बीमा गराउँदा बुढी ठूस्स, ४० लाख पाएपछि छोरी डाक्टर

खेमराज ढकाल तपाईं एक घन्टा कुनै योगी वा महात्मासँग गफ गर्नूस्, संगत गरेको केहीबेरपछि तपाईंमा जीवन केही होइन् भन्ने भान पर्दछ र तपाईंमा वैराग्यता आउन थाल्दछ  । तपाईं केहीबेर कुनै राम्रो राजनीतिकर्मीसँग बस्नूस्, केही बेरपछि तपाईंलाई पनि राजनीति गर्न वा उसको कार्यकर्ता हुन मन लाग्दछ । तपाईं कुनै डिस्को वा वारमा कुनै जाँड पिउने साथीसँग केहीबेर बस्नूस्, एकछिन पछि तपाईंलाई पनि उसको कुरा सुनेर जाँड पिऊँ पिऊँ जस्तो लाग्छ । हामी जसको र जस्तो सगंत गर्दछौं, विस्तारै हामी पनि ऊ जस्तै हुन थाल्दछौं ।  झन् बीमा अभिकर्ताको कुरा सुन्यौं भने त हामीलाई लाग्न सक्छ– जीवन केही होइन, हामी जतिखेर पनि मर्न सक्छौं… बरु आफू बाँच्दा वा जीउँदो छँदभन्दा मरेपछि एकमुष्ठ पैसा आउने हुँदा बरु मर्दा फाइदा छ । आजभन्दा पन्ध्र–सोह्र वर्ष अगाडिको कुरा हो । मेरो एकजना मिल्ने साथी जो पेशाले जीवन बीमाको अभिकर्ता हुन् । ऊ र म साथी भएको नाताले र उसको पेशा नै अरूलाई बीमा गराउने भएकोले ऊ बारम्बार मेरो घरमा आइरहन्थ्यो । एकछिनको औपचारिकता निभाएपछि ऊ बीमा गर्ने होइन त भनेर मसँग पेशागत मार्केटिङ गरिहाल्थ्यो । म भने बीमामा खासै रुचि नभएकोले र पैसा पनि नभएकोले जहिले पनि हरेक भेटमा ठाडै नाइँ भन्न नसकेर र साथी रिसाउँछ भन्ठानेर हाँसीहाँसी पछि गरौंला नि भनेर टार्दथें ।  मलाई र मेरो श्रीमतीलाई बीमासम्बन्धी कुनै ज्ञान नभएकोले बीमा गर्नुपर्दछ भन्ने लाग्दैनथ्यो । झन् मेरी श्रीमती त उसलाई देखिसहदिन थिइन् । भन्थिन् कस्तो हो … हजुरको साथी जहिले पनि घरमा आई बीमा गर, बीमा गर मात्र भन्छन् । उनको संगत नगर्नू है… यस्ताको …। काठमाडौंको बसाइँ महगो छ, घरखर्च गर्न त धौधौ छ, बीमा गर्ने खर्च कहाँ बाट ल्याउने …? म भने उनलाई फकाउँदै नरिसाउन, साथी हो, उसको पेसै यस्तै छ, बरु चिया पकाइदेऊन भनेर फकाउँथे । उनी भने रिसाइरिसाइ साथी र मलाई चिया पकाउँथिन् । तर यो चोटि उसले अति नै कर गर्यो मलाई । सायद यो महिना एउटा पनि उसको पोलिसी नबिकेको हुनुपर्दछ । मैले संधै झैं उसलाई टार्दै पछि गरौंला नि, हुन्न ? भनें । उसले पछिपछि भनेर नभन्न यार, आज त एउटा पोलिसी जसरी पनि काटदछु …के तँ मेरो साथी होइन ? उसले साथीको प्रश्न उठायो, मैले हो नि त, मेरो मिल्ने साथी हो भनेर भनें । उसले साथी हो भने एउटा जीवन बीमा गर न त भनेर अति नै कर गर्यो, मैले अहँ भन्नै सकिनँ  । विस्तारै हुन्छ भनेँ । ऊ औधी खुसी भयो । म भने मनमनै बीमा गर्ने पैसा कहाँबाट ल्याउने होला भनी सोंचिरहें । कर गरेर भएपनि बीमा त गर्ने भइयो । अब कुरा आयो कसको गर्ने ।  