शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रमको सिपिएफ कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् ।अष्ट्रियामा जारी उक्त कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क सीपीएफमा हस्तारक्षर गरेका हुन् । हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएइए मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी तथा वातावरण, ऊर्जा तथा उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग मिल्नेछ । सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएइएको ६६ औँ महासभालाई पनि सम्बोधन गरे । सम्बोधनका क्रममा उहाँले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि वा महासन्धिको पक्ष राष्ट्रमध्ये नेपाल हस्ताक्षरकर्ता पनि भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताए । विश्वशान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिबद्धता रहेको चर्चा गर्दै मन्त्री पौडेलले आणविक विज्ञान र प्रविधिलाई आइएइको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपालले जोड दिँदै आएको प्रष्ट पारे.। उनले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा पनि चर्चा गरे । सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५०औँ वार्षिकोत्सवमा पनि सहभागिता जनाए । उनले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएइए र आरसीएको सहयोग महत्वपूर्ण रहेको बताए । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजना र आरसीए परियोजनामार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण प्रयोगमा निरन्तर काम गरिरहेको मन्त्री पौडेलको भनाइ थियो । रासस
शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’
रामपुर । विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि । दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने जो कोही पनि दङ्ग पर्छन् । पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुर नगरपालिकामा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा पहिचान बनाएको छ । हिजोआज यहाँको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाइ सिक्ने थलो बनेको छ । शैक्षिक अवलोकनका लागि रामतुलसी हेर्न र सिक्न लायकको विद्यालय बनेपछि संस्थागत विद्यालय छाडेर यहाँ अध्ययन गर्न आउने विद्यार्थीको आकर्षण छ । भारत गुजरातस्थित एक राम्रै बोर्डिङ स्कुलबाट एसइईसम्मको शिक्षा लिगेकी सञ्जना उचै यस वर्ष कक्षा ११ मा रामतुलसी माविमा विज्ञान सङ्कायमा भर्ना भई अध्ययनरत छन् । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भए पनि शिक्षामा अब्बल विद्यालय भएकाले उच्च शिक्षाका लागि भारत छाडेर रामतुलसीमा भर्ना भएको उनले बताए । उनी भन्छन्, ‘गुजरातमा राम्रै बोर्डिङ स्कुलमा पढेको थिए, नेपालमै बसेर सामुदायिक विद्यालयमा पढ्ने रहर जाग्यो, त्यसमा पनि गाउँमै सञ्चालन भइरहेको यस विद्यालय हामीले खोजे जस्तै पठनपाठन हुँदोरहेछ, यहाँको वातावरणले मलाई शिक्षामा आकर्षित बनायो ।’ सामुदायिक भए पनि बोर्डिङ स्कुलको तुलनामा धेरै सुविधा, गुणस्तरीय शिक्षा भएकाले आफ्नो रोजाइमा यसै विद्यालय परेको कृति अधिकारी बताउँछन् । उनी पनि संस्थागत विद्यालय छाडेर एसइई उत्तीर्णपश्चात यस विद्यालयमा आएका हुन् । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमूना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ । यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले सोचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ । घरमै बसेर न्यूनतम् शुल्कमा गुणस्तरीय प्रविधिमैत्री शिक्षा लिन पाइने, पढ्नका निम्ति अन्यत्र जाने झमेला गर्नु नपर्ने, अर्कोतर्फ विद्यालयको शैक्षिक वातावरणले आकर्षित बनाएको विशाल चौबै बताउँछन् । ‘सहर बजारका ठूला विद्यालयमा पढाइ हुने विषय यहाँ छन्, आफूले इच्छा गरेको विषयवस्तु यहीँ पढ्न पाएपछि अन्यत्र