मन्त्रालयका अधिकृतदेखि सहसचिवहरुले किताबमा नाम राखेर रोयल्टी बुझ्छन् : सिलवाल
एसईईको नतिजा आउन केही दिन मात्रै बाँकी छ । कक्षा ११ को भर्नाका निम्ति सबै स्कुलहरु तयारी अवस्थामा छन् । तर, कक्षा ११/१२ को अध्ययन पश्चात् देशको सबैभन्दा ठूलो युवा संख्याले नेपालमा आफ्नो भविष्य देख्दैन र देश नै छाड्छ । कक्षा ११/१२ को अध्यययनले विद्यार्थीहरुलाई आफ्नै देशमा आफ्नो भविष्य देख्न सक्ने बनाउन नसकेको, प्राविधिक नभएको र गुणस्तरीय नभएको आरोप लागेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ८ वर्ष बितिसक्दा समेत संघीय शिक्षा ऐन बन्न सकेको छैन । शिक्षा क्षेत्र भित्र बेथिति वर्षेनी रुपमा बढ्दो क्रममा छ, तर, सरकार, राजनीतिक दल र अन्य सरोकारवाला क्षेत्र प्रायः मौन अवस्थामा देखिन्छन् । प्रस्तुत छ, नेपालको माध्यमिक शिक्षा र समसामयिक सन्दर्भसँग जोडिएर उच्च माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष रमेश सिलवालसँग गरिएको कुराकानीको सम्पादित अंशः कक्षा ११/१२ लाई विद्यार्थीको उच्च शिक्षाको आधार र जीवनकै करिअरको महत्वपूर्ण शुरुवातको रुपमा पनि लिइन्छ । हिसानको नेतृत्व र शैक्षिक संस्थाकै सञ्चालनको अनुभवबाट पनि हेर्दा नेपालको कक्षा ११/१२ को शिक्षा कस्तो छ ? हाम्रो संविधानले शिक्षालाई तीन तहमा विभाजन गरेको छ । शिशु कक्षादेखि ८ सम्मलाई आधारभूत शिक्षा, ९ देखि १२ लाई माध्यमिक शिक्षा र त्यो देखि माथिको शिक्षालाई उच्च शिक्षा अथवा विश्वविद्यालय शिक्षा भनिएको छ । यो वर्गिकरणअनुसार हेर्दा कक्षा ११/१२ को शिक्षा चाहिँ विद्यालय शिक्षा र माध्यमिक शिक्षा हो । त्यसमध्ये पनि माध्यमिक शिक्षा दुई तहको छ । १० कक्षा सम्मको शिक्षा स्कुल ओरिन्टिएड छ भने ११/१२ को शिक्षा विश्वविद्यालय उन्मुख छ । त्यसैले यसलाई भिन्न शिक्षाको रुपमा पनि लिने गरिएको छ । अभ्यासकै रुपमा पनि शिक्षक सेवा आयोगले १० कक्षा सम्म अध्यापन गराउने शिक्षकको लागि एउटा विज्ञानपन गर्छ भने ११/१२ को लागि फरक शिक्षकको लागि विज्ञापन हुन्छ । कानुनतः कक्षा ११/१२ विद्यालय शिक्षा भएपनि व्यवहारतः यो पूर्व विश्वविद्यालय शिक्षा हो । दुई वर्षको शैक्षिक कार्यक्रम भएपनि यसको महत्व भनेको ब्रिजको रुपमा रहेको छ । विद्यालयलाई कलेजसँग जोड्ने शिक्षा भएको हुँदाखेरि ११/१२ को शिक्षाले विद्यार्थीको भविष्य कुन दिशातिर जाने भन्ने कुराको नि¥क्यौल गर्छ । देशभरी कक्षा ११/१२ को शिक्षाको विकासको अवस्थालाई हेर्ने हो भने सामान्यतया सबै पालिकामा यसको पहुँच पुगेको छ । सरदर एउटा ११/१२ अध्यापन गराउने ७ वटासम्म स्कुल पुगेको अवस्था छ । तर, सिंगो देशमा यो तहको शिक्षामा गुणस्तरीय शिक्षाको पहुँच सबै विद्यार्थीहरुमाझ पुग्न भने सकेको छैन । अधिकांश विद्यालयमा व्यवस्थापन, शिक्षा र मानविकी संकायको मात्रै पहुँच पुग्न सकेको अवस्था छ । विज्ञान तथा प्रविधिमूलक शिक्षाको पहुँच पुग्न सकेको छैन । त्यसमा पनि विज्ञान संकायको विस्तारमा ९० प्रतिशत निजी क्षेत्रको योगदान छ भने १० प्रतिशत मात्रै सरकारी स्कुलको योगदान रहेको अवस्था छ । अहिलेको अवस्थामा एउटा कक्षा ११/१२ तहको विद्यालयमा औसत ५४ जना मात्रै विद्यार्थी छन् । एउटा कक्षामा २७ जना विद्यार्थी पढाएर गुणस्तर दिन सकिँदैन, त्यो अनुसारको सुविधा दिन सकिँदैन र शिक्षक पनि पुर्याउन सकिँदैन । अब हामीलाई गुणस्तरीय शिक्षाको आवश्यकता छ, शिक्षण संस्था कम हुने र गुणस्तर बढी हुने अवस्थाको विकास गर्न आवश्यक छ । थोरै विद्यार्थीमा धेरै विषयको व्यवस्था गरेर विद्यालयहरुले धान्न सक्दैनन् । त्यसैले पालिकाभित्रका स्कुलहरुलाई विषयगत आधारमा छुट्याइदिन सकिन्छ । जसले गर्दा प्रतिविद्यार्थी लागत पनि कम पर्ने र गुणस्तरीय शिक्षा पनि दिन सकिने अवस्था रहन्छ । अब यो स्थितिमा नजाने हो भने हामीले गुणस्तरीय शिक्षा उपलब्ध गराउन सक्दैनौं । अहिलेसम्मको अवस्थामा माध्यमिक शिक्षा प्रदान गर्ने विद्यालयहरुको संख्यात्मक रुपमा वृद्धि भएको अवस्था छ, अब गुणस्तरमा वृद्धि गर्न आवश्यक छ । हामीले विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न सक्नुपर्छ । कक्षा ११/१२ तहको शिक्षामा समग्रमा हेर्दा सरकारी र निजी क्षेत्रको योगदान कसरी भइरहेको छ ? निजी स्कुलहरु जहाँ बजार छ त्यहिँ नै जान्छन् । तर, शिक्षामा राज्यको जिम्मेवारी र दायित्व पनि हुन्छ । बजार नभएको ठाउँमा पनि विद्यालय चाहिन्छ, त्यहाँ बजार क्षेत्रभन्दा बाहिर पनि सरकारी शिक्षा जानुपर्छ । तर, कतिपय ठाउँमा हामीले खोल्नका निम्ति विद्यालय खोल्ने काम गर्यौं । विद्यालय सञ्चालन गर्दा न्यूनतम कति प्राध्यापक शिक्षक चाहिन्छ, कति कर्मचारी चाहिन्छ, कत्रो भौतिक पूर्वाधार चाहिन्छ, त्यसको खर्च थेग्न सकिन्छ की सकिँदैन ? खर्च थेग्न सकिँदैन भने पनि त्यो सुक्नु बाहेक अर्को बिकल्प हुँदैन । विगतमा कतिपय राजनीतिक प्रतिस्पर्धा वा इगोका कारणले पनि शुरुवात गर्ने काम भएको छ । एसईई दिएर आउने विद्यार्थी कति छन्, नजिकको पालिकाबाट आउन सक्ने विद्यार्थी कति छन् जस्ता आधारहरुलाई लिएर स्कुल शुरुवात गर्ने काम पनि भयो । त्यसैको परिणाम अहिले हामीले भोगिरहेका छौं । विश्वमा सबैभन्दा राम्रो शिक्षा फिनल्यान्ड र सिंगापुरको मानिन्छ । ती देशहरुमा औसतमा एउटा स्कुलमा ६५० जना विद्यार्थीले पढ्छन् । हामीले धेरै साना विद्यालय बनाउन तर्फ गएछौं भने उनीहरुले ठूला धेरै विद्यालय बनाए । हामीले पनि हिजोको अवधारणामा परिवर्तन गर्नुपर्छ । हिजोको समयमा बाटोको असुविधा थियो, आज अधिकांश ठाउँमा बाटो पुगेको छ । त्यसैले, केही स्कुललाई राम्रो र ठूलो बनाउने र त्यहाँ गाडी राख्ने, आवश्यक भएकमा आवासीय बनाउन पनि सकिन्छ । त्यसो गर्दा गुणस्तर बढाउन सकिन्छ । अब न्यूनतम गुणस्तरको अनिवार्यता हुनुपर्छ । ठूला स्कुल भए भने प्रतिव्यक्ति विद्यार्थीको लागत घट्छ । अहिले ५१ हजार शिक्षकको अभाव