संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए भक्तपुरका विद्यार्थी
काठमाडौं । ’लाष्टै दुःख लाइराछ…’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घन्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए । उनीहरु कौतुहुलताका साथ बैठक सुरु हुनेमा प्रतीक्षारत थिए तर दिउँसो १ बजे बैठक आजै १ः३० बजे बस्ने गरी स्थगनको सूचना आएपछि निराश हुन पुगे । सङ्घीय संसद्मा माध्यमिक तहका विद्यार्थी सामाजिक अध्ययन विषयअन्तर्गत संसदीय गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न बेलाबखत आउने गर्दछन् । संसद् सचिवालयले ती विद्यार्थीका लागि प्रवेश अनुमति मिलाउने गर्दछ । यसरी आउन पनि सम्बन्धित विद्यालय र सचिवालयले समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । कक्षा ९ र १० मा सामाजिक अध्ययन र कक्षा ११ र १२ मा सामाजिक तथा जीवनोपयोगी विषय राखिएको छ । उनीहरु आफूले जुन उद्देश्यले आएको हो सो उद्देश्य पूरा नभएको त्यसै फर्कनु परेकोमा जवाफ दिए । राससको जिज्ञाशामा कक्षा १० की समृद्धि तिमिल्सनाले ठूला–ठूला नेताहरु बस्ने र देश चलाउने कुरा हुने थलोमा यस्तो ढिलाइ, अन्योल र विवाद होला भनेर आफूहरुले नसोचेको प्रतिक्रिया दिए । विद्यार्थी विश्व न्यौपानेले आफूहरुले संसद्लाई प्रत्यक्ष अध्ययन गर्न नपाउँदा दुःख लागेको बताए । केहीबेर बैठक बस्ने सूचना त किन फर्कँदै हुनुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ’विद्यार्थी जीवनमा समयको महत्व हुन्छ । हामीलाई विद्यालयले संसद्मा बस्न निर्धारण गरिएको समय सकिएकाले हामी फर्कियौँ ।’ विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर देखाउँदै गरेका विद्यालयका भाइस प्रिन्सिपल साजन कसमाल आफूहरुको १ बजेपछि विद्यालयमा नियमित कक्षा हुने भएकाले फर्किएर जान बाध्य भएको सुनाए । विद्यार्थीलाई बस चढाउँदै गरेकी विद्यालयका शिक्षक सरिता दाहाल सुरुमा आउँदा बडो उत्साहका साथ आएका भाइबहिनी अहिले निराश भएको बताइन् । अर्काे कुनै दिन आउनुहुन्छ कि भन्ने जिज्ञाशमा उनको जवाफ थियो, ’अब हेरौँ के हुन्छ ।’ संसद्मा अवलोकन गर्न आएका टोखास्थित नितेन मेमोरियल स्कुलका शिक्षक सञ्जीव धितालले भने आफूहरु बैठक बस्छ कि भनेर अझै कुरिरहेको जनाए । उक्त विद्यालयबाट ५९ जना विद्यार्थी आएका छन् । आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण सुरु हुन ढिलाइ भएको हो । सामाजिक अध्ययनको विषयले विद्यार्थीलाई असल नागरिक बनाउन प्रेरणा दिनाका साथै संविधान, सङ्घीयता र समावेशीताका सन्दर्भमा ज्ञान दिने लक्ष्यका साथ सरकारले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको हो । रासस
सिबिएम कलेजले गर्यो ५ हजार बोटविरुवा वृक्षारोपण गर्ने प्रतिबद्धता
काठमाडौं । सिबिएम कलेजले ५ हजार वृक्षरोपण गर्ने प्रतिबद्धता जनाएको छ । कलेजले ५० औं विश्व वातावरण दिवसका अवसरमा यस्ताे प्रतिवद्धता जनाएकाे हाे । विश्व वातावरण दिवसकाे अवसर पारेर कलेजको मातहतमा रहेको सामाजिक क्लब ‘हाम्रो आरम्भ’ले एक शिक्षक, एक विरुवा कार्यक्रम आयोजना गरी हरेक शिक्षकलाई विरुवा हस्तान्तरण गरेको थियो । कलेजका प्रिन्सीपल सुमन न्यौपानेले वातावरण दिवसमा मात्रै नभएर अन्य दिनमा पनि वृक्षरोपण गर्ने बताएका छन् । कार्यक्रममा हरेक विद्यार्थीहरुलाई हरियो रिबन प्रदान गरिएको थियो ।
सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर
विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताए । उनले अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्त बनाउनु आवश्यक रहेको औँल्याए । ‘शिक्षकहरु पनि समयअनुसार चल्न सिक्नुपर्छ । तीन वटै तहका सरकारबीच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचे जस्तो सफलता प्राप्त हुन नसकेको हो,’ उनले भने । उपप्रमुख शिल्पा निराला कार्कीले महानगरका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै प्रविधिमा आधारित शिक्षामा जोड दिइरहेको जानकारी दिए । रासस