शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा ठकुरी
काठमाडौं । शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेसीको ब्राण्ड एम्बेस्डरमा सुरजसिँह ठकुरी नियुक्त भएका छन् । कन्सल्टेन्सीले आज राजधानीमा एक समारोहको आयोजना गरेर ठकुरीसँगको सम्झौतामा हस्ताक्षर गरेको छ । ‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ । हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमलाई सम्बोधन गर्दै ठकुरीले भने, ‘शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ, यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासँग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन ।’ ‘अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु’, उनले भने । त्यस्तै, समारोहलाई सम्बोधन गर्दै लक्ष्य प्राप्तीका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैँ सम्मान गरेको छ भन्ने भावनालाई सुरज सिंह ठकुरीले पूर्ण रुपमा बुझेका छन् भन्ने बताएका थिए । ‘उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित गरेका छन्, हाम्रो ब्रान्ड एम्बेसडरको रुपमा उनलाई स्वागत गर्न पाउँदा हामी गर्वित छौँ’, निर्देशक सुभेन्द्र थापाले भने । साथै, उनले विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेको बताए । संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्नेछ भन्ने आफ्नो अनुमान रहेको उनले बताएका थिए । शुभगृहमा आफ्नो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्च स्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनु हो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् भन्ने रहेको निर्देशक थापाको भनाइ थियो । शुभगृह संस्थापक सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास व्यक्त गरेकी थिइन् । शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्नमा महत्वपूर्ण भूमीका खेलेको छ र सही मार्गदर्शन प्रदान गरे वापत धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार प्राप्त’ गरेको छ ।
विश्वविद्यालयहरुले नवीनतम् प्रविधिको अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय अब पूरानो तरिकाले चल्न सम्भव नरहेको बताएका छन । उनले २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम लाभ लिने गरी विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताए । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वमा विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्नुपर्ने उल्लेख गरे। सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्छ । यतिखेर विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्छ ।’ प्रधानमन्त्री दाहालले विश्वविद्यालयको संस्थागत विकास, यसका नीति एवं कार्यक्रमका साथै समस्या र सम्भावनाका विषयमा समेत गम्भीर छलफल गरिएको भन्दै त्यसको कार्यान्वयनका लागि सम्बद्ध सबैलाई आग्रह गरे । विश्वविद्यालयले उपलब्ध साधनस्रोतको यथोचित परिचालन गरेर आफ्ना शैक्षिक, प्राज्ञिक एवं भौतिक उन्नयनका क्रियाकलापलाई सन्तोषजनक रूपमै अगाडि बढाइरहेको भन्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयका जिम्मेवार पदाधिकारीलाई धन्यवाद दिए । प्रधानमन्त्री दाहालले भने, ‘कुनै पनि राष्ट्रको सभ्यता, समृद्धि र उन्नति शिक्षाकै जगमा खडा भएको हुन्छ । तसर्थ शैक्षिक क्षेत्रको सुधार र गुणस्तरमा वृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य प्राथमिकताको विषय हो ।’ विश्वविद्यालयजस्ता उच्च शैक्षिक संस्थाले राष्ट्रको इतिहास, मूल्यमान्यता र सांस्कृतिक संवेदनाको मूलचेतनाको नेतृत्व गर्ने हुँदा विश्वविद्यालयको पाठ्यक्रम एवम् यसको पठनपाठनको स्तरलाई उच्च तुल्याउन सघाउनु सरकारको दायित्व र कर्तव्य भएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा उच्च शिक्षामा विद्यार्थी भर्ना र पहुँच अभिवृद्धिका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नका लागि पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने नीति लिएको छ ।’ प्रधानमन्त्रीले वैदिक पौराणिक ग्रन्थमा उल्लेख भएका धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धन गर्ने नीतिका साथै आधुनिक प्रविधिको प्रयोग गरी राष्ट्रिय महत्वका अभिलेखको संरक्षण र व्यवस्थापन गर्ने कुरालाई पनि सरकारले महत्व दिएको जानकारी दिए । देशभित्र सञ्चालित विश्वविद्यालयसँगको समन्वयलाई प्रभावकारी बनाउन चाहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने गरी सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकार प्रतिबद्ध छ ।’ वर्तमान समय गुणस्तरका लागि प्रतिस्पर्धाको समय भएको बताउँदै प्रधानमन्त्री दाहालले आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसरहरू स्वतः प्राप्त हुँदै जाने स्पष्ट पारे । अचल सम्पत्तिका दृष्टिले अत्यन्त समृद्ध नेपालका केही संस्थामध्ये नेपाल संस्कृत विश्वविद्यालय पनि एक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विगतका केही वर्षयता उक्त सम्पत्तिलाई विश्वविद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न नसकिएको तथ्य अवगत गराए । उनले चल–अचल सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्दै त्यसको अधिकतम परिचालन गरी विश्वविद्यालयलाई आर्थिकरूपमा आत्मनिर्भर बन्ने प्रयत्न गर्नुपर्ने बताए । सो शैक्षिक संस्थाको नाममा दाङ जिल्लाको देउखुरी उपत्यका र दाङ उपत्यकामा रहेको क्रमशः एक हजार तीन सय ३६ बिघा र तीन सय २६ बिघा जमिनको स्वामित्व र संरक्षणसँग सम्बन्धित समस्या समाधान गर्नका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्नेबारेमा यसअघि भएका निर्णयलाई कार्यरूप दिन प्रधानमन्त्रीले निर्देशन दिए । सो कार्यमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वविद्यालयले विविधताको सम्मानसहित नेपाली समाजको बौद्धिक नेतृत्व गर्दै भावी पुस्तालाई आफ्नो मूल्य र पहिचानप्रति जागरुक तुल्याउन सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । सो विश्वविद्यालयले आफ्ना नीति र कार्यक्रम तय गर्दा राष्ट्रिय मौलिकता एवम् विशिष्टतालाई ध्यान दिनु आवश्यक रहेको प्रधानमन्त्रीको कथन छ । रासस
मनाइयो डिजिटल लर्निङडे, प्रविधि मैत्री सिकाइमा सरोकारवालाको जोड
काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङडे मनाएको हो । एडचेञ्ज नेपालकी अध्यक्ष डा राजेश्वरी मल्लको सभापतित्वमा सुरू भएको कार्यक्रमको प्रमुख अतिथिमा सांसद तथा नेपाली कांग्रेसका नेता एनपी साउदको उपस्थिति रहेको थियो । यस्तै विशेष अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, खुला विश्वविद्यालयकी उप कुलपति प्राडा सिलु मानन्धर बज्राचार्य र सुदूरपश्चिम प्रदेश सभाका सदस्य पदम शाहीको सहभागीता रहेको थियो । कार्यक्रममा अतिथिको रूपमा प्याबसनका अध्यक्ष डीके ढुंगाना, प्याब्सका सह(अध्यक्ष सुवास न्यौपाने, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्राडा बाल चन्द्र लुइटेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्द प्रसाद अर्याल लगायतका शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । होटल हिमालय, कुपण्डोलमा आयोजना भएको कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले डिजिटल लर्निङ, साक्षरता र शिक्षकको क्षमता अभिवृद्धिमा जोड दिएका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै एडचेन्ज नेपालका संस्थापक सदस्य विकेश महर्जनले गुणस्तरीय शिक्षा र डिजिटल शिक्षालाई प्रवर्द्धन गर्न एडचेन्ज नेपाल संस्था स्थापना गरेको अवगत गराएका थिए । डिजिटल शिक्षाका लागि राज्य अगाडि आउनुपर्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि एनपी साउदले डिजिटल शिक्षाका लागि संसद र सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए । त्यस्तै प्याबसनका अध्यक्ष डीके ढुंगानाले शिक्षाको महत्वपूर्ण भागको रूपमा डिजिटल शिक्षा भइसकेको बताए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री गणेश शाहले शिक्षामा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए । ‘शिक्षामा लगानी गरे मात्र देश समृद्ध हुन्छ,’ उनले भने, ‘यसका साथै अब डिजिटल लर्निङ डेको ओनरसीप सरकारले पनि लिनुपर्छ । डिजिटल शिक्षाको इकोसिस्टम विकासमा जोड दिनुपर्छ ।’ कार्यक्रममा मुख्य वक्ताको रूपमा रहेका काठमाडौं विश्वविद्यालयका डिन प्राडा बालचन्द्र लुइटेलले एआई धेरै परिस्कृत भएको जानकारी दिदै अब क्रियटिभ र समस्या केन्द्रित सिकाइ हुनुपर्ने बताए । नेपाल खुला विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा भोजराज घिमिरेले डिजिटल शिक्षामा भएका प्रयास, चुनौती र गर्नुपर्ने कामको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा प्यानल डिस्कसन समेत भएको थियो । सेसनमा वक्ताको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गोविन्द प्रसाद अर्याल, युनेस्को नेपालका शिक्षा शाखा प्रमुख डा धुर्व राज रेग्मी, प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नागार्जुन नगरपालिकाकी उप मेयर सुशिला अधिकारीको उपस्थिति रहेको थियो । सेसनलाई आईसिटी फाउन्डेसन नेपालका सहसंस्थापक तथा नलेज म्यानेजमेन्ट विज्ञ हेमपाल श्रेष्ठले सहजीकरण गरेका थिए । प्यानल डिसकसन सेसनमा उप सचिव ढकालले डिजिटल लर्निङका लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । डिजिटल लर्निङको सिस्टम केन्द्रिकृत हुनुपर्ने र कन्टेन्ट लोकलाइज हुनुपर्ने उनको भनाइ छ । यस्तै अर्का वक्ता गोविन्द अर्यालले केन्द्रले गरेका कामको बारे जानकारी दिदै विविध कारणले डिजिटल लर्निङको क्षेत्रमा जति गर्नुपर्ने काम हो, त्यति गर्न नसकेको स्वीकार गरे । यस्तै डा धुर्व राज रेग्मीले दुर्गम क्षेत्रमा लर्निङ र टिचिङ क्यापासिटीको ग्याप रहेको जानकारी दिए । त्यसैगरी सेसनमा बोल्दै प्याबसनका सुवास न्यौपानेले डिजिटल बिनाको शिक्षा कल्पना गर्न नसकिने बताए । यस्तै उप मयेर अधिकारीले डिजिटल लर्निङका लागि सबैको सहकार्य, समन्वय र सहअस्तित्वको भावानासहित अगाडि बढ्नुपर्ने बताइन् । कार्यक्रममा शिक्षकहरूले टिचिङ अभ्यासको बारेमा नयाँ नयाँ आइडियाहरु प्रस्तुत गरेका थिए । एडचेञ्ज नेपालले आयोजना गरेको कार्यक्रममा निमा एकेडेमी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, मेन्टर ल्याब, लर्डबुद्ध एजुकेसन फाउन्डेसन, अपग्राड, कोडिङगल, वर्ल्ड भिजन, सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड, चाइल्ड सेफ नेट, एन प्याबसन, एपेक्स लाइफ स्कुल, लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल, काठमाडौं विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयको सहकार्य रहेको थियो ।