छ, त्यो अभाव पनि पूर्ति हुन्छ । नेपालको शिक्षा क्षेत्रको गुणस्तरमा प्रश्न त उठेकै छ, सँगै उच्च शिक्षा क्षेत्रमा विद्यार्थी अभावका कारणले विश्वविद्यालयदेखि कलेजसम्मलाई संकट पैदा हुनसक्ने संकेत देखिएको छ । तर, तपाईंले भनेजस्तो शिक्षा क्षेत्रको सुधारको विषयमा तपाईंहरुकै उचित पहल पनि देखिएन नी । होइन, हामी लागिरहेका छौं । हामीले केहि प्रस्ताव राखेका थियौं । सरकारी स्कुलको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएर नमूना बनाउने र सरकारी र निजी स्कुलबीच हातेमालो गर्ने । तर, यी विषयहरु उठेपनि कार्यान्वय हुन सकेनन् । यहाँनेर केहि समस्या पनि छन्, कतिपय निजी स्कुल सञ्चालकहरुको पनि सरकारीको गुणस्तर बढ्यो भने मकहाँ विद्यार्थी आउँदैनन् भन्ने छ । त्यस्तै, कतिपय सरकारी स्कुलमा काम गर्नेहरुको अवधारणा पनि के छ भने यो निजी नसुकीकन हामी सप्रिदैनौं भन्ने छ । हामीले गुणस्तरमा प्रतिस्पर्धा गर्ने हो । तपाईंले धेरै वर्षदेखि विद्यार्थीहरुलाई पढाइरहनु भएको छ । के पाठ्यक्रम विकास केन्द्रले वर्तमानको आवश्यकता र विद्यार्थीको मनोभावनालाई समेट्ने ढंगले पाठ्यक्रम बनाइरहेको छ ? तपाईंले कस्तो अनुभव गर्नुभएको छ ? ११/१२ को पाठ्यक्रम तुलनात्मक रुपमा राम्रो छ । रिभ्यु पनि भइरहेको छ । उसको क्षमता पनि छैन । पाठ्यक्रम विकास केन्द्रमा पाठ्यक्रम विज्ञ भन्ने मान्छे नै छैन । उसले विज्ञ विश्वविद्यालयहरुबाट ल्याउनुपर्ने हुन्छ । त्यहाँ राम्रा असल मान्छेलाई छिर्न नदिने आफूले भनेको मान्छेलाई मात्रै काम गर्न दिने परिपाटी छ । विज्ञ मान्छे गयो भने उसले आफ्नो पहिचानलाई प्रदर्शन गर्छ । तपाईंले हेर्न सक्नुहुन्छ । पुस्तकको तल शिक्षा मन्त्रालयको शाखा अधिकृत देखि सहसचिवसम्मको नाम हुन्छ । सबै विषयमा तीनको नाम हुन्छ । किन हुन्छ भने त्यसको रोयल्टी खानको निम्ति । त्यहाँपनि कार्टेलिङ सिन्डिकेट छ, पहिल्यै नै हामीले यो–यो विषय पास गर्दिन्छौं तपाईंले किताब छापेहुन्छ भनेर पहिल्यै स्वीकृति दिएको पनि छ । राज्यको जिम्मेवार तहमा बसेको प्राज्ञिकहरुलाई चलाउने मान्छे आँफै इमान्दार भएन भने यो नतिजा आउँछ । यो मेरो कसैलाई ब्लेम होइन, तपाईंले नै पुस्तक हेर्न सक्नुहुन्छ । रोयल्टी खानेहरुको एउटा झुण्ड छ । पाठ्यक्रम लेख्ने मान्छेहरुलाई पाठ्यक्रमको विषयमा जानकारी हुनुपर्छ । उसलाई १० कक्षासम्म कस्तो पाठ्यक्रम पढाइ हुन्छ र विश्विद्यालय तहमा कस्तो पढाइ हुनुपर्छ भन्ने कुराको पनि ज्ञान हुनुपर्छ । कतिपय त्यहाँ यी दुबै विषयमा जानकार नभएका व्यक्तिहरु पनि पाठ्यक्रम लेख्न आएका थिए । हाम्रो पाठ्यक्रम अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने र देशको आवश्यकता र समस्या समाधान गर्नसक्ने पनि हुनुपर्छ । तर, त्यहाँ निश्चित व्यक्तिलाई बाहेक भत्ता दिने पैसा छैन भनेर आवश्यक जनशक्ति पनि नराखेको अवस्था देखिन्छ । पाठ्यक्रम विकास केन्द्र भित्रै हरेक