जापान जान चाहने अधिकांश विद्यार्थीको सीओई रद्द, यस कारण पाउँदैनन् अध्ययन अनुमति
काठमाडौं । जापानको टोकियोमा अध्ययन भिसामा जान चाहेका नेपाली विद्यार्थीहरुले पछिल्लो केही वर्ष यता अनुमति पाउन छाडेका छन् । टोकियोमा अध्ययनको लागि भिसा आवेदन प्रकृयाको प्रारम्भिक चरणमा नै नेपाली विद्यार्थीहरु अस्विकृत हुने गरेको काठमाडौंस्थित कन्सल्टेन्सी सञ्चालकहरुको भनाइ छ । जापान नेपाली विद्यार्थीहरुको एउटा महत्वपूर्ण रोजाइ मध्येमा पर्ने मुलुक हो । जापान जान चाहने धेरै नेपालीहरुले पहिलो रोजाई टोकियोलाई बनाउने गर्छन । तर, तीन वर्षदेखि जापानको टोकियोमा अध्ययन अनुमति प्रकृयाको प्रारम्भिक चरणमा नै नेपाली विद्यार्थी अस्विकृत हुने गरेका छन् । जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका महासचिव अरुण पाण्डेले विगत ३ वर्षदेखि जापानको टोकियोले अत्यन्तै कम नेपाली विद्यार्थीलाई मात्र अध्ययन अनुमति दिने गरेको बताए । ‘भर्खरै आउन शुरु भएको नतिजा हेर्दा टोकियो इमिग्रेसनको लगभग ५ प्रतिशत पनि छैन’, उनले भने, ‘टोकियोमा नतिजा बिग्रेको ३ वर्ष भयो, टोकियोले विद्यार्थी लिन नमानेको हामीले देखिरहेका छौं ।’ जापानमा १८ वर्ष पूरा भएको र प्लस टु पास भएको विद्यार्थीले अध्ययन अनुमतिको लागि आवेदन गर्न सक्छन् । तर कस्तो सर्टिफिकेट भएको विद्यार्थी लिने भन्ने विषयमा भने त्यहाँका स्कुलहरुले आ–आफ्नो मापदण्ड बनाएका हुन्छन् । नेपाली विद्यार्थीहरुले अध्ययन अनुमति किन पाउन सकेनन् भन्ने विषय भने आफूहरुले जान्न नसकेको महासचिव पाण्डेले विकासन्युजलाई बताए । कोभिड महामारीपछि जापान जाने विद्यार्थीको संख्यामा वृद्धि भएपनि टोकियोमा भने कम विद्यार्थीले अनुमति पाउने गरेको जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका अध्यक्ष देवकोटाको भनाइ छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा नै बढ्दै गएको महंगीको प्रभाव जापानमा पनि परेको छ । जसले गर्दा जापानी परिवेशमा दैनिकी जीवन महंगो हुँदै गएको छ । पछिल्लो ३ वर्षदेखि जापान सरकारले उपभोग्य करमा वृद्धि गरेर ७ प्रतिशत पुर्याएको जालसानका महासचिव पाण्डेले बताए । जापानमा अध्ययन भिसामा गएका विद्यार्थीहरुले कानूनी रुपमा हप्तामा २८ घण्टामात्रै र विदाको समयमा काम गर्न पाउने उनले बताए । तर, बढेको महंगीका कारण भने जापानमा विद्यार्थीहरुलाई काम गरेर कलेजको शुल्क बुझाउने र दैनिकी खर्च उठाउन नै समस्या हुँदै गइरहेको धेरैले प्रतिक्रिया दिन थालेका छन् । महंगी र विदेशी विद्यार्थीलाई तोकिएको काम गर्ने समयको विषयमा जापानको संसदमा पनि कुरा उठेको र पारिश्रमिकको विषयमा पनि नयाँ व्यवस्था हुने सम्भावना रहेको उनले बताए । के छ जापानमा अध्ययन भिसा आवेदन प्रकृया ? जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका महासचिव अरुण पाण्डेका अनुसार जापानमा अध्ययनको लागि कम्तिमा १८ वर्ष पूरा भएको र प्लस टु पास भएका विद्यार्थीहरुले आवदेन गर्न सक्छन् । त्यसरी विद्यार्थी भिसामा आवेदन गर्दा पहिला विद्यार्थीहरुले निश्चित समयको भाषा स्कुलमा पढ्नुपर्ने हुन्छ । त्यसैले उल्लेखित शर्त पूरा भएका इच्छुक विद्यार्थीहरुले जापानको कुन ठाउँमा अध्ययन गर्ने हो सो का आधारमा कन्सल्टेन्सी मार्फत स्कुल छनोट गरेर सम्बन्धित स्कुलमा आवेदन गर्छन् । ‘त्यसरी आवदेन गर्दा विद्यार्थीले आफ्नो राष्ट्रिय परिचयपत्र खुल्ने नागरिकता वा पासपोर्टको फोटोकपी र प्लस टु पास भएको सर्टिफिकेट र ट्रान्सकिप्ट पठाउनुपर्ने हुन्छ’, पाण्डेले भने । उनका अनुसार विद्यार्थीले छनोट गरेको स्कुलले विद्यार्थीको आवेदनलाई स्वभाविक ठानेमा योग्यताको प्रमाणपत्र (सिओई)का लागि सम्बन्धित क्षेत्रको अध्यागमन विभागमा पठाउँछ । त्यसपछि अध्यागमन विभागले विद्यार्थीलाई योग्यताको प्रमाणपत्र दिने वा नदिने निर्णय गर्छ । योग्यताको प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीलाई मात्रै स्कुलले अध्ययनमा जानको लागि आवश्यक कागजात प्रकृया अगाडि बढाउने अनुमति दिन्छ । त्यसपछि मात्रै विद्यार्थीले कलेजले उपलब्ध गराएको कागजात र पासपोर्टका आधारमा भिसाको लागि राजदुतावासमार्फत आवेदन प्रकृया अगाडि