बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

काठमाडौं । संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/सात महिला) लाई बिदाइ गरेको छ । बुधबार नेपालका लागि बेलायती राजदूत रोब फेनले यस वर्षको समूहलाई बिदाइ गर्ने र गत वर्षको समूहलाई पुनरागमन गर्ने कार्यक्रममा स्वागत गर्दै आफ्नो देशले यस्तो सहयोग गर्न पाउँदा गर्व महसुस भएको  बताए । उनले भने, ‘पूर्ण छात्रवृत्ति प्राप्त विद्वानहरूले नेपालका उत्कृष्टमध्ये केहीलाई प्रतिनिधित्व गर्छन् र बेलायतले उनीहरूलाई महत्वपूर्ण सम्बन्धहरू निर्माण गर्न सहयोग गर्न पाउँदा गर्व छ । ब्रिटिस विश्वविद्यालयहरूमा आफ्नो समयदेखिको सीप, ज्ञान र मित्रताका साथ यहाँ परिवर्तन गर्दै आएका धेरै पूर्वविद्यार्थीहरू देख्न पाउनु पनि खुसीको कुरा हो ।’ छात्रवृत्ति प्राप्तकर्ताहरुले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनदेखि लिएर उड्डयन डिजिटल प्रविधि, विश्वव्यापी स्वास्थ्य नीतिदेखि बालबालिका युवा र अन्तर्राष्ट्रिय विकाससम्मका विभिन्न विषयहरू अध्ययन गर्नेछन् । नेपालमा सन् १९८३ मा उक्त चेभेनिङ छात्रवृत्ति कार्यक्रम ज्ञानेन्द्रधर प्रधानाङ्ग  (म्यानचेस्टर विश्वविद्यालय) र रामकृष्ण प्रसाईं (रिडिङ विश्वविद्यालय) का साथमा सुरु भएको थियो । यस वर्षसहित कुल २६२ नेपालीले अहिलेसम्म प्रतिष्ठित छात्रवृत्ति प्राप्त गरिसकेका छन् । पूर्वविद्यार्थीहरूले नेपालमा राजनीतिदेखि व्यापार, शिक्षादेखि कूटनीतिलगायत विभिन्न क्षेत्रमा सेवा गरिरहेका छन् । बेलायती विदेश सचिवको आधिकारिक निवासका नाममा राखिएको यस छात्रवृत्तिमार्फत विश्वभरका ५० हजारभन्दा बढी व्यक्तिहरूले बेलायतमा अध्ययन गरेका छन् ।