विषयको विज्ञ हुनुपर्छ । अहिले नयाँ पाठ्यक्रम बनाउनुपर्यो भने कक्षा १ देखि नै रिभ्यु हुनुपर्छ । आधारभूत शिक्षाको हरेक कक्षाको भर्याङ माध्यमिक शिक्षासँग जोडिनुपर्छ । माध्यमिक शिक्षा उच्च शिक्षासँग जोडिनुपर्छ । सबै स्कुल कलेजहरुको एउटै क्षमता पनि छैन । पाठ्यक्रमले पूर्व–पश्चिम र उत्तर दक्षिण सबै हेर्नुपर्छ । अहिलेको हाम्रो पाठ्यक्रमले सैद्धान्तिक रुपमा विश्वको जुनसुकै पाठ्यक्रमसँग पनि प्रतिस्पर्धा गर्न सक्छ । हामी कहाँनेर चुकेका छौं भने अप्लाइड र प्राक्टिकल पाटोमा । हाम्रो शिक्षा घोकन्ते र सुगा रटाइमा छ । हाम्रो शिक्षा प्रणालीको कमजोरी यहाँनेर छ । अध्ययन, अनुसन्धान र परियोजनामूलक शिक्षा भएन । तीनघण्टे परीक्षाले एउटा मान्छेको एकवर्षको खुबीलाई न्याय गर्दैन । हामीले ग्रेडिङको अभ्यास गर्यौं तर अरु कुरा सोहीअनुसार बद्लिएन । हाम्रो शिक्षामा बढीमा १० देखि १२ प्रतिशत पास हुने हो । सबैभन्दा बढी फेल हुने शिक्षा विषयमा हो । अनि त्यही मान्छे शिक्षण पेसामा जान्छ । अनि त्यसले के गुणस्तर दिन्छ ? यदि शिक्षा राम्रो बनाउने हो शिक्षामा आकर्षण दिनुपर्छ । भुटानमा दोब्बर तलब छ, श्रीलंकामा ६० प्रतिशत बढी छ । हामीले पनि त्यो बनाउनुपर्छ । त्यो नगरीकन शिक्षामा सुधार गर्ने कुरा गफ मात्रै हो । हाम्रो शिक्षा प्राविधिक त भएन तर, कक्षा ११/१२ पढिसकेपछि यहीँ नै केही गर्नुपर्छ भनेर भावना तथा विचार पैदा गर्न सक्ने काम पनि भएन नी । हामीले तुलनात्मक रुपमा अध्ययन गर्नुपर्छ । २० वर्ष अगाडि हुने खानेले दार्जिलिङ, देहराधुन र कालिम्पोङ पठाउने गर्दथे । अहिले स्कुल शिक्षा पढ्न भारत जानेको संख्या नगण्य छ । मेरो अनुमानमा त्यो संख्या भनेको २८ हजार वरिपरि मात्रै छ । तर, स्नातक र स्नातकोत्तरको विषय छ । त्यो हाम्रो अधिनमा मात्रै छैन । राजनीतिक दलका नेतृत्वहरुले भातृ संगठनहरुले तिम्रो भविष्य नेपालमा नै छ भनेर भन्नसक्ने स्थितिमा हुनुपर्छ तर, त्यो गर्न सकेको छैन । त्यो भन्ने नेताहरुलाई नै प्रतिप्रश्न आउँदा उसको छोरा अमेरिका, अष्ट्रेलिया, क्यानडामा छ, अनि उसले भनेको कसले पत्याउँछ । अर्को हाम्रा विश्वविद्यालयहरुको निश्चित शैक्षिक क्यालेन्डर छैन । विश्वविद्यालयहरुको मिति सहितको निश्चित क्यालेन्डर हुनुपर्छ । त्यस्तै, कोर्ष पनि अपडेट हुनुपर्छ । अहिले पुल्चोक क्याम्पसमा विद्यार्थी सिट खाली छ । हामीले विद्यार्थीलाई बताउन सकेनौं । विदेश गएपछि भू–स्वर्ग हो भन्ने पनि भएको छ । हुनपनि हो, त्यहाँ पढ्दै कमाउँदै गर्न सकिन्छ । यहाँ पनि गरौं न, पढेको तीन देखि पाँच वर्ष भित्रमा ऋण लिएर तिर्ने व्यवस्था गराइदिउँ न । पढ्ने बेलासम्म उसले ब्याज तिर्छ र पढाइसकेपछि सावाँ ब्याज तिर्ने व्यवस्था मिलाउन सकिन्छ । शिक्षामा पनि ऋण काढेर पढ्न सक्ने सहुलियत ऋणमा पढ्न सक्ने र छात्रवृत्तिबाट पढ्नसक्ने व्यवस्था बनाइदिउँ न । राज्यको नीति निर्माण तहमा भएको कमजोरीकै