कृषि विकास बैंक र केयूको सहकार्यमा भेण्डिङ मेशिनलगायतका सामग्री वितरण

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले तनहुँको भानु नगरपालिका-८ देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयमा भेण्डिङ मेशिनलगायत विविध शैक्षिक सामग्री वितरण गरेकाे छ । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगबाट सामग्रीहरू वितरण गरिएको हो । विद्यालयका छात्राहरूका निम्ति स्यानिटरी प्याडकाे भेण्डिङ मेशिन राखिएकाे हाे ।अब पठनपाठनमा सहजता हुने विद्यालयका छात्राहरू बताउँछन् । नेपाल सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड दिने घोषणा गरेपनि अझैसम्म कैयौं विद्यालयमा प्याड पुगेको छैन । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु- ८ का वडाअध्यक्ष ईश्वरबहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आसबहादुर घिमिरे, कृषि विकास बैंक लिमिटेड, डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक रामचन्द्र बास्तोला, विद्यालयका शिक्षक, अभिभावकलगायतकाे सहभागिता रहेको थियो ।

चाँदबाग स्कूलले सम्पन्न गर्‍यो ‘नमुना संयुक्त राष्ट्र सम्मेलन’, २ सयभन्दा बढी सहभागी

काठमाडौं । चाँदबाग स्कुलले ‘मोडल युनाइटेड नेसन्स’ (एमयूएन) सम्मेलन सम्पन्न गरेको छ । सेप्टेम्बर ६ देखि ८ तारिखसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै सम्मेलन सम्पन्न भएकाे हो । तीन दिन चलेकाे सम्मेलनमा २० विद्यालयका २ सय भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा विभिन्न विधामा छलफल र बहस गर्नुका साथै उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा विद्यार्थीले समाजमा भइरहेका विभिन्न घटनाबारे समूह बनाइ बहस गरेका थिए । जसमा संयुक्त राष्ट्र मानव अधिकार परिषद यूएनएचआरसी समितिले नेपालमा मानव अधिकार चुनौती र वकालतका विषयमा बहस गरेको थियो । यसैगरी, सामाजिक, सांस्कृतिक र मानवीय समितिले सामाजिक न्याय र मानवीय प्रयासहरूका विषय छलफल गरेको थियो । त्यस्तै, लागूऔषध र अपराधमा संयुक्त राष्ट्र कार्यालय युएनओडीसीले लागुपदार्थको ओसारपसार र अपराधसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्दै छलफल गरेको थियो । अन्य समितिले पनि विभिन्न विषयमा छलफल गरेको जनाइएको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक चन्द्रयान प्रधान श्रेष्ठले ‘नमुना संयुक्त राष्ट्र सम्मेलन’ एक ठूलो सफलता भएको बताए । विद्यार्थी र युवाको सीप विकास गर्न यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने उनकाे भनाइ छ । यस्तै, महासचिव जया भट्टराईले चाँदबाग नमूना संयुक्त राष्ट्र सम्मेलन सबैका लागि समृद्ध अनुभव भएको बताइन् । उनले यस्ता रचनात्मकता र समस्या समाधान गर्ने सीपहरूको स्तर प्रेरणादायी हुने बताइन् । कार्यक्रममा प्रमुख अतिथि सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसका एड्भोकेसी क्याम्पेन कम्युनिकेसन एण्ड मिडियाका निर्देशक आयुष श्रेष्ठ जोशी, विशेष अतिथि गर्ली अग्रवाल, सीजी शिक्षाका शैक्षिक निर्देशक भूषणचन्द्र सेन गुरुङ, केन्द्र विद्यालयका प्रिन्सिपल ए जेराल्ड, इम्पेरियल वर्ल्ड स्कुल, रोहिणीकी प्रिन्सिपल जुनिता कार्कीलगायतका व्यक्तित्वहरूको सहभागी थियाे ।

केयूमा बिवाईडीको सहकार्यमा चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएकाे छ । काठमाडौं विश्वविद्यालय र साइमेक्स इंक प्रालि (बीवाईडी)को सहकार्यमा चार्जिङ स्टेशन सञ्चालनमा आएकाे हाे । चार्जिङ स्टेशनको औपचारिक उद्घाटन केयूका उपकुलपति प्रा.डा भोला थापा र बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले संयुक्त रूपमा गरे । बीवाईडीले इलेक्ट्रिक सवारीसाधनहरूको कम्पोनेन्टहरू पनि प्रदान गर्ने जनाएकाे छ । कम्पोनेन्टहरू केयूको प्रयोगशालामा राखिनेछ । यसले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक ईभी प्रविधिसँग जाेडिन सहयाेग पुर्‍याउने बताइएकाे छ । बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक ज्युलियाङले पृथ्वीकाे तापक्रम घटाउने लक्ष्यमा वातावरणमैत्री सवारीसाधन बढाउने लक्ष्य लिएकाे बताए । ‘हाम्रो लक्ष्य पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्दत गर्नु हो । हामी वातावरणमैत्री सवारीसाधनहरूकाे संख्या बढाउने लक्ष्य राखेका छाैं,’ उनले भने । उनले बीवाईडीले प्रभावकारी रूपमा कार्बन उत्सर्जनको मुद्दालाई सम्बोधन गरेको पनि बताए । यस सहकार्यमार्फत धेरै लाभान्वित हुने अपेक्षा केयूले गरेकाे छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले यस सहकार्यले नेपालमा हरित प्रविधिकाे भविष्यमा याेगदान दिने बताए । केयूका प्राज्ञिक औद्योगिक सहकार्य विभागका संयोजक डा. राम लामाले पनि साझेदारीको भविष्यको बारेमा आफ्नो धारणा राखेका थिए ।