अध्ययनमा प्रोत्साहन गर्न तनहुँको म्याग्दे र आँबुखैरनी पालिकाद्वारा विद्यार्थीलाई छात्रवृत्ति
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहेका छन् । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गरेका उनलाई गाउँपालिकाले रु २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत १८ महिना अध्ययन गर्दा लाग्ने शुल्कबापतको ५० प्रतिशत रकम गाउँपालिकाले छात्रवृत्तिबापत वितरण गरेको छ । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकाले भेटेरीनरी अध्ययन गर्ने निर्णय गरेको हुँ, त्यसमाथि गाउँपालिकाले यो शिक्षा अध्ययन गर्दा छात्रवृत्ति दिएर प्रोत्साहन गरेको छ’, उनले भने। म्याग्दे गाउँपालिका–६ का ज्योति राना पनि सोही विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहेकी छन्। ‘प्राविधिक शिक्षा अध्ययनपछि रोजगारी सहजै पाइने भएपछि यो विषयमा रुचि बढ्यो’, उनले भनिन्, ‘गाउँपालिकाले यो विषय अध्ययन गर्नेलाई प्रोत्साहन गर्ने नीतिले अध्ययनमा सहयोग पुगेको छ ।’ गाउँपालिकाले भेटेरीनरी अध्ययन गर्ने ११ विद्यार्थीलाई जनही रु २५ हजारका दरले दुई लाख ७५ हजार छात्रवृत्ति रकम वितरण गरेको छ । म्याग्दे गाउँपालिका–३ स्थित जनगणपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कूल खर्चको ५० प्रतिशत रकम छात्रवृत्तिबापत उपलब्ध गराइएको लेखा अधिकृत नवराज पोख्रेलले जानकारी दिए। गाउँपालिकामा पहिलोपटक भेटेरीनरी विषयको अध्यापन शुरु भएको हो । प्राविधिक उत्पादन गर्ने उद्देश्यसहित प्रोत्साहन होस् भन्नका लागि छात्रवृत्ति रकम उपलब्ध गराइएको पोख्रेलले बताउनुभयो । उक्त विद्यालयमा अध्ययनरत हेमबहादुर राना, ज्योति राना, सोमलाल परियार, अमन थापा, ममता नेपाली, लक्ष्मी विश्वकर्मा, सलिना आले, अनुपा थापा, पूजा विक, सविन घिमिरे र इश्ना थापामगरले छात्रवृत्ति पाएका छन् । ‘पालिकाभित्रका गरिब तथा विपन्न वर्गको छात्रछात्रालाई शिक्षामा सहज पहुँच र भेटेरीनरी शिक्षामा आर्कषण गर्ने हेतुले पालिकाको स्वीकृत बजेटबाट छात्रवृत्ति उपलब्ध गराएका हौँ’, पोख्रेलले भने । स्थानीयस्तरमै प्राविधिक उत्पादन गर्ने उद्देश्यसहित भेटेरीनरी पढाइ शुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढाउन र यसको महत्व बुझाइ स्वनिर्भर तथा आत्मनिर्भर बनाउने उद्देश्य राखेका छौँ’, श्रेष्ठले भने । उनले प्राविधिक शिक्षापछि कोही पनि बेरोजगार बस्नुनपर्ने बताउँदै आगामी वर्ष पनि छात्रवृत्तिलाई निरन्तरता दिइने बताए। आँबुखैरेनी गाउँपालिकाले पनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ । गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्तिस्वरुप छ लाख ५० हजार वितरण गरेको हो । गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मङ्सिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेश गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णय बमोजिम रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित सो रकम वितरण गरेका हौँ, यसले गर्दा उहाँहरुको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ’, चुमानले भने । छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिकदेखि विद्यावारिधी तहसम्म अध्ययनरत विद्यार्थी छन् ।
‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’
टीकापुर । बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् । कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउछिन् । ‘बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम परिवार, साथी, विद्यालय, आफन्त सबैले गर्छन्’, उनी भनिछन्, ‘शिक्षकले त भविष्य देखाउनुपर्छ । आमाको काखबाट विस्तारै विद्यालय आउने बालबालिका शिक्षक पनि आमाजस्तै माया गरुन भन्ने चाहन्छन् ।’ काफ्लेले साना नानीबाबु काखमै निदाउने, घरजस्तै वातावरणमा खान र खेल्न खोज्ने बताइन् । ‘आजभोलि तीन वर्ष पार नगर्दै बालबालिकालाई विद्यालय पठाइन्छ । साना नानीबाबु विद्यालयमा पनि आमा खोज्छन्’, उनी भन्छिन्, ‘हामीले पनि आमाजस्तै माया गरे पो उनीहरु विद्यालयमा टिक्छन् । नभए विद्यालय आउनै मान्दैनन् ।’ शिक्षण सिकाइ क्रियाकलापको मूल उद्देश्य पनि यही हो । बालबालिकालाई पढाइसँगै असल बनाउन अभिभावक, विद्यार्थी स्वयं र शिक्षकको अहम् भूमिका रहन्छ । बालबालिका अभिभावकजस्तै शिक्षकबाट माया, स्नेह र साथीजस्तो व्यवहार खोज्छन् । अभिभावकले आफ्ना बालबालिका र आफ्ना सपना पूरा गर्ने, गराउने आधार खडा गर्न विद्यालय र शिक्षकप्रतिको विश्वासमा विद्यालय पठाउने गरेका कर्णाली मावि टीकापुरका शिक्षक नारायण ढुङ्गाना बताउछन् । ‘विद्यार्थी विद्यालयमा रहँदा शिक्षकलाई असल अभिभावक, असल साथी ठान्छन’, ढुङ्गाना भन्छन्, ‘अभिभावक र विद्यार्थीको शिक्षकप्रतिको यही विश्वासका कारण शिक्षक शिक्षक बन्न सकेका हुन् । हामीले जतिखेर, जहाँ पनि उनीहरुका अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।’ बालबालिकामा भएका अन्तर्निहित क्षमतालाई उजागर गर्नका निम्ति शिक्षक पुल बनेका हुन्छन् । शिक्षक माया भट्टराई विद्यार्थीलाई पढाउँदा सङ्ख्या धेरै हुने भएकाले छलफल र अन्तक्र्रिया गर्न समस्या हुने गरेको बताउछन् । ‘सामुदायिक विद्यालयमा विद्यार्थी धेरै हुँदा समस्या हुन्छ’, उनले भने, ‘विद्यार्थीले छलफल र प्रयोगात्मक कक्षा मन पराउँछन् ।’ शिक्षिका दिलाकुमारी रावलले साना बालबालिका पढाइभन्दा खेल्न, दैनिक दिइने खाजा र शिक्षकको नजिक हुन मन पराउने गरेका बताइन् । ‘हामीकहाँ विपन्न समुदायका बालबालिका बढी छन् । उनीहरु दिउँसो विद्यालयमा दिइने खाजा कुरेर बस्छन्’, उनले भनिन्, ‘शिक्षकसँग खेल्न, कुराकानी गर्न र खेल्दै पढ्न खोज्छन् ।’ शिक्षक पदमबहादुर बुढा विद्यार्थी शैक्षिक सामग्रीको प्रयोग गर्दा खुसी हुने र सैद्धान्तिकभन्दा प्रयोगात्मक कुरामा बढी ध्यान दिने गरेका बताउछन् । ‘हामीले पढाउँदा शैक्षिक सामग्रीको सकेसम्म धेरै प्रयोग गर्छौं’, उनी भन्छन् ‘प्रयोगात्मक कक्षा गरेर अध्ययन गराउँदा सिकाइ छिटो हुन्छ ।’ शिक्षक धनञ्जय ढुङ्गाना विद्यार्थी शिक्षकजस्तै सक्रिय नभएको बताउछन् । ‘विगतका विद्यार्थी धेरै मेहनती तर अहिले सोचेजस्तो मेहनती छैनन्’, उनले भने, ‘बालबालिकाको सिकाइ सुधारका लागि शिक्षक र विद्यार्थी दुवै मेहनती हुनुपर्छ ।’ शिक्षिका तारा साउँद प्राविधि र अन्य ज्ञान नभएको शिक्षकलाई विद्यार्थीले नपत्याउने भएकाले शिक्षकले हरेक कुराको ज्ञान लिनुपर्ने बताउछिन्। ‘अहिलेका बालबालिकाले मोबाइल, इन्टरनेटजस्ता प्रविधिको प्रयोग गरी धेरै कुरा जानेका हुन्छन्’, उनी भन्छन्, ‘कुनै कुराको ज्ञान शिक्षकसँग छैन भने विद्यार्थीले हेप्छन् । त्यसैले शिक्षक धेरै मेहनती हुनुपर्छ । हरेक प्रविधि र ज्ञानसँग परिचित हुनुपर्छ ।’ रासस
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीलाई बाँड्यो २ हजार बढी इन्डक्सन चुल्हो
काठमाडौं । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीहरुलाई २ हजार बढी इन्डक्सन चुल्हो वितरण गरेको छ । केन्द्रले काठमाडौंमा बसेर अध्ययन गर्ने दुर्गम क्षेत्रमा स्थायी घर भएका विद्यार्थीहरुलाई उक्त चुल्हो वितरण गरेको हो । केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौंमा आई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई निःशुल्क चुल्हो वितरण गर्नका लागि गत आर्थिक वर्षमा नै प्रकृया प्रारम्भ गरेको थियो । तर, केन्द्रले ढिलो गरी पछिल्लो महिनाभित्रमा मात्रै २ हजार ३५ जति इन्डक्सन चुल्हो वितरण गरेको खरिद शाखाका कर्मचारीले विकासन्युजलाई बताए । केन्द्रले इन्डक्सन चुल्हो लिनका लागि गरेको पहिलो चरणको आह्वानमा ७ हजार ५ सय भन्दा धेरै विद्यार्थीले निवेदन दिएका थिए । ती निवेदकहरुमध्येबाट २८६५ जना विद्यार्थीलाई केन्द्रले छनोट गरेको थियो । भिजन एण्ड किचन लिंक र डिजाइन पोइन्टले संयुक्त रुपमा आपूर्ति गरेको वेभ नामको चुल्होलाई केन्द्रले वितरण गरिरहेको छ । आपूर्तिकर्ताले ८ हजार ३ सय वटा चुल्हो भ्याट बाहेक २४७५ रुपैयाँमा आपूर्ति गरेको केन्द्रले जनाएको छ । विद्यार्थीलाई बाँड्नको लागि छनोट गरिएको भन्दा बाहेक संख्याको चुल्हो विभिन्न १९ वटा स्थानीय तहलाई केन्द्रले साझेदारीमा वितरण गरेको छ । चुल्हो खरिदका लागि ५ वटा कम्पनीले इ–बिडिङमा शमावेश भएकोमा भिजन एण्ड किचन लिंक र डिजाइन पोइन्ट जेभी छनोट भएको थियो । कम मूल्यमा आपूर्ति गर्ने बिडका आधारमा सो जेभी छनोट भएको छनोट भएको खरिद शाखाका कर्मचारीले बताएका छन् । विद्यार्थीहरुलाई वितरण गरिएको इन्डक्सन चुल्होको २ हजार वाट विद्युतीय क्षमता, १ वर्ष वारेन्टी र ९२ प्रतिशत क्षमता रहेको छ । साथै चुल्हो आइसी सर्टिफिकेसन प्राप्त रहेको केन्द्रले जनाएको छ । करिब १ महिनादेखि विद्यार्थीलाई बाँडिएको चुल्होमा कुनै गुनासो नआएको केन्द्रका खरिद शाखाका नायब सुब्बा खगेन्द्र केसीले बताए । केन्द्रले विद्यार्थीहरुलाई दोस्रो चरणमा पुनः चुल्हो वितरण गर्ने प्रकृयालाई पनि अगाडि बढाएको छ । जसको लागि खरिदकर्ता छनोट भइसकेको केन्द्रले जनाएको छ । दोस्रो चरणमा केन्द्रले १० हजार चुल्हो बाँड्नेछ ।