११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाईदै

स्याङ्जा । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवन ज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको बिरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवन ज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य उद्देश्यसहित विद्यार्थीलाई विद्यालयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने गरिएको विद्यालयका प्रधानाध्यापक सामबहादुर गुरुङले बताए । ‘यस विद्यालयमा ६ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी बिहान ७ बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्यालयमै हुन्छन्’ उनले भने, ‘शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको छलफलबाट अतिरिक्त समयमा पनि विद्यार्थी विद्यालयमै रहने निर्णय गरेको हो ।’ अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई घरमा किताब पढाउन तथा सोधेका कुराहरू सिकाउन नसक्ने भएकाले विद्यालयमै राखेर सिकाउने गरिएको हो । बिहानदेखि साँझसम्म विद्यार्थीले सैद्धान्तिकका साथै व्यावहारिक ज्ञान लिने गरेका छन् । अतिरिक्त समयमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत आयमूलक तरकारी, मौरी, च्याउ, फलफूल, सिलाइबुनाइलगायत सीप सिक्ने गरेका छन् । ‘बिहान ७ बजे विद्यालय आएका विद्यार्थी एकैचोटी साँझ साढे ६ बजे विद्यालयबाट घर जान्छन्’ उनले भने, ‘गृहकार्य पनि विद्यालयमै गर्छन्, जसले गर्दा नजानेका केही कुरा भए विषयसँग सम्बन्धित शिक्षकलाई प्रत्यक्षरुपमा सोध्न पाउँछन् ।’ जीवन ज्योतिमा विद्यालय समय १०–४ भन्ने छैन । बिहानदेखि साँझ अबेरसम्म दैनिक कक्षा सञ्चालन हुने गरेको छ । शिक्षकले बिहानैदेखि साँझसम्म तालिका मिलाएर अध्यापन गराउँदै आएका छन् । शनिबारको दिनमासमेत ‘सामाजिक आन्दोलन’ नाम दिई खेलकुद, नयाँ नयाँ खोज तथा रचनात्मक कार्य, नयाँ प्रतिभाको खोजी हुँदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थी आफैँले आफ्ना लागि शैक्षिक सामग्री किन्न सक्ने बनाउन पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको उनले बताए। विद्यालयले च्याउ खेती, सिलाइबुनाइ, वेल्डिङ, मौरीपालन जस्ता काम गरिसकेका छन् । अब केही दिनमा नै ह्याचरीबाट कुखुराका चल्ला उत्पादन गरी विद्यार्थीलाई उपलब्ध गराउने तयारीमा विद्यालय रहेको छ । बिहानैदेखि साँझ अबेरसम्म विद्यालय सञ्चालन हुने भएपछि विद्यालयले एउटा सवारी साधन खरिद गरी सञ्चालनमा ल्याएको छ । स्याङ्जाको विकट ग्रामीण भेगमा रहेको जीवनज्योतिले शैक्षिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ । ग्रामीण भेगबाट बसाई सरी शहरी क्षेत्रमा जाने क्रमलाई रोक्न गाउँमै गुणस्तरीय शिक्षा दिने अभियान थालिएको उनले बताए । गण्डकी प्रदेश सरकारले दश लाख, बिरुवा गाउँपालिकाले रु। पाँच लाखको सहयोग र स्थानीय समुदाय, अभिभावक, शिक्षकले दिएको चन्दाबाट तीस लाखमा बस खरिद गरेको छ । विद्यालयमा दैनिक प्रधानाध्यापक फेर्ने गरिएको छ । शिक्षकभित्रैबाट दैनिक प्रधानाध्यापक फेरी आलोपालोमा प्रशासन चलाउने अभ्यास पनि जीवनज्योतिले गरेको छ । रासस

त्रिविको उपकुलपतिमा तीन विवादित व्यक्तिको चर्चा, भ्रष्टाचार गरेकोदेखि थेसिस चोरेकोसम्म आरोप

