ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा : लाखौँ कुम्ल्याएर सञ्चालक फरार
झापा । साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल (अञ्जान), धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अर्जुनधारा-६ निवासी चन्दा अधिकारीले बताइन् । श्रीमान् दीपक अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लक्ष्मण घिमिरे र लक्ष्मीप्रसाद बराल (अञ्जान) ले आफूहरूसँग तीन लाख रुपैयाँ ठगी गरेको अधिकारीले बताइन् । गत वर्ष भदौ ३० गते आफ्ना श्रीमान्लाई माल्टा पठाउने भन्दै घिमिरेले आफूहरूसँग राहदानीसहित रु एक लाख, चार महिनापछि पुसमा पुनः रु एक लाख त्यस्तै मेडिकल तथा प्रहरी रिपोर्टका लागि रु नौ हजार छ सय र चैत ३ गते वर्क पर्मिटका लागि भन्दै पुनः रु एक लाख लिएर सम्पर्कविहीन भएको अधिकारीले बताइन् । रकम लिएको तीन महिनामा माल्टा उडाउँछु भन्ने घिमिरेले पछि आफूले माल्टा पठाउन नसकेको र काठमाडौँमा रहनुभएका सरसँग कुरा गर्नु भन्दै अञ्जानसँग सम्पर्क गराएको पीडित अधिकारीले बताइन् । उनले भनिन्- ‘काठमाडौँबाट सर आउनुभएको छ भन्दै घिमिरेले पुस ४ गते अञ्जानसँग भेट गराएको र पुसमा पुनः दोस्रो पटक मेडिकल गराएर फागुनको अन्तिमतिर ‘एग्रिमेन्ट पेपर’ दिँदै विश्वास दिलाएर पुनः रु एक लाख चैत ३ गते दिएका हौँ । योसहित उनीहरूले हामीलाई ठगेको रु तीन लाख नौ हजार छ सय पुगेको हो ।’ वर्क पर्मिटका लागि तत्काल पैसा चाहिने भन्दै अञ्जानले आफूहरूसँग रकम मागेबमोजिमको रु एक लाख रकम प्रदान गरेको र राहदानीको मितिसमेत सकिन लागेकाले नयाँ राहदानी बनाएको अधिकारीको भनाइ छ । ‘सन् २०२४ मा श्रीमानको राहदानीको मिति सकिँदै थियो,’ अधिकारीले भनिन्- ‘हतारहतार गर्दै नयाँ राहदानी बनाएर अञ्जानलाई जिम्मा लगायौँ । राहदानी लगेसँगै अञ्जान बेपत्ता बने । हामी अहिले ऋणले घरको न घाटको भएका छौँ । सयकडा तीन रुपैयाँ ब्याजले पैसा खोजेको थियो । अहिले दिनहुँ साहु घरमै आएर पैसा माग्छन् । न साँवा तिर्न सकियो न ब्याज तिर्न सकियो । हाम्रो त उठिबास नै लाग्यो ।’ ‘घिमिरे र बरालले आफूहरूलाई ठगी गर्दै उठिबास लगाएसँगै न्यायको खोजीमा पटकरपटक जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी धायौँ,’ अधिकारीले भनिन्- ‘हाम्रो आवाज कसैले सुनेन, अनि मिडिया गुहारेका हौँ हामीलाई अन्याय भएको लेखिदिनुपर्यो ।’ ‘श्रीमान्लाई विदेश पठाएसँगै जीविकोपार्जनमा सहज हुने कत्रो सपना थियो,’ अधिकारीले गहभरि आँसु पार्दै भनिन्, ‘अहिले ठगले हामीलाई न घरको बनाए न घाटको ।’ अधिकारीसँगै ठगिनेमध्येका शिवसताक्षी-१० का दीपककुमार कोइरालाको पनि व्यथा उस्तै छ । रोमानिया जाने सुन्दर सपना बोकेर रु ७० हजारसहित कोइरालाले पनि राहदानी धर्म तिम्सिनालाई थमाए । तिम्सिनाले पनि कोइरालालाई ‘हेड अफिस’को सर भन्दै उनै अञ्जान बरालसँग जोडाएका थिए । युरोपको काम हेर्न अञ्जान भएको र आफूले खाडी र मलेसियाको मात्रै काम हेर्ने भए पनि ‘हामी दुवैले सहकार्य गरेर अफिस चलाएकाले तपाईंको रकम फस्दैन’ भन्दै सुरुमा राहदानीसहित रु ५० हजार लिएको र पछि वर्क पर्मिटका लागि दुई सय यूरो पठाउनुपर्छ भन्दै रु २० हजार लिएको कोइरालाको भनाइ छ । ‘हाम्रो एउटै गाउँ हो डराउनुपर्दैन, पहिला मेरो खगोल मेनपावर थियो अहिले युरोपको पनि काम हेर्न गरी यो मेनपावर चलाएका हौँ’ तिम्सिनाको भनाइ उदृत गर्दै कोइरालाले भने, ‘तपाईंको वर्क पर्मिट साउन १५ गते आइसक्छ । भदौको पहिलो हप्ता दिल्ली जानुपर्छ तयारी अवस्थामा बस्नू ।’ कोइरालाका अनुसार उनी अहिले एकाएक बेपत्ता बने । उनले भनेको वर्क पर्मिट पनि नक्कली हरेछ । घरमा जाँदा उनी भेटिँदैनन् । अफिस पनि महिनौँदेखि बन्द गरेर उनी फरार भएका छन् । यता कनकाई नगरपालिका-३ का अमित काफ्लेको पनि रोमानिया जाने योजना सपनामा परिणत भएको छ । उनलाई पनि सोही गिरोहले ठगी गरेको बताइएको छ । आफूले पनि अञ्जान बराललाई राहदानीसहित रु ५० हजार बुझाएको तर अहिले उनी एक वर्षदेखि सम्पर्कविहीन भएको काफ्लेको भनाइ छ । आफ्नै गाउँका भाइ सुसान भट्टराईमार्फत बरालसँग सम्पर्क भएको र बराललाई आफूले एनआइसी एसिया बैंकमार्फत रकम प्रदान गरेको काफ्लेको भनाइ छ । “रोमानियाको हम्बोर्ड भन्ने कम्पनीबाट अफर लेटर आएको भन्दै सुरुमा मलाई त्यो लेटर देखााएर अल्मल्याइयो । पछि बुझ्दा त्यो नाम गरेको कम्पनी नै रोमानियामा रहेनछ”, उनले भने । रोमानियामा रहेका आफ्ना साथीभाइलाई आफर लेटर पठाएर त्यो कम्पनीको विषयमा बुझ्न लगाउँदा अफर लेटरको लोकेशनमा कम्पनी नै नरहेको काफ्लेको दाबी छ । ‘उनीहरूले दिएको मसँग वर्क पर्मिट पनि छ तर, त्यो वर्क पर्मिट पनि नक्कली छ,’ काफ्लेले भने- ‘हम्बोर्ड कम्पनी देखाएर मलाई जीएमडी इन्डस्ट्रीको वर्क पर्मिट दिइएको छ । वर्क पर्मिटमा भएको त्यसको दर्ता नम्बर कोड गुगलले अर्कै कम्पनीको नाम अस्तर भन्ने देखाउँछ । त्यस आधारमा पनि म ठगिएँछु भन्ने लागेर एजेन्ट र मेनपावर कम्पनी पुग्दा उनीहरू मेनपावर बन्द गरेर फरार भइसकेछन् ।’ वैदेशिक रोजगारीमा जाने सुन्दर सपना सजाएर रकम बुझाएकामध्ये अधिकारी, कोइराला र काफ्ले प्रतिनिधि मात्रै हुन् । उनीहरूजस्ता धेरैलाई माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीका सञ्चालकले ठगी गरेको पीडितले आरोप लगाएका छन् । ओशो वर्ल्ड कन्सल्टेन्सीका नाममा लक्ष्मीप्रसाद बराल (अञ्जान) पदम योङ्हाङ, धर्म तिम्सिना र लक्ष्मण घिमिरेको गिरोहले आफूहरूबाट लाखौँ रूपैयाँ ठगेको पीडितहरूले बताएका छन् । उनीहरूबाट ठगिनेमा कनकाई नगरपालिका-३ निवासी सविना कोइराला भट्टराई (रोमानिया- रु एक लाख), कनकाई-३ कै सुभद्रा न्यौपाने कोइराला (रोमानिया- रु ५० हजार), कनकाई नगरपाालिका- ३ कै चिरञ्जीवी महत्तो (माल्टा- रु एक लाख), बिर्तामोड नगरपालिका-४ का विनोद उप्रेती (माल्टा- रु एक लाख), बुद्धशान्ति गाउँपालिका- ५ का गोविन्द ढुङ्गाना (माल्टा- रु एक लाख), मेची नगरपालिका-९ का ओम प्रकाश भण्डारी (माल्टा- रु एक लाख), बुद्धशान्ति गाउँपालिका निवाासी योगेश कोइराला (माल्टा- रु एक लाख), बिर्तामोड नगरपालिका-४ का विकास उप्रेती (रोमानिया- रु ७० हजार), शिवसताक्षी नगरपालिका- १० का दीपककुमार कोइराला (रोमानिया- रु ७० हजार) सहित राहदानी लगेको बताइएको छ । त्यस्तै