शिक्षा विधेयकको विरुद्ध संस्थागत विद्यालयहरुले आन्दोलन गर्ने
काठमाडौं । सरकारले अगाडि बढाएको ‘विद्यालय शिक्षा ऐन, २०७९’ विधेयकको विरुद्धमा निजी शैक्षिक संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)का अध्यक्ष पाण्डव हमालले समग्र निजी विद्यालयलाई मुलुकबाट विस्थापित गर्ने षडयन्त्र भएकाले आन्दोलनको तयारीमा रहेको बताएका छन् । ‘समग्र निजी विद्यालय शिक्षालाई यो मुलुकबाट विस्थापित गर्ने षडयन्त्रका बीच अबको हाम्रो गन्तव्य स्पष्ट गर्यो, त्यसैले सबै तयार रहौं, सवाल रहने की नरहने भन्ने हो, बाटो एउटै छ, दुर्भाग्यवश अब हामी आन्दोलनको तयारीमा’, अध्यक्ष हमालले निजी विद्यालयहरुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत् आह्वान गरेका छन् । अहिले एनप्याब्सनका प्रतिनिधिहरुले सरकारको सम्बन्धित तहमा विधेयकको धारणाबारे भेटघाट तथा छलफल गरिरहेको हमालले विकासन्युजलाई बताए । साथै उनले विधेयक निर्माण प्रकृयामा सरोकारवाला निकायलाई सहभागी नगराईएको समेत उनले बताए ।
शिक्षा विधेयकका संघीयता विरोधी प्रावधानलाई संसदबाट पास गर्न दिइन्न : देवकोटा
काठमाडौं । राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले शिक्षा विधेयकमा प्रस्ताव गरिएको संघीयता विरोधी प्रावधानलाई संसदबाट पास हुन नदिने बताएका छन् । शिक्षा विधेयकमा भएको प्रावधानमा प्रतिक्रिया जनाउँदै सदस्य देवकोटाले विधेयकमा भएको संघीयता विरोधी प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास हुन नदिने बताएका हुन् । ‘शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठूलो उपलव्धी ठानेको होला । संघीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिईने छैन । भूइँकाे टिप्न खोज्दा खोल्तीको नपोखिएला भन्न सकिन्न मन्त्रालयको बेलैमा ध्यान जाओस्’, देवकोटाले भनेका छन् । जिल्लामा संरचनाहरु राख्नु भनको स्रोत र साधनको दुरुपयोग हुुनु मात्रै भएको भन्दै उनले कुनै उपलव्धि नहुने समेत बताएका छन् । ‘संविधानले चिनेको र संविधानले नै काम कर्तव्य अधिकार दिएको जिल्ला समन्वय समिति वेहाल छ । जिल्लामा संरचनाहरु राख्नु भनेको स्रोत र साधनको दुरुपयोग हुनु मात्र हो । थप उपलव्धि केही पनि हुनेछैन/हुँदैन’, उनले भनेका छन् । स्थानीय तह र प्रदेशको अधिकारसँग बाझिने खालका कुनै पनि संरचनाहरु जिल्लामा राख्न नपाइने विषयमा उनले जोड दिएका छन् ।
चिकित्सा शिक्षा आयोगद्वारा डिएम/एमसिएच/एनबिएमएस-एसएसको नतिजा सार्वजनिक
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शनिबार लिएको डिएम/एमसिएच/एनबिएमएस-एसएस अध्ययनको लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले शनिबार लिएको परीक्षाको नतिजा शनिबार नै अबेर प्रकाशन गरेको हो । आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम १६ बमोजिम सरकारी चिकित्सकले प्राप्त गरेको अंकमा अनुभव र दुर्गम क्षेत्रमा काम गरेको अंक जोडी कुल प्राप्ताङ्क कायम गरी योग्यताक्रम निर्धारण गरिएको जनाएको छ । नतिजा विद्यार्थीले आफ्नो प्रोफाइलमा समेत हेर्न र स्कोर कार्ड डाउनलोड गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । प्रकाशित नतिजामा चित्त नबुझ्ने उम्मेदवारले पुनर्योग गर्न चाहेमा २३ गते ५ बजेसम्म आयोगको इमेलमा निवेदन दिन सक्ने छन्। योग्यताक्रममा रहेका उम्मेदवारको पहिलो म्याचिङ परीक्षार्थीहरुकै उपस्थितिमा साउन २९ गते हुने आयोगको सूचनामा उल्लेख छ ।