त्रिविको दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्राप्त गर्न लागिएको हो । त्रिविले यो पटक हरेक वर्ष प्रदान गर्दै आएको कुलपति पदक भने वितरण नगर्ने जनाएको छ। नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मङ्सिर २९ गतेभित्र स–प्रमाण परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ । जसअन्तर्गत गत २०७८ सालको एम फिल तहमा १ जना २०७६ सालको स्नातोकोत्तर तर्फ १ जना र २०७७ सालको स्नातोकोत्तर तहमा ४ जना र २०७८ सालको स्नातकतहमा १ जनाले स्वर्ण पदक पाउने भएका छन् भने बाँकीले विभिन्न विद्याको पुरस्कार पाउने भएका छन् ।

इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न, ७८२ जना विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी ( अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बीएससी ( अनर्स) मल्टिमिडिया टेक्नोलोजी का ७१० जना विद्यार्थी सहभागी भएका थिए भने स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका थिए । समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आइटी तह पुरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित भएका थिए । वार्षिक दीक्षान्त समारोह,  स्नातक कक्षाको शैक्षिक उत्कृष्टता मनाउने दुई दिने भव्य कार्यक्रम भएको कलेजको भनाइ छ  । यस वर्ष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिको लागि दुई उत्कृष्ट विद्यार्थी  सन्देश तिम्सिना र  आशिष आचार्यलाई छात्रवृत्ति प्रधान गरिएको पनि कलेजले जनाएको छ । साथै आइएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र  मोहम्मद तौसिफ रेजा सम्मानित भएका थिए । वार्षिक स्नातक समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो भाइस चान्सलर, नोना म्याकडफल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे। डा. ब्लोइसी साथै प्रोफेसर म्याकडफलले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबिचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरेको कलेजले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

शैक्षिक सुधारका कार्यक्रम गर्दै महानगर, केयुसँग गर्यो सम्झौता

काठमाडौं । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले काठमाडौं विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य भएको महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताए । विभागका प्रमुख कोइराला र विश्वविद्यालयको शिक्षा विभागका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबमोजिम महानगरपालिकाले गत वैशाखदेखि लागु गरेको शिक्षामा सिप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सीप विकास कार्यक्रम, शिक्षण सुधार, प्रारम्भिक वाल विकास कक्षाको स्तरोन्नतिमा सहकार्य हुनेछ । हाल महानगरपालिकाले ८९ सामुदायिक विद्यालयमा दुई हजार २०२ जना शिक्षकले अध्यापन गराउँछन् । विभागका प्रमुख कोइरालाले सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम क्रमशः कार्यान्वयन गरिने बताए । महानगरपालिकाले ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यान्वयन गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।