संस्कृत विद्या वैज्ञानिक छ : महासचिव मोहन वैद्य ‘किरण
दाङ । नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन्। उनले भने, ‘संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ, यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाइ छ, त्यो बिल्कुलै गलत हो, संस्कृत भनेको आदर्शवाद हो भौतिकवाद पनि हो, यसको महत्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको हो ।’ नेपाल समाजमा परम्पराका निरन्तरता रहेको हुँदा यसमा नवीनता तिर पनि जानुपर्ने अवस्था रहेको आवश्यकता औँल्याए । आफ्नी आमा जानका वैद्य पोखरेलको शत वर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उनले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम रहेको जिकिर गरे । देश र समाज रुपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानका वैद्यबाट आफूले पाएको बताउँदै महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको विश्वास व्यक्त गरे । उनले संस्कृत भाषाका बारेमा राम्रो ज्ञान नहुँदा पनि बुझाइमा समस्या भएको बताउँदै यसका जानकारले पनि गलत प्रयोग गर्न खोज्दा समस्या भएको हुन सक्ने तर्क गरे । ‘हामीले बोल्ने अङ्ग्रेजी, हिन्दी, उर्दु, मैथिली भाषामा पनि थुप्रै विद्या हुन्छन्, यसमा ज्ञान हुन्छन्, त्यसैगरी, संस्कृत विद्यामा पनि विज्ञान छ, ज्योतिष छ, गणित छ, सबै चिज छ, त्यसैले संस्कृत विद्या वैज्ञानिक छ’, उनले भने, ‘हिजोको पूर्खाले गरेको काम आजको भौतिकवादी कुरा हो, तर, यसमा कतिपय संस्कृतका विद्वानले संस्कृत कुराका पुराना कुरालाई मात्रै उठान गरेर गलत अभ्यास गरे, यसमा पनि नवीन कुरा छ, विज्ञान छ, आदर्शवाद छ, भौतिकवाद, द्वन्द्ववाद छ भन्ने कुरा बुझाउन जरुरी छ ।’ उनले नेपालमा युग सुहाउँदो संस्कृति रुपान्तरणको अभियानमा सबै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बेला आएको बताए । जीवित रहँदासम्म आफ्ना आमाबुवालाई राम्ररी हेरचाह, रेखदेख नगर्ने, मरेपछि श्राद्ध गर्नुभन्दा बाँच्दासम्म सम्मान गर्न जरुरी रहेको उनको भनाइ छ । उनले आफ्ना पितृलाई सम्मान गरेर नयाँ संस्कृतिको जग बसाल्न खोजेको बताउँदै परम्परागत संस्कृतिले विकृति निम्त्याएको हुँदा नवीन संस्कृतिको अभ्यासको थालनी आफूहरुले गरेको बताए। ठूलो मान्छे होइन असल मान्छे बनाउन आफ्ना सन्तानलाई सिकाउने काम जानका वैद्यले गरेको कार्यक्रमका वक्ताको भनाइ थियो । सामाजिक, सांस्कृतिक शैक्षिक आन्दोलनका लागि छोराहरूलाई शिक्षाको ओज दिएर आमाले दायित्व पूरा गरेको उनीहरूको भनाइ थियो । साबिक ढिकपुर–७ अस्परी निवासी हाल घोराही–१५ रतनपुर निवासी जानका वैद्य पोख्रेलका ७ भाइ छोरा र १ छोरी छन् । जसमध्ये मोहन वैद्य जेठा छोरा हुन् ।
गुणस्तर शिक्षकका लागि बालबालिकालाई सरकारी विद्यालयमा पढाउँदै
बागलुङ । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा वडा भेला आयोजना गरेर अभियानको थालनी भएको हो । भेलामा सहभागीले सामुदायिक विद्यालय बचाउन र गुणस्तर सुधारका लागि शिक्षकका बालबालिका आफ्नै विद्यालयमा पढाउनुपर्ने निर्णय गरे । पहिलो चरणमा शिक्षक र जनप्रतिनिधिका बालबालिकालाई आफ्नै सामुदायिक विद्यालयमा पढाउने र क्रमशः सार्वजनिक पदमा बसेकाका बालबालिकालाई पनि सामुदायिक विद्यालयमा ल्याउने तयारी उनीहरुको छ । वडाध्यक्ष राजु थापाले पहिला म र हामीबाटै सुरु गरेपछि सबैका बालबालिका सामुदायिक विद्यालयमा पढाउन सकिने धारणा राखे । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माण, मर्मत र अन्य काम भए वडाध्यक्षको नाताले काम गर्ने भन्दै विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने र गुणस्तरीय शिक्षा दिने काममा शिक्षकले थालनी गर्नुपर्ने उनको धारणा थियो । ‘मैले के काम गर्नुपर्छ गर्छु, तर शिक्षक र जनप्रतिनिधिका छोराछोरी यहीँ पढाऔँ’, थापाले भने, ‘हामीले नै सदरमुकाम वा बोर्डिङमा पठाइयो भने सर्वसाधारणका छोराछोरी के भनेर भर्ना गराउने ?’ वैशाख २ गतेदेखि नै बालबालिका भर्ना अभियान चल्ने भएकाले त्यसअघि आम भेला गरेर अभियान चलाउने घोषणा गरेको उनले बताए । दुई साताअघि वडा शिक्षा समितिले यो निर्णय गरेर अभिभावक र सरोकारवालाको भेला गरिसकेको हो । तित्याङमा १० सामुदायिक विद्यालय छन् । बिहीबारको वडा भेलामा पुगेका उपप्रमुख राजु खड्काले शिक्षकले चाहेमा शिक्षाको गुणस्तर सुधार गर्न सक्ने भन्दै शिक्षकलाई तालिम र प्रविधि हस्तान्तरणमा नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले वडा शिक्षा समितिको निर्णयको स्वागत गर्दै अब नगरपालिकालाई पनि नैतिक बाध्यता परिसकेको भन्दै अब नगरस्तरमा पनि यस्तै निर्णय हुनुपर्ने धारणा राखे । वडाध्यक्ष राजु थापाको अध्यक्षतामा बिहिबार भएको वडा भेलामा सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, नगर शिक्षा समितिका सदस्य गोपालकुमार शर्मा, सामुदायिक विद्यालय सङ्घ गण्डकी प्रदेशका अध्यक्ष टीकाराम खड्कासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक र शिक्षक अभिभावक सङ्घका पदाधिकारीले वडाको निर्णयको स्वागत गर्दै सबै सरकारी कर्मचारीलाई आफ्ना बालबालिका ल्याउने वातावरण बनाउन आग्रह गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले वैधता दिनका लागि नगरको निर्णय चाहिने भए पनि वातावरण बनाएर सामुदायिक विद्यालय जोगाउने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षकबाट सुरु गरेको अभियान सरकारी कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिसम्म पु¥याउन सकेमा बन्द हुनै लागेका विद्यालय बचाउन सकिनेसमेत सहभागीको धारणा थियो । रासस
शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे पाठ्यपुस्तक
जुम्ला । हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् । आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए । कक्षा १ देखि १० सम्मका करिब सात सय थान पाठ्यपुस्तक आइसकेका छन् । जिल्लाको हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार पाठ्यपुस्तक पुगेको उनको भनाइ थियो । यही वैशाख ३ गतेदेखि हिमा गाउँपालिकामा पाठ्यपुस्तक पुग्ने भएको छ । तातोपानी गाउँपालिकाले पनि पुस्तक माग गरेको छ । अरू स्थानीय तहबाट पनि माग आउन थालेको र थप पुस्तक पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिए । अहिले छ हजार एक सय थान पाठ्यपुस्तक जिल्लामा पुगेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले बताए ।सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर पुस्तक आएको छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो । यो वर्ष समयमै पाठ्यपुस्तक आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको यहाँका स्टेसनरी सञ्चालकले बताए । स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् । जिल्लामा कूल एक सय ८४ सामुदायिक विद्यालयमा करिब ४० हजार हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको शिक्षा समन्वय इकाइले जनाएको छ । हिमाली जिल्लाहरूमा फागुनदेखि विद्यालय सञ्चालनमा आएपछि पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरूको पढाइमै असर परेको थियो । मतपत्र समयमै पुग्ने तर विद्यार्थीका लागि किताब नपुग्नाको कारणबारे जिल्लाका सांसदले सांसदमै आवाजसमेत उठाएका थिए । स्थानीय सरकारबाट किताब पुगअपुग भएको सन्दर्भमा केही जानकारी नआएको यहाँका सामुदायिक विद्यालयले जनाएका छन् । जुम्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै जुम्लामा पनि सोही अनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । विसं ०७९ माघ ६ गतेको मन्त्रिस्तरीय निर्णयबाट सबै जिल्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु गर्ने सरकारको तयारी छ तर अघिल्ला वर्षमा हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । हिमाली जिल्लाले पुस १० देखि माघ २५ गतेसम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए । रासस