जानु परेन, पढाइमा कम खर्च, विषयानुसार आवश्यक पर्ने सबै प्रविधिको सुविधा विद्यालयले उपलब्ध गराएको छ, अनुभवी शिक्षकबाट शिक्षण कार्यले पढाइसँगै यहाँ आएपछि विषयवस्तुभित्रका मात्र नभई बाहिरी धेरै ज्ञान सीप सिक्ने अवसर मिलेको छ’, उनले भने । विद्यालयको प्रवेशद्वारभित्र पसेपछि नपढ्नेलाई पनि पढ्नुपर्छ भन्ने खालको वातावरण यहाँ पाइएको उनको भनाइ छ । यहाँ हरेक वर्ष एक सय ५० का दरले विद्यार्थी बढिरहेका छन् । शिक्षक, कर्मचारीको इमान्दारितापन, समुदायले रामतुलसी विद्यालयप्रति लिएको विश्वास, न्यूनतम् शुल्कमा विद्यालय सञ्चालन भएकाले बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताउँछन्, प्रधानाध्यापक बालकृष्ण लम्साल । ‘विद्यार्थीको चौतर्फी सिकाइमा विद्यालयले कुनै सुविधा कञ्जुस्याइँ गरेको छैन, पारिवारिक वातावरणमा शिक्षण कार्य भइरहेको छ, संस्थागतमा पढेका विद्यार्थी यहाँ आउनेक्रम बढिरहेको छ’, उनले भने, ‘बिहान साँझको समयमा अब विद्यालयमा आध्यात्मिक चिन्तन र सङ्गीतको शिक्षा सञ्चालन गर्ने, विद्यालयको प्रवेशद्वारभित्र पसेपछि पानीको फोहोरासहितको पोखरी निर्माण, शिव पार्वतीको मूर्ति स्थापना गर्ने योजना छ’ । भूगोलको हिसावले शहरोन्मुख, बजार नजिकै विद्यालय, अन्यत्र विद्यालयमा पढाई नभएका विषय यहाँ सञ्चालन, तीन वर्षे कृषि बाली विज्ञान, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा सङ्कायमा पठनपाठन भइरहेको छ । यहाँको वातावरण र व्यवस्थापकीय पक्ष राम्रो हुँदै जाँदा विद्यार्थीको आकर्षण बढेको हो । नमूना विद्यालयको पाँचौँ वर्षमा विद्यालय प्रवेश गरेको छ । समयानुकूल शिक्षण सिकाइलाई अवलम्बन गरेर शैक्षिक वातावरण व्यवस्थापन गर्दै जाँदा हिजो स्कुल आउन नमान्ने बालबालिका अहिले नियमित स्कुल आउने, पठनपाठनमा चासो दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् । उनका अनुसार मन्त्री, सरकारी तवरमा उच्च तहमा पुगेका कर्मचारी, विभिन्न क्षेत्रमा धेरै जनशक्ति उत्पादन गर्ने पुरानो हाइस्कुलले चिनिएको रामतुलसी नमूना माविले अहिले शैक्षिक क्षेत्रमा नौलो आयाम बनाउन सफल भएको छ । ‘शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयले दक्ष जनशक्ति छनोट, विद्यार्थीलाई विद्यालयभित्र पुगिसकेपछि पढुँपढुँ बनाउने खालको शैक्षिक वातावरण तयार पारिएको छ, हामीले कसरी हुन्छ विद्यार्थीलाई खुसीका साथ पढ्ने वातावरण बनाइदिएका छौँ, अहिले विद्यार्थीको चाप धेरै छ, व्यवस्थापन पक्षबाट शैक्षिक कार्यमा कुनै कमी हुन दिएका छैनाँै’, उनले भने । रामपुर नगरपालिकाले नगरभित्रका विद्यालयमा शिक्षामा समानुपातिक बजेट बाँडफाँट नगरेको हुँदा अव विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई बजेट उपलब्ध गराउनु पर्ने अध्यक्ष पौडेलको माग छ । धेरै विद्यार्थीले पढ्ने यस विद्यालयमा नगर सरकारले चासो दिएको पाइँदैन । हाल यस विद्यालयमा १०२ शिक्षक, कर्मचारी कार्यरत छन् । यसमध्ये सरकारी दरबन्दीका ३० जना शिक्षक कार्यरत छन् । बाँकी सबै निजी स्रोतका शिक्षक, कर्मचारी हुन् । मासिक १३ लाख रुपैयाँ रकम निजी स्रोतका शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापन विद्यालयले आन्तरिकरुपमा नै गरिरहेको छ । विद्यालयको विभिन्न जग्गा तथा सटर भाडाबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुन्छ । कक्षा ११ र १२ अन्तर्गत शिक्षा र व्यवस्थापनका विषय बिहान, विज्ञान विषय दिउँसोमा चलिरहेको छ । कक्षा ११ र १२ का सबै विषय दिउँसोमा चलाउन विद्यार्थी सङ्ख्या बढी भएकाले कक्षाकोठाको अभाव रहेको विद्यालयले जनाएको छ । दिउँसोमा ६५ वटा कक्षा नियमित चलिरहेको छ । दुईवटा स्कुल बस दैनिक सञ्चालनमा ल्याइएको छ । विद्यालयका एक सय २० कोठामध्ये एक सय कोठा शैक्षिक प्रयोजनमा छ । गत आर्थिक वर्षमा व्यावसायिक शिक्षा अभिवृद्धि परियोजनाअन्तर्गत विनियोजित रु ३२ लाख सहयोगमा अत्याधुनिक खालको कम्प्युटर ल्याब तयार पारिएको छ । जहाँ एकै