पाठ्यक्रम निर्माणमा दक्ष जनशक्तिको अभाव, उच्च शिक्षा हासिल गरेका विद्यार्थी विदेश पलायन हुँदा समस्या
काठमााडौं । नयाँ पाठ्यक्रम निर्माण तथा परिमार्जनमा दक्ष जनशक्तिको अभाव देखिन थालेको छ । पाठयक्रम विकास केन्द्रले पछिल्लो समय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्न जनशक्तिको समेत अभाव खेप्नु परेको गुनासो गरेको हो । सीमित जनशक्तिको बीचबाट नै वर्षेनी काम गर्दै आउनु परेको केन्द्रको भनाइ छ । पाठयक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले पछिल्लो समय पढे लेखेका जनशक्ति विदेश पलयान हुँदा पाठ्यक्रम निर्माणमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव हरेको बताए । ‘पाठ्यक्रम विकास र मूल्यांकनको पाटोमा ‘स्टल एक्सपर्ट’को अभाव छ’, उनले भने, ‘कन्टेटलाई बुझेको विकसित परिस्थितिलाई व्यवहारमा ढालेर उदाहरणसहित व्यवहारिक विधिबाट शिक्षण गर्ने, पाठ्यपुस्तक लेख्ने र पाठ्यक्रम निर्माण गर्ने मान्छेहरुको संख्या अत्यन्तै सीमित छ। यसका बाबजुत पनि हामी काम गरिरहेका छौं ।’ त्यस कारण पनि नेपालको सामाजिक विविधतालाई पनि पाठ्यक्रम निर्माणमा समेट्न नसकिएको अर्याल बताउँछन् । पाठयक्रम विकास केन्द्रले प्रत्येक ५ वर्षमा पाठ्यक्रम र पाठ्यपुस्तकमा सामान्य परिमार्जन र १० वर्षमा पूर्ण परिमार्जनको अभ्यास गर्दै आएको छ । ५ दशकदेखि केन्द्रले सो क्षेत्रमा काम गर्दै आएको छ । विगतको तुलनामा नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकमा विद्यार्थीहरुको रुची बढ्दै वा घट्दै गएको भन्ने विषयलाई भने उसले कुनै मूल्यांकन गरेको छैन । त्यसको लागि पाठ्यक्रम विकास केन्द्रसँग कुनै नीति वा संयन्त्र छैन । केन्द्रले विद्यालय स्तरको पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जनका लागि वर्षेनी १० करोड भन्दा धेरै खर्च गर्ने गर्छ । तरपनि नेपालको विद्यालय शिक्षा प्रभावकारी बन्न सकेको छैन भन्ने कोणबाट उठेका केही प्रश्नहरु पाठ्यक्रम विकास केन्द्रतर्फ पनि सोझिएका छन् । खस्कँदो विद्यालय शिक्षामा पाठ्यक्रम पाठ्यपुस्तकका कमजोरी मुख्य नभएको केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालको भनाइ छ । विद्यार्थीहरुका रुची र क्षमतालाई पाठ्यक्रम निर्माण गर्ने क्रममा कम ध्यान दिएको विषय महानिर्देशक अर्याल स्वीकार गर्छन । ‘केही विद्यार्थीले पाठ्यपुस्तकमा रुची देखाएको पनि देखिन्छ, पाठ्यपुस्तकमा रुची छैन किन भन्न सकिन्न भने पाठयपुस्तक समयमा पुगेन भने हामीले समाचारहरुमा हाहाकार भएको पढिरहेका हुन्छौं’, उनले भने, ‘त्यसैले पाठ्यपुस्तकप्रति सबैको लगाव छ, विश्वास छ भन्ने म्यासेज पनि हो ।’ विश्वका विकसित मुलुकहरुले क्षमतावान जनशक्ति उत्पादनका लागि विद्यार्थीको रुचीसँग पाठ्यपुस्तक र सिकाई विधिलाई तालमेल मिलाउने प्रयत्न बढी भन्दा बढी गरिरहेका हुन्छन् । तर, केन्द्रसँग विद्यार्थीको रुचीको विषयमा अध्ययन गर्ने स्रोत, साधन र जनशक्ति नभएको महानिर्देशक अर्याल बताउँछन् । भोलिको दिनमा विद्यार्थीको रुचीको विषयलाई पनि अध्ययन गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने सन्दर्भमा अन्य प्रविधिको क्षेत्रमा जस्तो विदेशी जनशक्ति खरिद गर्ने अभ्यास संसारभरी नै गरिँदैन । महानिर्देशक अर्यालले केन्द्रले पनि नेपाली जनशक्तिलाई नै प्रयोग गर्ने र थप विकास गर्दै लैजाने अभ्यास गरेको बताउँछन् । ३ दशक यताको नेपाली विद्यालय शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई हेर्दा धेरै विकास भएको आफूले पनि अनुभव गरेको अर्याल सुनाउँछन् । पाठ्यक्रम विकासको कोणबाट हेर्दा दक्षिण एशिया क्षेत्रमा नेपाल समान स्थानमा रहेको महानिर्देशक अर्यालको बुझाइ छ । तर, अमेरिकन र युरोपियन क्षेत्रले विकास गरेको पाठ्यक्रममा भने नेपाल पछाडि रहेको उनी बताउँछन् । ‘साउथ एशियनमा ग्रेड १,२,३ बाट इन्टिग्रेटेड एप्रोचलाइजरमा हामीले पहिलो अभ्यास गर्दैछौं, यसको अरुले डुब्लिकेसन गर्न खोजिरहेको देखिन्छ’, उनले भने, ‘तर, युरोपियन र अमेरिकन देशहरुलाई हेर्यो भने फेरि हामी केही पछाडि छौं, किनकी त्यहाँको सन्दर्भ र हाम्रो सन्दर्भ मिल्दैन ।’ विकसित मुलुकहरुले सीमित विद्यार्थीलाई धेरै शिक्षकहरुको मार्फत व्यवहारिक माध्यमबाट अध्यापन गर्ने विधि भएकोमा नेपालमा धेरै संख्याका विद्यार्थीहरुलाई सैद्धान्तिक रुपमा अध्यापन गर्नुपर्ने अवस्था रहेको महानिर्देशक अर्याल बताउँछन् । विकसित मुलुकहरुले अध्यापनमा प्रविधिको भरपुर प्रयोग गर्ने गरेकोमा नेपाल भर्खरै शुरुवातको अवस्थामा रहेको समेत उनको भनाइ छ । खस्कँदै गइरहेको विद्यालय शिक्षामा पाठ्यक्रम र पाठ्यपुस्तकलाई मात्रै दोष दिन नहुने अर्यालको भनाइ छ । ‘पाठ्यक्रममा सुधार गर्नुपर्ने ठाउँ त होला तर, हाम्रो पाठयक्रममा आवश्यक विषयवस्तुको कमि छैन, जुन अन्य देशको तुलनामा कमि छैन’, उनले भने । मुख्य विषय पाठ्यक्रमलाई लागू गर्ने पाटो भएको उनको भनाइ छ । ‘कक्षाकोठाभित्र त्यसको डेलिभरी कसरी हुन्छ, पेडागोजिकल र कन्टेन्टको हिसाबले कसरी लागू भयो भन्ने पनि महत्वपूर्ण हुन्छ’, उनले भने, ‘नियमित कक्षा भयो कि भएन, शिक्षकले कत्तिको डिभोटी बनेर पढायो की पढाएन, शिक्षकको क्षमता सोही अनुसार विकास भयो की भएन, अहिलेको आधुनिक प्रविधिअनुसार प्रयोग भयो की भएन सो अनुसार कार्यान्वयनको पाटो पनि महत्वपूर्ण हुन्छ ।’ ‘किन विद्यार्थीहरु पढेपछि भिसा लाग्ने मात्रै वातावरण बन्यो भन्ने सन्दर्भलाई हेर्दा हामीले जति राम्रो पाठ्यक्रम लागू गरेपनि पढेपछि विद्यार्थीहरुलाई देशभित्र नै रोजगारी सिर्जना गर्ने किसिमको वातावरण बन्दैन भने पाठ्यक्रम मात्रै राम्रो बनेर के गर्न सकिन्छ र ?’, महानिर्देशक अर्यालले भने । नेपाली विद्यार्थीहरुले विदेशी मुलुकका विश्वविद्यालयमा गएर उत्कृष्टता पदर्शन गर्न सक्ने, रोजगारी प्राप्त गर्न सक्ने तर नेपालमा त्यो नभएकोमा पाठ्यक्रमलाई दोष लगाउन नमिल्ने उनको भनाइ छ । ‘यहाँ पढेको विद्यार्थीले अस्ट्रेलिया, क्यानडा, अमेरिका गएर रोजगारी पाउन सक्ने तर नेपालमा पाउन नसक्ने भनेपछि हामीले रोजगारीको क्षेत्र विस्तार गर्न सकेका छैनौ भन्ने हो’, अर्यालले भने । अस्थायी शिक्षकहरुलाई औसतमा स्थायी गर्ने र शिक्षकहरुको क्षमता विकासलाई ध्यान नदिँदा पनि नेपालको शैक्षिक गुणस्तर अपेक्षित रुपमा विकास हुन नसकेको महानिर्देशक अर्यालको बुझाई छ । पाठ्यक्रमलाई थप परिमार्जित र विस्तारित गर्दै लैजाने भनेको नियमित काम भएको अर्यालको भनाइ छ । ‘समयको मागअनुसार, समाजको आवश्यकताअनुसार, अन्य मुलुकमा विकास भएका विषयवस्तु अनुसार, प्रविधिअनुसार र राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशअनुसार पनि पाठ्यक्रममा परिमार्जन हुन्छ, यो भनेको जतिबेलापनि सम्भावना रहन्छ’, महानिर्देशक अर्यालले भने । पाठ्यक्रमको कारणले मात्रै उत्कृष्ट जनशक्ति उत्पादन नभएको तर्कमा आफू सहमत नभएको उनको भनाइ छ । नयाँ संविधान र नयाँ व्यवस्थासँगै पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरको पाठयक्रम र पाठ्यपुस्तक एक चरण परिमार्जन गर्ने काम सम्पन्न गरेको छ । सोसँगै कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले नयाँ पाठ्यक्रममा आधारित नयाँ पाठ्यपुस्तक पढ्न पाएका छन् ।
सफ्टवारिका कलेज र जर्मन कम्पनीबीच साझेदारी, २ सय विद्यार्थीलाई आईटीमा रोजगारी दिने
