारिक शिक्षालाई विशेष–विशेष जोड दिएको छ, हामीले पाठ्यक्रमले तोकेको कुराहरु त पढाउँछौं नै, त्यो भन्दा बढी पढाउन आफ्नै बिएनकेएस पाठ्यक्रम पनि बनाएका छौं, यसलाई अहिले परीक्षणको चरणमा लागु गरिरहेका छौं’, उनले भने, ‘यसमा हामी कृषि सिकाउँछौं, कर्पोरेट सिकाउँछौं, इलेक्ट्रिकल वर्कहरु सिकाउँछौं, पल्म्बिङ सिकाउँछौं ।’ विद्यार्थीहरुले सेल्फ म्यानेजमेन्ट कसरी गर्ने भन्ने विषयमा सिक्न अत्यन्तै महत्वपूर्ण हुने बताउँदै उनले स्कूलले सो विषयलाई विशेष जोड दिएर सिकाउने गरेको बताउँछन् । ‘होस्टेलमा बस्दाखेरी आफ्नो सामानको व्यवस्थापन, सुरक्षा, सफा सुग्घर लगायत दैनिकी जीवन यापनका विषय हामीले सिकाउँछौं’, उनले भने, ‘हामीले कम्युनिकेसन स्कील सिकाउने र व्यवहारिक ज्ञानलाई बढावा दिने काम गरेका छौं ।’ आगामी दिनमा स्कूललाई शैक्षिक अनुसन्धान तालिमको हब बनाउने उद्देश्य राखिएको प्रधानाध्यापक आचार्यको भनाइ छ । विद्यालयका प्रध्यानाध्यापक होमनाथ आचार्य । ‘वि.सं. २०२५ सालमा तत्कालीन राजा महेन्द्र शाहले बुढानिलकण्ठ स्कूलको अवधारणा अगाडि सारेका हुन् । खासगरी उनले राजपरिवार र सीमित भाइभारदारहरुको लागि यस प्रकारको स्कूलको अवधारणा अगाडि सारेर बेलायत सरकारसमक्ष सहयोग मागेका थिए । तर, बेलायत सरकारले राजपरिवार र भाइभारदारको लागि मात्रै नभएर सबै नेपालीको लागि सञ्चालन गर्न सकिने अवधारणा सहित स्कूलको निर्माणमा सहयोग गरेको थियो । २०२९ सालबाट सञ्चालनमा आएको स्कूलको २३ वर्षसम्म बेलायतीहरुले नै शैक्षिक कार्यक्रमको नेतृत्व गर्ने कार्य गरेका थिए । स्कूलमा प्रवेश परीक्षा खुलाएर विद्यार्थीले प्राप्त गर्ने मेरिटका आधारमा भर्ना लिने र पढाउने गरिन्छ । शुरुवातमा ६० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति र ४० प्रतिशत विद्यार्थीलाई सःशुल्क आवासीय अध्ययनको शुरुवात गरिएको थियो । ०४७ सालको राजनीतिक परिवर्तनपछि बेलायत सरकारले स्कूलको शैक्षिक कार्यक्रमको नेतृत्व छाड्यो । त्यसपछि तीनजना नेपाली प्राध्यापक भइसकेका छन् । अहिले नेपाल सरकारले वार्षिक रुपमा ४० जना नयाँ विद्यार्थीलाई छात्रवृत्तिमा पढ्नको लागि स्कूललाई ५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ भने कतिपय पूर्वाधारका कार्यक्रममा पनि सरकारको सहयोग रहने गरेको छ । तर, बाँकी समग्रमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्कूलले विद्यार्थीहरुबाट नै शुल्क उठाएर खर्च व्यवस्थापन गर्ने गर्छ । विद्यार्थीलाई भर्ना गर्नु, किताबहरु पढाउनु, परीक्षा लिनु र पास/फेलको नतिजा प्रकाशन गर्नुलाई शैक्षिक क्रियाकलाप मान्ने हो भने राज्यको तथ्याङ्कले नेपालमा ३४ हजार भन्दा धेरै विद्यालयहरु अस्तित्वमा रहेको देखाउँछ । तर, हजारौं विद्यालयहरुको संख्यामा केहीले भने नतिजामुखी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ अभ्यास गरेका छन् । त्यसैमध्ये एउटा विद्यालय हो स्वर्गीय राजा ‘महेन्द्र’को सपनाबाट कोरिएको काठमाडौंको ‘बुढानिलकण्ठ स्कूल’ । कुनै कलाकारले कोरेको उत्कृष्ट आकृति सम्पन्न गरिसकेपछि उक्त आकृतिमा फेरि हेर्दा केही अपुरो वा कतै केही नपुगेको उसैलाई लाग्न सक्छ । त्यस्तै कोलाहल काठमाडौं उपत्यकाको उत्तरी किनारामा रहेको बुढानिलकण्ठ स्कूलमा अझै केही अपूर्णता अवश्य होलान्, तर हजारौंको माझमा एउटा साँच्चीकै उत्कृष्ट र नमूना शैक्षिक अभ्यास देख्न सकिन्छ यस स्कूलमा ।