दरबार हाइस्कूलले शुरु गर्यो ‘रोवोटिक्स कोडिङ’ कक्षा

काठमाडौं । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ । त्यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई ‘पाइथन प्रोग्रामिङ’ सिकाइएको छ । विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् । महानगरपालिकाका १४ विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ कक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने विद्यालयका प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिए । उनका अनुसार कक्षाका लागि बितेका हप्तामा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीको गहिरो चाख देखिन्थ्यो । उनीहरू विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट पारेका थिए । यी कक्षाहरू कामपाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गत सञ्चालन भएका हुन् । डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले ‘डिजिटल एन्ड वियोण्ड’सँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रममा लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी छन् । क्लबका विद्यार्थीले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् । कामपाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गग शुक्रबार सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्रस्तरमा ‘डेङ्गी’ शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कामपाले जीवनउपयोगी शिक्षा दिने मुख्य उद्देश्यअनुरूप गत वैशाखदेखि ८९ वटै विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र फाउण्डेसनले संयुक्त रूपमा विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला गरेको हो । सूचना प्रविधिको अध्यापन गराउने कलेजहरूको सहयोगमा क्यान महासंघले निम्नबर्गिय एवं जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । काठमाडौंको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा क्यानले ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ । ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगत चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म १ सय १० जना विद्यार्थीहरू अध्ययनरत छन् । फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना र आइसिटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । क्यान महासङ्घ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबिच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि।एस।सी। आइटिको अध्ययन गर्न पाउनेछन् । नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थामा प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घ र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमा भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ । छात्रवृत्तिले दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरूले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा÷व्यवसाय बनाउन मद्दत पुग्ने क्यान महासङ्घका अध्यक्ष रणजित कुमार पोदारले बताए । क्यान महासङ्घसँगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरूलाई पनि सार्वजनिक–निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले बताए ।

नेपालमा सिकाइ र विकासका कार्यक्रम सञ्चालन गर्न एसीडीएन र केपीएमजी इण्डियाबीच सहकार्य

काठमाडौं । एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल (एसीडीएन) र अन्तर्राष्ट्रिय स्तरको भारतको अग्रणी व्यावसायीक संस्थाहरू मध्ये एक, केपीएमजी इन इण्डियाले नेपालमा आईएफआरएस आफआरएस, वित्त तथा लेखा (फाइन्स एण्ड एकाउन्टिङ), व्यवसायीक सहकार्य तथा डिजिटल विश्लेषण लगायतको क्षेत्रमा गतिशील सिकाइ र क्षमता विकासका कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । क्षमता विकास कोर्षहरु सञ्चालन गरि व्यक्तिगत र संस्थागत सीप तथा ज्ञान वृद्धि गर्नु यस साझेदारीको प्रमुख उद्देश्य रहेको छ । यस सहकार्यको घोषणाले नेपालको वित्त तथा लेखा प्रणाली क्षेत्रको निरन्तर सिकाइ र क्षमता अभिवृद्धिको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । यस समझदारीमा केपीएमजीका तर्फबाट एसोसिएट पार्टनर, शुभ्रो भट्टाचार्य र एसीडएनका तर्फबाट संस्थाका प्रबन्ध निर्देशक नारायण सुन्दर सिल्पकारले भर्चुअली हस्ताक्षर गरेका थिए । यस साझेदारी अन्तर्गत सिकाइ विकास र प्रवाहमा विज्ञको रुपमा परिचित केपीएफजीले वित्त तथा डिजिटल क्षेत्रमा लामो अनुभव भएका विशेषज्ञहरुको समूहले स्थापना गरेको नेपालको प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक, एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपालसँग सहकार्य गर्नेछ । यस सहकार्यको मूख्य उद्देश्य नेपालमा आइएफआरएस, वित्त तथा लेखा, व्यवसायी सहकार्य तथा डिजिटल विश्लेषण लगायतको क्षेत्रमा क्षमता विकासको विभिन्न कोर्षहरुको सञ्चालन गराउने रहेको छ । यी कोर्षहरु डिजिटल, भौतिक वा संयुक्त रुपमा नेपालको आवश्यकता अनुसार सञ्चालन गरिने छन् । यस रणनीतिक समझदारी बारेमा टिप्पणी गर्दै, शिल्पकारले भने, ‘एसीडीएन र केपीएमजी इन इण्डिया बीचको सहकार्यले नेपालको सिकाइ र क्षमता अभिवृद्धि परिदृश्यमा गहिरो प्रभाव पार्ने लक्ष्य राखेको छ । दुवै संस्थाको सामूहिक विशेषज्ञता र स्रोतहरू प्रयोग गरेर यस समझदारीले तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । साथै, यस समझदारीले मापनयोग्य सीपहरू, परिणाममुखी सिकाइ कार्यक्रमहरू र वास्तविक विश्वस्तरका आवश्यकताहरू सम्बोधन गरि व्यक्ति र संस्थाहरूलाइ आफ्नो दक्षता बढाउन र राष्ट्रको विकास र सफलतामा योगदान दिन क्षमता प्रदान गर्नेछ ।’ एसीडीएन र केपीएमज भारतबीच भएको रणनीतिक साझेदारीले नेपालमा सिकाई र विकास अवसरको नयाँ युगको थालनी गर्ने विश्वास लिइएको छ । यस साझेदारी अनुसार सञ्चालन गरिने कार्यक्रमहरुमा प्रशिक्षार्र्थीहरूले केपीएमजी भारतका व्यवसाइक अभ्यास गर्ने विज्ञहरुद्धारा शतप्रतिशत प्रत्यक्ष रुपमा दिइने कक्षाहरुमा सहभागी हुन पाउनेछन् । व्यवसाइक अभ्यास गर्ने विज्ञहरु प्रशिक्षकका रूपमा राख्नुको मुख्य कारणमा प्रशिक्षार्र्थीहरूलाइ अनुभवमुुलक व्यवहारिक तालिम प्रदान गर्ने रहेको छ। यस सहकार्यको बारेमा बोल्दै केपीएमजी भारतका एसोसियट पार्टनर सुभ्रो भट्टचार्यले भने, ‘एसीडीएनसँग पार्टनसीप गर्न पाउँदा उत्साहित भएका छौं र हाम्रो सहभागिताले नेपालमा सीपको अभावलाई पुर्ती गर्ने पुलको रुपमा सहयोग गर्ने छ । हाम्रा कार्यक्रमहरु लक्षित वर्गको आवश्यकताअनुसार निर्माण गरिएका छन् । हाम्रा कार्यक्रमद्धारा वर्तमान व्यवसायीक वातावरण अनुकुल परिवर्तन हुन सक्ने गरी क्षमतायुक्त जनशक्ति निर्माण गर्ने प्रयास गर्ने छौं ।’ एसीडीएन वभिन्न क्षेत्रहरूमा गहन अनुभव भएका विज्ञद्धारा स्थापित नेपालको प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक संस्था हो । यसले व्यक्तिगत र संस्थागत रुपमा प्रशिक्षार्र्थीहरूको सीप र ज्ञान वृद्धि गर्न उच्च गुणस्तर, व्यापक र अनुकूल प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरु, कर्पोरेट क्षेत्र, विकास क्षेत्र, सरकारी निकाय, सूचना सुरक्षा तथा साइबर सेक्युरिटीको क्षेत्रमा विशेष फोकस गर्दै यी क्षेत्रमा उच्च तहका विज्ञहरु उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।