सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

मेटलाइफ नेपालले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । यो अवसरले देशभरका लाखौँ मानिसहरूको जीवन र भविष्यको संरक्षणप्रति कम्पनीको निरन्तर प्रतिबद्धता र दीर्घकालीन विकासलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । विगत वर्षहरूमा मेटलाइफ नेपालले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपाली परिवारको साथ दिँदै आएको छ । आफ्नो यात्राको क्रममा कम्पनीले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहक पहुँच र सुविधा विस्तारमा उल्लेखनीय लगानी गरेको छ। यसै क्रममा मेटलाइफ नेपालले ‘३६० हेल्थ सेवा’ र ‘वान बाइ मेटलाइफ’ मोबाइल एपमार्फत स्वास्थ्य व्यवस्थापन सेवा सुरु गर्ने नेपालकै पहिलो बीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको छ । वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइलाई संयोजन गर्दै मेटलाइफ नेपालले नेपाली परिवारलाई प्रदान गर्दै आएको मार्गदर्शन र सहयोगलाई निरन्तर सुदृढ बनाइरहेको जनाएको छ । मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामका प्रमुख (हेड) इलेना बुटारोभाले आगामी वर्षहरूलाई लिएर उत्साह व्यक्त गर्दै भनिन्, 'नेपालसँगै अघि बढ्दै हाम्रा ग्राहकहरूको भविष्यप्रति थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ।' यस वर्ष ‘ग्रेट प्लेस टु वर्क’ मान्यता प्राप्त गर्न सफल भएकोमा मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता सामाजिक तथा कल्याणकारी पहलहरूमा कर्मचारीहरूको निरन्तर समर्पणप्रति कम्पनीले प्रशंसा व्यक्त गरेको छ । मेटलाइफ नेपालले सुरक्षा जीवनका सबै आयाममा फैलिनुपर्ने अवधारणालाई आत्मसात् गर्दै अघि बढिरहेको जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफ नवौँ वर्षमा प्रवेश, ई-पोलिसी लोन सेवा सुरु

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतबार स्थापनाको आठ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन सकिने ‘ई–पोलिसी लोन’ सेवा सुरु गरेको छ । उक्त सेवाको कम्पनीका सञ्चालकहरू विरेन्द्र जङ्ग पाण्डे, सम्झना अर्याल, सुसन शेरचन, शम्सेर पराजुली र भावना बलायर, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा ब्रान्ड एम्बेसेडर मनोज गजुरेलले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रसाईंले ‘ई–पोलिसी लोन’लाई डिजिटल रूपान्तरणको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै आधुनिक प्रविधि अपनाएर बीमा क्षेत्रलाई अगाडि बढाउने लक्ष्य रहेको बताए । उनले जुनसुकै स्थानबाट सहज रूपमा सेवा लिन सकून् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको स्पष्ट पारे । ‘ई–पोलिसी लोन’ सेवा लिन बीमालेख कम्तीमा तीन वर्ष पूरा भई तीन वर्षको बीमाशुल्क भुक्तानी गरिएको तथा बीमालेख चालु अवस्थामा रहेको हुनुपर्नेछ । साथै, केवाईसी तथा बैंक खाता अद्यावधिक भएको हुनुपर्ने कम्पनीले जनाएको छ । यो सेवा प्रभु महालक्ष्मी लाइफको वेबसाइट तथा मोबाइल एप दुवैमार्फत उपलब्ध छ । कम्पनीले ‘ई–पोलिसी लोन’सँगै एआई च्याटबट, डायनामिक क्यूआर तथा लग–इन पोर्टल पनि सञ्चालनमा ल्याएको जनाएको छ । वार्षिकोत्सवकै अवसरमा प्रभु महालक्ष्मी लाइफले आइतबार तिखेदेवलमा निःशुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ । शिविरबाट ५०० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १४ को कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा ओम अस्पतालका विशेषज्ञ डा. दिवाकर पराजुलीको नेतृत्वमा रहेको १० सदस्यीय चिकित्सक टोलीले मुटुको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा सहभागीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको कम्पनीले जनाएको छ । यसैबीच, प्रभु महालक्ष्मी लाइफले देशभर रहेका आफ्ना ११५ शाखा तथा उपशाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम आयोजना गरी नवौँ वार्षिकोत्सव मनाएको छ ।