बझाङका विद्यार्थीलाई विद्यालय जाँदा आउँदा बाटोमा ६ घण्टा बिताउनुपर्छ
बझाङ । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ । उनलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उनले ८ कक्षा उत्तीर्ण गरे त्यसपछि उनको दौडाइ सुरू भयो । गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । ‘२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ’, उनले भने, ‘रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।’ गोरङका प्रकाश मात्रै होइन, उनीजस्तै धेरै विद्यार्थीको दैनिकी एउटै छ । बिहान स्कुल लाग्दा ४ बजे र दिउँसो स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ । लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो । छोटा दिन हिउँदेयामा भने निकै समस्या पर्छ । गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्ट भनिन्, ‘लामो दिनमा त उज्यालोमै घर पुगिन्छ । छोटा दिनमा भने राति पर्छ । सबै सँगै आउनलाई कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ ।’ टाढाको बाटो हुँदा एक्लै हिँड्न नसकिने उनले बताइन् । उनका अनुसार ८ कक्षा पास भएका विद्यार्थी सबै स्कुल जाँदैनन् । ‘टाढा भएकै कारण केटा इन्डिया भारत जाने त केटीहरू बिहे गरेर जाने सङ्ख्या बढी छ । केही विद्यार्थी पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षा केन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन्,’ उनले भनिन् । उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए तर, अहिले ९ कक्षा पढ्न रिम जाने नौ जना मात्रै छन् । ‘यसमध्ये पनि दुई/चार जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्’, उनले भनिन्, ‘घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ । घरमा बढी मान्छे हुने त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ ।’ विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षा केन्द्रमै पढ्न जान्छन् । धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन । गोरङका विद्यार्थीलाई अढाइदेखि तीन घण्टा समय हिँड्नैपर्छ । भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि सोही विद्यालय पढ्न थालेका हुन् । नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि सोही विद्यालय पढ्न गएको उनले बताए । ‘गोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ’, उनले भने, ‘रिम, धामीगाउँ जता गए पनि पाँच/छ घण्टा बाटोमै बिताउनुपर्छ । दिनभरि हिँडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन । घर पुग्दा अँध्यारो हुन्छ । खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ ।’ त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन । वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहने विद्यालय अभावले नै विस्थापित भइरहेका थिए । ‘नौ वर्षअघि रिम पढ्न जाँदा हामी छ जना मात्रै थियौँ’, पूर्वविद्यार्थी सुनिता विष्टले भने, ‘१२ जना कक्षा ८ मा उत्तीर्ण भएका थियौँ, तर, रिम पढ्न जाने छ जना मात्रै भयौँ । स्कुल नजाने चार जना केटाले बिहे गरेर भारततिर गए भने दुई जना केटी बिहे गरेर गए ।’ उनका अनुसार उनीसँगै विद्यालय जाने छ जना पनि पछिल्लो वर्ष तीन जनामै झरे । ‘घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अधेरी बन्यो ।’ उनी सम्झिन्छन् । नजिकै शैक्षिक संस्था भए सबै शिक्षित हुने उनले बताए । ‘गाउँमै विद्यालय भएको भए अशिक्षित कोही हुनुपर्ने थिएन’, उनी भन्छन्, ‘विद्यालयकै कारणले यहाँका शिक्षित परिवार विस्थापित भइसकेका छन् । अरू सर्वसाधारणको त के कुरा ।’ गोरङका सर्वसाधारण ८ कक्षा पास गरेपछि पढाइ सकिएको सम्झिने गरेको उनी बताउँँछन् । दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताए । ‘बालबालिकालाई निकै टाढा छ’, उनले भने, ‘यो सबै भौगोलिक बनावटले हो । गाउँगाउँमा विद्यालय राखेर पनि साध्य हुँदैन । गाउँहरू निकै टाढा–टाढा छन् । त्यो ठाउँबाट विद्यार्थीले हिँडेर आउनुपर्छ । ठूलो मान्छेलाई नै डेढ दुई घण्टा लाग्ने ठाउँमा बालबालिकालाई बढी समय लाग्नु स्वभाविक हो ।’ विद्यालयमा छात्रावास किन नबनाएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले छात्रावास छैन । यसका लागि हामीले पटकपटक छलफल पनि गरेका हौँ । के–के नमिलेर त्यस्तै भयो ।’ उनका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन् । ‘तिनै विद्यार्थीको सजिलोका लागि अब आउँदो शैक्षिक सत्रदेखि लागि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौँ । नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाइसमेत सुरू हुन्छ ।’ उनले भने । त्यसपछि ‘एसइई’ उत्तीर्ण भएर मात्रै ‘प्लस टू’ पढ्न रिम आउनुपर्ने उनले बताए । अहिले दोगडाकेदार गाउँपालिकामा एउटा क्याम्पस छ । गोरङकै विद्यार्थीले पढ्न जाने हो भने झण्डै सात घण्टा हिँडेर खोचलेकमा क्याम्पस पढ्न जानुपर्छ । भौगोलिक बनावटले पछि टाढाका विद्यार्थीलाई निकै समस्या हुने गरेको उनले बताए । गाउँपालिका अध्यक्ष कार्कीका अनुसार टाढाबाट आउने विद्यार्थीका लागि क्याम्पस पढ्न सजिलोका लागि छात्रावासको व्यवस्था गर्ने सोच बनाएको उनले जानकारी दिए । रासस
काठमाडौं मेडिकल कलेजले ६.४८ % लाभांश बाँड्ने, सेवा विस्तार गर्न बैंकबाट कर्जा लिने
काठमाडौं । काठमाडौं मेडिकल कलेजले पब्लिक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने भएको छ । मेडिकल कलेजले स्वास्थ सेवा सञ्चालन गर्न आवश्यकता अनुसार घरजग्गा खरिद गर्ने भएको हो । स्वास्थ सेवा सञ्चालन गर्न आवश्यकता अनुसार घरजग्गा खरिद गर्नुपर्ने भएकाले स्रोत जुटाउन विभिन्न बैंकबाट कर्जा लिने बताएको छ । स्वास्थ सेवा विस्तारका लागि आवश्यकता अनुसार घरजग्गा खरिद गर्न बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार दिन मेडिकल कलेजले १३ औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले विभिन्न प्रस्ताव पारित गर्न पुस ५ गते सिनामङ्गल काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको हो । यस्तै, मेडिकल कलेजको सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.४८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, सञ्चालक समितिका तर्फबाट कार्यकारी अध्यक्षज्ले पेस गर्ने आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७८÷०७९ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने र आर्थिक वर्ष २०७९÷०८० को लेखा परीक्षण गर्न लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ । साथै कम्पनीले व्यवसाय विस्तारका लागि समान उद्देश्य भएका विभिन्न कम्पनी÷अस्पताल÷शिक्षण संस्थाहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ । यस्त, सञ्चालक समिति पनि हेरफेर गर्नेछ ।
आइएसएमटी कलेजका ३०८ विद्यार्थी दिक्षित
काठमाडौं । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धनमा काठमाडौं तिनकुनेस्थित आइएसएमटी कलेजमा स्नातक तह अध्ययन गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । सन्डरल्याण्ड विश्वविद्यालय प्रोफेसर जोन मुरोको प्रमुख आतिथ्यमा सम्पन्न सो दिक्षान्त समारोहमा बिबिए बिएचएम र बिएस्सी आइटीमा उत्तिर्ण ३०८ जना विद्यार्थीहरु दिक्षित भएका छन् । आइएसएमटी कलेजले काठमाडौं चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज संचालन गरिरहेको छ ।