प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा, समता शैक्षिक गुठीलाई दियो ५ लाख सहयोग
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स आज (मंसिर २८ गते) देखि स्थापनाको पाचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गुठीलाई उक्त सहयोग गरेको हो । समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधबार एक कार्यक्रमबीच गुठीका कार्यकारी निर्देशक दिपक संजेललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए । गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको छ । गत वर्ष पनि कम्पनीले यसै गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक १००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।
बझाङमा कक्षा छसम्म पढाउने शिक्षक मात्र तीन जना
बझाङ । विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो । लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए । शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए । त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो । यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन । जब टोली भान्छाकोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए । टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानाखुसी गर्न थाले । कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन् । कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताइन् । ‘बाहिर हेर्दा त धेरै नै मन पराउँछन् । तर, भित्री रूपमा विद्यालय सोचेभन्दा धेरै नै फरक छ ।’ उनले भनिन् । प्रअ मल्लले गाउँपालिकामा पटक–पटक विद्यालयमा शिक्षकका लागि माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाइन् । अनुगमनमा आएको गाउँपालिकाको टिमकै अगाडि उनले भनिन्, ‘सरहरूलाई थाहा छ, हामीले शिक्षक चाहियो भनेको दुई’तीन वर्ष नै भइहाल्यो । हामी तीन जना शिक्षकले छ कक्षासम्म कसरी पढाउने र ?’ प्रअ मल्लका अनुसार कार्यतालिकामै एउटै कक्षामा ४/५ कक्षासम्म राखिएका छन् । ‘तर, तीन जना कता शिक्षकले कता पो हेर्नु ? एक जना शिक्षक पालिकाले पठाइदिए भने राति निन्द्रा लाग्ने थियो ।’ उनले दुखेसो पोखिन् । ‘आज त प्रत्यक्ष आफ्नै विद्यालयमा भन्ने मौका पाएँ,’ उनले भनिन्,’यसभन्दा अगाडि पालिकाका सबै प्रतिनिधिलाई शिक्षकको याचना गरेँ, हुन्छ धेरैले भने, तर अहिलेसम्म शिक्षक पाएनौँ । हामीले नै शिक्षक थप्न आन्तरिक स्रोतको अभाव छ । अहिले भएका शिक्षकमध्ये पनि एक जना मात्रै बिदामा बसे भने यहाँ बेहाल हुन्छ ।’ उनले शिक्षककै अभावले पढाइको गुणस्तर पनि खस्किएको बताइन् । उनले भनिन्, ‘विद्यालयको वातावरणका लागि त धेरैले सहयोग गरेका छन् । सङ्घ संस्था नभइदिएको भए यस्तो वातावरण पनि हुने थिएन । कसैले खानेपानी, कसैले खाद्यान्न, कसैले तरकारी त कसैले भवन पनि सहयोग गरेका छन् । त्यसैले वातावरण राम्रो देखिएको हो । तर, यो सबैभन्दा पनि विद्यार्थीको पढाइ हेरिन्छ, त्यसमा हामीले निकै चुक्नु परेको छ ।’ उनका अनुसार यसै शैक्षिक सत्रमा मात्रै २५ जना बालबालिका निजी विद्यालयमा पढ्न गए ।’उनीहरूलाई हामीले रोक्न सकेनौँ,’ उनले भनिन्, ‘पढाइ बिग्रिएको भन्दै अभिभावक यो विद्यालय छुटाए । शिक्षककै कमीले यस्तो अवस्था आएको हो । हामी एउटै शिक्षक थपिए पनि त्यो अवस्था आउन दिने थिएनौँ ।’ विद्यालयमा समस्या थुप्रै भए पनि शिक्षक अति आवश्यक भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज भारतीले बताए । ‘म अध्यक्ष भएको दुई वर्ष भयो,’ उनले भने,’दुई वर्षको अवधिमा शिक्षकका लागि दजनौँ पटक पालिकालाई याचना गरेँ, उनले सुनाए तर, कार्यान्वयन गरेनन् । यसपटक पालिकाको टोली विद्यालयमै पुगेको छ । अब त बिर्सनु हुनेछैन भन्ने सोचेको छु ।’ अध्यक्ष भारतीका अनुसार विद्यालयमाभित्र नदेखिने समस्या धेरै छ । अहिले डिजिटल युगमा कम्प्युटर त के विद्यालयमा एउटा फोटोकपी गर्ने मेसिनसमेत छैन । ‘केही फोटोकपी गर्नुपरे बागथला दौडनुपर्छ’ अध्यक्ष भारतीले भने, ‘हामीलाई फोटोकपी, शैक्षिक सामग्री, विद्यालयको घेरबारभन्दा पनि शिक्षक बढी आवश्यक छ ।’ अहिले सिद्धिगणेश आधारभूत विद्यालयमा एक सय ५० जनाभन्दा बढी विद्यार्थी छन् । बालकक्षादेखि ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा अभिभावकले पनि खासै चासो राखेका छैनन् । ‘अभिभावक खासै आउँदैनन् । अन्तिममा नतिजा हेर्छन् । नतिजा ठीक नभए, पढाइ भएन भन्दै बालिबालिका अर्कै विद्यालयमा पठाउँछन् ।’ भारतीले भने उनका अनुसार एक जना शिक्षक थपिए पनि धेरै राम्रो नतिजा त आउँदैन तर, विद्यार्थीलाई ओगट्न सकिन्छ । ‘एक शिक्षक थप्ने वित्तिकै धेरै राम्रो हुने भन्ने त हुँदैन तर पनि विद्यार्थीको रेखदेख, कक्षा समाल्न निकै राहत हुन्थ्यो ।’ यता गाउँपालिकाका उपाध्यक्ष मनिषा धामी, प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय, शिक्षा संयोजक केशवराज भट्ट, स्वास्थ्य संयोजक कैलाश बलायरलगायतको टोलीले भने अब पुस महिनाभित्रै सिद्धिगणेशमा शिक्षक राख्ने बताउँछन् । ‘योभन्दा अगाडि विभिन्न कारणले शिक्षक पठाउन सकिएन । अब भने दोस्रो हप्ता नै शिक्षक उपलब्ध गराउँछौँ’, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, ‘हामी सबै यस्तै विद्यालयबाट पढेर आएका हौँ । पर्याप्त शिक्षक नभएर केही हुँदैन । पालिकामा पनि हामी नयाँ आएको हुँदा ढिलाई भएको हो । अब दोस्रो महिना नै सिद्धिगणेशमा शिक्षक पुर्याउँछौँ ।’ विद्यालयमा नयाँ शिक्षक आएपछि शिक्षाको गुणस्तर पनि सुधार हुने उपाध्यक्ष धामीले बताए । ‘हामी सबै शिक्षक पेसा सम्हालेर आएका हौँ, शिक्षकलाई विद्यार्थी सम्हाल्न कति हम्मेहम्मे हुन्छ भन्ने कुरा बुझेका छौँ । पर्याप्त शिक्षक नभएर केही हुँदैन । त्यसैले यसपटक पालिकाले तत्कालै एक जना शिक्षक उपलब्ध गराउने र अर्को वर्षसम्म पुग्ने गरी शिक्षकको व्यवस्था गर्नेछौँ ।’ उनले भने । रासस
प्राविधिक शिक्षाले विद्यार्थीको रोजाइमा पर्न थाले सामुदायिक विद्यालय
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो । मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ । विसं २०७४ मा आठ सय २२ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले एक हजार छ सय ६० भन्दा बढी अध्ययन गर्छन् । यहाँ जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । पाँच वर्ष अगाडि विकास गुरुयोजना निर्माण गरेर पाँच वर्षभित्रमा विद्यार्थी सङ्ख्या दोब्बर बनाउने योजनासहित अगाडि बढेको विद्यालयले आफ्नो लक्ष्यअनुसारको सफलता हासिल गरेको प्रधानाध्यापक हरिप्रसाद देवकोटाले बताए । ‘विद्यालयको भौतिक र शैक्षिक अवस्थामा सुधार गर्दै करिब दुई हजारसम्म विद्यार्थी अध्यापन गराउने योजना छ’, उनले भने, ‘लक्ष्यअनुसार प्रगति हुँदै गएको छ ।’ विसं २०२९ मा निम्न माध्यमिक तहसम्मको अनुमति प्राप्त गरेर स्थापना भएको सो विद्यालयले २०३८ सालमा माध्यमिक तह अध्यापनको सुरुआत गरेको थियो । विसं २०४० मा विद्यालयले माध्यमिक तहको अनुमति प्राप्त गरेको हो । उच्च शिक्षाका लागि साविकको तमसरिया गाविससहित आसपास क्षेत्रका विद्यार्थी कावासोती वा अन्य जिल्ला पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै २०५७ सालमा उच्च माध्यमिक तहसम्मको अध्यापन अनुमतिको लागि प्रक्रिया सुरुआत गरेको थियो । सोही वर्ष उच्च माध्यमिक तह अध्यापन अनुमति प्राप्त गरेको विद्यालयले सोही वर्षदेखि कक्षा ११ को पढाइ सुरुआत गरेको थियो । विसं २०६० को दशकमा सामुदायिक विद्यालयप्रति अभिभावकमा देखिएको वितृष्णा र समय अनुकूल शिक्षालाई ध्यानमा राख्दै विद्यालयले २०६६ सालमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरुआत गरेको थियो । त्यसपश्चात् क्रमशः विद्यालयमा विद्यार्थी सङ्ख्यामा बढोत्तरी हुँदै आएको प्रधानाध्यापक देवकोटा बताउछन् । पञ्चवर्षीय गुरुयोजना निर्माणपछि विद्यालयमा विद्यार्थीको आकर्षण थप बढेको हो । स्थापनाको ५० वर्ष पूरा गर्दा जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था र सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयको रुपमा आफूलाई स्थापित गर्नसक्ने अवस्थासम्म आइपुग्दा संस्थापकदेखि हालसम्म विभिन्न व्यक्ति, संस्थाको भूमिका महत्वपूर्ण रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दु काफ्लेले बताइन् । यही मङ्सिर २९ देखि पुस ४ गतेसम्म विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाउँदैछ । रासस