यी हुन् राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थी

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यार्थीदेखि शैक्षिक संस्था र शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको छ । साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरेको शिक्षा दिवस सरकारले गत वर्षदेखि असोज २ गते मनाउन सुरु गरेकाे थियाे । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज २ लाई आधार मान्दै सरकारले दिवस मनाउन थालेका हो । सो अवसरमा सरकारले शिक्षालाई उत्कृष्ट बनाउन सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको हो । जसमा, सरकारी, निजी र प्राविधिक शिक्षालयदेखि शिक्षक तथा कर्मचारीहरू पनि रहेका छन् । नेपालका उत्कृष्ट क्याम्पस सरकारले देशभरका उत्कृष्ट क्याम्पस छनोट गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा छनोट गरिएका तीनवटा क्याम्पस उत्कृष्ट ठहर्दै पुरष्कृत गरेको छ । पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ बिजनेस क्याम्पस, कास्की, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनभावना क्याम्पस, ललितपुर र विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी क्याम्पसहरूमध्ये  त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज, सोल्टीमोड उत्कृष्ट भएका छन् । राष्ट्रिय स्तरमा उत्कृष्ट भएको क्याम्पसलाई २ लाख ५० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । तीनवटा उत्कृष्ट सामुदायिक विद्यालय सरकारले देशभरका सार्वजनिक (सामुदायिक) विद्यालय छनोट गरी पुरष्कृत गरेको छ । स्कुललाई २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालयलाई छनोट गरिएको हो । जसमा दाङको तुलसीपुरमा रहेको श्री मा.वि. प्रथम, काठमाडौंको विश्व निकेतन मावि द्वितीय भएको छ भने दाङको सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालय तृतीय बनेका छन् । प्रथम भएको विद्यालयलाई शिल्ड, ध्वजा र तीन लाख नगद पुरस्कारसहित प्रमाणपत्र, द्वितीयलाई शिल्ड, ध्वजा र दुई लाख नगदसहित प्रमाणपत्र र तृतीयलाई शिल्ड, ध्वजा  र एक लाख नगदसहित प्रमाणपत्र दिइएको छ । उत्कृष्ट निजी विद्यालय सरकारले निजी लगानीका (संस्थागत) विद्यालय मध्येबाट काठमाडौंको टोखामा रहेको फलोसेन्ट मावि, काठमाडौं महानगरपालिका- १५ मा रहेको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र तेस्रो नारायणस्थानमा रहेको बुढानीलकण्ठ स्कुल भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाखसहित प्रमाणपत्र दिइएको  छ । उत्कृष्ट प्राविधिक शिक्षालय प्राविधिक शिक्षालयतर्फ पनि तीनवटा प्राविधिक विद्यालय छनोट गरिएको छ । जसमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निक, कपिलवस्तुको जनता मावि, बाणगंगा र सानो भर्‍याङमा रहेको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन् । ती शिक्षालयलाई गुणस्तर शिक्षा दिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा उत्कृष्ट छनोट गरिएको हो । सबै शिक्षालयलाई एक लाख रकमसहित प्रमाणपत्र दिइएको छ । यस्तै, समाजमा रहेका बालबालिकालाई शिक्षा दिने संस्थालाई पनि पुरष्कृत गरिएको छ । सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालवालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरिरहेको काठमाडौंको मनोहरामा रहेको ‘युवा क्रियाकलाप उत्थान केन्द्र’ र ललितपुरको सी आशा फाउण्डेशनलाई सरकारले दुई लाख नगदसहित प्रमाणपत्र दिइएको  छ । उत्कृष्ट शिक्षक कर्मचारी शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारी पनि सम्मान भएका छन् । जसमा विश्वविद्यालय शिक्षक तथा कर्मचारी २५ जना, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी ५ जना, सार्वजनिक विद्यालयका ७४ जना, निजी लगानीका ३२ जना, विद्यालय ववस्थापन समिति, बालविकास सहजकर्ता ३५ जना रहेका छन् । तीन सय विद्यार्थी विभूषित आज तीन सय विद्यार्थीलाई नेपाल विद्याभूषणबाट विभूषित गरिने भएकाे  छ । उच्च शिक्षातर्फ करिब तीन सय जना विद्यार्थी विभूषित गरिएको छ । जसमा नेपाल विद्याभूषण ‘क’ २ सय ६४ जना, नेपाल विद्याभूषण ‘ख’ ३५ जना, नेपाल विद्याभूषण ‘ग’ २१ जना, नेपाल छात्रापदक ‘क’ १५ जनालाई दिइएको छ ।

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन् । आईतबार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको बताइन् । उनले हाल देशमा आधारभुत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेको जानकारी दिइन् । उनले मुलुकभर सञ्चालनमा रहेका यि संस्थाहरुलाई व्यवस्थित गर्दै जानुपर्ने आजको जिम्मेवारी रहेको बताइन् । सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेको जानकारी दिइन् । सामुदायिक विद्यालयमा आजसम्म १ लाख ६८ हजार ८३७ कक्षाकोठा रहेको बताइन् । मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारुप तयार गरी शुरु गर्ने योजना बनाएको बताइन् । माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको बताइन् । मन्त्री भट्टराईले विद्यालय पाठ्यक्रम सुधारको योजना बनाइरहेको जानकारी दिइन् । शिक्षालाई मान्व पुँजी निर्माण गर्ने मात्रै नभइ सामाजिक विकासको आयामका रुपमा बुझ्नुपर्ने बताइन् । उनले शिक्षामा सुधार गरी अघि बढ्नु आजको अपरिहार्यता भएको बताइन् ।