अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुने छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपील गर्दछु, अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन्, मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन,’ उनले भने । संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दावी गर्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताए । ‘अब मेरिटोक्रेसी सुरु हुनेछ र त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु बन्नेछ, नेपालका विश्वविद्यालयहरू रित्तिँदै जाने, युवा जनशक्तिसँगै पूँजी पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहुआयामिक कदम चालिँदैछ,’ उनले भने । विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरूरी तर ७ वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक आफूले संसदमा पेश गरेको उल्लेख गरे । उनले भने, ‘त्यसका कमीकमजोरी सच्याई छिटै पारित गर्न म प्रतिबद्ध छु, विद्यालयलाई राजनीतिक क्रीडास्थल बनाउनु हुँदैन भन्ने मेरो निष्कर्ष छ, यसमा म आम शिक्षक, राजनीतिक दल र अन्य सरोकारवालाको साथ चाहन्छ ।’ प्रधानमन्त्री प्रचण्डले सात प्रदेशमा सुविधायुक्त स्टुडियो निर्माण गरी दुर्गम र दक्ष शिक्षकको अभाव भएका स्थानीय तहहरूमा रहेका विद्यालयहरूमा आगामी शैक्षिक वर्षदेखि नै सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गरिने जानकारी दिए ।
अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनेछैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने बताएका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै उनले विश्वविद्यालयमा मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने बताए । ‘अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुँदैन, विश्वभरी रहेका क्षमतावान जो सुकैले पनि योजनाका आधारमा नेतृत्वको लागि दाबी गर्नसक्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
एक करोड ३९ लाख निजी खर्चमा विद्यालय निर्माण
टक्सार । लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिएका छन् । पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिए । विद्यालयको नयाँ छकोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन् । पूर्वब्रिटिश आर्मी राईले विद्यालयको भौतिक संरचना जीर्ण देखेकाले आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताए । राईले भने, ‘मैले स्वास्थ्य संस्था बनाउने विचार गरेको थिएँ तर स्वास्थ्य चौकी बनिसकेको रहेछ, त्यसपछि विद्यालय भवन जीर्ण देखेपछि शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने देखेर भवन निर्माण गरेको हुँ ।’ सत्तरी वर्षका राईले विद्यालय भवनमात्र नभई विद्यार्थी खेल्ने ठाउँसमेत बनाइदिएका छन् । गाउँपालिकाका अध्यक्ष किरण राईले आफू जन्मेहुर्केको ठाउँमा कृष्णबहादुरले गर्नुभएको काम प्रशंसनीय भएको बताए । अध्यक्ष राईले भने, ‘गाउँको विकास गर्नुपर्छ भन्ने भावनाका साथ कृष्णबहादुरले विद्यालयका लागि पक्की भवन बनाएर कीर्ति कायम गर्नुभएको छ ।’ नवनिर्मित छकोठे पक्की भवन र विद्यालयको खेलमैदानमा नै खेल्ने सामग्री पाउँदा विद्यार्थीसमेत दङ्ग छन् । बसाइँसराइ, जन्मान्तरलगायतका कारण हरेक वर्ष विद्यार्थी घट्दै गएको अवस्थामा गुणस्तरीय शिक्षाका लागि बनेको भवनले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटीले बताए । नवनिर्मित भवनको पञ्चकन्यासहित निर्माणकर्ता कृष्णबहादुर र गाउँपालिकाका अध्यक्ष राईले सोमबार नै उद्घाटन गरे । रासस