ठगीमा पर्नेमध्ये अर्जुनधाराका रोमन सापकोटा (रोमानिया- रु ५० हजार), शिवसताक्षी-१० का गङ्गाप्रसाद पराजुली (रोमनिया- रु ७० हजार) कनकाई-४ का दुर्गाप्रसाद कोइराला (रोमानिया- रु ७० हजार), बुद्धशान्ति-२ का लक्ष्मीप्रसाद नेपाल (रोमानिया- रु दुई लाख), कनकाई नगरपालिका-३ का किरण कुमाल (रोमानिया- रु ५० हजार), कनकाई-३ का अशोक थापा (रोमानिया- रु ३० हजार), कनकाई-३ का डिकबहादुर भुजेल (रोमानिया- रु ५० हजार) सहित ७० जनाभन्दा धेरैको राहदानीसहित लाखौँ रुपैयाँ लिएर बेपत्ता बनेको पत्रकार भेटघाटमा जानकारी दिइयो । ठगी आरोप लागेका चारै जना अहिले सम्पर्कमा नरहेको पीडितको भनाइ छ । यो समाचार तयार गर्ने क्रममा उनीहरूले प्रयोग गर्दै आएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनीहरूको मोबाइल स्वीच अफ रहेको पाइएको छ । रासस
एनओसी नलिइ भारतमा नर्सिङ पढ्नेले मान्यता नपाउने
काठमाडौं । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइ भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइ सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताए । उनले त्यसका लागि संवद्ध निकायले सूचना जारी गर्नुपर्ने बताए । अहिले नेपाली विद्यार्थीहरु नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् । मंगलवार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै काप्रीले भारतीय सीमामा नर्सिङ कलेज खुलेको बारेमा कसले अनुसन्धान गरेको छ ? भन्दै प्रश्न गरे । उनले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले नियमनकारी निकायको प्रभावकारीता नदेखिँदा अभिभावक र विद्यार्थीहरु अन्योलमा परेको बताए । ‘संस्था खोलेर मात्रै विद्यार्थी अट्दैन । अहिले विद्यार्थीको हेड काउण्ट गर्नुहोला । अहिले विद्यार्थीहरु सीमापारी धेरै गएका छन् । खुला सीमाना छ, अनेक कारणले कहाँ गर्यो, कसरी गर्यो ? त्यो अर्को पाटो हो । हामीले १२ कक्षा भन्दा अगाडीको लाई त एनओसी दिँदैनौ भनेका छौं । एनओसी नलिइकन बोर्डर पारी विद्यार्थी पढ्न गयो ? हामीले सूचना जारी गर्न पर्दैन ? हामीले कस्तो धारणा बनाइरहेका छौँ भने देश भन्दा बाहिर पढ्न जानको लागि त एनओसी बनाएर वा लिएर जानुपर्छ नि’, काप्रीले भने । साथै उनले त्यसरी भारतका सीमा क्षेत्रमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई एनओसी नलिइकन पढ्न जान नहुने भन्दै आयोगले सूचना निकाल्न आवश्यक नभएको भन्दै सो काम सिटिइभीटीको भएको संकेत गरेका छन् । ‘विदेशी मामिला छ भने नेपाल सरकार, नेपाल सरकारबाट परराष्ट्र मन्त्रालय हुँदै गएर कतिपय विषय बाहिर पठाउने अवस्था छ । नर्सिङ पढ्न नेपाली विद्यार्थी बाहिर गएको छन् भने शिक्षा मन्त्रालयको वैदेशीक अनुमति पत्र (एनओसी) नलिइकन कोही पनि विद्यार्थी बाहिर गयो भने त्यसलाई हामीले भोलि मान्यता दिनेछैनौं भनेर संस्थाहरुले सूचना निकाल्नु पर्दैन ? जसले पढाउँछ जसले नियमन गर्ने संस्था हो, त्यहाँबाट काम हुनुप¥यो नि । अनि विद्यार्थी र अभिभावकलाई भ्रम हुँदैन’, काप्रीले भने । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा अयोगले समन्वय नगर्दा समस्या निम्तिएको बताए । उनले भारत सरकारले १५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये अधिकांश बोर्डरमा कलेज स्थापना भएको बताए । अधिकारीले आयोगले प्रभावकारी समन्वय नगर्दा अहिले ७३ वटा नर्सिङ कलेज बन्द अवस्थामा रहेको बताए । उनले आयोगले सिटिइभिटी र विश्वविद्यालयको सम्बन्धन लिएको कलेज चलाउन नपाइने र फुटाउनुपर्ने भनेर अपव्याख्या गरेको बताए ।
