त्रिविले खुला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्दै, माग्यो १९ क्याम्पसका लागि आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पस प्रमुख खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने भएको छ । खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्न त्रिभुवन विश्वविद्यालयले डेढ दर्जन क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो । त्रिभुवन विश्वविद्यालयको क्याम्पस प्रमुख छनोट समितिले एक सूचना प्रकाशन गरी सोमबार ११ क्याम्पस र मंगलबार ८ क्याम्पस गरी १९ क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो । त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम (संशोधन सहित) को परिच्छेद ५२ को नियम १८५ (२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम आवेदन आह्वान गरेको हो । क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेदवारहरूले ७ दिनभित्र विनियम ३९ (२) मा व्यवस्था भए बमोजिम आवश्यक कागजात पेस गर्नुपर्नेछ । त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो । यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवन, महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँके, सानोठिमी क्याम्पस भक्तपुर, ललितकला क्याम्पस भोटाहिटी काठमाडौं, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, धवलागिरी बहुमुखी क्याम्पस बाग्लुङ, महेन्द्ररत्न क्याम्पस ताहाचल काठमाडौं र भोजपुर बहुमुखी क्याम्पस भोजपुरको क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो । साथै कृषि र पशु विज्ञान अध्ययन संस्थानको डीन र योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन आह्वान गरेको हो ।

एमबीबीएसको प्रवेश परीक्षामा गम्भीर त्रुटि, आर्थिक चलखेल भएको भन्दै विद्यार्थी सडकमा

काठमाडौं । सिराहका जीवन सिंहले एमबीबीएस पढ्न चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा दिए । उनी यो पटक राम्रो नम्बर ल्याएर पास हुने आशामा थिए । जब आयाेगले परीक्षाको नतिजा सार्वजनिक गर्यो, उनलाई नतिजामा चित्त बुझेन । नतिजामा उनको जम्मा ७८ नम्बर आएको थियो । जबकि उनले यो पटक सयभन्दा बढी नम्बर ल्याउने तयारीका साथ परीक्षा दिएका थिए । ७८ नम्बरमात्र आएपछि उनलाई अप्टिकल मार्क रिकग्निसन (ओएमआर) सीट’ र ‘एन्सर की’ हेर्न मन लाग्यो । किनकि गएको वर्ष एमबीबीएस परीक्षा दिँदा उनले ८२ नम्बर ल्याएका थिए । ‘मलाई अझै राम्रो अंक ल्याएर एमबीबीएस पढ्न मन थियो, त्यसैले गएको वर्ष ८२ नम्बर ल्याउँदा पनि पढिनँ, अझै तयारी गरी यो वर्ष परीक्षा दिएँ तर नतिजा यस्तो आयो,’ उनले गुनासाे गर्दै भने, ‘मलाई जसरी भए पनि प्रश्न र मेरो उत्तरपुस्तिका हेर्न मन छ, त्यो हेर्न पाइनँ भने यो आन्दोलन जारी रहन्छ ।’ विद्यार्थी, जीवन सिंह जीवन नतिजा हेर्नेबित्तिकै चिकित्सा शिक्षा आयोगमा गए । तर, आयाेगले उनलाई ओएमआर सीट’ र ‘एन्सर की’ हेर्न नपाइने बतायाे । ‘मैले आफूले परीक्षामा लेखेको कुरालाई फेरि एक पटक हेर्न पाउँ भन्न पनि आन्दोलन नै गर्नुपर्ने ? जीवनले प्रश्न गरे, ‘आयोगले विद्यार्थीको जीवनमाथि खेलवाड गर्दैछ, कि हामीले हेर्न पाउनुपर्यो नभए आन्दोलन रोक्दैनौँ ।’ बझाङका प्रदीप बिकको सपना सानैदेखि डाक्टर बन्ने थियो । कक्षा १० सम्म गाउँकै सरकारी विद्यालयमा पढेका उनी डाक्टर बन्ने सपना देखेर काठमाडौं पसे । उनलाई काठमाडौंमा सहज थिएन । तर, सपनाले उनलाई हार खान दिएन । एसईई पास गरेर आएका उनी लैनचौरमा रहेको निस्ट कलेजमा भर्ना भए । मिहिनेत गरेर प्लसटु पास गरे । त्यसपछि उनले एमबीबीएसको तयारी गरे । प्रदीप बिक । निम्स इन्स्टिच्युटमा तयारी कक्षा लिए । ‘अन्य इन्स्टिच्युटमा पढ्न धेरै महंगो थियो, घरको आर्थिक अवस्था पनि राम्रो छैन,’ उनले भने, ‘पिछडिएको क्षेत्र, त्यसैमाथि दलित, छात्रवृत्तिबाट भए पनि नाम निकाल्छु भन्ने योजना थियो । तर, नतिजामा मेरो नाम नै छैन, हुन सक्छ नम्बर कम या बढी जति आएको होला । तर, किन मेरो नाम नतिजामा छैन मलाई यसको जवाफ चाहिएको छ ।’ जुम्लाका दीपक बुढा पनि हातमा पर्चा पम्पलेट समाउँदै आइतबार माइती घरमा बसेका थिए । जुम्लाबाट ठूलो सपना बोकेर काठमाडौं आएका उनी पहिलो गासमै ढुंगा लागेको बताउँछन्  । ‘बिरानो शहर पढ्नकै लागि आएँ, बा आमाले सकिनसकी पैसा पठानुभयो, होस्टेलमा बसेर मिहिनेत गरेँ, तर नतिजामा मेरो नाम नै आएन,’ उनले भने, ‘मेरो तीन वर्ष बढीको मिहिनेत नै खेर गयो, किन मेरो नाम आएन मलाई एक पटक जान्न मन छ । ’ दीपक बुढा । कतिपय विद्यार्थीको नाम र नम्बरसमेत गलत आएको, कतिपयको पहिले र अहिले फरक-फरक नम्बर आएको भन्दै उनले परीक्षामा आयोगले ठूलो गल्ती गरिरहेको बताए । आयोगको नियतमै आशंका रहेको बताउँदै उनले आफूले दिएको प्रश्नपत्र र एन्सर कि एक पटक हेर्न पाउनुपर्ने बताए । माइतीघरमा विद्यार्थी जीवन, दीपक र नवराज लगायतका सयौं विद्यार्थी माइतीघरमा आन्दोलनमा छन् । कसैले परीक्षामा लेखे अनुसारको नतिजा नआएको भनेका छन् भने कतिपयले नाम नै नरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएका छन् । माइतीघरमा जम्मा भएका विद्यार्थीले ओएमआर सीट र एन्सर की हेर्न पाउनुपर्ने माग राखेका छन् । नतिजामा आयोगले गम्भीर त्रुटी गरेको बताउँदै विद्यार्थीले आन्दोलन थालेका छन् । उनीहरूले आफूहरूले भनेको कुरामा आयोग गम्भीर नदेखिए अझै शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्यार्थीको जीवनमाथि खेलवाड चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका केही विषयको एकीकृत प्रवेश परीक्षाको नतिजामा गम्भीर त्रुटी गरेको पाइएको छ । आयोगको यो गल्तीले सयौँ विद्यार्थीको जीवनमाथि नै खेलवाड गरेको अभिभावकहरूको भनाइ छ । अभिभावक महेन्द्र