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अहिले उपकुलपति छनोटको प्रक्रियामा छ । यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको चारवर्षे पदावधि कार्तिक १६ देखि सकिएपछि त्रिविमा सो पद रिक्त छ । शिक्षा मन्त्रालयअन्तर्गतको उपकुलपति सिफारिस समितिमार्फत् छनोट प्रक्रिया अघि बढिसकेको छ । हाल निमित्त उपकुलपतिको भरमा चल्दै आएको त्रिविको नेतृत्व गर्नका लागि ४३ जनाले आवेदन दिएका थिए । तर, १४ जनाको नाम सर्टलिष्टमा परेको छ । सर्टलिष्टमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, डा. तिर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापाको नाम परेको छ । फागुन २ गतेसम्म उनीहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुनेछ । त्यसपछिको अन्तिम प्रक्रिया अन्तर्वार्ता हुनेछ । सोही आधारमा त्रिविको उपकुलपति छनोट हुने बताइए पनि तीन जनाको नाम उपकुलपति बन्ने चर्चा सुरु भइसकेको छ । तर, तीनै जना विवादित छवि भएका पात्रकारूपमा परिचित छन् । हजारौं विद्यार्थीको भविश्यसँग जोडिएको त्रिविको उपकुलपति छनोट राजनीतिक भागवण्डासँग जोडिनु विडम्बना हो । तर, पछिल्लो समय सो प्रवृति मौलाइरहेको छ । त्रिविको उपकुलपतिका लागि केहरजंग बराल, तिर्थराज खनियाँ र शिबलाल भुसालको नाम विवादित भएको कारण चर्चामा छ ।  राजनीतिक पुहँचका आधारमा पनि बलियो यी तीन जनाले विभिन्न ठाउँमा नेतृत्व गरेर पनि बदनामी भएका छन् । पाल्पा जन्मघर भएका केशरजंग बरालमाथि आर्थिक अनियमितता र भ्रष्टाचारको आरोप छ । उनी पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन् । सो विश्वविद्यालयको उपकुलपति हुँदा उनीमाथि भ्रष्टचारको आरोप लागेको थियो । वि.सं २०७१ सालमा निजी कलेजलाई सम्बन्धन दिँदा आर्थिक चलखेल गरेको भन्दै उनी विरुद्ध अख्तियारमा समेत मुद्दा परेको थियो । पाल्पा घर भएका बरालमाथि प्रक्रिया नपु¥याएका कलेज तथा शैक्षिक संस्थालाई विश्वविद्यालयबाट सम्बन्धन दिई आर्थिक चलखेल गरेको आरोप लागेको छ । तर, यी आरोपमा भने उनले सफाइ पाइसकेका छन् । यस्तै, सर्टलिष्टमा परेका अर्का विवादित व्यक्ति हुन् तिर्थराज खनियाँ । त्रिविको पूर्वउपकुलपति समेत रहेका उनीमाथि पनि ‘बौद्धिक चोरी’को आरोप छ । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षा शाखामा हुँदा ‘बौद्धिक चोरी’ गरेको आरोप लागेको थियो । उनले टर्कीको फेरिट मिडिल इस्ट टेक्निकल विश्वविद्यालयका प्राध्यापक फेरिट किलिकायाको थेसिस हुबहु कपि गरेको आरोप लागेको थियो । यस्तै, २००६मा ‘नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियेसन’ (नेल्टा) द्वारा प्रकाशित जर्नलमा लेखेको लेख पनि चोरेको आरोप लागेको थियो । बौद्धिक चोरीको आरोप लागेकै समयमा उनलाई तत्कालीन प्रधानमन्त्री स्व.शुसिल कोइरालाले त्रिविको उपकुलपतीमा नियुक्त गरेका थिए । उनको उपकुलपतिको रूपमा सो कार्यकाल पनि विवादित नै बन्यो । उनले त्रिभूवन विश्वविद्यालयको जग्गा बाँडफाँड गरेको, निजी मेडिकल कलेजलाई नियम विपरित सम्बन्धन दिएको लगायतका विभिन्न आरोप उनीमाथि लागेको थियो । उनीमाथि विभिन्न आरोप लागे पनि राजनीतिक दलको संरक्षणमा रहँदै आएका छन् । उनी नेपाली काँग्रेस निकट मानिन्छन् । गत कात्तिक १६ गते तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको पदावधी सकिएपछि निमित्त उपकुलपतिमा नियुक्त भएका थिए शिबलाल भुसाल । अर्घाखाँची घर भएका उनी अहिले पनि सोही पद सम्हालिरहेका छन् । उनको नाम पनि उपकुलपतिको सर्टलिष्टमा परेको छ । उनी पनि विवादरहित व्यक्ति भने होइनन् । उनीमाथि सूचना लुकाएको आरोप छ । त्रिभुवन विश्वविद्यालयमै रहँदा विद्यार्थीलाई सूचना नदिएको आरोप लागेपछि भुसाललाई राष्ट्रिय सुचना आयोगले कारवाही गरेको थियो । वि.