रुसुवागढी बाढीले क्षति पुर्याउँदा ९ कम्पनीमा २९ करोड रुपैयाँ बीमा माग दाबी, सबैभन्दा धेरै शिखरमा

काठमाडौं । रुसुवागढीमा आएको बाढीले क्षति गर्दा २९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । असार २३ गते भोटेकोसी नदीमा आएको बाढीले नेपाल चिन मितेरी पुलसँगै बन्दरगाहमा रहेका सवारी साधन र केही हाइड्रोपावर कम्पनीहरुमा क्षति पुर्याएको थियो । बाढीले पुर्याएको क्षतिबाट २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा प्रारम्भिक बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सामुद्रिक बीमा लेखका ६ वटा बीमा बापत १५ करोड ७० लाख १० हजार रुपैयाँ बराबरको दाबी परेको छ । यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा लेखका ४ वटा दाबी बापत ५ करोड ५५ लाख रुपैयाँ, सम्पत्ति बीमा लेखका १० वटा दाबी बापत ४ करोड १८ लाख ५० हजार रुपैयाँ, मोटर बीमा (सार्वजनिक)लेखका ३२ वटा दाबी बापत २ करोड ३१ लाख ५० हजार रुपैयाँ र मोटर बीमा (निजी) लेखका ११ वटा दाबी बापत १ करोड १७ लाख ५० हजार रुपैयाँ माग गरिएको बीमा प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा दाबी भुक्तानी परेका छन् । शिखर इन्स्योरेन्समा १० वटा दाबी बापत १६ करोड १२ लाख १० हजार रुपैयाँ माग गरिएको छ । यस्तै, नेको इन्स्योरेन्समा ३ वटा दाबी बापत ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ वटा दाबी बापत ३ करोड ४१ लाख ५० हजार रुपैयाँ माग गरिएको छ ।  यस्तै, नेपाल इन्स्योरेन्समा १२ वटा दाबी बापत १ करोड २८ लाख ५० हजार रुपैयाँ, सानिमा जीआइसी इन्स्योरेन्समा ६ वटा दाबी बापत ७७ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ९ वटा दाबी बापत ७५ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबी बापत ६८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दाबी बापत ४७ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबी बापत ३१ लाख रुपैयाँ माग गरिएको छ । 

नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो ‘गोल्ड अवार्ड’

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेकोमा ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालका निर्जीवन बीमा कम्पनीहरूबीच प्रतिस्पर्धात्मक मूल्याङ्कनका आधारमा प्रदान गरिने यस सम्मानका लागि कम्पनीलाई इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालले पुरस्कृत गरेको हो । शुक्रबार राजधानीको होटल र्‍याडिसनमा आयोजित विशेष समारोहमा महालेखापरीक्षक तोयम रायको प्रमुख आतिथ्यमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई सम्मानपत्र प्रदान गरिएको हो । कम्पनीले पारदर्शिता, सुशासन, वित्तीय विवरणको स्पष्टता र अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रतिवेदन संरचनाका आधारमा यो अवार्ड पाएको हो । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत महर्जनले यस सम्मानले कम्पनीलाई अझ पारदर्शी, उत्तरदायी र सेवालाई गुणस्तरीय बनाउने प्रेरणा दिएको प्रतिक्रिया दिएका छन् ।

२९ वर्षको सफल यात्रापछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३०औं वर्षमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स “सलिको” कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले विविध कार्यक्रमहरू आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर ) अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको थियो ।  त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका कार्यालयहरूले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन्, भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । २९औं वार्षिकोत्सवको यस सुखद अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षितसहित अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले व्यवसायिक प्रतिबद्धतासँगै सामाजिक उत्तरदायित्वलाई पनि सधैं प्राथमिकतामा राख्दै आएको उल्लेखनीय यात्रा निरन्तर अघि बढाइरहेको छ ।