यादव विद्यार्थीले परिक्षा दिइसकेपछि प्रश्नपत्र घर लिएर आउन पाउनुपर्ने बताए । यसो हुँदा पारदर्शी हुने भन्दै उनले  विद्यार्थीले जबर्जस्ती हेर्न पाउँभन्दा पनि किन नदेखाउनु गम्भीर कुरा रहेको बताए । उनले भने, ‘प्रश्नपत्र विद्यार्थीले घर ल्याउन पाउनुपर्छ र नतिजा सार्वजनिक हुँदा एन्सर की पनि हेर्न पाउनुपर्छ, यसो हुँदा विद्यार्थी पनि ढुक्क हुन्छन् र पारदर्शी पनि हुन्छ ।’ विद्यार्थीले आफैंलाई स्व मूल्यांकन गर्ने भएकाले आन्दोलन गर्नुपर्ने आवस्था नआउने उनको भनाइ छ । यस विषयमा विद्यार्थीले आवाज उठाउँदा आयोगले मेरिट सूची निकालेको छ । यो सूची आफूलाई मान्य नहुने आन्दोलनरत विद्यार्थीले बताएका छन् । यो सूची राख्दा सयौँ विद्यार्थीको नतिजा नै परिवर्तन भएको छ । आयोगले भदौ १३ गने निकालेको एमबीबीएस र शनिबार निकालेको जनस्वास्थ्यको नतिजामा त्रूटी देखिएको छ । एमबीबीएसका विद्यार्थीले समान अंक प्राप्त गर्दा क्यामेस्ट्रि, बायोलोजी, गणीत र फिजिक्समा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोलनम्बरका आधारमा सूची प्रकाशित गरेको छ । जनस्वास्थ्यका विषयमा देखिएको त्रुटी सच्याइए पनि एमबीबीएसको नतिजामा समस्या देखिएको छ । आयोगले भने यो समस्या समाधान कसरी गर्ने भन्ने छलफल भइरहेको जवाफ दिएको छ । आम्नाको सपना डाक्टर बन्ने नम्बर आयो ९ मात्र बाराकी आम्ना खातुनकी दिदी बेला बेला बिरामी भइरहन्थिन् । गाउँमा भनेजस्तो उपचार सम्भव थिएन । सामान्य उपचारका लागि काठमाडौं आउनुपथ्र्यो । उनलाई यो अवस्था देख्दा आफू एकदिन डाक्टर बन्नुपर्छ भन्ने लाग्थ्यो । प्राय मुस्लिम समुदायमा छोरीलाई विद्यालय गएर पढ्ने स्वतन्त्रता त्यति हुँदैन । आजभोलि केही सोचमा परिवर्तन आए पनि भनेजति सहज हुँदैन । आम्ना खातुन । तर, उनलाई पढाइमा खासै समस्या भएन । उनलाई जसरी हुन्छ पढेर उपचार नपाएर छटपटाउनुपर्ने बाध्यता भएकाहरूको सेवा गर्न डाक्टर हुन मन लाग्यो । उनलाई डाक्टर बन्ने विज्ञान विषयमा राम्रो गर्नुपर्छ भन्ने थाहा थियो । त्यहीअनुसार उनी तयारी गर्थिन् । उनी एसईई पास गरेर त्यसैका लागि काठमाडौं आइन् । हिमालयन ह्वाइट हाउसमा उनले विज्ञान विषय पढिन् । कक्षा १२ पास गरे पनि उनले एमबीबीएसको तयारी गरिन् । दुई वर्ष पहिले पहिलो पटक उनले एमबीबीएसको परीक्षा दिइन् । तर, उनको नाम नै आएन । उनलाई पहिलो वर्ष अंक पनि कम आयो होला, अथवा केही भयो होला भन्ने लाग्यो । उनले राम्रोसँग तयारी पनि नपुगेको भन्दै त्यत्तिकै थामथुम पारिन् । फेरि उनले आफ्नो तयारी बढाइन् । यो वर्ष कडा मिहिनेत गरेर परिक्षा दिएकी उनको जम्मा ९ नम्बर मात्र आयो । जबकि उनले १ सयको हल गरेकी थिइन् । उनलाई कसरी ९ नम्बर मात्र आयो भन्ने कुरा जान्न आफूले दिएको प्रश्नपत्र र उत्तरपुस्तिका हेर्न पाउनुपर्ने बताएकी छन् । आर्थिक चलखेल भएको आशंका हरेक वर्ष एमबीबीएस परीक्षाको नतिजामा