सुकुम्वासीका छोराछोरी पढ्ने दाङको नमूना विद्यालय

तुलसीपुर । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे । कक्षा ३ बाट पठनपाठन सुरु गरियो । विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन । गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए । ‘मुठ्ठीदानमार्फत चालम सङ्कलन ग¥यौँ । त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने । त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ । हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ । नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले बताए । विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन् । ‘सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो , त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ’, उनले भने, ‘अहिले चार सय ५० विद्यार्थी छन् ।’ प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्दछन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ । विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन् । घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन् । उहाँसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर गएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाँकेका थिए । केही समय उनले निःशुल्क काम गरे । ‘सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क शिक्षकले पढाउनुभयो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भने, ‘छ महिनापछि रू एक हजार तलब तोकिदिएका थियौँ ।’ ‘नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरिका हौँ’, अभिभावक निर्मल परियारले भने । उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालय लिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका, दलित तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहन स्वरुप सहयोग गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताए । उनले खोलाको किनारलाई व्यवस्थित गरेर विद्यालय भवन निर्माण गरी पठनपाठन सञ्चालनमा गरिएको उल्लेख गरे । ‘उक्त विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्’, निरीक्षक भण्डारले भने, ‘विद्यालयको संरचना र पढाउने तरीका पनि उत्तिकै राम्रा छन् ।’ आधारभूत विद्यालयमा साढे चार सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक रहेको उनको भनाइ छ । हाल विद्यालयमा १० शिक्षक, चार बालविकास, एक निजी तथा एक जना परिचालिका कार्यरत छन् । घर नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा अहिले कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दा माथी पढनका लागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामी यही विद्यालयमा पढ्यौँ’, विद्यार्थी लीला चलाउनेले भने, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामीभन्दापछि आउने विद्यार्थीले १० सम्म यही पढ्न पाऊन् भन्ने चाहना छ ।’  रासस

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

काठमाडाैं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो । तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको बताए । उनले भने, ‘नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।’ रेग्मीकाअनुसार नेपालमा २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । उनले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोवास गर्ने गरेको बताए । यो संख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ । ‘२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोवास गर्ने गरेको,राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेका छन् । गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ,’ उनले भने । रेग्मीले जनगणनामा सधैँको लागि देश छोडेर गएका व्यक्तिहरुको गणना नगरिएको बताउनु भयो । त्यस्तै परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन । रेग्मीले उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कुल जनसंख्याको सबैभन्दा बढी प्रतिशत रहेको बताए । २०६८ को जनगणनामा भने १० देखि १४ वर्षको बीचको उमेरसमूहका थिए ।

‍विद्यार्थीले स्वदेशमै सम्भावना खोज्नुपर्छ : राज्यमन्त्री ठकुरी

काठमाडौं । विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै दिक्षित विद्यार्थीहरु देशको कर्णधार भएकाले विद्यार्थीहरुले देखेको भिजन र मिशनको सम्भावना स्वदेशमा खोजी गर्नुपर्ने बताएकी हुन् । यस्तै, समारोहमा लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले दिक्षान्त समारोहलाई सम्बोधन गर्दै पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सिपमुलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने बताए । पर्यटन क्षेत्रमा प्रविधिको महत्व र धार्मिकस्थललाई भर्चुअल टुरहरु माफर्त सुचना प्रविधिको प्रयोग गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने उनी बताउँछन् । बिहीबार सम्पन्न दिक्षान्त समारोहमा सन २०२२ मा स्नातक तह उत्तीर्ण गरेका सुचना प्रविधिका ४९, स्नातकोत्तर तह एमबिएका १९, एमएससी सुचना प्रविधि व्यवस्थापन ४९ गरी कुल १ सय १७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेसनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सुचना प्रविधि कलेज हो ।