उसले मलाई सुझाव दिँदै परिवारमा तँ नै कमाउने हो, तेरै गर्नुपर्छ । यदि तँलाई भोलि केही भइहाल्यो भने अथवा मरिस् भने त एकमुष्ठ पैसा भाउजूले पाउनु हुन्छ । ऊ स्टे्रट फरवार्ड मान्छे सिधै भनिदियो तँ मरिस भने एकमुष्ठ पैसा आउछ भनेर । श्रीमतीले यो कुरा सुनेर मलाई इसाराले कोठामा आउन आदेश दिइन् । म डराइडराइ एकछिन है भनेर साथीलाई बैठककोठामै छोडेर श्रीमती भएको कोठामा गएँ र फकाउँदै भने के भयो ?  श्रीमतीको अनुहार मलिन थियो, घुँक्कघुँक्क रुँदै उनले भनिन्, ‘चाहिँदैन बीमासीमा… कस्तो साथी हो यो तपाईंको ? तपाईं मरेपछि पैसा आउछ रे… तपाईं मरेपछि मलाई पैसाको के काम । मेरो श्रीमती अलि भावनात्मक र संवेदनशील मान्छे भएकोले म मर्ने कुरा सुनेर होला उसलाई चोट परेको । मलाई केही हुन्न क्या… भनेर उसलाई कोठामै छोडेर एकछिन है भनेर म फेरि साथी भएको बैठककोठामै आएँ र भनें– मेरो नगर्दा हुन्न ? उसले फेरि उसो भए छोरीको गरौं न त भन्दै सुझायो ।  छोरीको पढाइको लागि शैक्षिक बीमा । अन्ततः मेरो ३ वर्षे छोरीको नाममा शैक्षिक बीमा गरियो, १६ वर्षे अवधिको, बीस लाख रुपैयाँ बीमाङ्कको । जसमा मैले महिनामा करिब दश हजार जति तिर्नु पर्ने भयो । उसले हाँस्दै पोलिसी काट्यो, म भने भित्रभित्र खर्च बढ्यो भनेर खिन्न भइरहेको थिएँ । उसले पोलिसी काट्दै मलाई ढाडस दिँदै भन्न थाल्यो– कहिले काही किस्ता तिर्ने पैसा भएन भने भन्न म हालिदिम्ला सापटी । मैले टाउको हल्लाई स्वीकृति दिएँ । छोरीको शैक्षिक बीमा गरेको त्यो रात श्रीमती मसँग धेरै रिसाइन्, अब प्रत्येक महिना बीमालाई दश हजार तिरेपछि केले घर खर्च गर्ने ? के खाने ? त्यही पोलिसी पकाउने हो अब ? आफै पुर्याउनु घरखर्च, तलब मलाई दिनु पर्दैन अब भन्दै रिसाइन् । त्यो रात रिसाएर घरमा खाना पनि पाकेन, नखाई सुतियो । साँच्चै भन्नुपर्दा चार पाँच दिन मेरो र श्रीमतीबीच बोलचाल नै बन्द भयो । झन कहिलेकाही गफैगफमा त्यो बीमा अभिकर्ता मेरो साथीको कुरा निस्कियो भने ऊ मलाई खाउँला जसरी हेर्थिन्  । त्यस्ता साथीको कुरा नगर्नु है मसँग, त्यस्तालाई घरमा पनि ल्याउनु पर्दैन भन्थिन् ।  कहिलेकाँही भने उसलाई म घरबाहिरै भेट्थेँ । यद्यपि पछिल्लो समय भेट पातलिँदै गइरहेको थियो । मैले एउटा पोलिसी किनिदिएर होला र मसँगको स्वार्थ पुरा भएर होला प्रायः आउने साथी बिस्तारै टाढिँदै गयो । आखिरमा उसको काम फत्ते भयो, अब किन पो आउँथ्यो र मेरोकहाँ ? उसलाई पोलिसी बेच्नुथ्यो बेच्यो । यता मैले बीमाको किस्ता नियमित नै तिरिहरेको थिएँ । घर खर्च गर्न धौधौ परिरहेकै थियो । समयको