‘काठमाडौं महानगरले गर्दा करोडौं घाटा भयो, क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । शैक्षिक संगठनहरुले काठमाडौं महानगरपालिकाले गर्दा करोडौंकोे क्षति भएको आरोप लगाएका छन् । महानगरले कुनै सूचना वा जानकारी बिनानै भइरहेको ‘आठौं कान्तिपुर हिसान एडुफेयर २०२३’ लाई रोकेको भन्दै विभिन्न ९ वटा संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन् । ‘४ दिनसम्म चल्ने स्वीकृतप्राप्त उक्त मेला आयोजनमा रोक लगाउदा करौडौंको आर्थिक क्षतिको जिम्मेवारी र जवाफ काठमाडौं महानगरले लिनुपर्ने देखिन्छ । मेलामा समुपस्थित अभिभावक, विद्यार्थी तथा अन्य प्रति भएको मानसिक दवावको जवाफदेहि महानगर बन्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्सले गत जेठ ३२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला शुरु गरेका थिए । मेलाको पहिलो दिनमै महानगरले मेला सञ्चालन हुन नदिएपछि संगठनहरु आक्रोशित भएका छन् । ‘महानगरका तर्फबाट भएको गैरन्यायीक हस्तक्षेप प्रति क्षमायाचना र आर्थिक क्षतिपूर्ति सहित निर्वाध रुपमा शैक्षिक मेला सुचारू रूपले संचालन गर्न दिन र आगामी दिनमा यस खालका कुनै पनि क्रियाकलाप नगर्न नगराउन सरोकारवाला निकायप्रति जोडदार माग गर्दछौं,’ संगठनहरुले विज्ञप्तिमार्फत भनेका छन् । महिनौदेखी सुसुचित कार्यक्रमलाई बिथोल्नु, सूचना नदिनु, संवाद नगर्नु, संलग्न निवेदनहरुको लिखित जानकारी नगराउनु, आदी सम्पुर्ण हिसावले महानगरका तर्फबाट भएको गैरन्यायीक हस्तक्षेप रहेको संघठनहरु बताउँछन् । यसमा महानगरल माफी माग्नु पर्ने उनीहरुको माग छ । साथै, महानगरले आर्थिक क्षतिपूर्ति सहित शैक्षिक मेला सञ्चालन गर्न दिनुपर्ने शैक्षिक संगठनहरुको माग छ । उक्त माग हिसान, प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, ओपन (पोखरा विश्वविद्यालय), पुक्यान(पूर्वाञ्चल विश्वविद्यालय), एईकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एशिया) र निजी प्राविधिक शिक्षालय महासंघ नेपाल लगायतका शैक्षिक संगठनले संयुक्त रुपमा मागेका हुन् ।

विद्यालय कर्मचारीको आन्दोलन स्थगित, वार्ता हुँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले आज दिउँसोदेखि वार्ता आरम्भ गर्ने मन्त्रालयबाट गठित वार्ता समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए । वार्ता समितिमा अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवसमेत प्रतिनिधि हुन् । परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वाेच्च अदालतको आदेशको पालना गराउने गरी वार्तामा बस्न आफूहरु तयार भएको जानकारी दिए । परिषद् र सम्बन्धित संस्थाले आज मुलुकभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए । काठमाडौं महानगरपालिकाले त्यसरी विद्यालय बन्द गराइए कारबाही गर्ने चेतावनी दिएको थियो । नेपाल शिक्षक महासङ्घले पनि वार्तामा आउन आग्रह गरेको थियो । विद्यालय कर्मचारीले मासिक आठदेखि १२ हजार पाँच सय रुपैयाँ पारिश्रमिकमा काम गर्नु परेको, सर्वाेच्च अदालतको २०६७ माघ २३ को आदेशबमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी कानून बनाइ कार्यान्वयन गर्न आलटाल भएको, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूहरुको सुविधा बढाउने उल्लेख गरेर पनि बजेटमा कुनै सुनुवाइ नगरेको भन्दै आन्दोलन गर्दै आएका छन् । रासस