पटकमा ३० जना विद्यार्थीले प्रयोग गर्न मिल्ने खालको संरचना तयार छ । यहाँ कक्षा ८ देखि १२ सम्म कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । व्यवस्थित पुस्तकालय, सुविधा सम्पन्न तीन सय मानिस अट्ने क्षमताको चमेना गृह व्यवस्थापन गरिएको छ । अति न्यून शुल्क लिएर संस्थागत विद्यालयले दिने सबै सेवासुविधा उपलब्ध गराइएको र यस विद्यालयलाई नेपालकै नमूना विद्यालय बनाउने कोशिसमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक श्रेष्ठले बताए । विद्यालयमा प्राथमिक उपचारका लागि एक जना नर्स र प्रवेशद्वारभित्र पस्ने बित्तिकै सुरक्षा कर्मचारी परिचालन गरिएको सदस्य श्रेष्ठ बताउँछन् । विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेमा वा विभिन्न समस्या देखिएमा प्राथमिक उपचार उपलब्ध गराउन नर्स कर्मचारीको व्यवस्था गरिएको हो । हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ भने अबदेखि भने अङ्ग्रेजी माध्यमअन्र्तगत पनि विशिष्टीकृतरुपमा प्रविधियुक्त शिक्षा दिइने विद्यालयले जनाएको छ । विशिष्टीकृत शिक्षा प्रदान गर्न पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षा सञ्चालन गरिरहेको समितिले जनाएको छ । रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चौर, बगैँचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुविधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैका सामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योति प्रदान गर्न २०२५ सालमा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ । तत्कालीन समयमा पूर्वी पाल्पाको एकमात्र शैक्षिक धरोधरका रुपमा रहेको यस विद्यालयले धेरै विद्यार्थीलाई शिक्षाको उज्यालो ज्योति छरेको छ । अहिले पनि हाइस्कुल भनेपछि धेरैको बुझाइमा रामतुलसी भनेर बुझिन्छ । आजको अवस्थासम्म आइपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मार्न सफल भएको छ । यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमूना पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाइमा पर्ने गरेको छ । पर्याप्त खेलमैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालयलगायतको राम्रो सुविधा छ । रासस
कञ्चनपुरकाे सामुदायिक विद्यालयमा पढाई राम्रो हुन थालेपछि विद्यार्थीको भर्ना बढ्दै
दोधारा चाँदनी । कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा गत वर्षको भन्दा यस वर्ष विद्यार्थीको सङ्ख्या बढेको छ । विसं २०७५ मा नौ सय विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा पाँच वर्षको अवधिमा एक हजार सात सय पुगेको छ । विसं २०७६ मा विद्यालयमा एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेकोमा २०७७ मा विद्यार्थीको सङ्ख्या बढेर एक हजार सात सय पुगेको विद्यालयका प्राचार्य ललित साउँदले बताए । विसं २०७८ मा विद्यालयमा एक हजार नौ सय विद्यार्थी अध्ययनरत रहेकोमा यस वर्ष विद्यार्थी सङ्ख्या बढेर दुई हजार दुई सय पुगेको उनले बताए । ‘हरेक वर्ष हाम्रो विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको छ ।’ उनले भने, ‘हामीले पनि हरेक वर्ष गुणस्तर बढाउँदै लगेका छौँ ।’ उनले सामुदायिक पनि अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन थालेपछि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको जानकारी दिए । ‘सामुदायिक विद्यालयमा पनि अङ्गे्रजी माध्यममा अध्यापन हुन थालेको छ यसले पनि सामुदायिक विद्यालयप्रति आकर्षण बढेको हो ।’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले पनि धेरै लगानी गरेको छ ।’ उनले माध्यमीक तहमा सामुदायिक विद्यालयमै प्राविधिक धारका कक्षासमेत सञ्चालन भएपछि विद्यार्थीको सङ्ख्या बढेको जानकारी दिए । ‘हामीले प्राविधिकतर्फ कृषि, ओभरसेयर, सव–ओभरसेयरका कक्षा सञ्चालन गरेका छौँ ।’ उनले भने, ‘विद्यालयको गुणस्तर सुधार र शैक्षिक क्रियाकलापले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप छ ।’ उनले विद्यार्थीको सङ्ख्या बढेपछि कक्षामा सेक्सनसमेत थप भएको बर्ताए । सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि छात्रवृत्ति, विद्यालयमा खाजा र राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रम ल्याएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको उनले बताए । महेन्द्र माध्यमिक विद्यालयले यस वर्षदेखि कानुन सङ्कायको समेत अध्ययपन गराउन थालेपछि यहाँ आउने विद्यार्थीको सङ्ख्या बढेको उनले बताए । त्यसैगरी निङ्लाशैनी माध्यमिक विद्यालयका प्राचार्य भवानी पन्तले विगतका वर्षहरुको तुलनामा यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए । ‘पछिल्लो समय जसरी साुमदायिक विद्यालयले पढाइ र व्यवस्थापनमा सुधार ल्याए यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढेको छ ।’ उनले भने, ‘हाम्रो विद्यालयमा पनि गत वर्षको भन्दा १० प्रतिशतले विद्यार्थीको सङ्ख्या बढेको छ ।’ उनले अहिले सामुदायिक विद्यालयमा शैक्षिक क्रियाकलाप बढेकाले विद्यार्थीको आकर्षण बढेको बताए । जिल्लाको सबैभन्दा पुरानो नमूना विद्यालय वैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका प्राचार्य हरिराज विष्टले सामुदायिक विद्यालयप्रति अविश्वास घट्दै गएको बताउँछन् । ‘एक पटक सामुदायिक विद्यालयको स्तर निकै घटेको थियो त्यो देखेर सामुदायिक विद्यालयका शिक्षक र व्यवस्थापन पक्ष आफैँ सचेत भए ।’ उनले भने, ‘सामुदायिक विद्यालयमा पहिलेको भन्दा अहिले धेरै सुधार भएकाले विद्यार्थी बढेका हुन् ।’ सामुदायिक विद्यालयको अस्तित्व नै सङ्कटमा परेपछि सुधारका लागि सबै लागेको उनले बताए । ‘विद्यालयको व्यवस्थापन र प्रशासन पक्ष सचेर भएर सुधारको अभियानमा लागे यसले सामुदायिक विद्यालयको गुणस्तरमा निकै सुधार ल्याएको छ ।’ उनले भने, ‘हाम्रो विद्यालयमा मात्रै होइन पछिल्लो समय देशभरिका सबै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।’ पछिल्लो समय सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याए पनि सरोकारवाला निकायले चासो नदिएको उनले गुनासो गरे । ‘शिक्षा समन्वय एकाइ र पालिकाको शिक्षा शाखाले समय समयमा अनुगमन गर्नुप¥यो ।’ उनले भने, ‘राम्रो काम गरेकालाई प्रोत्साहनका कार्यक्रम ल्याउने र नराम्रो गरेकालाई कारबाहीको दायरामा ल्याएर सुधार गर्न लगाउने गनुपर्छ ।’ उनले विद्यालय आफैँ सचेत भएर गुणस्तर सुधारमा लागे पनि सरोकारवाला निकायबाट सहयोग हुन नसकेको बताए । ‘अहिले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढेको छ हरेक वर्ष विद्यार्थी बढ्न थालेका छन् ।’ उनले भने ‘विद्यालयलय एक्लैले लागेर पर्याप्त हुँदैन यसका लागि शिक्षक अभिाभावक र सरोकारवाला निकाय सबै लाग्नुपर्छ’, उनी पछिल्लो समय सामुदायिक विद्यालयमा सरकारले पनि लगानी बढाएकाले विद्यालयका भौतिक संरचनासमेत सुविधा सम्पन्न हुन थालेको जानकारी दिए । सरकारले लागू गरेको राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमबाट विद्यालयलाई प्रविधिमैत्री बनाउनसमेत टेवा पुगेको उनले बताए । ‘अहिले हरेक सामुदायिक विद्यालयमा कम्युटर ल्याब छन् कक्षा कोठामा प्राजेक्टर छन् सुविधा सम्पन्न विद्यालय छन् ।’ उनले भने, ‘आवश्यकताको आधारमा शैक्षिक क्रियाकलापसमेत बढेकाले विद्यार्थी सामुदायिक विद्यालयमा आउन थालेका छन् ।’ त्यसैगरी यहाँको सरस्वती माध्यमिक विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले विगतका वर्षहरुको तुलनामा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए । ‘सामुदायिक विद्यालयमा सुधार भएपछि निजी विद्यालय छोडेर सामुदायिकमा आउने क्रम बढेको छ ।’ उनले भने, ‘सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारमा सबैले सचेत भए यो सङ्ख्या अझ बढ्छ ।’ कोरोना महामारीपछि आर्थिकरुपले धराशायी भएकाले पनि सामुदायिक विद्यालयमा भर्ना हुनेको सङ्ख्या बढेको शिक्षकको बुझाइ छ । रासस