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी गरेको हो । अढतीस दिनदेखिको तालाबन्दीले विश्वविद्यालयका कामकाज प्रभावित भएका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । एमाले निकट अनेरास्ववियुले सहमतिमा ताला खोले पनि अरु विद्यार्थी सङ्गठनको ताला हालसम्म खुल्न नसकेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । ‘विद्यार्थी सङ्गठनले नियुक्ति खारेजीको माग राखेका छन्’, उनले भने, ‘विश्वविद्यालयले नियमसङ्गत गरेको नियुक्त खारेज नहुने भएपछि पटक–पटक वार्ता र संवाद हुँदा पनि निष्कर्षमा पुग्न सकिएको छैन ।’ विश्वविद्यालयमा भएको तालाबन्दी महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन । विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ । यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो । विद्यार्थी सङ्गठनले भने आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी खोल्न नसक्ने बताएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले एक महिनासम्म तालाबन्दी हुँदासमेत विश्वविद्यालयका पदाधिकारीले कुनै चासो नदिएको बताए । ‘विश्वविद्यालयमा राजनीतिक भागवन्डा अन्त्य हुनुपर्छ’, उनले भने, ‘माग पूरा नभएसम्म ताल खुल्दैन ।’ एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले समाजशास्त्र छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएकाले तालाबन्दी गरेको बताए । ‘विश्वविद्यालयका पदाधिकारीले आफ्नो कार्यकाल सकिने बेला आर्थिकलाभ हुने गरी आङ्गिक क्याम्पसको सम्बन्धन दिएका छन्’, उनले भने, ‘विश्वविद्यालयले गरेका अवैध नियुक्ति खारेज हुनुपर्छ ।’ विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबन्डाले विशवविद्यालय धरासायी हुँदै गएको छ । विश्वविद्यालयसँग कुनै माग भए वार्ता र संवादका माध्यमबाट समाधान गर्नुको साटो लामो समयसम्म बन्द, हडताल हुनु दुःखद् भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्त बताउँछन् । ‘राजनीतिले हाम्रा संस्थालाई दुस्प्रभावित गर्दै आएको छ’, उनले भने, ‘विश्वविद्यालयमा प्राध्यापक कर्मचारीको राजनीतिक संलग्नताले पनि विवाद हुने गरेको छ । उच्च शिक्षाको पहुँचबाट लामो समय वञ्चित रहेको सुदूरपश्चिममा स्थानीय जनताको माग र सबैको साझा प्रयासले २०६७ सालमा सुदूरपश्चिमेलीको मागबमोजिम नेपाल सरकारले यस भेगमा विश्वविद्यालयको स्थापना गर्यो । विश्वविद्यालय स्थापना हुनु खुसीको विषय भए पनि विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक र अन्य कर्मचारी नियुक्तिमा हुने राजनीतिक भागबन्डाले विश्वविद्यालयको साख खस्किँदै गएको छ । रासस