आईओईका सबै तहका आजबाट हुने परीक्षाहरू स्थगित, प्रवेश परीक्षा अनिश्चित
काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले उल्लंघन गरेपछि समस्या देखिएको छ । क्यालेन्डर तयार गर्नुअघि सबै विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्ने मामलामा त्रिवि चुकेको छ । आईओईले शुल्क वृद्धि गरेको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आन्दोलन जारी राखेका छन् । आन्दोलनको कारण आज आइतबारदेखि सञ्चालन हुने सबै सेमेस्टरको परीक्षा स्थगित भएको छ भने २५ गतेबाट हुने प्रवेश परीक्षा कहिले हुने अन्योल देखिएको छ । आन्दोलनका कारण आजबाट शुरू हुने परीक्षाहरू २२ गतेबाट हुने भएको छ । आईओई पनिकाले जारी गरेको सूचनामा पहिलो सेमेस्टरको २५, दोस्रोको २४, तेस्रोको २२ र चौथोको २५ गते तय भएको छ । आईओईले २५ गते प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको थियो । ‘सेमेस्टरको परीक्षा हुने भएपछि प्रवेश परीक्षा कहिले गर्ने ? भन्ने विषयमा निर्णय हुन बाँकी रहेको आईओई स्ववियु कोषाध्यक्ष दीपसागर ज्ञवालीले बताए । उनले आयोगले सार्वजनिक गरेको क्यालेन्डरलाई असर नपर्ने गरी परीक्षा सञ्चालन गर्न आग्रह गरिसकेको बताए । आईओइकै कारण क्यालेन्डर कार्यान्वयन हुन चुनौती भएको छ । आयोगले भदौ १ गतेबाट १३ विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागु भएको जनाएको थियो । आयोगले राजनीतिक प्रतिबद्धता नभएसम्म पूर्ण रूपमा क्यालेन्डरले तोेकेको मिति कार्यान्वयन हुन नसक्ने जनाएको छ । आयोगका अध्यक्ष देवराज घिमिरेले विश्वविद्यालयका पदाधिकारी, स्ववियु, विद्यार्थी संघ संगठन र राजनीतिक पार्टीको प्रतिबद्धता नआएसम्म क्यालेन्डर कार्यान्वयन हुन कठिन हुने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीनिकट अनेरास्ववियुका नेताले कार्यालयमा तोडफोड गरेका बताए । ‘घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेका छौँ’, उनले भने, ‘उनीहरुले मेरो र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका छन् ।’ उनले १२/१५ जनाको समूहमा आएका विद्यार्थी समूहले कामकाज चलिरहेकै बेला तोडफोड गरेका बताए । विद्यार्थीको तोडफोडबाट परीक्षा नियन्त्रक नाथ र सिंहको कार्यकक्षमा रहेका टेबुल, सिसा, कुर्सीलगायत अन्य कार्यालय सामग्रीमा क्षति पुगेको छ । अनेरास्ववियु कञ्चनपुरका नेताले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर गत साउन १८ गतेदेखि कार्यालयमा तालाबनदी गरेको थियो । उक्त ताला पाँच दिनअघि प्रशासनले तोडेको थियो । आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थीले लगाएर ताला खोलिएको विषयमा आफूहरुको असन्तुष्टि रहेको समाजवादीनिकट अनेरास्ववियुले जनाएको छ ।
आइएनजी स्किल एकेडेमीले वीरगञ्जमा आयोजना गर्याे प्रविधि प्रदर्शनी
काठमाडौं । आइएनजी स्किल एकेडेमीले वीरगञ्जको टाउन हल पार्टी प्यालेसमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ । कार्यक्रममा रोबोटिक्स, हिड्ने पियानो, ड्रोन र गो कार्टमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र भीएफएक्स जस्ता रोमाञ्चक प्रदर्शनी समावेश भएको एकेडेमीले बताएको छ । फ्युचरामाले प्रविधि र दीगो व्यापारलाई पनि सम्बोधन गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई खेती गर्न प्रोत्साहित गरेर उद्यमशीलता र आइटीलाई एकाकार गर्ने विषय प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा सफल व्यवसाय सुरु गर्न र प्रविधिको सहायताले त्यसलाई बढाउन गरेको सहयोगको बारेमा भएको अभिमुखीकरण चाखलाग्दो भएको कार्यक्रममा सहभागी आयुष श्रेष्ठले बताए । वीरगञ्जनको फ्युचरामाले विभिन्न विद्यालय र कलेजका करीब १५ सय विद्यार्थीलाई जम्मा गरेर कार्यक्रम आयोजना गरिएको थियो ।