ठूलो चलखेल हुने गरेको कुरा बेला बखत बाहिर आउँछ । नाम निकाल्न नतिजा हैन, पैसाको बार्गेनिङ चल्छ भन्ने हल्ला सुनिन्छ । उसो त बेलाबेला एमबीबीएस परीक्षाको प्रश्नपत्र नै बाहिरएका समाचार पनि आइरहेकै हुन्छन् । जनक शिक्षा सामाग्रीमा प्रश्न छापिँदै गर्दा प्रश्नपत्रमा मोलमोलाई भइसकेको हुन्छ । केही वर्षअघि यस्तै घटनामा शिक्षा मन्त्रालयका एकजना उपसचिव नलिम्बित नै भएका थिए । यसमा शिक्षा मन्त्रालयकै कर्मचारी संग्लग्न भएका घटना बाहिरिन्छन् । प्रश्नपत्र नै किनबेच भइरहने यो परीक्षामा नतिजामा कति चलखेल हुँदो हो यो सोझै अनुमान लगाउन सकिने विद्यार्थीको आरोप छ । चिकित्सा शिक्षा आयोगले गरिरहेको नतिजाको अपडेटबाट पनि विद्यार्थी यही निचोडमा पुगेका छन् । उनीहरू भन्छन्, ‘यहाँ जे भइरहेको छ त्यो निष्पक्ष छैन ।’ विद्यार्थी जीवन सिंह भन्छन्,‘ रिजल्ट निस्केदेखि अहिलेसम्म पटक-पटक नतिजा तलमाथि भएको छ, कसैको नाम र रोल नम्बर मिलेको छैन, कसैको नाम र थर फरक आएको छ, किन यस्तो भइरहेको छ थाहा छैन । ’

सफ्टवेरिकाको नयाँ अभ्यास : रोबोट फाइटमा भिड्दै नेपाली विद्यार्थी

काठमाडौं । हातहातमा रोबाेट । समूहअनुसार फरक-फरक ड्रेस, प्रतियोगिता जसरी हुन्छ जित्नैपर्छ भन्ने मनासय । कोही रोबाेट फाइट गराउँदै त कोही हेर्दै । जब रोबाेट, रोबाेटको टक्कर पथ्र्यो, विद्यार्थीको तालीकाे गडगडाहट र हुटिङ चल्थ्यो । सधैं ल्यापटप बोकेर जाने विद्यार्थी आइतबार रोबाेट बोकेर गएका थिए । अरु दिनभन्दा अलि फरक र राेमाञ्चक माहोल । यो दृश्य थियो काठमाडौं डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजको । जहाँ सुरु भएको थियो ‘रोवो लिग वारियर्स’ कार्यक्रम । अर्थात विद्यार्थी आफैंले बनाएका रोबाेटहरूको फाइट । आइतबारदेखि सुरु भएको यो कार्यक्रममा विभिन्न २४ वटा विद्यार्थी समूहले बनाएका रोबाेट प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन आइतबार १२ समूहका विद्यार्थीले बनाएका रोबाेटबीच प्रतिस्पर्धा भएको थियाे । यो क्रम ६ महिनासम्म चल्ने कलेजले जनाएको छ । प्रत्येक आइतबार हुने ‘रोवो लिग वारियर्स’ कार्यक्रममा एक रोबाेटले सबै रोबाेटसँग प्रतिसपर्धा गर्नुपर्छ । प्रतिस्पर्धाका आधारमा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई पुरष्कार प्रदान गरिने छ । हिमालयन ग्रुप, अनलाइन ल्यापटप लेख, चाँगुनारायण नगरपालिका, श्रेय कन्सलटेन्सी, ब्रन्डवे इन्फोसिस् लगायतका संघसस्थाले विद्यार्थीलाई आर्थिक सहयोग गरिरहेका छन् । सिकाइमा थप टेवा पुग्ने आशा यो कलेजमा यस्ता एक्सपो, वारियर्स जस्ता विभिन्न कार्यक्रम हुँदै आइरहेका छन् । जहाँ विद्यार्थी आफैं आयोजक र आफैं प्रतिसपर्धी बन्ने गर्छन । चाँगुनारायणकी प्रविसा खड्काले सफ्टवेरिका कलेजबाट भर्खरै थेसिस सकिन् । पढाइ सकेपछि उनी कलेजमा हुने विभिन्न कार्यक्रममा भाग लिरहन्छिन् । अहिले उनी टीम अस्वस्तमाबाट रोवर्ट प्रतिस्पर्धा गरिरहेकी छिन् । आइतबार भएको पहिलो खेलमा उनको समूहको रोबाेटले श्रेया ग्रुपकाे रोबाेटलाई टक्कर दियो । आफ्नो समूहले बनाएको रोबाेटले जितपेपछि उनीलगायत उनको समूहकाे खुसीकाे सीमा नै रहेन । प्रविसा खड्का, विद्यार्थी त्यही खुसीको मौकामा विकासन्युजसँग कुरा गर्दै प्रविसाले भनिन्, ‘पढेर मात्रै हाेइन काम नै गरेर पो सिकिँदो रहेछ ।’ प्रविसाले रोबाेट कसरी बन्छ, उसले के काम गर्छ भन्नेबारे सामान्य जानकार थिइन् । तर, जब उनले रोबाेट बनाउने र प्रतिसपर्धा गर्ने कार्यक्रममा भाग लिइन् उनलाई सुनेको भन्दा धेरै कुरा बुझ्न सजिलो भयो । ‘हामीले कक्षामा पढेका कुरालाई व्यवहारमा कसरी ल्याउने भन्ने कुरा यस्ता कार्यक्रमबाट थाहा हुने रहेछ,’ भन्छिन्,‘मैले किताबमा मोटरलाई कसरी कन्ट्राेल गर्ने, ब्याट्रीकाे माध्यमबाट कसरी दायाँ र वायाँ र अगाडि पछाडि लाने भन्ने कुरा कितावमा पढेकी थिएँँ, तर कसरी जोडिन्छ त भन्ने कुरा आफैं जोडेपछि मात्र थाहा पाएँ, पढ्नु र गर्नुमा फरक हुने रहेछ, यस्ता कार्यक्रमबाट धेरै कुरा सिक्न पाइन्छ । ’ प्रविसा व्यवहारिक ज्ञानसँगै यो कार्यक्रमले व्यक्तित्व विकासमा पनि ठूलो भूमिका खेल्ने बताउँछिन् । उनले यस्ता कार्यक्रमबाट विद्यार्थीले कुन संस्थासँग कसरी सहकार्य गर्ने, कुराकानी कसरी गर्ने भन्नेबारेमा पनि सहज भएको बताइन् । रोवर्ट बनाउने विद्यार्थीका सबै समूहले आफैं प्रायोजक खोजेर रोबाेट बनाएका छन् । ‘मलाई कसरी कम्पनीसँग कुरा गर्ने भन्ने आइडिया नै थाहा थिएन, जब म आफ्नो योजना लिएँ त्यसपछि ममा आत्मविश्वास बढ्यो,’ उनी थप्छिन,‘मैले पालिकालाई आफ्नो योजना सुनाएँ, मेरो कुरामा पालिकाले सकरात्मक धारणा बनायो, मैले पहिलो पटक कामका लागि कुनै संस्थालाई मनाउन सके यो नै मेरो सफलताको खुड्किलो हो, यस्ता कार्यक्रमले हामीलाई यसरी नै सफल हुने विश्वास दिलाउँछ ।’ सुयोग मानन्धर,विद्यार्थी काठमाडौं बालाजुका सुयोग मानन्धर सफ्टवेरिका कलेज अन्तिम समेस्टरमा अध्ययनरत छन् । उनी पनि यस्ता कार्यक्रमले विद्यार्थीको अध्ययन क्षमता फराकिलो बनाउने बताउँछन् । उनी नेपालका लागि रोबाेटीकक नयाँ कुरा रहेको बताउँदै देख्नु र आफैं बनाउनुमा फरक हुने बताउँछन् । सुयोगले रोवर्टको बारेमा पहिलो पटक अनलाइनमा देखेका र सुनेका थिए । विदेशमा हुने रोबाेट वार हेर्थे पनि । उनलाई आफू पढिरहेकै कलेजले रोबाेटकै कार्यक्रम गर्छ भन्ने सुन्दा पहिलो पटक निकै कौतुहुलता जाग्यो । उनले विकासन्युजसँग भने,‘जस्तो मैले देखेको थिएँ त्यस्तो नभए पनि आफैं कार्यक्रममा सहभागी हुँदा निकै खुसी छुँ ।’ कक्षामा भन्न नसकिने र नसिकेका कुरा कार्यक्रमबाट सिक्न पाएको सुयोगको अनुभव छ । ‘पहिले कक्षामा सर र साथीहरूसँग मात्र बोलिन्थ्यो, बाहिर मासमा बोलिँदैनथियो, यस्तो नेटवर्किङ पनि थिएन,’ उनी भन्छन्,‘अब धेरै व्यक्ति कम्पनीलाई चिन्ने अवसर पाएँ यो मेरा लागि खुसीको कुरा हो अब म पढाइपछि आफूलाई आफै काम खोज्न सक्छु ।’ प्रायोजकको खोजी आफैं विद्यार्थी पढेर हातमा मास्टर्सकाे सर्टिफिकेट मात्र भएर पुग्दैन । कितावी कुरा सबै घोकेको तर व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने सिप नभएको व्यक्तिलाई काम पाएर पनि गर्न मुस्किल पर्छ । कलेजमा हुने यस्ता कार्यक्रमले विद्यार्थीलाई बोल्ने, कुरा गर्नेदेखि लिएर हरेक कुराको क्षमता बढ्दै जान्छ । कलेजले हरेक महिना गर्ने रोबाेट वार, एक्सपो लगायतका कार्यक्रमलले आफूहरूमा आत्मविश्वास आएको विद्यार्थी बताउँछन् । अहिले आफैं रोबाेट बनाइ प्रतिस्पर्धामा उत्रेका २५ वटै समूहले रोवर्टका लागि स्पोन्सर आफैं खोजेका हुन् । सफ्टवेरिका कलेज अफ आइटी र ई-कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेल आइटी कम्पनी, होटेल, पालिका लगायतका विभिन्न संघसंस्थाको सहयोगले विद्यार्थीले कार्यक्रम गरिरहेको सफ्टवेरिका कलेज अफ आइटी र ई–कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेलले बताए । यो कार्यक्रमभन्दा पहिले गरेका कार्यक्रममा विद्यार्थी र विभिन्न संघसंस्थाको आकर्षण बढेकाले त्यसैलाई निरन्तरता दिन कार्यक्रम गरिएको उनको भनाइ छ । उनले भने, ‘अहिलेका विद्यार्थीलाई शिक्षा सधै बोरिङ हुन्छ भन्ने अनुभव छ, यसलाई चिर्दै अलि रोचक बनाउन सकिन्छ र रमाएरै पनि सिक्न सकिन्छ भनेर कार्यक्रम गरिएको हो । र, सफल पनि भइरहेको छ ।’ प्रमुख पौडेलका अनुसार यो कार्यक्रममा सफ्टवेरिकासँगै काठमाडौं उपत्यका रहेको विभिन्न आइटी र रोवर्टीक कलेजका विद्याहरूले सहभागीता जनाएका छन् । रमाइलोसँगै शिक्षा नेपालमा अझै पनि पाठ्क्रममा सीमित घोकन्ते शिक्षा छ । व्यवहारिक शिक्षाका नारा लगाए पनि त्यो व्यवहारमा लागु भने भएको छैन । सफ्टवेरिका यस्तो कलेज हो, जुन विश्वका विभिन्न देशमा दिरहेको आइटी शिक्षा नेपालमै नेपाली विद्यार्थीलाई दिरहेको छ । प्रमुख पौडेल अब विद्यार्थीलाई घोकाएर नभइ रमाइलो तरिकाले शिक्षा दिनुपर्ने बताउँछन् । ‘विद्यार्थीलाई यस्तो शिक्षा दिनुपर्छ जहाँ उनीहरूलाई पढेको होइन रमाइरहेको महसुस् होस्’ भन्छन्,‘हामीले यसको सुरुवात गरेका छौँ, यहाँ विद्यार्थीहरू रोबाेट बनाइरहेका छन्,सँगै रमाइ रहेका छन् ।’ विद्यार्थीले बनाएका रोबाेटमा विभिन्न किसिमका प्रविधि प्रयोग भएको छ । जसरी अभ्यास गरेर विद्यार्थी आफ्नो हातले रोवर्ट बनाउँछन्, त्यसलाई आफैंले कार्यक्रम गरेर सार्वजनिक गर्छन । त्यसमा आएका कमीकमजोरीलाई विद्यार्थी आफैंले सच्याउने र आफैं कसरी प्रयोमा ल्याउने भनेर सिक्न कलेजले यस्ता कार्यक्रम गर्दै आएको उनले बताए । आइटी, इलेक्ट्राेिनिक्स र रोबाेटीक्सको उपकरणसँग खेल्ने, त्यसको प्रयोग गर्ने, त्यसका विभिन्न कमी कमजाेरी पत्ता लगाउने र आफ्नैं रोबाेट बनाउने अवसर विद्यार्थीलाई दिएको हो ।