त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाका अनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औं ग्रेस लिष्टमा समावेश भएका उक्त संख्या विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएता पनि अहिलेसम्म पुनःनिर्माणकाे काम नभएकोमा नैराश्यता थपिएको उपकुलपति बास्कोटाले बताए । समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा आर्जन गर्न ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति
तनहुँ । म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही २५ हजार रुपैयाँका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गरी कृषकलाई सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । सुत्केरी कार्यक्रमअन्तरर्गत १२ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । २५० सुत्केरीलाई जनही ५ हजारका दरले रकम प्रदान गरिएको उनले बताए । युवा स्वरोजगार कार्यक्रमअन्र्तगत ४५ लाख बजेट विनियोजन गरी तथ्यांक संकलन गर्ने कार्य थालिएको छ । हालसम्म गाउँपालिकामा ४० युवाको तथ्यांक संकलन भइसकेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । गाउँपालिकाले २ चरणमा घुम्ती शिविर सञ्चालन समेत गरेको छ ।
बागलुङमा २३ वर्षपछि संस्कृत गुरुकुल पाठशाला ब्युँताइँदै
बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव- २०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका- ५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे। रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गर्नुभएको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो। गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो। पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए। यही मङ्सिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ। झाँकी प्रर्दशनी, हेलिकोप्टरबाट पुष्पवृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्र्कीतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने महोत्सवका संयोजक सुवेदीले बताए। महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिनेछ। ‘महोत्सव सुरु हुनुभन्दा अगावै करिब रु ६५ लाख जुटिसकेको छ भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ’, उनले भने। महोत्सवबाट तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ। गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ। बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको छ। संस्कृत पाठशाला पुनःसञ्चालन भएमा संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ। परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकूल हुँदा गुरुकुललाई रामकोटधामबाट देवघाट लैजानुपरेको उल्लेख गरे। ‘अब फेरि रामकोटधाममा गुरुकुल पुनःप्रतिस्थापन गर्न सकिन्छ की भनेर यो शुभसङ्कल्प लिएका छौँ’, उनले भने,’सबैको साथ सहयोगको खाँचो छ ।’ आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमा आउने उनको भनाइ छ । गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताए। ‘संस्कृतले नै संस्कृतिको व्याख्या गर्छ’, उनले भने,’धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिक शास्त्रको प्रवद्र्धनमा पनि गुरुकुल शिक्षाले टेवा पुर्याउँछ।’ रासस