साङ्घाई इन्टरनेशनलबाट पढेका ९८ नेपालीको उपाधि संकटमा

काठमाडौं । भारतको मणिपुर राज्यस्थित साङ्घाई इन्टरनेशनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय नेपाली विद्यार्थीको शैक्षिक उपाधि खारेजी हुने भएको छ । 

यस विषयमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै उनीहरूलाई आफ्नो शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने कागजात ३५ दिनभित्र पेस गर्न अल्टिमेटम दिएको छ।

भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ मा उक्त साङ्घाई इन्टरनेशनल युनिभर्सिटीलाई मान्यता सूचीबाट हटाएको थियो । साथै सो विश्वविद्यालयबाट जारी गरिएका शैक्षिक उपाधिहरूलाई उच्च शिक्षा तथा सरकारी रोजगारीका लागि अवैध घोषणा गरिएको थियो ।

उक्त विश्वविद्यालयमा अध्ययन गरेका ९८ नेपालीले समकक्षता प्रमाणपत्र पाउन त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए । सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले छानबिन प्रक्रिया अघि बढाएको हो ।

केन्द्रले सार्वजनिक गरेको सूचनामा ९८ जनाको नाम, ठेगाना तथा अध्ययन गरेको विषयसमेत उल्लेख गरिएको छ ।

केन्द्रबाट जारी गरिएका समकक्षता पत्रहरू छानबिन भइरहेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रको सक्कलप्रति तथा सम्बन्धित शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने प्रमाणसहित यस केन्द्रमा लिखित रूपमा पेस गर्न भनिएको छ ।

null

Share News