अन्तरालसँगै छोरीले पनि एसईईमा ए प्लस ल्याइन् । सानैदेखिको उसको डाक्टर पढने रहरले राम्रै कलेजमा साइन्स पढाइयो र प्लस टु पनि राम्रैसँग पास गरिन् । आज झन खुसीको दिन थियो । एमबीबीएस इन्ट्रान्समा छोरी पास भएकोले अब छोरी डाक्टर पढ्ने र उसको रहर पुरा हुने पक्का थियो तर डाक्टर पढ्न साठी लाखजति लाग्ने भएकोले यत्रो पैसा कहाँबाट ल्याउने भनेर हामी चिन्तित थियौं । सम्पत्तिको नाममा हामीसँग केही थिएन । झन मेरो सानो जागिर त्यसमा पनि काठमाडौको बसाइँ– खान लाउन र छोरीलाई पढाउँदा दैनिक घर खर्च चलाउन धौधौ नै थियो । बैंक ब्यालेन्स जिरो थियो । विवाहको श्रीेमतीको गरगहना बेच्दा र मेरो नोकरीको सञ्चयकोषको सबै रकम निकाल्दा पनि बीस–बाइस लाख मात्र जोहो हुन्थ्यो ।        छोरीलाई डाक्टर पढाउन साठी लाख लाग्दथ्यो, जसमा बीस लाख घटाउँदा पनि चालीस लाख पुग्दैनथ्यो । अरू तिरबाट सरसापट माग्न नखोजेको पनि होइन । तर भनेको बेला कस्ले दिन्छ र सापटी ? फेरि तिर्नु पनि त पर्यो नि त, कसरी तिर्ने ? भनेको बेला कोसँग पैसा हुन्छ आजकाल ? फेरि कसले पत्याउने ? थोरै भए पो सापटी माग्नू । र अन्त्यमा हामी निराश हँुदै छोरीलाई डाक्टर नपढाउने बरु नर्स पढाउन धेरै खर्च नलाग्ने भएकोले नर्स नै पढाउने निर्णय गरियो । छोरीको सानैदेखिको डाक्टर पढ्ने सपना भए पनि, उसले डाक्टरमा नाम निकाले पनि बल्लबल्ल उसलाई नर्स नै पढ ल छोरी, बाबामामुसँग त्यत्रो पैसा छैन भनेर सम्झाइयो र अन्त्यमा ऊ पनि नमानीनमानी नर्स नै पढ्ने निधो गरिन् । आज छोरीको नर्सको इन्ट्रान्स परीक्षाको दिन, छोरी परीक्षा दिनको लागि ठिक्क पर्दै थिइन् । म र मेरो श्रीमती पैसाकै कारणले छोरीलाई डाक्टर पढउन नसकेको र हाम्रो कारणले छोरीले नर्सको परीक्षा दिन लागेको सम्झेर मन खिन्न भइरहेको थियो । एक्कासि घरको मूल ढोकामा कारको हर्न बज्यो । सायद कोही आएको हुनुपर्दछ । हामीले ढोका खोल्यौं । गाडीमा त उही मेरो पूरानो साथी पो रहेछ, उही क्या त बीमा अभिकर्ता । ऊ वर्षौंपछि मेरो घरमा आएको थियो । उसलाई देख्दा निकै ऊ निकै बदलिएको देखिन्थ्यो । उसले टिलिक्क टल्केको जुत्ता र निकै राम्रो सुट लगाएको थियो । संधै बाइक चढ्ने ऊ आज कारमा थियो । मैले पनि औपचारिकता देखाउँदै आऊ बस भने । चिया खाने हो त भनेर सोध्न आँट पनि आएन । मेरो श्रीमतीले मन नपराएको मान्छे हो ऊ ।  ‘कहाँ हराएको यत्रो दिन’ भनेर मैले गफको प्रसंग कोट्याएँ । ‘म कहाँ हराएँ र ? बीमाको काम यस्तै हो … थाहा नै छ त तिमीलाई । अहिले म बीमा कम्पनीको प्रदेश हेड भइसकेँ नि त, धेरै देश पनि डुलिसकेँ, पैसा पनि राम्रै कमाइयो । ऊ त्यो कार छ नि त्यो पनि कम्पनीले मलाई नै दिएको हो,’ उसले भन्यो । मैले उसलाई बधाईसँगै यो तिम्रो मिहिनेतको परिणाम हो भनेँ । हाम्रो कुरा सुनेर श्रीमती रिसाइरहेकी थिइन् । ऊ वर्षौंपछि हाम्रो घरमा आउँदा पनि मेरो श्रीमतीको मन र रिस भने अझै मरेको थिएन । वर्षौपछि कसरी सम्झियौ त मलाई आज भनी मैले प्रश्न गरेँ । उसले आफ्‌नो ब्यागबाट कागजपत्र निकाल्दै मलाई एक चेक थमाउँदै भन्यो, ‘ल यो राख चालीस लाखको तिम्रो छोरीको नामको चेक । थाहा छ तिमीले छोरीको सोह्र वर्षे शैक्षिक बीमा गरेको थियौ नि, बीस लाखको त्यसको भाका पुग्यो । तिमीले तिरेको बीस लाख र त्यसको बोनस गरेर जम्मा चालीस लाख भयो । म त्यही दिन आएको ।’  म खुसीले गदगद भएँ । नसोचेको पैसा आज एक्कासि हातमा आइपुग्यो । बीमा भनेको त खर्च भन्ठानेको थिए, यो त बचत पो रहेछ । मैले उसलाई आफ्‌नो कमिशनको लागि बीमा गराएको होला भन्ठानेको थिएँ, त्यसो होइन रहेछ । मैले उसलाई कति गलत सोंचेछु । बीमा अभिकर्ताहरू हामीजस्ताको लुखुरलुखुर घर धाइरहन्छन्, बीमा नगरुन्जेल लिसोजस्तै टाँस्सिरहन्छन् भनेर सोचेको होइन रहेछ । बीमा भनेको त हाम्रौ लागि रहेछ । भविष्यको जोखिम कम गर्न पो रहेछ । बल्ल आज मैले बुझेँ । यदि आजको यो स्वार्थी दुनियाँमा हाम्रो लागि आफ्‌नो परिवारबाहेक बाहिरको कोही सोच्ने छ भने त्यो बीमा अभिकर्ता नै हो । मैले बल्ल बीमाको महत्व बुझेँ । यत्तिकैमा छोरी पनि नर्सको परीक्षा दिन तयार हुँदै कोठाबाट बाहिर ठीक्क निस्केकी मात्र के थिइन्, ती मेरा साथीले सोधिहाले– तिम्री छोरी त ठूली भइसकिछिन्, कतिमा पढ्दैछौ छोरी ? उसले छोरीलाई कतिमा पढ्छौ भनेर के प्रश्न गरेका मात्र थिए यता मेरी श्रीमतीले हाँस्दै र मेरो हातको उसले भर्खरै दिएको चालीस लाखको चेक हेर्दै छोरीले अब डाक्टर पढ्छे भनिन् ।  सायद श्रीमतीले चालीस लाखको बीमाको चेक मेरो हातमा देखेर हुनुपर्दछ छोरीलाई डाक्टर पढाउन आँट आएको । मैले पनि मनमनै गरगहना र सञ्चयकोषको गरी बीस लाख, अनि बीमाको चालीस लाख जम्मा गरी साठी लाख । म खुसीले फुरुङ भएर भनेँ– हो डाक्टर पढ्छे । मेरो साथीले पनि बधाई दिँदै हामीबाट बिदा हुन खोज्यो ।  यता म भने चियासम्म खुवाउन नसकेकोमा दुःख मानिरहेको थिएँ । एक्कासि श्रीमतीले भान्साबाट हामीनिर आई छोरीलाई हजारको नोट दिँदै चोकबाट छोरीलाई मासु लिन भनिन् । उनले साथीलाई भनिन्, ‘आज चिया होइन, मासुभात खुवाउँछु मेरो देवर बावुलाई । आज यतै बस्नुपर्छ है । बीमा सम्बन्धी धेरै कुरा बुझ्‌न मन लागेको छ मलाई ।’   मेरी श्रीमती र साथी गफ गर्दै थिए, यता म भने मेरो श्रीमतीको साथीप्रति र बीमाप्रति आएको सकारात्मक परिवर्तन देखेर खुसी हुँदै थिएँ । तर त्यतिखेर साथीलाई नराम्रो सम्झेकोमा मनमनै पश्चाताप पनि भैरहेको थियो । उता भान्साबाट मेरी श्रीमतीले मेरो साथीलाई सोेध्दै थिइन्, ‘साँच्ची बावु यो बीमा अभिकर्ता बन्न के गर्नु पर्दछ ? म पनि बनूम् कि क्या हो बीमा अभिकर्ता ?’