कारण विदेश जाने मोह भएको हो । अर्को विषय यहाँ कन्सल्टेन्सीसँग पैसा खाएर विदेश पठाउने मानसिकताले पनि यस्तो भएको हो । शैक्षिक संस्थाहरुलाई स्वायत्तताको पनि अभाव भयो । २० प्रतिशत पाठ्यपुस्तकमा तलमाथि गर्ने अधिकार भयो भने विद्यार्थीको जीवनलाई चाहिने र प्रयोगमा आउने नयाँपन दिन सबै शैक्षिक संस्थाहरुले खोज्छन् नी । जस्तै, सिपमूलक हामीले दिनसक्छौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर निर्वाचित सरकारले त्यसको नेतृत्व गरेको पनि साढे पाँच वर्ष पूरा भएको छ । तर, अहिलेपनि नेपालको शिक्षाको स्पष्ट कानूनी चित्र बन्न सकेको छैन । तपाईंहरुपनि यो आवश्यक ऐन कानून बनाउन आवश्यक दबाब दिन किन लागिरहनुभएको छैन ? त्यस्तो पनि होइन । म पनि शिक्षा सेवा आयोगमा बसेर काम गरेको थिएँ । हामीले धेरै ठूलो छलफलपछि हामीले आयोगको तर्फबाट प्रतिवेदन दियौं, तर त्यो प्रतिवेदन कुनैपनि सरकारले सार्वजनिक गरेन । त्यतिबेला प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो, शिक्षामन्त्रीको अध्यक्षतामा भएको थियो । त्यो प्रतिवेदन किन सार्वजनिक भएन हामीलाई जानकारी छैन । संविधानले ८ कक्षासम्म अनिवार्य र निःशुल्क १२ कक्षासम्म निःशुल्क भनेको छ । तर, हामीले गर्न सकेका छैनौं । किन सकेनौं भने राज्यको क्षमता पुगेन । यो बजेटले कार्यान्वयन गर्नपनि सक्दैनन् । जिडीपी ६ प्रतिशत वा बजेटको २० प्रतिशत छुट्याउने हाम्रो राज्यले अन्तर्राष्ट्रिय स्तरमा कमिटमेन्ट गरेको छ । तर, हामी एकपटक १८ प्रतिशत सम्म पुग्यौं र अहिले १० देखि १२ प्रतिशतमा रुमल्लिइरहेका छौं । यो पनि सबै विद्यार्थीले पाउनुपर्यो नी भन्ने आवाज उठेको छ । भौचर प्रणालीको मोडेल के छ भने हामी प्रतिविद्यार्थी लागत दिन्छौं, तिमी निजी, सामुदायिक वा सरकारीमा पढ, भौचर दिन्छु तिम्रो इच्छा लागेको ठाउँमा पढ, तर यो क्षेत्रभित्र पढ । अर्को मोडेल पालिकाहरुले जिम्मा लिएका छन् र निजीलाई मैले यति दिन्छु, गुणस्तरीय शिक्षा दिने काम तिम्रो, पैसा दिने काम मेरो भन्ने फ्युजनको मोडेल पनि छ । अर्को जहाँपनि पढ्न पाइने मोडेल पनि छ । काठमाडौं महानगरमा शिशुदेखि १२ कक्षासम्मको विद्यार्थीको औसत लागत एकलाख पाँचहजार छ । घरभाडा देखि सबै खर्च राज्यले गरेको छ । त्रिभुवन विश्वविद्यालयले केही विषयहरुमा शुल्क लिँदा सरकारी शुल्क भन्दा २५ प्रतिशत बढी शुल्क निजीले लिन पाइने व्यवस्था गरेको छ । तर, हामीले त्यती पैसा उठाउन सकेका छैनौं । हामीले नसकेका हौंला, तर हामीले उचित आवाज उठाइरहेका छौं । सम्बन्धित क्षेत्र लाचार छ । हामीसँग अहिलेसम्म मन्त्रालयले शिक्षा ऐनको विषयमा कुनै सुुझाव लिएको छैन । हामीले पटक–पटक भनेका छौं, कार्यक्रम गरेका छौं, मन्त्रीकोमा गएका छौं, सचिवलाई भनेका छौं, सम्बन्धित व्यक्तिलाई भनेका छौं । ऐन बनाउन अगाडि स्टेक होल्डरसँग छलफल गर्नुस न भनेका छौं । राज्य भनेको पारदर्शी छैन । गणतन्त्रमा त पारदर्शी हुनुपर्यो नी । यो विषय हामीले कहिलेदेखि उठाएका छौं, लाजसरम हुनुपर्दैन । एउटा ऐन ल्याउन नसक्ने मान्छे सरकारमा किन बस्ने । तर, उनीहरुको भाषण हामीले सुन्दिनुपर्ने । एउटा ऐन बनाउन किन ५० वर्ष लाग्यो ?
विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप १ लाख रुपैयाँ जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेश गर्न आग्रह गरेको थियो । तोकिएको समय सीना पार गरिसक्दासम्म अझै केही विद्यालयले विवरण नबुझाएकाले उक्त विद्यालयलाई १ लाख रुपैयाँ जरिवानासहित विवरण ल्याउन अन्तिम पटक प्रमुख साहले आग्रह गरेका हुन् । अझै कामपाको आग्रहमाथि आनाकानी गरे कामपाको शिक्षा ऐन २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम सम्बन्धित विद्यालयलाई प्रदान गरिएको अनुमसति वा स्वीकृति रद्द गर्नेसम्मको चेतावनी प्रमुख साहले दिए । हाल कामपा क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति बुझाएको विवरण पठाएका छन् । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थी छात्रवृत्ति प्राप्त लाभ लिएका कामपाका प्रमुख साहले जानकारी गराए । प्रमुख साहका अनुसार प्राप्त भएका विवरणमाथि पनि पुनः एक पटक कामपाले छानबिन गरी सूचना सार्वजनिक गर्नेछ । नियमअनुसार प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । पटकपटकको आग्रहकै कारण अहिले ९० प्रतिशत विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको कामपाको ठहर छ । कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका बताए । भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले सार्वजनिक सूचना नै जारी गरेर कडाइ गरेको थियो । चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराउनेमा अधिकांश महँगो शुल्क लिने विद्यालय रहेका थिए । कामपाले आगामी शैक्षिक सत्रबाट कूल विद्यार्थीको ५ प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी ५ प्रतिशत छात्रवृत्ति बराबरको रकम कामपा शिक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरी विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
विद्यार्थी संगठनको ताण्डव नृत्यमा संरक्षक बन्दै सरकार
तस्बिर : सामाजिक सञ्जालबाट । काठमाडौं । २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस क्षेत्रभित्रै सांघातिक ढंगले कुटपिट गरियो । उपप्रध्यापक चलाउनेकै आलेखअनुसार उनलाई मार्नेसम्मको योजना बनाउने नेपाली कांग्रेस कृष्ण सिटौला समूहका अध्यक्ष र सचिव हरि आचार्य र योगेन्द्र रावल थिए । ती दुई विद्यार्थी नेता सहित पाँच जना विरुद्ध दायर भएको मुद्दाको अन्तिम सुनुवाई हुनै लाग्दा गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मुद्दा फिर्ता लिने निर्णय गर्यो । सरकारको निर्णयको विरुद्धमा उपप्राध्यापक चलाउनेले सोमबार काठमाडौं जिल्ला अदालत परिसरमा नै आएर विरोध गर्दा प्रहरीले पक्राउ गरेर छाडिदिएको छ । उपप्राध्यापक चलाउनेले न्याय नपाएपछि सोमबारबाट त्रिभुवन विश्वविद्यालय भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका छन् । केही दिन अगाडि भक्तपुर बहुमुखी क्याम्पसमा कनिष्ठलाई प्रमुखमा नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्ची रुखमा लगेर झुण्ड्याउने काम गर्यो । स्ववियु निर्वाचनको समयमा विशेषगरी सरकारी तथा सामुदायिक कलेजहरुमा विद्यार्थी संगठनहरुले विभिन्न स्वरुपमा निकै अराजक गतिविधि गरे । जसमा सबै विद्यार्थी संगठनको सहभागिता रहेको देखिन्थ्यो । विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थी संगठनको नाममा भएका अराजक गतिविधिहरुले सीमा नाघ्न थालेका छन् । विशेषगरी विश्वविद्यालय, सरकारी तथा सामुदायिक कलेज भनेको अराजक गतिविधि गर्ने क्षेत्रको पर्याय बन्न लागेको त्यहाँ भैरहेका गतिविधिहरुले देखाउँछ । विश्वविद्यालय र कलेजहरुमा अराजक गतिविधि बढ्दै जाँदा सरकार त्यसलाई न्यूनिकरण गर्न कुनै भूमिका नखेल्ने उल्टै राजनीतिक रुपमा अराजक गतिविधि गर्नेलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संरक्षणको कार्यमा सरकार लागेको उसको व्यवहारले देखाएको छ । तर, विद्यार्थी संगठनको नाममा हिजो वा आज भएका अराजक गतिविधिहरुलाई विद्यार्थी राजनीति भनेर राज्यले नै छुट दिने परम्परा बन्न थालेको छ । जसले गर्दा विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थी संगठनको सृजनात्मक भूमिका शुन्य बन्दै गएको छ भने विश्वविद्यालय तथा कलेजहरुमा विद्याथी आकर्षित हुन समेत छाडेका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले विद्यार्थी संगठनको नाममा महानगर भित्रका शैक्षिक संस्थाहरुमा विद्यार्थी संगठनका गतिविधिलाई न्यूनिकरण गर्ने पहल गरेका छन् । उनले यही बीचमा केही विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला समेत महानगरीय प्रहरी लगाएर तोडेर पठनपाठन सूचारु गराउने कार्य गरेका छन् । तर, विश्वविद्यालय ऐनहरु नै राजनीतिक हस्तक्षेप गर्नसक्ने प्रकृतिबाट निर्माण गरिएको कारणले एउटा राजनीतिक दल वा सत्ताबाट हस्तक्षेप गर्ने र अर्को राजनीतिक दलको प्राध्यापक, विद्यार्थी र कर्मचारी संगठनबाट विरोध गर्ने संस्कार नै बनिरहेको छ । त्यस्तै, सिपमूलक शिक्षाको अभावका कारणले गैह्र विद्यार्थीहरुले विद्यार्थी संगठनको नाममा विश्वविद्यालय तथा कलेजहरुमा समस्या सिर्जना गरेको शिक्षाविद्हरुको धारणा छ । विश्वविद्यालय तथा कलेजहरुमा शान्तिपूर्ण पठनपाठनको वातावरण सिर्जना गर्न विश्विद्यालय ऐन नै संशोधन गर्न आवश्यक रहेको र सिपमूलक शिक्षाको लागू गर्नुपर्ने शिक्षाविद्हरुको भनाइ छ । प्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने र उनले आमरण अनसनको शुरुवात गर्ने परिस्थिति सिर्जना हुनुमा ‘राजनीतिक दलले आफ्ना मान्छेहरुलाई संरक्षण गर्ने प्रवृत्तिको परिणति’ भनेर