राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले दिए आवेदन
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले आवदेन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेअनुसार वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी सहित ९ जनाले आवेदन दिएको आयोगले जनाएको छ । प्राडा श्रीकृष्ण गिरी, प्राडा संगिता सिंह भण्डारी, प्राडा पियुस दाहाल, प्राडा मनेनप्रसाद गोर्खाली, प्राडा सुमनकुमार श्रेष्ठ, डा, प्रविण मिश्र, डा विद्यानिधि पौडेल, डा प्रमोदकुमार यादव र डा अन्जनीकुमार झाले आवेदन गरेको समितिले जनाएको छ । समितिले साउन २६ गते उपाध्यक्ष पदका सूचना प्रकाशिन गर्दै भदौं ८ गतेसम्मको समय तोकेर दरखास्त आह्वान गरेको थियो । स्वीकृत भएका आवदेकहरुमध्येबाट एकजनालाई मन्त्रीपरिषदले ४ वर्षका लागि उपाध्यक्षमा नियुक्ति गर्नेछ । वर्तमान उपाध्यक्ष गिरीको कार्यकाल भदौ २६ गते सकिँदैछ ।
इन्जिनियरिङमा शुल्क वृद्धि फिर्ताको माग गर्दै अनशनमा विद्यार्थी
पाटन । इञ्जिनीयरिङ अध्ययन संस्थानले गरेको अस्वभाविक शुल्क वृद्धिको विरोधमा पुल्चोकमा पाँच दिनदेखि आमरण अनशन जारी छ । नेपाल विद्यार्थी सङघ (नेविसङ्घ) पुल्चोक एकाइ सभापति सुलभ चौलागाई पाँच दिनदेखि आमरण अनशनमा बसेका छन् । आमरण अनसनको पाँचौँं दिन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुल्चोक पुगेर अनशनरत चौलागाईको अवस्था र मागका बारेमा जानकारी लिएका छन् । अनशनरत चौलागाईको अवस्थाको जानकारी लिएपश्चात कांग्रेस नेता केसीले नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले पनि यस विषयमा गम्भीरताका साथ चासो दिनुपर्ने बताए । ‘विद्यार्थीको मागका विषयमा सम्बन्धित पक्षले ध्यान दिनुआवश्यक छ, विद्यार्थीलाई अनशनमा राखेर इञ्जिनीयरिङ अध्ययन संस्थानका जिम्मेवार व्यक्ति आनन्दसँग निदाउन मिल्दैन, यो विषयको समाधानका लागि नेविसङ्घ केन्द्रीय समितिले पनि गम्भीरताका साथ चासो लिनु आवश्यक छ’, उनले भने । इञ्जिनीयरिङ अध्यायन संस्थानले शुल्क वृद्धि गरेको जानकारी गत साउन ११ गते विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशति भएपछि मात्रै जानकारी पाएको नेविसङ्घ लगायतका विद्यार्थी सङ्गठनको भनाइ छ । शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्याथी युनियन, नेविसङ्घ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले यही भदौ ६ गते सार्वजनिक विज्ञप्तिसमेत जारी गरेका थिए । संस्थानले आर्थिक वर्ष २०८०/८१ देखि लागू हुनेगरी गरी तीन लाख १८ हजारबाट रु सात लाख ७५ हजार चार सय २० पु¥याएको हो । आमरण अनशनस्थलमा भेटिएका पुल्चोक क्याम्पस नेविसङ्का निवर्तमान एकाइ सभापति रमेश केसीले भने, ‘यो अवैज्ञानिक र अस्वभाविक शुल्क वृद्धिले एउटा ठूलो वर्गको इञ्जिनीयरिङ अध्ययन गर्ने सपना नै तोडिदिएको छ ।’ आमरण अनशन सुरु भएदेखि आजसम्म एक सयभन्दा बढी नेविसङ्घका केन्द्रीय सदस्यले उपस्थित भएर साथ दिएको अनशनस्थलमा भेटिएका पश्चिमाञ्चल इञ्जिनीयरिङ क्याम्पसका नेविसङ्घ सभापति प्रदीप पनेरुले जानकारी दिए ।
लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता हुने
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरीय हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनले गर्ने भएको हो । यही भदौ २६ गतेदेखि तारकेश्वर नगरपालिकाको हलमा प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक रामकृष्ण बिसीले जानकारी दिए । प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक विसीले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ । क्लबले सामुदायिक विद्यालयका विद्यार्थीहरुको क्षमता वृद्धि गर्न समेत हाजिरी जवाफ प्रतियोगिताले ठुलो भूमिका खेल्ने विश्वास लिएको छ । लायन्स क्लब अफ काठमाडौं डाउनटाउनले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसपटक भने क्लबले विद्यार्थीको समसामयिक ज्ञानको दायरा बढाउन हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो । क्लबले रुम टु रिड संस्थामार्फत कक्षा १ देखि १० सम्मका करिब १० हजार छात्राहरुलाई पोशाक वितरण गरेको छ । क्लबले स्वास्थ्य शिविर, खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, पोशाक वितरण जस्ता सामाजिक कार्यहरु गर्र्दै आइरहेको छ ।