जुम्लालगायत हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अनुसार शैक्षिक सत्र सञ्चालन गर्न गत माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिए । ‘सो परिपत्रअनुसार फागुन १७ गते बसेको जिल्लाका आठवटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय भएको छ’, उनले भने । उक्त निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमतिसमेत जनाएका छन् । यसअघि हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुने गरेको थियो । जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिकसत्र सञ्चालन गर्दै आएको थियो । जिल्लामा अब २०८० सालदेखि वैशाखमा नयाँ शैक्षिकसत्र सुरु हुने शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख भण्डारीको भनाइ छ । यहाँका स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने भने पनि पाठ्यपुस्तक १५ चैतभन्दा अगाडि नआउने देखिन्छ । सङ्घीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई कार्यान्वयनमा ल्याई आउने वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । जिल्लाको केही स्थानीय तहले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिएकाछन् । जिल्लाका स्थानीय तहले माघ २५ गतेदेखि नै विद्यालय सञ्चालनमा आएका छन् । रासस

स्ववियु निर्वाचन आचारसंहिता : प्रचारप्रसार गर्नका लागि रङ्रोगन र पोस्टर टाँस्न नपाइने

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ । आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ । क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दैछन् । गत फागुन १९ गते निर्वाचनका लागि विद्यार्थी सङ्घ सङ्गठन दर्ता भएका छन् । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।

‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधी जेभियर इन्टरनेशनल कलेजलाई

काठमाडौं । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टरनेशनल कलेजले जितेको छ । २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए । प्रतियाेगिताका विजेता जेभियर इन्टरनेशनल कलेजले नगद ५० हजार जितेको छ । त्यस्तै, उपविजेता हेराल्ड कलेजले नगद २५ हजार जितेको छ । प्रतियाेगितामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड काठमाडौं कलेजका तेन्जिन शेर्पाले जितेका छन् भने उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका निर्पेश श्रेष्ठले पाएका छन् । यस्तै, उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजका खेलाडी तेन्जिन भुटियाले जितेका छन् । प्रतियाेगिताको प्रायोजक होण्डा, हाइ कल्चर्ड, नेको इन्सुरेन्स लिमिटेड, ललितपुर हाइ, बयोधा हस्पिटल प्रा लि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एण्ड मुभ्स र टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो ।