हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्दै अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ। बुधबार सिंगापुरमा आयोजित विशेष समारोहमा कम्पनीलाई ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर २०२५’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर २०२५’ अवार्डबाट सम्मानित गरिएको हो । समारोहमा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्त सहभागी भई अवार्ड ग्रहण गरे । एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित मानिने यी अवार्डहरूले नेपाली बीमा उद्योगको अन्तर्राष्ट्रिय छवि थप उजागर गरेको छ । यसअघि पनि एचइआईले २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड तथा २०२४ मा डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर अवार्ड प्राप्त गरिसकेको छ । उत्कृष्ट सेवा, नवीन रणनीति र ग्राहकमुखी दृष्टिकोणका कारण एचइआई निरन्तर प्रशंसा बटुल्दै आएको छ । अध्यक्ष श्रेष्ठले अवार्ड ग्रहण गर्दै भने, 'यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा हो ।' निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय सम्मानले भविष्यमा अझ जिम्मेवार र सशक्त रूपमा अघि बढ्ने प्रेरणा दिएको बताए ।    

बीमामा रोजगारीको अवसर बढ्दै, एक वर्षमै थपिए साढे ५ सय

काठमाडौं । नेपालको बीमा क्षेत्रको विस्तारसँगै बीमा क्षेत्रले प्रदान गर्दै आइरहेको रोजगारीको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म बीमा क्षेत्रमा १२ हजारभन्दा बढी कर्मचारी आबद्ध छन् । प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूमा १२ हजार २३४ कर्मचारी आबद्ध छन् । सो संख्या गत आवको तुलनामा ४.८० प्रतिशतले वृद्धि भएको हो । गत आवको यही अवधिमा बीमा कम्पनीमा आबद्ध कर्मचारीको संख्या ११ हजार ६७४ थियो । चालु आव (एक वर्षमा) मात्रै बीमा बजारमा ५६० जना नयाँ कर्मचारी थपिएका छन् । पछिल्लो एक दशकको तथ्यांक हेर्ने हो भने बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या उल्लेखनीय वृद्धि भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको संख्या ४ हजार ३६ जना थियो । आव २०८२/८३ मा आइपुग्दा सो संख्या बढेर १२ हजार पुगेको छ । तथ्यांक अनुसार एक दशकमा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १९७.४ प्रतिशतले वृद्धि भएको छ । आव २०७२/७३ त बीमक कम्पनीहरूको संख्या ४० थियो हाल मर्ज भएर ३७ मा झरेको छ । आव २०७६/७७ मा बीमा कम्पनीमा काम गर्ने प्रत्यक्ष कर्मचारीको संख्या ९ हजार ७५५ थियो । आव २०८०/८१ मा आइपुग्दा सो संख्या बढेर बढेर ११ हजार ७६९ पुगेको छ । आव २०७४/७५ सालतिर बीमा क्षेत्रले ७ हजार २०६ जनालाई रोजगारी दिँदै आएकोमा आव २०७५/७६ मा सो संख्या बढेर ९ हजार ४१० पुगेको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा ३१ प्रतिशतले वृद्धि हो । आव २०७६/७७ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको संख्यामा केही बढेको देखिन्छ । उक्त आवमा बीमकमा कार्यरत कर्मचारीको संख्या ९ हजार ७५५ पुगेको छ । आव २०७७/७८ मा बीमा कम्पनीमा कर्मचारीको संख्या बढेर ११ हजार २८ पुगेको छ । आव २०७८/७९ मा बीमा कम्पनीहरूले ११ हजार ९४३ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । बीमा कम्पनीमा निरन्तर वृद्धि हुँदै आएको कर्मचारीको संख्या आव २०७९/८० मा आइपुग्दा घटेको देखिन्छ । उक्त आवमा बीमा कम्पनीमा संलग्न प्रत्यक्ष कर्मचारी ११ हजार ४९६ मा झरेको छ । उक्त आवमा अघिल्लो आवको तुलनामा कर्मचारी संख्या ४.४५ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका जीवन बीमा, निर्जीवन बीमा र लघु बीमा गरी कुल ३७ बीमा कम्पनीले १२ हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आव २०८१/८२ को फागुनसम्मको तथ्यांक अनुसार १२ हजार ९५ जनाले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ । गत आवको तुलनामा यस चालु आवमा बीमा कम्पनीमा ५४० नयाँ कर्मचारी थपिएका छन् । गत आवको सोही अवधिमा ११ हजार ५५५ जना कर्मचारी थिए ।   माथि प्रस्तुत तथ्यांक बीमा बजारमा प्रत्यक्ष रोजगारी पाएका कर्मचारीहरू हुन् । अप्रत्यक्ष रुपमा बीमा कम्पनीहरूले यतिलाई रोजगार दिएको छ भन्ने एकिन तथ्यांक नभएपनि हजारौँलाई रोजगारी प्रदान गर्दै आइरहेको छ । तथ्यांक नै हेर्ने हो भने २०८०/८१ को तथ्यांक अनुसार ३ लाख २९ हजार ५७२ जनाले बीमा कम्पनीहरूमा र बीमा अभिकर्ताको रुपमा अप्रत्यक्ष काम गर्दै आएका छन् भने १ हजार २४८ बीमा सर्भेयरले रोजगारी पाएका छन् । 

एशियन लाइफको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।  कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरुले साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा-चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।  इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।