एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा सम्मान

काठमाडौं । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ। कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरुको उपस्थितीमा प्रदान गरिएको थियो । २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याइ यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको बताइएको छ । पुल्चोक क्याम्पसका क्याम्पस चीफ एसोसियट प्राडा. इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल इस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ अध्ययन संस्थानका कार्यवाहक डीन प्रा.डा. शुशिल बज्राचार्यले भने, ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान स्थापना गरि प्रत्येक वर्ष यसरी हाम्रा विद्यार्थीलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गरिदिनु भएकोमा हामी धेरै आभारी छौं। यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम आफैमा एक उदाहरण बनिसकेको छ । एनसेल सञ्चारमा मात्र नभइ कम्पनीले विभिन्न क्षेत्रमा गर्ने सामाजिक पहलहरुका लागि पनि लोकप्रिय छ ।’ यस्तै, कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) सँगको सहकार्यमा २०७१ सालदेखि विद्यार्थीहरुले प्राप्त गरेको नतिजाको आधारमा उनीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै युवा प्रतिभाको विकासमा योगदान पुर्‍याउन पाउँदा हामी खुसी छौं । एनसेलमा हामी दिगो विकास लक्ष्य अनुरूप सरकारले परिभाषित गरेका तीनवटा क्षेत्रहरूलाई उच्च प्राथमिकता दिन्छौं । शिक्षा हाम्रा लागि महत्त्वपूर्ण भएकोले हामी यस पहललाई निरन्तरता दिन तत्पर छौं ।’ २०७१ सालबाट सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको एनसेलले जनाएको छ । कुल १८ जनामध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्धीतीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् । यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशी एक लाख रुपैयाँ छ।

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन समितिको निर्देशन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन । समितिको आजको बैठकमा उनले सो निर्देशन दिएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भने, ‘शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ ऐन ल्याउन जरुरी छ । यसलाई प्राथमिकतामा राख्नुपर्छ । पटके निर्णयलाई नीतिगत व्यवस्था गर्नुपर्दछ । राज्यले सुधार गर्न चाहे दायित्व बहन गर्नुपर्दछ ।’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलगायत सम्बन्धित निकायका कार्यप्रणालीलाई विश्वास गर्न आवश्यक रहेको र तोकिएको समयमा कार्य गर्न नसकेको खण्डमा आवश्यक कदम चाली पाठ्यपुस्तक समयमा उपलब्ध हुने उनको भनाइ थियो । समितिका सभापति पन्तले भने, ‘सम्बन्धित निकायका पाठ्यपुस्तक उपलब्धताका सुनिश्तिताका समस्या स्पष्ट पारेमा समिति सरोकारवाला पक्षसँग सहकार्य र समन्वय गरी समाधान गर्न तयार छौँ ।’ विगतमा नभएका र गर्न नसकेका विषयलाई सुरुआत गरी पुस्तकको पुनःप्रयोग नीति अवलम्बन गर्ने विषयमा सम्बन्धित निकायले विचार गरी प्रक्रिया सुरु गर्नसक्ने उनको भनाइ थियो । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, ‘विगतमा जस्तो कागजको अभाव छैन । चौबिसै घण्टा मेसिन र जनशक्ति सञ्चालनमा रहेका छन् । यो वर्ष पाठ्यपुस्तकको अभाव हुँदैन ।’ कार्यक्रममा शैक्षिक क्षेत्रमा राज्यको अनुभूति दिलाउन, सार्वजनिक खरिद ऐनको समस्या अन्त्य गर्न, विकट क्षेत्रमा विशेष प्राथमिकताका साथ पुस्तक उपलब्ध गराउन, राजनीतिक र प्रशासनिक नेतृत्वको कार्यमा सुधार, सम्बन्धित निकायको अनुगमन र मूल्याङ्कन तथा गुनासोरहित हुनेगरी पुस्तक वितरण गर्ने विषय उठान भएको थियो ।

नेपालमा कति पुगे विश्वविद्यालय, कसको स्थापना कहिले ?

काठमाडौं । नेपालमा सबैभन्दा पहिला खोलिएको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । सो विश्वविद्यालयको स्थापना वि.सं. २०१६ सालमा भएको थियो । त्यसपछि लामो समयसम्म नेपालमा अन्य विश्वविद्यालयहरुको स्थापना भएन । वि.सं. २०४३ सालमा सरकारले नेपाल संस्कृत विश्वविद्यालयको स्थापना गर्यो । त्यसपछि, सरकारले २०४८ सालमा काठमाडौं विश्वविद्यालय, २०५१ मा पूर्वाञ्चल विश्वविद्यालय, २०५४ मा पोखरा विश्वविद्यालय, २०६१ मा लुम्बिनी विश्वविद्यालय र २०६७ सालमा मध्यपश्चिम विश्वविद्यालय स्थापना गरेको थियो । त्यसैगरी, २०६७ सालमा नेपाल कृषि तथा वन विश्वविद्यालय, शुुदुरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्विद्यालयको स्थापना भएका थिए । २०७३ सालमा नेपाल खुला विश्वविद्यालय र २०७४ सालमा राजश्री जनक विश्वविद्यालय स्थापना भएका हुन् । संघीय सरकारकै पहलमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको प्रकृयामा अगाडि बढेको छ भने नेपाल विश्वविद्यालयको ऐन निर्माण प्रकृया अगाडि बढेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएसँगै प्रदेश सरकारहरुले पनि विश्वविद्यालयको स्थापना गर्न सक्ने व्यवस्था रहेको छ । सोही अनुसार अहिलेसम्म प्रदेश नम्बर १ सरकारले २०७६ सालमा मनमोहन प्राविधिक विश्वविद्यालय, मधेस प्रदेशले २०७८ मा मधेस कृषि विश्वविद्यालय र २०७९ मा मधेस विश्विद्यालयको स्थापना गरेका छन् । त्यस्तै विश्वविद्यालयले मधेस विश्वविद्यालय, मधेस कृषि विश्वविद्यालय र गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको स्थापना गरेका छन् । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम सरकारले पनि प्रदेश विश्वविद्यालय सञ्चालनको लागि आवश्यक छलफल तथा तयारी गरिरहेका छन् । यसरी हेर्दा अहिलेसम्म नेपालमा १६ वटा विश्वविद्यालय सञ्चालनमा आइसकेका छन् भने संघीय सरकारको पहलमा थप २ वटा र प्रदेश सरकारको पहलमा थप ३ वटा विश्विद्यालय स्थापना गर्ने पहल भइरहेको छ । यदी सबै प्रदेश सरकारले एक–एक वटा विश्विद्यालय स्थापना गरे भने निकट भविष्यमा नेपालमा २१ विश्विद्यालय पुग्ने सम्भावना देखिएको छ ।