त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान
काठमाडौं । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ । आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम प्रभावित छन् । उक्त पदका लागि २०७९ भदौ २८ गते नै सूचना प्रकाशन भई ‘सर्टलिष्ट’ तयार गरिए पनि उक्त प्रक्रिया रद्द गरी हाल पुनः सूचना प्रकाशन गरिएको हो । उपकुलपतिको कार्यकाल तीन महिना बाँकी यसैबीच त्रिविको उपकुलपति रिक्त हुनुअगावै नयाँ उपकुलपति चयन गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरिएको छ । वर्तमान उपकुलपति डा धर्मकान्त बाँस्कोटाको कार्यकाल आगामी कात्तिक १६ गते सकिँदैछ । उपकुलपति बाँस्कोटाले आफ्नो तीन महिना कार्यकाल बाँकी रहँदा यही साउन १६ गते प्रधानमन्त्रीलाई लिखित जानकारीसहित ठूलो संरचना भएको संस्था भएकाले पूर्वतयारीका साथ व्यक्तिको छनोट गरेमा नयाँ नेतृत्वलाई सहज हुने अवगत गराइएको बताए ।
मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक
काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट ५ पुस्तक छनोट भएका छन् । मदनपुरस्कार गुठीले पुरस्कारका लागि छनोट भएका ५ पुस्तक सार्वजनिक गरेको हो । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् । यी ५ पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ । पुरस्कारका लागि ३१३ पुस्तक प्राप्त भएको गुठीले बताएको छ ।
अल्फा बिटाले ‘एडमिशन्स डे २०२३’ मनाउँदै
काठमाडौं । अल्फा बिटा एजुकेशन कन्सल्ट्यान्सीले साउन २५ गते अष्ट्रेलिया एडमिशन्स डे २०२३ मनाउने भएको छ । अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गर्ने अवसरको रुपमा उक्त दिवस मनाउन लागिएको कम्पनीले जनाएको छ । अल्फा बिटाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरेको जनाएको छ । उक्त दिनमा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर अष्ट्रेलियाका २५ भन्दा धेरै विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटी आफ्ना जिज्ञासाहरु राख्न सकिने छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने यो मेलामा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले अष्ट्रेलियाका विश्वविद्यालय, आफूले पढ्न चाहेको विषय, छात्रवृत्ति, शुल्क अरु विषयमा जानकारी लिन सक्नेछन् । एडमिसन्स डेमा प्रवेश निःशुल्क रहेको छ ।