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ईकमर्स काठमाडौंले जर्मन कम्पनी एआरआरटीएसएम जीएमबीएचसँग साझेदारी गरेको छ । सम्झौता अनुसार जर्मनीको सो टेक कम्पनीले सफ्टवेरिका कलेजका २ सय भन्दा बढी विद्यार्थीहरूलाई नेपाल र जर्मनीमा आईटी क्षेत्रमा रोजगारी दिनेछ । एआरआरटीएसएम जीएमबीएच जर्मनको अत्याधुनिक रोबोटिक्स टेक्नोलोजी, इमेज प्रोसेसिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा संयुक्त अनुसन्धान र विकासको क्षेत्रमा पायोनियर कम्पनी हो । सफ्टवारिका कलेज र सफ्टएड ग्रुप अफ कम्पनीजका अध्यक्ष विज्ञान श्रेष्ठले सफ्टवारिका कलेज शिक्षामा नवीनतम प्रविधि र व्यावहारिक आधारमा प्राविधिक जनशक्ति विकास गर्न सधैं अग्रपंक्तिमा रहेको बताए । उनले भने, ‘यो पहल हाम्रा आन्तरिक विद्यार्थीहरूका साथै देशभरका प्राविधिक अनुसन्धानकर्ताहरूका लागि नेपालमा उच्चस्तरीय प्राविधिक अनुसन्धान प्रयोगशाला सिर्जना गर्न एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो ।’ सफ्टवारिका कलेजका निर्देशक तथा क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई विश्वस्तरीय उत्कृष्ट सिकाइ अनुभव दिलाउनका लिग कलेजले काम गर्दै आएको बताए । उनले भने, ‘हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्छौं ताकि हाम्रा विद्यार्थीहरूलाई विश्वभरका उत्कृष्ट प्राविधिक संस्थाहरूसँग सिकाइ अनुभव प्रदान गर्न सकियोस् ।’ उनले यो साझेदारीले विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र अनुसन्धानका लागि महत्वपूर्ण हुने विश्वास गरे । एआरआरटीएसएम जीएमबीएचका प्रमुख कार्यकारी अधिकृत युधिष्ठिर गौलीले यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्याउन यो सम्झौता महत्वपूर्ण भएको बताए । उनले भने, ‘आईटी शिक्षा र अनुसन्धानमा विश्वसनीय ट्रयाक रेकर्ड भएको नेपालको यस्तो प्रतिष्ठित शैक्षिक संस्थासँग साझेदारी गर्न पाउँदा मलाई असाध्यै आनन्द र सन्तुष्टि मिलेको छ, यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्याउने विश्वास लिएको छु ।’ उनले आफू युवा प्रतिभासँग काम गर्न निकै उत्साहित रहेको बताए । उनले भने, ‘युवा पुस्तालाई प्रविधि हस्तान्तरण हाम्रो सहयोगको मुख्य उद्देश्य हो ।’ यो सम्झौताले भावी पुस्ताका लागि ठूलो अवसर सिर्जना गर्ने उनले बताए ।
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ । स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा १ महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अन्यको हकमा भने कार्यतालिका प्रकाशित भएको मितिभन्दा २ दिनअघिसम्म मात्र भर्ना भएका विद्यार्थी मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरिएको छ । कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाइने उल्लेख गरिएको छ । तर, विषय परिवर्तन गरी अध्ययन गर्न नियमित विद्यार्थीका रूपमा क्याम्पस भर्ना भएका विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश गरिने र प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश नगरिने भएको छ । त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गरिन थालिएको हो । निर्देशिकामा वि.सं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ । निर्देशिकामा स्ववियु निर्वाचनमा कुनै सङ्घ, सङ्गठन वा समूहले समानुपातिकतर्फ मात्र सहभागी हुनसक्ने जनाइएको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालबाट चयन हुने छन् । निर्देशिकामा स्ववियु कार्यसमिति २ सय विद्यार्थी बराबर पाँच सदस्यीय कार्यसमिति, २०१ देखि १ हजारसम्म विद्यार्थी भए ७ जनाको कार्यसमिति, १ हजार एकदेखि ३ हजारसम्म भए ९ जनाको र ३ हजार १ देखि ५ हजारसम्ममा ११ सदस्यीय र ५ हजार १ देखिमाथि भए १३ जनाको कार्यसमिति हुने उल्लेख गरिएको छ । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको छ । चैत ५ गते देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्ध प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।