बढाउन सक्छ । कोरोना महामारीको समयमा नेपाली विद्यार्थीहरु विदेश अध्ययनको लागि जान पाएका थिएनन् । त्यसपछिका समयमा भने ठूलो संख्याका नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जान थालेका छन् । अहिले शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट दैनिक दुई देखि छ सय जना विद्यार्थीले एनओसी लिने गरेका छन् । उक्त शाखाका अनुसार साउन देखि मङ्सिरसम्म ३८ हजार ६१ जाना विद्यार्थीले देश बाहिर पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसि) लिएका छन् । जसमध्ये जापान पनि विद्यार्थीहरुको महत्वपूर्ण रोजाइको देश बन्ने गरेको छ । तर, केही वर्ष यता जापानको टोकियोलाई केन्द्र बनाएर अध्ययन भिसाको लागि प्रयास गरेका विद्यार्थीहरुलाई निरन्तर रुपमा हातमा सुन्य लाग्दा उनीहरु निराश बन्दै गएका छन् ।
नवलपरासीमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन बन्द
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए। विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको उनको भनाइ थियो । ‘आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए’, उनले भने, ‘आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ ।’ रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई सङ्क्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ । अस्पतालमा हाल दश छात्रा उपचाररत रहेका र सङ्ख्या बढ्दै जानसक्ने पृथ्वीचन्द्र अस्पतालका मेसु डा मोहम्मद नुरुल होदाले बताए । हिजो आएका तीन जनालाई उपचारपछि घर पठाइएको र आज दश जनाको उपचार भइरहेको उनको भनाइ थियो । ‘यो मास हिस्टेरिया हुनसक्ने भएकोले विद्यालयमै पुगेर अध्ययन गरिने छ’ मेसु होदाले भने, ‘मानसिक समस्याका कारण यस किसिमको रोग देखिने भएकाले स्वास्थ्यकर्मी परिचालन गरेर विद्यालयका शिक्षक तथा अभिभावकलाई काउन्सिलिङ गर्न लागिएको छ । रासस
विद्यार्थीलाई संस्कार सिकाउने अभियान
झापा। धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन यहाँका २५ स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा एकल विद्यालय अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई त्यस्तो कक्षामा सहभागी गराउँदै आएको छ । विद्यालयमा औपचारिक शिक्षा पाइरहेका विद्यार्थीलाई उनीहरुको बिहान र बेलुकाको उपयुक्त समय मिलाएर संस्कारयुक्त शिक्षा प्रदान गर्न एकल विद्यालय अभियान सञ्चालन गरिएको जनकल्याण प्रतिष्ठान एकल अभियानका जिल्ला अध्यक्ष शङ्कर भट्टराईले बताए । जिल्लाका २५ वटै कक्षाका लागि अध्ययन गर्ने स्थान, कापी, किताब र शिक्षकको व्ययभार प्रतिष्ठानले बेहोर्दै आएको उनले जानकारी दिए । प्रतिष्ठानले शिक्षकलाई मासिक पारिश्रमिक दिँदै आएको छ । एकल विद्यालयमा विद्यार्थीलाई ध्यान र योग सिकाउनुका साथै मातापिता र अग्रजलाई गरिने आदर व्यवहारका बारेमा संस्कारयुक्त ज्ञान दिइने गरिएको अभियानका शिवसताक्षी प्रमुख पीताम्बर बरालले बताए। नैतिकता, संस्कार, भाषा, गणित, सामान्य ज्ञान, विज्ञान, हस्तशिल्प, स्वास्थ्य र शारीरिक शिक्षासमेत एकल विद्यालयमा पढाइने उनले जानकारी दिए । प्रतिष्ठानका जिल्ला अध्यक्ष भट्टराईका अनुसार २७ वर्ष पहिले धादिङको एउटा गाउँमा २८ विद्यार्थी पढाएर नेपालमा एकल विद्यालय अभियान प्रारम्भ भएको थियो । अहिले देशभर ४६ जिल्लाका पाँच सय एक गाउँमा यस्तो संस्कार सिकाउने कक्षा सञ्चालन भइरहेका छन् । एकल विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई आर्थिक स्रोतको अभावमा पर्याप्त पारिश्रमिक दिन नसकिएको उनले बताए । एउटा कक्षा सञ्चालन गर्न वार्षिक न्यूनतम ३६ हजार अतिरिक्त खर्च हुने गरेको बताइएको छ । शिवसताक्षीको वडा नं ४ का वडाध्यक्ष विष्णु प्रसाईंले एकल अभियानको कक्षामा नियमित जाने विद्यार्थी नैतिक अनुशासन र संस्कार पालनामा उदाहरणीय हुने गरेकामा प्रशन्नता प्रकट गरे । ‘मातापिता र अग्रजप्रति कसरी राम्रो व्यवहार गर्ने कुरा नानीबाबुले एकल विद्यालयमा सिक्न पाएका छन्’, वडाध्यक्ष प्रसाइँले भने, ‘योग र धर्मको आधारभूत ज्ञान पाउँदा उनीहरुमा विनम्रताको विकास हुँदोरहेछ भन्ने अभिभावकले पनि बुझेका छन् ।’ रासस