३० सेकेण्डमै कर्जा, बैंकका लागि चुनौती

काठमाडौं । २०२४ सेप्टेम्बरको अन्त्यतिर सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीबाट सूचना प्रविधि विभाग प्रमुख निरञ्जन रेग्मीलाई निर्देशन आयो, बीमा लेख धितो कर्जालाई डिजिटल बनाउनु । उच्च व्यवस्थापनबाटै निर्देशन आएपछि रेग्मी योजना बनाउनतिर लागे । नेतृत्वको जिम्मेवारी पाएपछि विभिन्न फिनटेक कम्पनीहरूसँग वार्तामा बसे । बीमा लेख धितो कर्जालाई कसरी अनलाइन गर्ने भन्ने विषयमा उनी धेरैवटा पेमेन्ट गेटवेसँग छलफल गरे । लागत धेरै लाग्ने भएपछि केही कम्पनीसँग बीचमै वार्ता तोडे । तर, उनले हार खाएनन् । विभिन्न चरणमा भएको वार्ता र डकुमेन्टेसनको कार्यपछि अन्ततः डिजिटल वालेट ‘खल्ती’सँग सहमति भयो । त्यसपछि बन्यो, ‘सूर्यज्योति ई–कर्जा’ । ‘कति भ्यालिडेसन राख्ने, कर्जा कसरी दिने भनेर व्यवस्थापन टिमसँग बस्यौँ । विभिन्न चरणमा छलफल, डकुमेन्ट तयार र फिनटेक कम्पनीसँगको छलफलपछि अन्तिममा पूर्ण रूपमा अटोमेटड (स्वचालित) हुने गरी खल्तीसँग सहमति भयो,’ रेग्मीले प्रडक्ट विकासको स्मरण गर्दै भने, ‘यसमा धेरै अध्ययन विश्लेषण गरियो । ६ महिनाअघि प्रक्रिया सुरु गरेर चैत २५ गते सार्वजनिक गरेका हौं ।’  के हो सूर्यज्योति ई-कर्जा ? सूचना प्रविधि विभाग प्रमुख रेग्मीका अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितहरूलाई बीमा लेख (इन्स्योरेन्स पोलिसी)को आधारमा अनलाइनको माध्यमबाट दिइने कर्जा ‘सूर्यज्योति ई-कर्जा’ हो । सूर्यज्योति ई-कर्जा लिनका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गरेको हुनुपर्छ । अर्थात् सूर्यज्योति लाइफबाट बीमा पोलिसी खरिद गरेको हुनुपर्छ । साथै, बीमा पोलिसी खरिद गरेर तीन वर्ष पूरा भएको र तीन वटा किस्ता भुक्तानी गरेका बीमितलाई कम्पनीले कर्जा उपलब्ध गराउँछ । ‘प्रक्रिया पुगेपछि सिस्टममा भ्यालिडेट हुन्छ । बीमितले पाउने कर्जा रकम कति हो सिस्टमबाटै अटोमेटिक गणना हुन्छ । जस्तो ३ वर्षअघि बीमा गरेर ३ वटा किस्ता तिरेको छ भने कर्जा लिन योग्य हुन्छ । तत्कालका लागि ईकर्जा योजनामा ५० हजार रुपैयाँसम्म मात्रै ऋण दिइएको छ,’ उनले भने, ‘आगामी दिनमा राम्रो प्रतिक्रिया आयो भने ५० हजारको सीमा बढाउन सकिन्छ । तर, अहिले कर्जा लिन योग्य जतिभएपनि न्यूनतम १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कर्जा दिइरहेका छौं ।’ यसरी लिन सकिन्छ कर्जा  सूर्यज्योति ई–कर्जा प्रवाहका लागि कम्पनीले खल्तीसँग सम्झौता गरेको छ । त्यसैले सूर्यज्योति ई–कर्जा लिन इच्छुक बीमितले खल्ती एप डाउनलोड गर्नुपर्ने हुन्छ । खल्ती एपमा सूर्यज्योति ई-कर्जा अप्सन देखिन्छ । त्यसमा खल्तीको केवाईसी र सूर्यज्योतिको केवाईसी म्याच हुनुपर्छ । रेग्मीका अनुसार बीमितको नाम, मोबाइल नम्बर, जन्ममिति लगायत सबै म्याच भएपछि मात्र बीमा पोलिसीको विवरण देखाउँछ । ‘हामीले सबै विश्लेषण गरेर यो प्रडक्ट ल्याइएको हौं । त्यसैले बीमितको नाम, नम्बर, जन्म मिति १ सय प्रतिशत म्याच हुनुपर्छ । किनभने जोखिम धेरै छन् । ८०/९० प्रतिशत म्याच भएपछि कर्जा दिएको छैनौं । त्यसैले १ सय प्रतिशत म्याचमा कम जोखिम हुन्छ,’ रेग्मीले भने, ‘त्यसपछि पोलिसी नम्बर राखिसकेपछि कर्जा लिन योग्य छ भने कति योग्य हो भनेर देखाउँछ । कर्जा लिन योग्य छैन भने कर्जा पाउँदैन ।’ यदि पहिला नै कर्जा लिएर पुनः प्रयास गरेको छ भने पुरानो कर्जा नतिरि फेरी कर्जा लिन पाउँदैन । सबै विवरण आइसकेपछि कति कर्जा चाहिने हो आवश्यकता अनुसार लिन सक्ने उनको भनाइ छ । यी सबै प्रक्रिया पुर्याएपछि मोबाइल नम्बरमा ओटीपी आउँछ । ओटीपी नम्बर राखिसकेपछि सिस्टमले स्वतः तत्काल खातामा रकम पठाउँछ । ‘प्रक्रिया पूरा हुने बित्तिकै एक मिनेटमै पैसा आउँछ । अझ एक मिनेट पनि नलाग्न सक्छ । किनभने राम्रोसँग चलाउन जानेको व्यक्तिले ३० सेकेण्ड भित्र कर्जा पाउँछ,’ उनले भने ।  शाखामा जानुपर्ने वाध्यताको अन्त्य  यसअघि बीमा लेख धितो कर्जा लिन शाखा कार्यालयमै जानुपर्ने बाध्यता थियो । साथै धेरैवटा डकुमेन्टेसनको काम गर्नुपर्ने हुन्छ । कार्यालयमा जाँदा विभिन्न कारणले ढिलाई हुने समस्या थियो । यो ढिलाई नहोस् र ग्राहकले चाहेको समयमा कर्जा पाओस् भन्ने हिसाबले ई–कर्जा ल्याइएको रेग्मीको भनाइ छ ।  ‘यो एउटा क्रेडिट कार्ड जस्तै हो । जस्तो ग्राहकलाई कर्जा चाहिएको छ भने सूर्यज्योतिको कुनै शाखामा जानुपरेन, कुनै आवेदन पनि दिनु परेन । ग्राहकले चाहेको बेला तत्काल खातामा जाने भयो । यसले ग्राहकलाई तत्काल काम हुने भयो । रिपेमेन्ट गर्ने व्यवस्था पनि सबै वालेटमा गरिसकेको छ,’ उनले भने, ‘यसअवधिमा २०/२५ जनाले कर्जा लिनु भएको छ । उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । कतिपयले कर्जा चाहिएको थिएन त्यतिकै प्रयास गरेको थिए कति छिटो पैसा आयो भन्नु हुन्छ । कतिपयले पैसाको आवश्यकता भएर प्रयास गरेर समस्या समाधान भयो भनेर प्रतिक्रिया दिनु भएको छ ।’  