आइसिटी अवार्ड छनौटको लागि पब्लिक भोटिङ हुने

काठमाडौं । प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो । उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी-१ रहेका छन । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन् । आइसिटी अवार्ड २०२३ का यि ३ विधाहरुमा २०० बढीको नोमिनेसन प्राप्त भएको थियो । उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए । यसैगरी उनिहरुले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसन अन्तर्गत प्रिजेन्टेसन एण्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुती, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो पनि प्रशारण हुने आयोजकले जनाएको छ । विभिन्न ३ विधामा छनौट भएका उत्कृष्ट ५ हरुले केहि समयपश्चात सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन भने स्र्टाअप लगायतका विधामा जुरी समितीले कार्यालय भिजिट पनि गर्नेछ । उत्कृष्ट ५ मा पर्र्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरुले पनि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन । सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा दोश्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा नोमिनेसन अवधी समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ । साउथ एसिया स्र्टाटअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढीको नोमिनेसन प्राप्त भएको छ । यस विधामा सर्वोत्कृष्ट छनौटकोे लागि भारत, बंगलादेश, पाकिस्तान र श्रिलंकाबाट जुरी सदस्यहरु रहेका छन । क्रम लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड सन् २०१६ बाट सुरु भएको हो । यस वर्ष आठौ सस्करण अन्तगर्तको आइसिटी अवार्डमा १३ विधामा ५५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको छ । छनौटको लागि १४ जना बिज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको शिशिष्ट सल्लाहकार समिती रहेको छ । अवार्डमा छनौट प्रकृयाको लागि २५ बढी जुरी मिटिङ र प्रवद्धनको १० बढी प्रि-इभेन्ट क्याम्यिनसँगै टेलिभिजन शो पनि सञ्चालन हुनेछ । यस अवार्ड कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नास्ट, एफएनसिसिआई, न्यास आइटीलगायतका राष्ट्रिय, अन्तराष्ट्रिय सस्थाहरुको सहकार्य रहेको छ ।

आइआइएमएसका प्राध्यापकहरुलाई टेलर्स विश्वविद्यालयद्वारा प्रशिक्षण

काठमाडौं । आइआइएमएस कलेजका प्राध्यापकहरुलाई विश्वको प्रतिष्ठित टेलर्स विश्वविद्यालय, मलेसियाले प्रशिक्षण प्रदान गरेको छ । विश्वस्तरीय शैक्षिक ब्राण्ड स्थापित गरेको विश्वविद्यालयले सम्बन्धन लिएका कलेजहरुको शैक्षिक गुणस्तर र व्यवस्थापन उत्कृष्ट बनाउन प्रशिक्षण प्रदान गरेको हो । आइआइएमएस कलेका अनुसार मलेसिया स्थित विश्वविद्यालयमा अक्टोबर १८ देखि २३ सम्म भएको प्रशिक्षण कार्यक्रममा कलेजको तर्फबाट ७ जना सहभागी भएका थिए । जसमा ब्याचलर अफ कम्प्युटर साइन्स फ्याकेल्टीको तर्फबाट एकेडेमिक को-अर्डिनेटर सुजन अर्याल, प्रोग्राम को-अर्डिनेटर आहाना श्रेष्ठ, लेक्चर सुदिप तिमल्सिना र लेक्चर सचिन श्रेष्ठ सहभागी भएका थिए । त्यस्तै, प्रशिक्षण कार्यक्रममा ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट फ्याकेल्टीको तर्फबाट एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघु, प्रोग्राम को-अर्डिनेटर रिमा मानन्धर र टिम लिडर तथा लेक्चर सुमित रायमाझी सहभागी भएका थिए । कार्यक्रममा सहभागी ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघुले विश्वविद्यालयमा आफूहरुले प्रशिक्षण र अध्ययन अवलोकन भ्रमण गरेको बताए । टेलर्स विश्वविद्यालयमा के कसरी अध्यापन गर्ने काम गरिन्छ, शैक्षिक प्रशासनको व्यवस्थापन कसरी हुन्छ, अध्ययन अध्यापनमा सूचना प्रविधिको प्रयोग कसरी गरिन्छ, परीक्षा कसरी लिने काम गरिन्छ लगायतका विषयहरुमा प्रशिक्षण र अवलोकनको माध्यमबाट अनुभव आदानप्रदान गर्ने काम गरिएको थियो । एसोसिएट डाइरेक्टर लघुका अनुसार विद्यार्थीलाई कसरी पढाउने, शिक्षण सामग्री कसरी बनाउने, संकायमा के–के विषयहरुको आवश्यक पर्छ, परीक्षा पत्र कसरी तयार गर्ने जस्ता महत्वपूर्ण विषयहरु टेलर्स विश्वविद्यालयले प्रशिक्षण तथा प्रत्यक्ष अवलोकनको माध्यमबाट अनुभव प्रदान गर्ने काम गरेको थियो । प्रशिक्षणको क्रममा विद्यालय तह अर्थात् कक्षा १२ उत्तिर्ण भएर विश्वविद्यालय तहको अध्ययन गर्न आउने विद्यार्थीहरुमा के कस्ता मनोवैज्ञानिक समस्या देखिन सक्छन र ती समस्याहरु समाधान गर्न के कसरी परामर्श गर्ने भन्ने विषयमा पनि अनुभव आदान प्रदान गरिएको थियो । विश्वस्तरीय शैक्षिक प्रतिष्ठा हासिल गरेको टेलर्स विश्वविद्यालयको कलेजमा कसरी गुणस्तर कायम गर्न नीतिगत र व्यवहारिक रुपमा के–के गर्न आवश्यक छ भन्ने विषयमा पनि धारणा साझा गर्ने काम भएको कार्यक्रममा सहभागी भएका एसोसियट डाइरेक्टर लघुले बताए । उनका अनुसार आधुनिक प्रविधिलाई अध्यापनमा कसरी जोड्ने, भौतिक पूर्वाधार कस्तो हुनुपर्ने विषयमा पनि प्रशिक्षण तथा अनुभव आदानप्रदान गरिएको थियो । टेलर्स विश्वविद्यालयमा सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक सेमेस्टर विश्वविद्यालयमा नै अध्ययन गर्ने सुविधा रहेको छ, सो विषय र विश्वमा जुनसुकै ठाउँमा कलेजका विद्यार्थीलाई कसरी इन्टर्नसिपमा पठाउन सकिन्छ भन्ने विषयमा पनि आवश्यक छलफल भएको उनले बताए । साथै, विद्यार्थीहरुको तथ्यांक फाइलिङ कसरी व्यवस्थापन गर्ने विषयमा पनि प्रशिक्षण तथा अवलोकनमार्फत् धारणा साझा गरिएको थियो । टेलर्स विश्वविद्यालयले सम्बन्धन आफूसँग सम्बन्धन लिएका कलेजहरुलाई नियमित नियमन गर्ने, आवश्यक प्रशिक्षण दिने, विश्वविद्यालयकै लेक्चरहरुमार्फत् प्रत्यक्ष अध्यापन गराउने काम गर्दै आएको छ । प्रशिक्षणको सन्दर्भमा अहिलेसम्म भर्चुअल हुने गरेकोमा पहिलोपटक कलेजका प्राध्यापकहरुलाई विश्वविद्यालयमा नै आमन्त्रण गरेर प्रत्यक्ष प्रशिक्षण तथा अवलोकनको अवसर प्रदान गरेको हो । विश्वविद्यालयले प्रदान गरेको सो अवसरले आइआइएमएस कलेजको आगामी शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर थप विकास योगदान पुर्याउने अपेक्षा गरिएको छ ।  

