करार, राहत र स्थानीय स्रोतका शिक्षकले प्रशासकीय अधिकृतदेखि विद्यालयलाई घुस

काठमाडौं । विद्यालयहरुमा करार, राहत र स्थानीय स्रोतबाट नियुक्ती हुने शिक्षकहरुले प्रशासकीय अधिकृत देखि विद्यालयलाई घुस दिनुपर्ने अवस्था सिर्जना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार विद्यालयमा अस्थायी प्रकृतिबाट नियुक्ति हुने शिक्षकहरुसँग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षा शाखा प्रमुख, विषय विज्ञ, जिल्ला शिक्षा समन्वय अधिकारी र कतिपय स्थानमा प्रमुख प्रशासकीय अधिकृतले मिलेमतो गरेर भत्ता स्वरुप पैसा असुल्ने गरेको भनेर अख्तियारमा उजुरी गरिएको छ । त्यसरी विद्यालयमा भर्ना हुने अस्थायी प्रकृतिका नयाँ शिक्षकहरुले प्रतिव्यक्ति दुई देखि पाँच हजार सम्म भत्ता स्वरुप ती व्यक्तिहरुलाई उपलब्ध गराउनुपर्ने अवस्था रहेको उजुरीमा उल्लेख गरिएको छ । पारिश्रमिक नबुझ्दै नियुक्ति भएको अस्थायी शिक्षकले २–३ महिनाको तलब उपलब्ध गराउनुपर्ने अवस्था रहेको भन्दै अख्तियारमा पेस गरिएको उजुरीमा उल्लेख गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आवश्यक अनुसन्धान गरी कारवाहीको लागि जिल्ला समन्वय इकाइलाई अख्तियारको पत्र सहित अनुरोध गरेको छ । हेर्नुहोस अख्तियारमा पेस गरिएको उजुरी [pdf id=384640]

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौं : मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन् । सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए। ‘अहिले प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन, विश्वासको मत लिएपछि हामी यो अभियानमा लाग्छौं’, उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै खानीहरूको उत्खनन गर्न जरुरी छ ।’ उनले यहाँ रहेका प्राकृतिक एंव सांस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए । ‘विसं २०६२/६३ को आन्दोलनका बेला म आँफै पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिएँ, यहाँका सबै समस्या मैले बुझेको छु’, मुख्यमन्त्री रावलले भने, ‘अस्पतालमा ‘डायलायसिस’ र ‘सिटीस्क्यान’ सेवाका लागि संघीय सरकारसँग पहल गर्छु ।’ महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको जनाउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे । ‘हामीसँग पर्याप्त जनशक्ति छैन, भएको जनशक्तिलाई पनि तलब खुवाउन सकिने अवस्था छैन’, उनले भने, ‘यहाँ चिकित्सक अभावकै कारण बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था छ, यसको अन्त्य गर्नका लागि आग्रह गर्छु ।’ उनले महाकाली अस्पताललाई स्थापनाकालदेखि नै जनशक्ति अभाव रहेको जनाउँदै समस्या समाधान गर्न आग्रह गरे।

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै आएकोे अवस्थामा मन्त्रालयले श्रव्य पाठ उत्पादन, प्रसारण र वितरण भइरहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरे । उनका अनुसार हाल छ हजार आठ सय ६९ विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको र श्रव्य पाठहरू तथा ई पुस्तकालयको पनि प्रवद्र्धन हुँदै आएको छ ।