सबैबाट राम्रो प्रतिक्रिया आएकाले आगामी दिनमा थप रणनीति र व्यवसायिक योजना बनाउन सहयोग पुग्ने उनले बताए । ई–कर्जा बीमा क्षेत्रका लागि नयाँ भएकाले कर्जा लिएर नतिरेपछिको जोखिम पनि रहेको उनको भनाइ छ ।  ब्याजदर कति ? सूर्यज्योति ई-कर्जाको ब्याजदर कम्पनीले निर्धारण गरेबमोजिम १० प्रतिशत छ । बजारको माग अनुसार ब्याजदर घटबढ हुन सक्ने उनको भनाइ छ । ‘विगतमा बीमा लेख धितो कर्जामा १२ प्रतिशतसम्म ब्याजदर थियो । तर, ग्राहकको सुबिधाका लागि सबैको सहमतिमा प्राधिकरणले निर्देशन दिएपछि १० प्रतिशतमा झारेको हो,’ उनले भने ।  कागजी प्रक्रियाबाट बीमालेख धितोमा बीमालेखको मापदण्ड अनुसार कर्जा योग्य रकम प्रवाह भइरहेको छ । अनलाइन माध्यमबाट प्रवाह हुने कर्जामा व्यवस्थित हुँदै गयो र ग्राहको पहुँच बढाउन सकियो भने ५० हजारको सीमालाई पनि बढाउन सकिने उनको भनाइ छ ।  ‘कागजी प्रक्रिया अपनाएर कर्जा लिँदा २/३ घण्टा समय लाग्छ । कहिलेकाहीँ एक/दुई दिन पनि लाग्न सक्छ । साथै कम्पनीमा कर्जाको लिनेको चाप पनि धेरै हुन्छ । १७४ वटा शाखा कार्यालयबाट फाइल आउँदा कर्जाको चाप पक्कै हुने भयो,’ उनले भने, ‘अब ५० हजार रुपैयाँसम्मको कर्जा अनलाइनबाटै गयो भने हामीलाई काम गर्न पनि सहज भयो ।’ यो प्रडक्टले बैंकलाई कस्तो असर गर्छ ?  उनका अनुसार यो प्रडक्ट बैंकसँग सम्बन्धित छैन । बीमा पोलिसीको आधारमा कर्जा दिने भएकाले बैंकसँग सम्बन्धित नरहेको उनको भनाइ छ । तर, तत्कालका लागि असर नगरे पनि भविष्यमा भने बैंकका लागि चुनौती पनि बन्न सक्ने उनले बताए ।  बीमा कम्पनीले संस्थागत मुद्दतीमा लगानी गर्दा ५/६ प्रतिशत मात्रै ब्याजदर पाउँछन् । अब बीमा कम्पनीले कम ब्याजदरमा निक्षेपमा लगानी गर्नु भन्दा बीमितलाई कर्जा दिँदा कम्पनीको आम्दानी बढ्ने बीमाकर्मीहरूको भनाइ छ । तर, रेग्मी भने लगानीको योजनाभन्दा पनि ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रडक्ट ल्याइएको बताउँछन् । ‘यो प्रडक्टले कता प्रभाव पार्छ भन्ने विषयमा भविष्यमा बहस होला । तर, हामीले लगानी विविधीकरण भन्दा पनि ग्राहकलाई छिटो र सहज सेवा दिन यो प्रडक्ट ल्याएका हौं । सेवा दिँदा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि परेको छ भने फरक विषय हो । हामीले त्यो सोचेर बनाएको भने होइन,’ उनले भने । 

सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था गलत-निर्जीवन बीमा व्यवसायी