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले  विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिए  । वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन् । वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि नै विद्युतीयहाजिरीले काम दिएन । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण मर्मत वा नयाँ जडानमा नगरपालिका र विद्यालय दुवैको ध्यान जान सकेको छैन । पन्ध्र वडा रहेको नगरपालिकाले पाँच वर्षअघि एउटाबाहेक सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिलाई नियमित गर्ने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको थियो । सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि १८  माविमा जडान गरिएको विद्युतीय हाजिरीको अवस्थाका बारेमा हाल नगरपालिका नै बेखबर बनेको देखिएको छ । तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा शिक्षकको विद्युतीय हाजिरी ‘ट्र्याकिङ’ गर्नेगरी विसं २०७५ असोज १ गतेदेखि नगरका सबै माविमा लाखौँ खर्च गरेर विद्युतीयहाजिरी सञ्चालनमा ल्याइएको थियो । बिग्रेका विद्युतीय हाजिरीको उपकरण नगरपालिका वा स्वयं विद्यालयले पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा कुनै चासो देखाएका छैनन् । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण पुनःसञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई हाइसञ्चो भएको अभिभावक बताउने गरेका छन् । विद्युतीय हाजिरीमार्फत नगरपालिकाको कार्यालयमै बसेर सबै माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था कार्यान्वयन हुँदा केही हदसम्म शैक्षिक क्रियाकलापमासमेत सुधार आएको थियो । विद्युतीय हाजिरी ट्रयाकिङले ‘कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुनबेला हाजिर गरे, कतिबेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी हुने गरेको थियो । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई–हाजिरी जडानपछि त्यसको अवस्थाका बारेमा नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा अहिले बेकम्मा बन्न पुगेको छ । नगरपालिकाले कुनै एउटा निजी कम्पनीको  विद्युतीय हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको जनाउँदै तत्कालीन नगर प्रमुख रिजालको आलोचना हुने गरेको छ । यतिसम्म कि तत्कालीन नगर प्रमुख रिजाल र उपप्रमुख विणादेवी राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट र वर्तमान नगर प्रमुख र उपप्रमुख गठबन्धनबाट निर्वाचित भएकाले पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामलाई अहिलेका जनप्रतिनिधिले चासो नदिएको कतिपयले आरोप लगाउने गरेका छन् । कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वर्तमान नगर प्रमुख एवं शिक्षा शाखा प्रमुख तीर्थराज भट्टराई बताए । ‘कतै चल्छन्, कतै चल्दैनन् । सबै विद्यालयमा जडान गरिएका  विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ’, उनले भने, ‘बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ । यदि घोटला भएको ठहर भएमा कारबाही हुन्छ ।’ निकै तामझामका साथ जडान गरिएको  विद्युतीय हाजिरी केही विद्यालयमा छ/सात महिना नपुग्दै बिग्रेर थन्किएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले बताउने गरेका छन् । अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द भएको समाचार स्रोतले जनाएको छ । रासस