अब काठमाडौंका विद्यालयहरुले डीआई राख्न नपाउने, महानगरले दियो निर्देशन
काठमाडौं । अब काठमाडौंमा सञ्चालित विद्यालयहरुले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरका सबै विद्यालयलाई डीआई नराख्न निर्देशन दिएको हो । विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराएको, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पारेको र शारीरिक सजायसमेत दिने गरेको गुनासो आएसँगै महानगरले उक्त निर्देशन दिएको हो । साथै, महानगरले विद्यालयमा विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गराउन पनि सबै विद्यालयलाई आग्रह गरेको छ ।
सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग
काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागन सामाजिक उत्तरदायित्व अन्तर्गत झुवानी माध्यामिक विद्यालय, रत्ननगर ०५, झुवानी चितवनमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको हो । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संग को सहकार्यमा सहयोग प्रदान गरिएको हो । विद्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गरे । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने, नल्याए ननग्रेड हुने
NEB भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले भने, ‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।’ कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनु पर्ने भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताए । मार्गनिर्देशनमा नेशनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षराङ्क प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताए । उनले यस्ता भ्रममा नपरी सिकाइलाई मजबुद बनाउँदै लैजान विद्यार्थीलाई आग्रह गरे । कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेशनल प्याप्सनका केन्द्रीय सदस्य जिबि खड्कालगायतले कोभिडका कारण बिग्रिँदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्नेमा जोड दिए । रासस