एसईई पासपछि यसरी रोज्नुस् पढ्ने विषय

काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने गरिन्थ्यो । तर, पछिल्लो समयमा नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षा अन्तर्गत राखिएको छ । सामान्यतया कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुले के पढ्ने, कुन विषय पढ्दा व्यवहारिक हुन्छ भन्ने जस्ता प्रश्नहरुको सिर्जना गर्ने र त्यसको जवाफ खोज्ने क्षमता कम राख्छन् । त्यसैले उनीहरुले अभिभावकले भनेको, स्कुलले व्यवस्था गरेको र साथीसँगीको संगतले विषय छनौट गर्ने गर्छन् । त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरुलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन । कक्षा १० पास भइसकेपछि अर्थात एसईई उत्तिर्ण गरेपछि विद्यार्थीहरु मनोवैज्ञानिक रुपमा केहि स्वतन्त्र भएको र आफ्नो आगामी जीवनप्रति पनि थप जिम्मेवार भएको महशुस गर्छन् । जसकारणले गर्दा विद्यार्थीहरुले आगामी दिनमा आफू कस्तो मान्छे बन्ने र त्यसको लागि के विषय पढ्दा राम्रो होला भनेर सोच्ने कोशिश गर्छन् । सोही बेलामा विद्यार्थीहरुलाई सही सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । त्यसैले, हामीले भर्खरै एसइइ दिएर बसेका विद्यार्थीहरुलाई आगामी दिनमा विषय छनोटको लागि सजिलो होस भनेर एसईईपछि के पढ्ने भन्ने विषयमा यो समाचार तयार पारेका छौं । स्टार्टअप विजनेस सम्बन्धी विज्ञका रुपमा परिचित रञ्जित आचार्यका अनुसार हरेक विद्यार्थीसँग विशिष्ट प्रकारको क्षमता र इच्छा हुन्छ । तर, सबैले आफ्नो क्षमता र इच्छालाई पहिचान गर्न सकिरहेका हुँदैनन् । प्रसिद्ध बुढानिलकण्ठ स्कुल काठमाडौंका प्रधानाध्यापक होमनाथ आचार्यका अनुसार विद्यार्थीले एसईई सम्मको स्कुल पढाइ एउटा सीमामा आधारित रहेर हुने र त्यसपछिको ११/१२ र ए लेभल जस्तो तहमा जाँदा पढाइको तहगत खाडल हुने गरेको बताउँछन् । एसईई पश्चात विद्यार्थीहरुमा आफूहरुले एउटा तह पूरा गरेको मनोविज्ञान निर्माण हुने उनको भनाइ छ । तर, विषयहरु फरक हुने र विशेष तोकिएका विषयमा जानुपर्ने अवस्थामा विद्यार्थीहरुलाई उपयुक्त विषय छनोट गर्न भने सहयोगको आवश्यकता पर्ने प्रधानाध्यापक आचार्य बताउँछन् । ‘विद्यार्थीहरुमा एसईई पछि आफूहरु केही जान्ने भएको मनोविज्ञान निर्माण त हुन्छ तर, उनीहरुमा कस्तो विषय पढ्ने र कस्तो करिअर बनाउने भन्ने कुरामा भने निर्णय गर्न अन्यौलता देखिन्छ’, उनले भने, ‘कतिपय अवस्थामा साथीभाईले र कतिपय अवस्थामा अभिभावकले उनीहरुको विषयमा विषयमा निर्णय गरिदिन्छन्, जसले गर्दा उनीहरुको इच्छा एकातिर र विषय छनोट अर्कोतिर भएको पनि देखिन्छ ।’ त्यसरी विषय छनोट गर्दा उनीहरुको क्षमता अथवा इच्छासँग नमिल्दा उनीहरु असफल पनि हुने गरेको उनको भनाइ छ । त्यस्तो अवस्थामा विद्यार्थीको क्षमता र रुचीलाई ख्याल गरेर परामर्श दिन आवश्यक हुने आचार्य बताउँछन् । ‘विद्यार्थीको आफ्नो क्षमता अनुसार पढ्ने विषयमा उसको क्षमता र इच्छा के कुरामा छ भनेर अध्ययन गरेर विषय छनोट गर्न सल्लाह दिनुपर्छ’, उनी भन्छन् । विद्यार्थीहरुको क्षमतालाई पहिचान गर्ने र उनीहरुको करिअर सफलताको लागि गाइड गर्ने जिम्मेवारी शिक्षकहरुको नै भएको उनको भनाइ छ । आमाबुवालाई भन्दा शिक्षकहरुलाई विद्यार्थीको हरेक पक्षको बारेमा थाहा भएको उनी बताउँछन् । ‘कुन विद्यार्थी के मा राम्रो छ ? विद्यार्थी के कुरामा रमाउँछ, के कुरामा इच्छा राख्छ र उसको कुन विषयमा करिअर बन्न सक्छ, जुन कुरामा विद्यार्थीले पढ्न खुसी मान्छ उसलाई त्यही विषय पढ्न दिनुपर्छ’, आचार्य भन्छन् । विद्यार्थीलाई उसको क्षमता र इच्छा नभएको विषयमा लगाउन नहुने उनले बताए । बुढानिलकण्ठ स्कुलले कक्षा ९/१० मा नै विद्यार्थीहरुको क्षमताको विषयमा फिगर आउट गर्ने गरेको र सोही अनुसार विद्यार्थी र अभिभावकहरुलाई सल्लाह दिने गरेको बताउँछन् । शिक्षक र विज्ञहरुको अनुभव तथा बुझाइका आधारमा हेर्दा खासगरी करिअरसँग जोडिएको विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ मा अध्ययन गर्दा कस्ता ऐच्छिक विषयहरु अध्ययन गर्ने भनेर निर्णय गर्दा पहिला आफ्नो रुची र क्षमतालाई ख्याल गर्नुपर्ने देखिन्छ । भाषा, कला, साहित्य, व्यवस्थापन, आदि जस्ता विषयमा रुची भएको विद्यार्थीले गणित वा विज्ञान विषय रोज्न भएन । त्यस्तै विज्ञान तथा गणित विषयमा रुची भएको विद्यार्थीले पनि अन्य भाषिक विषयहरु रोज्दा अपेक्षित सफलता नमिल्न सक्छ । विगतमा अध्ययनमा अब्बलता नरहेको तर सो विषयमा रुची भएको विद्यार्थीले पनि आगामी दिनमा राम्रो गर्न सक्ने सम्भावना हुँदा रुचीको विषयलाई अगाडि बढाउँदा सफलता हासिल गर्न सकिने विज्ञहरुको सुझाव छ । विगतमा कक्षा ११/१२ पढाउने सीमित विद्यालयहरु थिए । अहिले सबै स्थानीय तहहरुमा ती विद्यालयहरु पुगेका छन् । साथै विद्यालयसँगै नयाँ र धेरै विषयहरु पनि छनोट गरेर अध्ययन गर्न पाइने अवस्था बनेको छ । त्यसैले विद्यार्थीहरुले अनिवार्य केही विषय बाहेक धेरै एच्छिक विषयहरुमा रोजेर अध्ययन गर्न सक्छन् ।