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग शुक्रबार भेटवार्ता गरेको छ ।  संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो ।  अध्यक्ष ओझासँगको भेटका क्रममा संघले निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाइबारे ध्यानाकर्षण समेत गराएको छ ।  सञ्चालकहरूको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामा पछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति संघले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित संचालकले पदमा बहाल रहादाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाइ छ । निर्जीवन बीमा व्यवसायीसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरूको साधारणसभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौं ।’  संघका अध्यक्ष सहितको पदाधिकारी टोलीले बीमा प्राधिकरणका अध्यक्ष ओझालाई सो प्रावधान सच्याउनका लागि आग्रहसमेत गरेको छ ।  लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए । सञ्चालकहरूले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरूलाई वञ्चित गर्ने कार्य  न्यायोचित नभएको संघले उल्लेख गरेको छ ।  कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधिकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’ सेयर बिक्रीसम्वन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानीसमेत प्रभावित हुने अध्यक्ष मल्लको भनाइ छ ।  नेपाली पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्साबारे पनि संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘बीमा ऐन २०७९ को दफा दुईमा पुनर्बीमा भन्नाले कुनै एक बीमकले आफूले धारणा गर्ने जोखिम भन्दा बढि अंशको जोखिम पुनर्बीमकले वा अर्को बीमकले ब्यहोर्नेगरी त्यस्तो बीमकसंग गरिएको करार सम्झनुपर्दछ भन्ने उल्लेख गरिएको छ ।  त्यसैगरी, ऐनको दफा ८० मा समेत सोही व्यवस्था गरिएको छ । साथै अर्को तफमा देशभित्र स्थापित पुनर्बीमकसँग प्राधिकरणले तोकेको प्रतिशतभन्दा कम नहुने गरी अनिवार्य रूपमा पुनर्बीमा गराउनुपर्नेछ भन्ने व्यवस्थालाई आधार मानेर स्वदेशमा स्थापित दुई पुनर्बीमा कम्पनीलाई सुरुदेखिकै जोखिममा ६/६ प्रतिशत प्रत्यक्ष हिस्सा छुट्याउनुपर्ने व्यवस्था प्रचलनमा रहेको छ ।’  उक्त व्यवस्था ऐनको मर्म अनुकूल नभएको हुदा ऐनको व्यवस्था बमोजिम बीमा कम्पनीहरुले धारण गर्न मञ्जुर गरेको जोखिम बाहेक बााकी हुन आउने जोखिमको मात्रै पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरदिन पनि संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।  बीमा प्राधिकरणका अध्यक्ष ओझासंगको भेटमा अध्यक्ष मल्लसहित पदाधिकारीहरू आजाद श्रेष्ठ,  रमेश निरौला, बालकृष्ण श्रेष्ठ र कुनाल कयल सहभागी थिए ।