आरआर, नेपाल कमर्श र पाटन क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएकाे हो । ‘विद्यार्थी हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथासक्य चाँडै सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी बाँकी कारबाही गर्नु गराउनु भनी विपक्षका नाममा अन्तरिम आदेश जारी गरिएको’, आदेशमा भनिएको छ । आदेशमा विद्यार्थी हकहितको लागि स्थापित स्ववियुको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत उल्लेख गरिएको छ । आरआरका विद्यार्थी मदन भण्डारी, कमर्श क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले निर्वाचन गर्न माग राख्दै रिट निवेदन दर्ता गराएका थिए । ती तीनवटै क्याम्पससहित उपत्यकामा अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गराएको थियो ।
भक्तपुरको आस्था महिला विद्यालयबाट ६३ वर्षमा एसईई दिँदै चन्द्रलक्ष्मी श्रेष्ठ
भक्तपुर । आस्था महिला विद्यालय भक्तपुरबाट एसर्ईई परिक्षामा ९ विद्यार्थी सहभागी हुदैँछन् । वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेको यो वर्ष ११ औं एसईई दिने तयारी गरेको छ । शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले २०६४ सालदेखि सञ्चालित यो विद्यालयमा आफु समस्यामा भएपनि महिलाहरुको पढ्ने धोको पुरा गर्न सक्रिय छ । यो विद्यालय मध्यपुरथिमी गठ्ठाघरमा रहेको छ । यो विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । मनभित्र चाहना र दृढ अठोट भए पढ्नलाई उमेरले छेक्दन भन्ने यहाँका विद्यार्थीहरुले पुष्टि गरेका छन् । २०६५ सालदेखि कक्षा सञ्चालन भएपनि भाडाको घरमा विद्यालय चलिरहेको छ । विद्यालयकी प्रार्चाय विना देउजाका अनुसार यो वर्ष विद्यालयबाट ६३ वर्ष उमेरकी विद्यार्थी चन्द्र लक्ष्मी श्रेष्ठ एसर्ईई परिक्षमा सहभागी हुदैंछिन् । विद्यालयबाट ९ जना एसईई परिक्षामा सहभागी हुदैं छन् । उनीहरु सबै १७ वर्षदेखि ६३ वर्ष उमेरसम्मका रहेका छन् । उनीहरुको परिक्षा केन्द्र आर्दश माविमा परेको छ । यो वर्षको एसईई परिक्षा १७ गते शुक्रबारदेखि सुरु हुदैंछ । यस बर्षको परिक्षामा देशभरबाट ४ लाख ८५ हजार बिद्यार्थी सहभागी हुँदै छन् । प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइदैंछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कक्षा १० को एसईई परीक्षामा साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै उत्तर पुस्तिका र प्रश्न पत्र पठाइ सकिएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
एक सामुदायिक विद्यालय जहाँ ५२ जिल्लाका विद्यार्थी पढ्छन्
काठमाडौं । बर्दिया राधापुर नगरपालिका-९ कि शैलाजा थारु बागलुङको धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । सोही विद्यालयको कक्षा ३ मा बाजुरा जगन्नाथ गाउँपालिका-१ का भविन्द्र विष्ट पनि पढ्छन् । थारु र विष्ट मात्रै होइन बागलुङ रामरेखाको यस विद्यालयमा ५२ जिल्लाका दुई सय ९५ विद्यार्थी अध्ययरत रहेको प्रधानध्यापक रेशमबहादुर श्रीसले जानकारी दिए । विद्यालयमा अधिकांश सुस्तश्रवण भएका विद्यार्थी अध्ययन गरिरहेका छन् । कूल विद्यार्थीमध्ये ९० प्रतिशत बहिरा रहेको प्रधानध्यापक श्रीसको भनाइ छ । बहिरा विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा स्थानीय सरकारले समेत चासो दिन आवश्यक रहेको उनको भनाइ छ । ‘दरबन्दी अनुसारका शिक्षक छैनन्, शिक्षण विधिसमेत फरक हुने भएकाले जनशक्तिको अभाव छ”, उनले भने, ‘हामीलाई १८ जना शिक्षक आवश्यक भए पनि अहिले जम्मा सात जना मात्रै छौँ ।’ विद्यालयले आन्तरिक स्रोतबाट शिक्षक, नर्स, कर्मचारी, ड्राइभर र सुरक्षागार्डको व्यवस्थापन मिलाएको छ । अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराउन सरकारले पनि विशेष प्राथमिकता दिनुपर्ने उनले जोड दिए । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारबाट प्राप्त हुने आवासीय सुविधाका लागि दिइने मासिक रकम पनि पर्याप्त नभएको बताए । ‘चामल प्रतिबोरा एक हजार तीन सय हुँदा मासिक चार हजार दिन सुरु भएको हो’, उनले भने, ‘अहिले प्रतिबोरा दुई हजार पुगिसक्यो तर रकम बढ्न सकेको छैन ।’ प्रधानध्यापक श्रीसका अनुसार हाल कक्षा ९ र १० मा कम्प्युटर इञ्जिनियरिङ समेत पढाइ हुन थालेको छ । प्राविधिक धारतर्फ तीन वर्षे डिप्लोमा कप्युटर इञ्जिनियरिङको पढाइसमेत भइरहेको उनको भनाइ छ । विद्यालयले आठ वर्षदेखि आन्तरिक स्रोतबाटै विद्यालय नर्स कार्यक्रम लागू गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी केबी राना मगरले बताए । रानाका अनुसार विद्यालयमा डोल्पा, कैलाली, अर्घाखाँची, कञ्चनपुर, बाँके, नुवाकोट र झापालगायत विभिन्न जिल्लाबाट बहिरा विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । रानाले विद्यालयले २०६४ सालदेखि अपाङ्गता भएका, अभिभावक तथा समाजबाट अपहेलित भएका विद्यार्थीलाई अध्यापन गराउन सुरु गरेको बताए । विद्यालयले राज्यबाट आउने तलब तथा आवासीय सुविधा बाहेक वार्षिक १९ लाख अतिरिक्त खर्च भइरहेको बताएको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले यस्ता विद्यालय र अन्य सामुदायिक विद्यालयलाई हेर्ने नीति परिवर्तन आवश्यक रहेको बताए । रासस