सं २०७७ सालमा विद्यार्थीलाई सूचना नदिएर लुकाएको आरोप लागेपछि भुसाललाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको थियो । यसरी विभिन्न विषयमा विवादमा रहेका व्यक्तिको नाम सर्टलिष्टमा परेको भन्दै सर्वसाधारणले पनि विरोध गरिरहेका छन् भने संसदीय समितिमा पनि सांसदहरूले छनोट समितिलाई समेत प्रश्न गरिरहेका छन् । छनोट मापदण्ड नै गलत त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको लागि बनाएको मापदण्ड नै गलत रहेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद प्राध्यापक डा. विनय कुशियत सर्टलिष्टमा पर्ने उम्मेदवारभन्दा पनि सर्टलिस्टमा पर्ने प्रक्रिया गलत भएको बताउँछन् । ‘यो प्रक्रिया उपकुलपति छनोट गर्नेभन्दा पनि विभिन्न प्राध्यापक, सहायक प्राध्यापक छान्ने जस्तो भयो,’ उनी भन्छन्, ‘सरकारको काम खोजी गर्ने हो । तर, यहाँ खोजी नगरेर छनोट गर्न खोजियो, व्यक्ति को आउँछ भन्दा पनि यो प्रक्रिया नै गलत भयो ।’ उनी कुनै व्यक्तिलाई आक्षेप लागेको छ भने त्यसको सोधखोज हुनुपर्ने बताउँछन् । ‘कुनै पनि सार्वजनिक व्यक्ति यस्तो विवादमा मुछिन्छ र पब्लिकले नै प्रश्न गरिसकेपछि सोधखोज हुनुपर्छ,’ उनी थप्छन्, ‘कसैलाई बौद्धिक चोरीको आरोप लागेको छ, कसैलाई सूचना चोरीको आरोप छ, यदि यो सत्य हो भने त्यही अनुसारको दण्डित गर्नुपर्छ ।’ उपकलपति छनोट गर्दा उसको भिजन कस्तो छ ? उसले अरु ठाउँमा कस्तो नेतृत्व गरेको छ ? त्यो व्यक्तिबाट के-कस्तो आशा गर्न सकिन्छ ? भन्ने लगायतका अपेक्षा हुने भए पनि आरोप लागेका व्यक्तिहरूलाई सर्टलिष्टमा राखेर उपकुलपतिका लागि योग्य बनाउन खोज्नु विडम्वना भएको बताउँछन् । ‘सिंगो विश्वविद्यालयको छवि धमिलो बन्न सक्छ’ कुनैपनि आरोप लागेका व्यक्ति सार्वजनिक पदमा रहन उचित हुँदैन । वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा छनोट हुने व्यक्ति विवादित हुन नहुने धारणा राख्छन् । ‘शिक्षा जस्तो पवित्र संस्थाको कार्यकारी व्यक्तित्व चरम विवादमा परेको राम्रो हुँदैन, विवादित व्यक्तिलाई उपकुलपति बनाउन खोज्नु र सर्टलिष्टमा नै राख्नुले राम्रो सन्देश प्रवाह हुँदैन, यस्ता व्यक्तिले विश्वविद्यालयमा कसरी प्राज्ञिक वातावरण बनाउन सक्छन् ? यसमा स्वच्छ वातावरण हुनै सक्दैन,’ उनी भन्छन् । उनी प्रतिस्पर्धाबाट उत्तम व्यक्तिलाई छनोट गर्नु पर्ने बताउँछन् । राजनीतिक पहुँचका आधारमा उपकुलपति छनोट गर्दा त्यसले सिंगो विश्वविद्यालयको छवि माथि नै प्रश्न उठ्ने धारणा उनको छ । ‘छनोट समितिले सत्ताको ग्यालरीबाट आएका नामहरूलाई प्रस्ताव गरेको देखियो, यो प्रक्रिया नै स्वच्छ, स्वतन्त्र र निस्पक्ष भएन,’ उनी भन्छन्, ‘योग्य, विवादरहित र स्वच्छ छवि भएको उम्मेदवारलाई छनोट समितिले छनोट गर्नुपर्छ, यो छनोट समितिको क्षमता परीक्षण गर्ने समय पनि हो,’ उनले भने । एक पटक उपकुलपति भएर धेरै विवादमा परेकोलाई पुनः उपकुलपतिका लागि छनोट गर्दा शिक्षा क्षेत्र नै पतनको बाटोमा जाने र सिंगो विश्वविद्यालयको छवि धमिलो हुन सक्ने तर्क उनको छ । उनी भन्छन्, ‘उपकुलपति एउटा प्राज्ञिक व्यक्ति हुनुप¥यो, शिक्षा क्षेत्रमा ठूलो योगदान भएको हुनुप¥यो, जसको चरित्र, नैतिकताबारे कहीँ पनि प्रश्न र विवाद उठेको हुनु हुँदैन ।’

धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुँदै, १५० विश्वविद्यालयका उपकुलपति आउने

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) ले भोलि बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’को आयोजना गरेको छ । केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरेको केयूका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए । उनका अनुसार भारतीय विश्वविद्यालय सङ्घको आयोजना एवं काठमाडौं विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्डलगायत एक सय ५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को उपस्थिति रहने छ । सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उपकुलपति थापाले बताताए । सम्मेलनमा दुई सय २७ सहभागीले सहभागिता जनाउने निश्चित गरेको विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा अधिकांश सहभागी भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुनेछन् । सम्मेलनमा उच्च शिक्षण संस्थामा भूमण्डलीकरणबारे नयाँ खोज–अनुसन्धान, अन्तर्राष्ट्रिय सहयोग तथा अनुभाव आदानप्रदानलाई प्रोत्साहित गर्ने, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ । केयूको प्रवक्ता एक्कुमाया पुनले सम्मेलनमा उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिबारे छलफल, देश-देशका विद्यार्थीबीच अनुसन्धानका अनुभव तथा पाठ्यक्रम विकाससहितका विषयमा समेत बृहत् छलफल हुने बताइन् । यस्तै सम्मेलनमा उच्च शिक्षामा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका विषयमा विज्ञ–विशेषज्ञबाट अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदा, उच्च शिक्षाको विश्वव्यापी नीति, नियमन तथा समान मानक, विद्यार्थी गतिशीलता र त्यसको विविधतामा अन्तर्राष्ट्रिय अनुभवका बारे कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । साथै सम्मेलनमा नेपाल चिनाउन विभिन्न जातजातिको सांस्कृतिक झाँकी, नेपाली सङ्गीत चिनाउन केयू स्कुल अफ आर्टस्का साथै कुटुम्ब ब्याण्ड तथा नेपाल प्रहरीको सांस्कृतिक टोलीले नेपालको सातै प्रदेश, हिमाल, तराई, पहाडको नाचगान र संस्कृतिबारे नेपाली लोकबाजा प्रस्तुति रहेको जनाइएको छ । केयूले यसअघि पुस दोस्रो साता एकेडेमिया इण्डष्ट्री को–ओपरेशनले ‘एकेडेमिया इण्डष्ट्री मिट–२०२३’ को आयोजना गरेको थियो । नेपालमा पहिलोपटक आयोजना गरेका उक्त मिटमा सरकार, उद्योग र प्राज्ञिक संस्थालाई एकै छातामुनि आबद्ध गराई देश विकासमा सहकार्य गर्ने उद्देश्यले तीन क्षेत्रका बौद्धिक व्यक्तित्वलाई मिटमा सहभागी गराएको थियो । उक्त कार्यक्रममा देशको शिक्षा, उद्योग र नीति–निर्माणमा रहेका विद्यमान समस्याको पहिचान गरी समाधान, अनुसन्धान र उद्योगबीच सहकार्य बढाउँदै औद्योगिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा राज्यको नीतिलाई रोजगारमुखी र औद्योगिकमैत्री बनाउने विषयमा बृहत् छलफल तथा अन्तर्क्रिया भएको थियो । उपकुलपति थापाका अनुसार उक्त सम्मेलनमा पछिल्लो समय नेपालको उच्च शिक्षामा देखापरेको समस्या, चुनौती तथा विद्यार्थीको बाहिरिँदो क्रमलाई रोक्न र रोजगार सिर्जनाका लागि नयाँ विकल्पबारे महत्त्वपूर्ण छलफल भएको थियो । उनका अनुसार यस्तो सम्मेलनलाई आवश्कयतानुसार निरन्तरता दिइने योजना बनाइएको छ । रासस