आईटीका विद्यार्थी भन्छन् : एप इन्स्टल गर्दा हत्तपत्त अलाउ नगर्नुस्, ह्याक हुन सक्छ

काठमाडौं । इस्लिङ्टन कलेजले ‘फ्युचरामा २०२३ ’ नामक दूरदर्शी तीन दिने प्राविधिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेकको छ । कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न उक्त कार्यक्रम आयोजना गरेको हो । कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा बिहीबार सुरु भएको उक्त प्रदर्शनीमा आईएनजी समूहअन्तर्गतका इस्लिङ्टन, इटहरी इन्टरनेसनललगायत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आईओटी) सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु अवलोकनका लागि राखिएका थिए । कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन, र गोकार्ट जस्ता मनमोहक बुथहरू राखिएको थियो, जसले प्राविधिक विकासलाई देखाउँदछ । लाइभ डेमोमा ३० औं शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र यस्तै अन्य समावेश थिए । टेक्नोलोजीमा मात्र केन्द्रित नभएको उक्त कार्यक्रमले प्रविधि र दिगो व्यापारको जटिल प्रतिच्छेदनलाई पनि सम्बोधन गरेको थियो । स्थानीय नर्सरीबाट प्राप्त बिरुवाहरू बाँडेर खेती गर्न प्रोत्साहन गरेको उक्त कार्यक्रमले सहभागीहरूलाई उद्यमशीलता र आईटीको क्षेत्रमा उनीहरूको भविष्यका उद्यमहरूको कल्पना गर्न प्रेरणा दिएको छ । आफूले चलाउने मोबाइलमा कुनै पनि एप इन्स्टल गर्ने क्रममा अधिकांश प्रयोगकर्ताले एउटै गल्ती गर्ने गर्छन् । त्यो एपले एक्सेस मागेका (पहुँच बनाउन खोजेका) सबै कुरामा भकाभक अलाउ’ थिच्ने । त्यसैमध्येका एक हुन् आर्यन राई । कालिकास्थानको एस्फोडेल पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले अबदेखि भने हतारहतार अलाउ थिच्नु गल्ती हुने बुझेका छन् । ‘हामीले अलाउ थिचेपछि ती एपले हाम्रो मोबाइलको क्यामरा, फोटो, कन्ट्याक्ट, इमेल, वालेट, क्यालेन्डर सबैमा एक्सेस बनाउँदा रहेछन्,’ आर्यन भन्छन्, ‘अथेन्टिक एपलाई मात्रै र आफूलाई दिन मन लागेको कुरामा मात्रै अलाउ गर्नुपर्ने रहेछ । जुनसुकै एपलाई मोबाइलको क्यामरा तथा फोटामा अलाउ गर्दा ह्याक गरिदिने डर हुँदोरहेछ ।’ आईटी र व्यवसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिवद्धता प्रदर्शन गरेको छ ।

विश्वविद्यालयको पुस्तकालयमा अध्ययन गर्दा विद्यार्थीले वर्षको ११ सय तिर्नुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क लिने भएपछि विद्यार्थी आक्रोशित भएका छन् । विद्यार्थीहरुले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ती जनाएका छन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको छ । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६०० रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी ७०० रुपैयाँ, एक वर्ष सदस्यता बन्न १ हजार रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ । विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताए । लामिछानेले पुस्तकालयमा स्वतःस्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा नभएको बताए । विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरुलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताए । उनले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताए । यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गरे । उनले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रुपमा विपन्न विद्यार्थी मर्कामा परेको बताए । रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताए । उनले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाईलो लागेको बताए । उनले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरुबीच द्वन्द्व, विवादहरु नियमन गर्न शुल्क तोकेपनि आर्थिक रुपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताए । यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताए । उनले झोला राखेर विद्यार्थीहरु बाहिर जाने र केन्द्रिय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताए । केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताए । उनले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिए । उनले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरुलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताए ।

ग्लोबल रिचले भदौ ८ गतेदेखि अष्ट्रेलियन एजुकेसन फेयर गर्दै

काठमाडौं । ग्लोबल रिच नेपालले यही भदौ ८ गतेबाट काठमाडौंसहित देशका प्रमुख चार शहरमा वृहत ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । भदौ ८ गते काठमाडौंको डिल्लीबजारमा भदौ ९ गते पोखरामा, भदौ १० गते चितवनमा, भदौ ११ गते बुटवलमा आयोजना हुनेछ । ग्लोबल रिच नेपालको डिल्लीबजारस्थित बाटुले घरमा आयोजना हुने बेलामा अष्ट्रेलियाका ३० भन्दा धेरै विश्वविद्यालय तथा कलेजहरुका प्रतिनिधि सहभागी हुने कम्पनीले जनाएको छ । सो मेलामा अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुले छात्रवृत्ति, शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, इन्टेक आदि बारेमा प्रत्यक्षरुपमा जानकारी लिनसक्नेछन् । यी विश्वविद्यालयहरुमा सत प्रतिशतसम्म छात्रवृत्ति र आठ बर्षसम्म अध्ययनपछि काम गर्नसक्ने सुविधा पनि रहेको छ । यो शैक्षिक मेला बिहान ११ बजे देखि अपरान्ह ५ बजेसम्म चल्नेछ ।