शिक्षाविद् डा. विद्यानाथ काेइरालाले गरेका छन् । उनले विश्वविद्यालयहरुमा सिपमूलक शिक्षा नहुने गैर विद्यार्थीहरुले विद्यार्थी संगठनको नाममा क्रियाकलाप गर्ने वातावरण हुँदा यस्तो अवस्थाको विकास भएको बताएका छन् । ‘अखिल, नेविसंघ वा क्रान्तिकारीको नामममा भएका ती विद्यार्थी होइनन्, किनभने विद्यार्थी भएको भए पढ्ने पढाउने कुराकानी हुन्छ, यो चाहिँ नचाहिने कुराकानी भयो’, उनले भने, ‘यसलाई संरक्षण गर्ने काम दलले गरे ।’ राजनीतिक दलले विद्यार्थीहरुलाई लुटीखान र ठगिखान मात्रै सिकाएको कारणले उनीहरुसँग असम्बन्धित रहेको नियुक्ति र कार्यक्रममा पनि हस्तक्षेप गर्ने गरेको उनले बताए । ‘काम नभएको विषयमा पनि उनीहरुले किन कुराकानी गर्दारैछन भन्दा ठगीखाने लुटीखाने ठाउँ बनाइदिनलाई हो’, डा. कोइराला भन्छन्, ‘जुन दिन विद्यार्थीले गरिखाने सिप त्यही कक्षामा सिक्न पाउँछन् नी त्यो दिन उसले हल्ला नै गर्दैन ।’ राजनीतिक दलका नेताहरुले विद्यार्थीलाई गरिखाने बनाउन नै नचाहेको कारणले अहिले विश्विद्यालयहरुमा समस्या सिर्जना भएको उनको भनाइ छ । ‘नेतृत्वले आफ्नो जातको हो भने आँखा चिम्लिने अनि अर्काको जातको हो भने उचाल्ने, राजनीतिक व्यक्तिको वुद्धी यो भन्दा पर नै छैन’, कोइरालाले भने । विश्वविद्यालय कलेजमा समस्या पैदा हुनुमा प्राध्यापकहरुको पनि भूमिका रहेको डा. कोइराला बताउँछन् । उनीहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि विद्यार्थी संगठनलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ । त्यस्तै, अर्का शिक्षाविद् डा. विष्णु कार्कीले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएको समस्याको शुरुवात तीन दशक अगाडिबाट शुरुवात भएको बताउँछन् । विश्वविद्यालयमा अस्थायी प्राध्यापक नियुुक्ति गरेर पछि उनीहरुलाई स्थायी गरेदेखि नै समस्याको शुरुवात भएको उनको भनाइ छ । अहिले आफूले त्रिभुवन विश्वविद्यालय पढेको भनेर भन्दा ‘यो मान्छे पनि विग्रेको रैछ’ भन्ने स्थिति भएको उनी बताउँछन् । राजनीतिक आडमा मेहनत नगरी प्राप्त गरिने अवस्था भएपछि बिकृतिको दिशातर्फ धेरै लागेको उनको भनाइ छ । विद्यार्थीले प्राध्यापकलाई कालोमोसो दल्ने र राज्यले छुट दिने दयनीय अवस्था बनेको उनले बताए । ‘एउटा विद्यार्थीले प्राध्यापकलाई कालोमोसो दल्छ, अनि राज्यले छुट दिन्छ, यो दयनीय स्थिति हो, तर विश्वविद्यालय कलेजमा यिनै २/४ जना नेता (देउवा–ओली–प्रचण्ड) ले नै भाँडोभैलो गरेका हुन्’, डा. कार्कीले भने, ‘सुधार गर्नको लागि पनि यिनैले कमिटमेन्ट गर्नुपर्छ ।’ विद्यार्थीको कल्याण गर्ने संगठन भन्दा पनि नेता पिच्छेका संगठन बनाउँदा बेठिक भएको र यसलाई रोक्नुपर्ने उनको भनाइ छ । साथै उनले राजनीतिक विश्वका धेरै विश्विद्यालयहरुमा प्रधानमन्त्री शिक्षामन्त्री चान्सलर हुने व्यवस्था नभएको बताउँदै नेपालमा पनि विश्वविद्यालय ऐनमा भएको लुप होल बन्द गर्न संशोधन गर्नुपर्ने बताएका छन् ।