मोरङबाट ११६ नक्कली परीक्षार्थी पक्राउ

मोरङ । मोरङमा माध्यमिक शिक्षा परीक्षा एसइई दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए । रासस

सङ्घीय शिक्षा विधेयक ल्याउन सभामुखको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसद्मा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजजीतिक नेतृत्वलाई आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको आयोजनामा विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताए । सभामुख घिमिरेले संसद्मा सो विधेयक आएपछि त्यसलाई अघि बढाउने सवालमा आफ्नोतर्फबाट भूमिका निर्वाह हुने स्पष्ट गरे । ‘शिक्षामा भएका कानुन कार्यान्वयन गर्नुपर्छ । ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौंँ भनेर तपाईंहरुले छलफल गर्नुपर्छ’, उनको भनाइ थियो । ‘संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ’, उनले भने, ‘आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन ।’ उनले शिक्षाले देशको भविष्य निर्धारण गर्नेसमेत बताए । आर्थिक, सामाजिक र सांस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको बताए । ‘हामी सुधार गर्दछौँ, हाम्रो विद्यालय’ नारका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । सम्मेलनमा विभिन्न पार्टीका नेता एवं पूर्व शिक्षामन्त्रीले सामुदायिक विद्यालय सुधार्नुको विकल्प नभएकोमा जोड दिएका थिए । सम्मेलनमा देशभरका सात सय ५३ वटै स्थानीय तहबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको छ । रासस

मोरङको पूर्वाञ्चल विश्वविद्यालयमा छ हजार ५१३ विद्यार्थी दीक्षित

मोरङ । मोरङको सुन्दरहरैँचामा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय पियूको ११औँ दीक्षान्त समारोहमामा विभिन्न सङ्कायमा गरी छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कला सङ्कायको स्नातकमा ९२ र स्नातकोत्तरमा ४३ जना सहभागी थिए । यसैगरी कानुन सङ्कायको स्नातकमा एक सय ९९ र स्नातकोत्तरमा १०७ जना, शिक्षाशास्त्र सङ्कायको स्नातकमा तीन सय ५४ र स्नातकोत्तरमा एक सय ४८ जना, व्यवस्थापन सङ्कायको स्नातक तहमा एक हजार दुई सय ४२ र स्नातकोत्तरमा छ सय १४का साथै एमफिलमा छ जनालाई उपाधि प्रदान गरियो । उक्त विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्कायको स्नातकमा एक हजार दुई सय ६१, स्नाकोत्तरमा एक सय २३ जानालाई दीक्षित गरिएको थियो । चिकित्सा शास्त्रको स्नातकमा दुई हजार तीन सय १४, स्नातकोत्तर तहमा १० जनालाई उपाधि प्रदान गरिएको थियो । विसं २०५२ सालमा उक्त विश्वविद्यालय स्थापना भएको थियो । रासस